रुसी पत्रकार बसेको होटेलमा मिसाइल हमला, पूर्वसांसदसहित दुई जनाको मृत्यु

रुसी पत्रकार बसेको होटेलमा मिसाइल हमला, पूर्वसांसदसहित दुई जनाको मृत्यु


युक्रेनको खेरसन शहरस्थित एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसदसहित दुई जनाको मृत्यु भएको क्रेमलिनसमर्थक अधिकारीहरुले बताएका छन् ।

आक्रमणमा रुससमर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मारिएका रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन् । युक्रेनी सशस्त्र सेनाले आइतबार प्ले होटलमा मिसाइल प्रहार गरेको थियो । आक्रमणबारे किभले कुनै प्रतिक्रिया दिएको छैन ।

सो आक्रमण युक्रेनको प्रायोजित अतिवादी कार्य भएको टेलिग्राममा पोस्ट गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ । आक्रमणमको समयमा सो होटलमा रुसी पत्रकारहरु पनि रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । तर, घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

अमेरिकाले दियो चेतावनी

यसैबीच रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने अमेरिकाले मस्कोलाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्ने चेतावनी दिएका छन् । ‘यदि रुसले यो रेखा पार गऱ्यो भने रूसको लागि विनाशकारी परिणाम हुनेछ । संयुक्त राज्यले निर्णायक जवाफ दिनेछ,’ जेक सुलिभानले भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हमलाको चेतावनी दिइरहेका बेला अमेरिकी सुरक्षा सल्लाहकारको प्रतिकृया आएको हो ।

बुधबार एक सम्बोधनमा पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलो पटक रुसमा आंशिक परिचालनको घोषणा गरेका थिए । जसअन्तर्गत ३ लाख रुसीलाई युद्धमा खटाइने छ । पुटिनको घोषणाको विरोधमा देशमा तीब्र विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई सरकारले नियन्त्रणमा लिएको छ भने केहीलाई प्रहरी हिरासतबाटै जबरजस्ती भर्ती केन्द्रमा पठाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।