नेपालका नेताहरूको राष्ट्र, जनता र प्रजातन्त्रविरूद्धको आपराधिक र कलङ्कित कृत्यहरूको यथार्थ गाथा : ‘तुषानल’

नेपालका नेताहरूको राष्ट्र, जनता र प्रजातन्त्रविरूद्धको आपराधिक र कलङ्कित कृत्यहरूको यथार्थ गाथा : ‘तुषानल’


  • केशवप्रसाद भट्टराई

१. त्यस्तो लामो संघर्ष र बलिदानको इतिहास भएका नेता भनिनेहरू यो हदसम्मका रहेछन् ? मन उद्विग्न हुन्छ !

पुस्तक पढिसकेपछि मुलुकको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो जीवनको केही बहुमूल्य वर्षहरूको लगानी गरेका र आफ्ना सम्पूर्ण विश्वास मात्रै होइन,
उनीहरूको एक आदेशमा प्राणको मोह नराखी संघर्षमा होमिएका तर नेताहरूका यस्ता कुकृत्यको जानकारी नराख्ने मजस्ता धेरै मानिस मानसिक पीडा, यातना र लज्जाबोधले केही दिन निदाउन नसक्लान् ।

पुस्तकलाई सार्वजनिक गर्न आयोजित कार्यक्रममा पुस्तकको समीक्षा गर्ने क्रममा अरू समीक्षकहरूले आफूलाई सामान्य राखेर प्रस्तुत गरे ।
पुस्तकलाई असामान्य कृतिको रूपमा उल्लेख गरे ।
पुस्तकमा वर्णित कृत्यहरूले उनीहरूलाई खासै पीडाबोध भएको देखिएन !

२. तर वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल कठोर मानसिक पीडा र यातनाले कामेका अनुभव हुन्थ्यो ।

सार्वजनिक रूपमा सधैँ झरिलो अनुहारमा सधैँ स्पष्ट, दह्रो, स्वाभिमानका साथ टड्कारो र लोभलाग्दो आवाजमा आफ्ना कुरा राख्ने दाहालको आवाज थर्थराएको थियो ।

आफूलाई संयमित र सन्तुलित पार्दै उभिएर बोल्न उनलाई अपार कष्ट पुगेको अनुभव हुन्थ्यो ।

निर्दोष रहँदारहँदै पनि पुस्तकमा वर्णित विवरणले दाहालको व्यक्तिगत सम्मान र स्वाभिमानमा मर्मान्तक प्रहार गरेको थियो भने कुरा उनको अनुहारको भाव र रोगनले बताउँथ्यो ।

३. नि:सन्देह देवप्रकाश त्रिपाठीले मुलुकको राजनीतिको र त्यसका प्रमुख पात्रहरूको कलङ्कित अनुहार प्रस्तुत गरेका छन् ।

उनले कसैका बारेमा गरेको उल्लेख अविश्वसनीय छ, अकल्पनीय छ, ती केही व्यक्तिको निधन भैसकेको छ तर त्रिपाठीजीले त्यसका साक्ष र साक्षी व्यक्तिहरूको उल्लेख गरेका छन्- ती जीवित छन् ।

त्यसैले पुस्तक प्रामाणिक लाग्दछ ।

पुस्तक पढ्दा ती व्यक्तिहरूका प्रति उठ्ने घृणा र आक्रोश मुलुकतर्फ पनि लक्षित हुन्छ र त्यसले अझ धेरै पीडा र यातना थपिदिन्छ !

४. आफैं लामो समयदेखि सम्पादक रहनुभएका र शक्तिशाली लेखन शील्पका स्वामी त्रिपाठीको उक्त पुस्तकको सम्पादनमा केही अभाव देखिन्छन् ।
पुनरुक्ति दोष पनि यत्रतत्र देखिन्छ !
कतै केही विरोधाभाष पनि देखिन्छ !
सलल बगेको भाषा छैन !
लामा–लामा प्याराग्राफ आँखालाई सजिलो अनुभव हुन्नन् !
तर पुस्तकको विषय बस्तुले पाठकलाई यसरी खैँचिएर राख्छ पुस्तक पढेर नसिध्याइ विश्राम लिन सकिन्न !

५. त्रिपाठीजीले प्रस्तुत गरेको सत्य र तथ्यमा शंका गर्नै पर्दैन ।
झूठ लेख्न कसैलाई त्यति साहस आउन्न ।
ती सत्य थिए- मुलुकले ती सत्य जान्नु पर्दछ, ती हराएर, लुप्त भएर जानु हुँदैन भनेर राष्ट्रप्रतिको समर्पण चेतनाले उनलाई ती सत्य आफूभित्र लुकाइरहन दिएन !
यसको लागि राष्ट्र त्रिपाठीजीप्रति ऋणी रहन्छ ।

६. आफूले राम्रो जानकारी राखेका केही विषयहरू उहाँले जानाजान छुटाउनुभएको लाग्दछ ।

२०५४ को सांसद् खरीद–बिक्रीको यथार्थ विवरण पुस्तकमा छैन र त्यसको लागि रकम को स्रोत के थियो ? त्यो उहाँलाई जानकारी नहुने कुरै भएन ।

रुक्माङ्गद कटवाल काण्डपछि राजीनामा दिएका प्रचण्डले पुन: प्रधानमन्त्री बन्न सांसद खरिद गर्न कृष्णबहादुर महरामार्फत चिनियाँ पक्षसँग गरेको वार्ताबारे सार्वजनिक भैसकेको अडियो र त्यसको पृष्ठभूमिकाबारे पनि उहाँको जानकारी नहुने कुरै भएन– त्यसबारे पनि पुस्तक बोल्दैन ।

नेकपाभित्रको द्वन्द्व र रडाकोमा चिनियाँ राजदूत र अन्य चिनियाँ पक्षको संलग्नताले निर्णायक भूमिका खेलेको थियो ।

त्यस्तो संलग्नता नरहेको भए त्यो विषय त्यसरी संग्रालिने थिएन र त्योबारे पनि त्रिपाठीजीले केही लेख्नुभएको छैन ।

प्रधानसेनापति रुक्माङ्गद कटवालसँग अन्तरङ्ग सम्बन्ध भएका र कटवालमार्फत प्राप्त अत्यन्त संवेदनशील जानकारीहरू पुस्तकमा छन् तर त्रिपाठीजीले श्याम शरणले सरासर नेपाली सेनाको मूख्यालयमा पुगेर तत्कालीन प्रधानसेनापति प्यारजङ्ग थापा र कटवाललगायतका उच्च सैनिक अधिकारीहरूसँग गरेको वार्ताबारे स्पर्शसम्म पनि गर्नुभएको छैन ।

तर, स्वयम् श्यामशरणले आफ्नो पुस्तकमा जति लेखे, त्योभन्दा बढी जानकारी त्रिपाठीजीलाई कटवालमार्फत पनि प्राप्त भएको हुनु पर्दछ ।

७. माधव नेपाललाई उहाँले अपेक्षाकृत स्वच्छ चरित्रको उल्लेख गर्नुभएको छ ।
तर माधव नेपाल र कतिपय एमाले नेताहरूको युनिफिकेसन चर्चसँगको सम्बन्ध र कतिपय माओवादी नेताहरूको इसाइकरणले नेपालमा धार्मिक तनावको स्थिति निर्माण गरेको र सभामुखको रुपमा सुवास नेम्वाङको भूमिकासमेतले त्यसैले नेपाललाई धर्मनिरपेक्ष बनाएको तथ्यलाई नदेखे जस्तो गरेर त्रिपाठीजीले युरोप र अमेरिकालाई प्रहार गर्नुभएको छ ।

स्वच्छ, चरित्रका भनिएका माधव नेपालकै कार्यकालमा पार्टी र पार्टी नेतृत्व असामान्य रूपमा नेपालको अत्यन्त धनी र सम्पन्न बनेर आयो ।

एनजिओ र आइएनजिओहरूको बाक्लो सन्जाल नेपालमा निर्माण भयो र जाती, धर्म र सम्प्रदायमुखी राजनीतिको अन्तर्राष्ट्रिय सन्जाल माकुने नेतृत्वको एमालेले मुलुकमा निर्माण गर्‍यो र तिनैले माओवादी बोके र माओवादीले तिनको एजेन्डा !

८. युनिफिकेसन चर्चको एउटा कार्यक्रममा तीन दिनसम्म सारा राज्य र पार्टी कार्य छोडेर होटलमै बास बसेर त्यो कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो भक्तिभाव किन प्रमाणित गर्नुपरेको थियो भन्ने कुराको सत्य, तथ्य र विष्लेषण नेपाललाई हिन्दूराष्ट्र बनाउने आफ्नो संकल्पमा प्रतिवद्ध त्रिपाठीजी कसरी छुटाउनुभयो बुझ्न सकिन्न !

नेपाली राजनीतिमा भारतीय पक्षको रूचि र सरोकारका साना मसिना कुरा पनि त्रिपाठीजीबाट छुटेका छैनन् ।

तर नेपालको झन्डै दुई तिहाइको सरकारको नेतृत्व गर्ने केपी ओली नेतृत्वको सत्तारुढ कम्युनिस्ट पार्टीले सी जिन्पिङ्ग विचारधारामा आफ्नो केन्द्रिय समितिलाई प्रशिक्षण दिनुपर्ने बाध्यता र आवश्यकता किन देख्यो ? त्यो बारे पुस्तक बोल्दैन ।

त्यो प्रशिक्षण र नेकपा सवालमा चीनियाँ राजदूतको अति सक्रियतापछि तत्कालीन नेकपाको विवाद बढ्दै गएको सन्दर्भको रौँचिरा विश्लेषण पनि पुस्तकले मागेको थियो कि ?

९. अमेरिका नेपालमा माओवादीहरूको पक्षमा थिएन- त्रिपाठीजीले जेम्स मोरियार्टीको सन्दर्भ उठाउनुभएकै छ ।
मोरियार्टीका पूर्वाधिकारी राजदूत पनि माओवादीहरूका कट्टर विरोधी थिए ।
अमेरिकी दूतावासमा कार्यरत दुई नेपालीहरूको माओवादीबाट । भएको हत्याले पनि यो स्थितिलाई प्रष्ट पार्दछ ।
तर भारत, काङ्ग्रेस, एमाले सबै माओवादीको कित्तामा उभिएपछि अमेरिकाले त्यसलाई बाध्यताका साथ आत्मसात गर्‍यो ।
अमेरिका विरोध नेपालका वामपन्थीहरू र वामपन्थी पृष्ठभूमिबाट पञ्च र मण्डले बनेकाहरूको राजनीतिक शौख हो !
उनीहरूको स्कूलिङको आरम्भ नै अमेरिकाको निन्दा र विरोधबाट शुरु हुन्थ्यो ।

१०. स्मरण रहोस्, पहिलो र दोस्रो विश्व युद्धमा गोर्खाली सेनाको बहादुरी देखेको र सुनेको अमेरिकी रक्षा मन्त्रालय (तत्कालीन युद्ध मन्त्रालय) र विदेश मन्त्रालयको रुचि नेपालमा थियो ।

दोस्रो विश्व युद्ध अवधिमै उच्च अधिकारीहरूको भेट, वार्ता र भ्रमण हुन थालेको थियो (त्यतिखेर भारत स्वतन्त्र पनि थिएन र चीनमा साम्यवादी शासन स्थापना भएको पनि थिएन ।

त्यतिखेर अमेरिकाको शत्रु या प्रतिद्वन्द्वी चीन थिएन- जापान थियो ।

विश्व व्यवस्थामा आफ्ना प्रतिद्वन्द्वीहरूको प्रभाव क्षेत्रमा आफ्नो प्रभाव स्थापना गर्न प्रयत्न गर्नु सहज र स्वाभाविक राज्य अभ्यास हो ।

चीन अमेरिकाको प्रभाव क्षेत्र र अमेरिकी भूमि निकटका राज्यहरूमा आफ्नो प्रभाव बढाउन पुगेको छ र अमेरिका चीनको !

त्यो हिजो भयो, आज भइरहेको छ र भोलि पनि भैरहन्छ !

११. आफ्ना अनुकूल नीतिहरू अवलम्बन गर्न नेपाल, चीन, अमेरिका सबै स्वतन्त्र छन् !

रूसनिकट भएकोले युक्रेनले अमेरिकासँग, अमेरिका निकट भएकोले क्यानाडा वा मेक्सिकोले रुस वा चीनसँग वा भारत र चीन वीचको नेपालले अमेरिकासँग निकट सम्बन्ध राख्नुलाई गलत मान्न सकिन्न ।

कुनै मुलुकको सुरक्षा सीमा उसको मुलुकको सीमाबाट आरम्भ हुन्छ र उसकै सीमामा टुंगिन्छ, अर्को मुलुकको सीमा छिचोल्दैन ।

यसलाई रूस वा चीनले पालना गर्नु नपर्ने भन्ने प्रश्न आउन्न !

त्रिपाठीजी कम्युनिस्ट हुनुहुन्न तर यो सवालमा उहाँ नेपाली कम्युनिस्टहरूकै भाष्य बोल्नुहुन्छ !

हिजो सोभियत संघ थियो- समस्त मध्य एसिया र पूर्वी युरोपमा सोभियत शासन र प्रभुत्व रह्यो !

आज छैन !

रूस त्यो प्रभुत्व पुन: प्राप्त गर्न चाहन्छ- युक्रेनले त्यसको विरोध गर्‍यो !

रूसले युक्रेनबाट क्राइमिया खोस्यो, अरु खोस्न खोज्दै छ !

त्रिपाठीजी रूसको पक्षमा हुनुभएको पुस्तकले बताउँछ ।

क्राइमियामा रुसको हक लाग्दछ, पूर्वी युक्रेनमा रूसको हक लाग्दछ, युक्रेनमा हस्तक्षेप गर्ने अधिकार रूसलाई रहन्छ भने नेपालमा भारत र चीनको हक लाग्ने ठूलो भूभाग छ र उनीहरूलाई पनि नेपालमा हस्त्षेप गर्ने त्यस्तै अधिकार रहन्छ भन्ने मान्यतालाई जबर्जस्ती स्थापना गर्ने अभ्यास नेपालमा गरिएको देखिन्छ ।

ठूलो र शक्तिशाली छिमेकी र छिमेकीहरूको सम्भावित हस्तक्षेपबाट आफ्नो सुरक्षा हितहरूको प्रतिरक्षा गर्न अलिक परको मित्रसँग सहयोग लिएर आफ्नो क्षमता आर्जन गर्नु, निकटता बढाउनु अनुचित होइन ।

सिंगापुरले त्यही गर्‍यो !
शक्तिशाली र सम्मानित छ !
युक्रेनले त्यही गर्न खोजेको हो !
अरू धेरैले गरेका छन् !