समानुपातिकको बन्द सूची नसच्चिए विकल्प सोच्ने कांग्रेस संस्थापनइतर समूहको चेतावनी

समानुपातिकको बन्द सूची नसच्चिए विकल्प सोच्ने कांग्रेस संस्थापनइतर समूहको चेतावनी


नेपाली कांग्रेस संस्थापक इतर समूहका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन् ।

संस्थापनइतर समूहले शनिबार एक कार्यक्रमको आयोजना गरी समानुपातिकतर्फको उम्मेदवार चयनमा संस्थापन समूहले एकलौटी गरेको आरोप लगाएका हुन् ।

नेता गुरुराज घिमिरेले पार्टीभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण गर्नुपर्ने बताए । “पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण गर्नुपर्छ, न्यायोचित टिकट वितरण नभए विद्रोह गर्न बाध्य हुन्छौँ”, घिमिरेले भनेका छन् ।

कांग्रेसका अर्का नेता जगदिश्वरनरसिंह केसीले पार्टीको १४औँ महाधिवेशनमा पाएको मतको आधारमा उम्मेदवारी बाँडफाँट हुनुपर्ने धारणा राखे । पार्टीभित्र सबैलाई मिलाएर लैजाने काम पार्टी सभापतिको भएकाले सोहीअनुसार पार्टी सभापति अगाडि बढ्नुपर्ने केसीको सुझाव थियो । थापागाउँमा आयोजित कांग्रेस संस्थापन इतर समुहको भेलालाई सम्बोधन गर्दै उनले आन्तरिक एकता बलियो भएको अवस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने परिस्थिति नआउने दाबी गरे ।

समानुपातिकको सूची एकपक्षीय रहेको भन्दै नेता केसीले सो सूची नसच्चिए विकल्प सोच्नुपर्ने अवस्था आउन सक्ने चेतवानी पनि दिए । उनले भने, ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुन सक्छ।’ समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समुहलाई अन्याय गरिएको जिकिर गर्दै उनले प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अवस्था आउनसक्ने सम्भावना देखिएकोले आफ्नो समूहले बाध्य भएर खबरदारीसभामा आयोजना गरेको उनले खुलासा गरे ।

कांग्रेस नेता भूपेन्द्रजङ्ग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय हुनुपर्ने औंल्याउँदै आफू आगामी निर्वाचनमा कालिकोटबाट निर्वाचन लड्ने घोषणा गरे ।