सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकको रुपमा मनाउने सरकारको निर्णय

सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकको रुपमा मनाउने सरकारको निर्णय


  • रासस

सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थान गर्दै यस क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको जानकारी दिनुभयो ।

होटल सङ्घ नेपाल (हान)ले आयोजना गरेको आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ-२०२२’ का अवसरमार उहाँले शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको बताउनुभयो । यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तथापि, कोभिड महाकारीका कारण भ्रमण वर्ष स्थागित भएको थियो । कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र गतिशील बन्दै गएको छ ।

पर्यटन क्षेत्रको चाडो पुनरुत्थान गर्ने लक्ष्यका साथ सरकारले भ्रमण दशक घोषणा गरेको हो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य गरेको छ ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्ययोजनामा भ्रमण दशक मनाउने उल्लेख छ । तथापि, भ्रमण दशकमा के कस्ता कार्यक्रम गरिने भन्ने अहिले खुलाइएको छैन । कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डको विवरण छ ।

कोभिड–१९ पछि पर्यटन उत्थान कार्यक्रम सार्वजनिक गरेको मन्त्रालयले यसअघि नै भ्रमण दशक मनाउने उद्घोष गरिसकेको थियो । सोही योजना मुताविक सरकारले भ्रमण दशक मनाउने निर्णय गरेको हो ।