देउवालाई जुम्ला उपसभापति बुढाको पत्र- ‘निर्वाचनमा शत्रुसँग लड्नुको शान र मान बेग्लै छ’

देउवालाई जुम्ला उपसभापति बुढाको पत्र- ‘निर्वाचनमा शत्रुसँग लड्नुको शान र मान बेग्लै छ’


  • खड्क सुनार, मुगु

पाँचदलीय गठबन्धनमा रहेको नेपाली कांंग्रेसमा निर्वाचन नजिकिएसँगै असन्तुष्टि बढेको छ । संस्थान पक्ष र संस्थापनइतरका नेता कार्यकर्ताहरु यतिखेर केन्द्रमा रहेका आफ्ना पक्षका शीर्ष नेतामाझ भेटघाटमा ब्यस्त रहेका छन् । चुनाव नजिँकिदै जाँदा जिल्लाबाट संघ र प्रदेशमा सिफारिस भएका नेताहरु टिकट पाउन दौडधुपमा रहेका छन् ।

जिल्लाबाट सिफारिस भएकालाई पनि टिकट पाउन सकस छ । किनकि केन्द्रले आफूखुसी निर्णय गर्ने डर उनीहरुलाई छ ।

नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं क बाट सिफारिस भएका छन् ।

उनलाई प्रदेश निर्वाचन समानुपातिक तर्फको उम्मेदवारमा नेपाली कांग्रेस जिल्ला समिति जुम्लाले सिफारिस गरेको हो । यतिबेला सत्तारुट दलका नेताहरु सिट बाँडफाँडमा केन्द्रित रहेका छन् । दलहरुले सिट बाँडफाड गर्दा कतिपयलाई चित्त पनि बुझेको छैन । नेपाली कांग्रेस जुम्लाका उपसभापति तथा प्रदेश क समानुपातिकबाट सिफारिस भएका कार्मा बुढाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उपसभापति बुढाले देउवालाई लेखेका छन् बहुमतको दम्भ नदेखाउनुहोस् ।

आदरणीय शेरबहादुर दाइ
जय नेपाल

तपाईंलाई दम्भ होला नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बहुमत संख्या विजयी भएकोमा, तर नेपाली कांग्रेस समग्र कांग्रेसीजनको पवित्र मन्दिर हो र तपाईं मुख्य पुजारी… पुजारीले प्रसाद बाँड्दा मेरोलाई बढी र अर्काको लागि कम भन्ने व्यवहार पक्कै पनि गर्नुहुन्न र गर्दा पनि सुहाउँदैन ।

पार्टीलाई एक ढिक्का बनाएर लिने जिम्मा तपाईंको हो, अहिले पो गठबन्धन गरौँला, सायद हजुरलाई कति थाहा छ ? कांग्रेस खोजी खोजी…अरूलाई रोजी रोजी भन्ने दिन नआएको होइनन्, सयौँ कांग्रेसी जनहरूको रगत कांग्रेस भएकै कारणले बगे, सयौँ बालबालिका टुहुरा भए, सयौँ आमाहरूको कोख उज्रियो, सयौँ आमाहरूको सिन्दुर पुछियो भने हजारौँ घरबारविहीन भए हुन त तपाईंलाई के हेक्का होला ?

निर्वाचनमा शत्रुसँग एक्लाएक्लै लड्नुको शान र मान अलग्गै छ, हामी आफ्नै पार्टीभित्रका दाजुभाइसँग गुटका नाममा सौतेना व्यवहार गर्न तयार छौँ तर शत्रुसँग अँगालो मारेर हिँडिरहेका छौँ ।

यसैलाई राजनीति भनिन्छ ? यसैका लागि महामानव बीपी कोइराला, सन्तनेता कृष्णप्रसाद भट्टराई, लौहपुरूष गणेशमान सिंह लगायतका हजारौँ नेता तथा कार्यकर्ताहरूको रगत र पसिना बगेको हो र ? अब हाम्रो पार्टी नै नेपाल कम्युनिस्ट पार्टी समाजवादी कांग्रेस भन्दा के फरक पर्ला कम्युनिस्टहरूको बैशाखी लगाइ हिँड्नुपर्ने भए अब…. ।

बैशाखी लगाउनु भन्दा पार्टीभित्रको मनमुटावको अन्त्य गर्न पार्टी सभापति भएकै कारणले तपाईंले अभिभाकत्व लिन जरुरी छ दाइ, भाइफुटे गवाँर लुटे भन्ने उखान त सुनेकै छौँ दाइ, पार्टीभित्र भाइचाराको सम्बन्ध कायम गर्दै सबैले सबैको अस्तित्व स्विकार गर्न जरुरी छ दाइ ।

निर्वाचन प्रतिपक्षसँग लड्ने हो, शेखर दाइसहित सबै नेताको परामर्शमा असल नेताहरूको चयन गर्न जरुरी छ दाइ, ससंदमा जाने सदस्यलाई क ख रा सिकाउनु पर्ने पनि त होइन होला नि, सबैको अस्तित्व राख्दै छलफलसहित समानुपातिकको, प्रत्यक्ष उम्मेदवारहरूको नाम ३६४ दिन कांग्रेस हुने ६५औँ दिनमा हराउनेहरू होइन, हाम्रो होइन राम्रो मान्छे उम्मेदवार चयन गरियोस् भनि अनुरोध गर्न चाहन्छु, कसैले कसैलाई कमजोर नठानियोस् आगोको झिल्को सानो हुन्छ तर शहर तहसनहस पार्न पर्याप्त हुन्छ, समयमै ध्यानाकर्षण होस्… अनुरोध .. ।

जय नेपाल
कार्मा बुढा
उपसभापति जुम्ला