नेपाली चलचित्रको क्वालिटी हाम्रोभन्दा कम छैन : बलिउड निर्देशक विशाल देसाई

नेपाली चलचित्रको क्वालिटी हाम्रोभन्दा कम छैन : बलिउड निर्देशक विशाल देसाई


भारतीय अभिनेता तथा निर्देशक विशाल देसाई नेपाली चलचित्र ‘सायरा’ निर्देशन गर्दै छन् । ‘मास्टर विट्टू’ उपनामले परिचित देसाईले बालकलाकारको रूपमा धेरै चलचित्रमा काम गरेका छन् । उनलाई चुपके चुपके, अपनापन, अम्बर अकबर एन्थोनीलगायतका फिल्मको अभिनेता भनेर चिनिन्छ । उनले निर्देशन गर्ने चलचित्र ‘सायरा’लाई नेपालको डीबीआर मिडिया एन्ड मुभिज प्रालि, भारतको भिजेलब्वाई प्रोडक्सन र अस्ट्रेलियाको आइविल प्रोडक्सन कम्पनीले संयुक्त रूपमा निर्माण गर्दैछ । पहिलोपटक नेपाल आइपुगेका निर्देशक देसाई यहाँसम्म नेपाली चलचित्रको गुणस्तरीयता र सुन्दरताले तानेको बताउँछन् । भारतमै पनि पछिल्लो समय प्रान्तीय चलचित्रहरूको लोकप्रियता बढिरहेको हुँदा नेपाली र हिन्दी भाषामा चलचित्र बनाएर विश्वभर प्रदर्शन गर्ने योजना उनको छ । नेपाल आएपछि उनले पशुपतिनाथको दर्शन गरे । चन्द्रागिरी घुमे । भारत फर्किदासम्म उनले सुन्दर यादहरू संगालेका छन् । नेपाल बसाई र चलचित्रसँग सम्बन्धित रहेर उनीसँग गरिएको संवाद :
नेपाल बसाई कस्तो रह्यो ?

निकै सुन्दर । मलाई विदेशमा छु भन्ने अनुभूति नै भएन । किनकि हाम्रो संस्कृतिझैँ खाना पनि मिल्छ । हामी नजिकै छौँ । यहाँ नेपाल आउँदा पाएको सत्कारले म पहिले किन नेपाल आइनँ भन्ने लागेको छ । अब नेपाली चलचित्र निर्देशन गर्दैछु ।

कस्तो लाग्यो नेपाल ?

म काठमाडौं आसपासमा मात्र घुमें । अर्कोपटक आउँदा पोखरा, लुम्बिनी घुम्ने योजना बनाएको छु । किनकि यहाँको सुन्दरता र सरलताले मलाई निकै प्रभावित बनाएको छ । विशेषत: यसपटक आउँदा पशुपतिनाथको दर्शन गर्न पाएँ । मेरो घरमा आमा शिवभक्त हुन्हुन्छ । उहाँले पशुपतिनाथको जसरी पनि दर्शन गर्नु भन्नुहुन्थ्यो । मैले मन्दिर पुगेर दर्शन गरेको फोटो पठाउँदा उहाँ निकै हर्षित हुनुभयो । उहाँ फ्लाइटमा कम्फर्ट महसुस गर्नुहुन्न । यद्यपि उहाँ पनि यहाँ आउन चाहनुहुन्छ । साथै मलाई नेपाली थकाली खाना निकै मन पर्यो । यो स्वादले मलाई पारखी बनाएको छ । म अन्य ठाउँमा पुग्दा पनि थकाली अवश्य खानेछु ।

यस अगाडि नेपाल र यहाँको चलचित्रबारे कत्तिको जानकार हुनुहुन्थ्यो ?

नेपालको बारेमा थाहा थियो । तर नेपाली चलचित्रसँग म साक्षात्कार थिइनँ । मलाई निर्माता पुष्कर झाले केही नेपाली चलचित्रको ट्रेलर देखाएपछि नै निर्देशन गर्न तयार भएको हुँ । यहाँको मेकिङ र सुन्दरताले मलाई छाप छोड्न सफल भयो । हाम्रो एउटा प्रयास पनि हो सायरा । यसलाई नेपाली र हिन्दी भाषामा प्रदर्शन गर्नेछौँ । यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न मद्दत गर्छ भन्नेमा विश्वस्त छु ।

भारतमा बनिरहेका भन्दा फरक के पाउनु भयो यहाँको चलचित्रमा ?

मैले जति क्लिप, भिडियो हेरेको छु । त्यसले भन्न सक्छु आउँदो समयमा नेपाली चलचित्रले धेरै राम्रो गर्छ । किनकि भारतमै १० वर्ष अगाडि फर्किनुभयो भने तामिल, तेलुगु, कन्नड चलचित्र गुमनामझैँ थिएँ । अहिले पनि मलयालम चलचित्र माथि आउन कोसिस नै गरिरहेको छ । कन्नड चलचित्रमा केजिएफभन्दा अन्य नाम अहिले पनि दर्शकले सम्झिन सक्नुहुन्न । त्यसैले बजार पाएपछि कन्टेन्ट गतिलो छ भने लोकप्रियता बढ्छ । यहाँको लोकेसन विश्वका अन्य दर्शकलाई फ्रेस लाग्न सक्छ । हामीले भिएफएक्सले पूरा गर्ने दृश्य यहाँ नेचुरल रूपमै पाइन्छ । त्यसैले हामीले नेपाली र हिन्दी भाषामार्फत यहाँको चलचित्रलाई ओटीटी वा भारतका हलमा मात्र लान सक्यौं भने त्यो बजार विस्तारका लागि राम्रो हुनेछ । मैले केही ओटीटी कम्पनीलाई नेपाली फिल्मको ट्रेलर देखाउँदा उहाँहरू पनि इच्छुक पाएँ ।

नेपाली चलचित्र निर्देशन गर्न किन तयार हुनुभएको हो ?

मैले भारतमा विज्ञापन बनाउने गर्छु । त्यो हिन्दी मात्र नभई विभिन्न प्रान्तीय भाषामा समेत हुन्छ । नेपाली चलचित्रको प्रोमो हेरेपछि म निर्देशनका लागि तयार थिएँ । तर, सायरा नै निर्देशन गर्ने निर्णय लिनुको कारण यसको कथा नै हो । मलाई प्रस्तुतकर्ता रघु परियार र निर्माता पुष्कर झाले सुनाउनु भएको कथाले पनि यसमा निर्देशक बन्न तयार गरेको हो ।

छायांकनको समयमा भाषाले समस्या निम्त्याउन सक्ला नि ?

यो चलचित्रमा नेपाल र भारतको संयुक्त कास्ट एन्ड क्रिउ हुनुहुनेछ । हामीसँग मुख्य सहायक निर्देशक नेपालकै हुनहुन्छ । जसले मलाई सहज हुनेछ । साथै, हामीसँग काम गर्ने प्राय: कलाकारलाई हिन्दी आउँछ । यसले पनि मलाई सहज हुन्छ । केही दिन नेपाल बस्दा नै केही शब्द मैले जानिसके । यो फिल्मले मलाई नेपाली पूर्णरूपमा सिकाउँछ भन्नेमा विश्वस्त छु ।

चलचित्रलाई दुवै भाषामा खिच्नु हुन्छ कि कुनै एकमा खिचेर डबिङ गर्ने सोच छ ?

हामीले यसबारे निर्णय लिएका छैनौँ । हामी यसलाई नेपालीमा खिचेर हिन्दीमा डबिङ गर्ने सोचमा छौँ । तर अब केही प्रतिशत हिन्दी भाषामै समेत खिच्ने सोच बनाएको छु । यद्यपि यस विषयमा निर्णय लिन अझैँ बाँकी छ ।

बलिउडमा पछिल्लो समय चलचित्र चलेका छैनन् नि ?

हो, केही समययता बलिउडका चलचित्र चलिरहेका छैनन् । यो एउटा समय हो । कोरोना महामारीपश्चात दर्शकहरू ओटीटीमा बढी सक्रिय हुनुभएको छ । जुन समयमा भिसिआर, सिडी, डिभिडीहरू भित्रिएका थिएँ । त्यतिबेला पनि यस्तै समयको सामना गर्नुपरेको थियो । यो ओटीटीको समय पनि छिट्टै सकिन्छ । किनकि दर्शकले हलमा पाउने मनोरञ्जन सानो पर्दा वा मोबाइलमा पाउनु हुन्छ भन्ने मलाई लाग्दैन । अहिले चलिरहेको ब्रह्मास्त्रले दर्शकलाई हलसम्म ल्यायो । आउँदो केही चलचित्रबाट पनि म आशावादी छु । पछिल्ला केही फिल्महरू राम्रो बन्न पनि सकेका थिएनन् । अब विस्तारै राम्रो हुन्छ भन्ने लागेको छ ।

ओटीटीले मात्र अप्ठ्यारो पारिरहेको हो ?

ओटीटी मात्र नभई चलचित्र राम्रो बन्न नसक्नु पनि हो । तर अब हल पुग्ने केही दर्शकलाई ओटीटी प्रदायकले रोकेका छन् । जस्तै, मेरो ड्राइभरले छुट्टीमा चलचित्र हेर्ने गरेको मलाई थाहा छ । तर केही समययता उहाँ फ्री समयमा मोबाइलमै फिल्म हेर्नु हुन्छ । हलमा प्रदर्शन भएको आठ हप्तापछि अधिकांश चलचित्रहरू डिजिटल रिलिज हुने हुँदा पनि फुर्सदको समयलाई दर्शकले हलमा खर्चेका छैनन् जस्तो लाग्छ । पछिल्लो समय तपाई कसैलाई पर्खिरहनुभएको छ भने पनि मोबाइलमा ओटीटीमा रहेका चलचित्रहरू हेर्न सक्नु हुन्छ । टिभी, ल्यापटपभन्दा मोबाइलमा बढी दर्शक जोडिनु भएको छ ।

बलिउडमा ‘प्रोजेक्ट मेकिङ’ कसरी गरिन्छ ?

त्यस्तो फरक छैन । जसरी यहाँ मेकिङ हुन्छ त्यस्तै हो । बलिउडमा कथा तयार भएपछि हामीले कलाकारलाई सुनाउँछौँ । जस्तै, सलमान खान, शाहरूख खान, अक्षय कुमार, अमिताभ बच्चन जस्ता कलाकार तयार हुनुभयो भने लगानीकर्ता सजिलै पाइन्छ । स्टारको भ्यालुअनुसार नै हामीले लगानी जुटाउन सक्छौँ । त्यसपछि टिम तयार हुन्छ । हरेक डिपार्टको हेडले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु हुन्छ । हामीले सबैसँग गरेको सम्झौताअनुसार कामलाई अगाडी बढाउछौँ ।

अन्य चलचित्रहरू गर्ने पनि केही कुराकानी भएको छ ?

सायरा अगाडि अन्य चलचित्र गर्ने सोच छैन । यो बनेर प्रदर्शन नहुँदासम्म म म्युजिक भिडियोहरू गर्छु, तर चलचित्र गर्दिनँ । किनकि यसपछि मलाई नेपालीसँगै अन्य भाषाको फिल्म गर्नेबारे पनि आइडिया हुन्छ । निर्देशक भएपछि धेरै पक्षको जिम्मेवार बन्नुपर्ने भएकाले पनि अहिले यसमै केन्द्रीत छु । अक्टोबर अन्तिमबाट यसलाई अस्ट्रेलियामा छायांकन गर्ने तयारीमा छौँ । आउँदो वर्ष सन् २०२३ मा यो रिलिज पनि हुन्छ ।