देवनागरी लिपिमा आधारित अक्षर र अंक नै यथावत हुनु अनिवार्य

देवनागरी लिपिमा आधारित अक्षर र अंक नै यथावत हुनु अनिवार्य


सार्वभौमसत्ता सम्पन्न नेपाल र नेपालीहरूको गोपनियताको हक रक्षा र भाषिक अधिकार कायम हुन अनिवार्य छ । अतः हाम्रा सम्पूर्ण सवारीका साधनहरूमा हाम्रै भाषाको वर्णहरू र अंकहरू यथावत कायम हुनु नै संविधानसम्मत हुन्छ ।
  • रामेश्वर राउत ‘मातृदास’

यो संसारमा दुई तत्व- जीव र निर्जिव छन् । यी दुवै तत्वलाई मुखर गराउने दुर्लभ र अगम्य शक्ति एवम् तत्व हो भाषा । भाषा भएन भने संसारमा भएका जीव र निर्जिवहरू मात्र हैन, भगवानसमेत मुखर हुन सक्नुहुन्न । यो चराचर जगतका सम्पूर्ण वस्तुको अस्तित्व र महत्व वोध गराउने माध्यम भाषाबाहेक अर्को शक्ति र ताकत आजसम्म अन्यत्र प्राप्त भएको छैन ।

१) लेख्य र कथ्य (साङ्केतिक) दुई रूपमा रहेका भाषाले मानव समाजलाई आजको विकसित, वैज्ञानिक, चेतनशील, जागरूक सभ्य, सुसंस्कृत र समुन्नत अवस्थामा ल्याउन अत्यन्त प्रभावशाली भूमिका निर्वाह गर्दै आएको छ । मानव समाजबाहेकका अन्य पशुपन्छी र जन्तु-जनावरहरूको इतिहास, दर्शन, शास्त्र, संस्कार, संस्कृति र सभ्यता आदिका बारेमा उनीहरू स्वयं दस्तावेजिकृत र अभिलेख्य हुन सक्तैनन् । लेख्य-साक्ष्य प्रमाणयुक्त हुनका लागि लिपि र वर्णाक्षरहरूले सुशोभ्य भाषाको आवश्यकता अनिवार्य हुन्छ । लिपि र वर्णाक्षरहरूले महिमामण्डित भाषा पाउनु मानव समाजका लागि अत्यान्त ठूलो सौभाग्य र महानतम् प्राप्ति हो । वर्तमान विश्वमा २३४ राष्ट्रहरू रहेका छन् । यी सबै राष्ट्रले आफ्नो छुट्टै लिपि र वर्णाक्षरहरूले महिमामण्डित भाषा ज्यादै कम मुलुकहरूलाई मात्र प्राप्त भएको देखिन्छ । जो-जस्को आफ्नो छुट्टै लिपि र वर्णाक्षरहरू छैन ती देशहरूले मात्र अरूको लिपि र वर्णाक्षरहरूबाट आफ्नो विधिव्यवहार चलाएको देखिन्छ । नेपाल यो संसारकै एघारौँ प्राचीन देशको रूपमा महिमामण्डित छ । प्रागऐतिहासिक कालदेखि नै हामीहरूले आफ्नै लिपि र वर्णाक्षरहरू समेतको भाषामा आफ्नो अभिव्यक्ति अभिलेखाकृत गर्न पाएका छौँ ।

२) तथ्याङ्क विभागको तथ्यअनुसार नेपालमा रहेका प्रमुख एक सय छब्बीस (१२६) मूल जाति र एक सय सत्ताइस् (१२७) भाषाहरू रहेको देखिन्छ । विश्वका भीमकाय भूगोल भएका देशहरूको दाँजोमा संसारकै एकसयौँ मानाङ्कमा रहेको नेपालको भूगोलभित्र एक सय छब्बीस (१२६) जाति र एक सय सत्ताइस (१२७) भाषमा विस्तारित – साहित्य, कला, संस्कृति, ऋतिरिवाज, प्रथा र परम्पराहरूबाट महिमामण्डित हुनु आफैंमा गौरवको विषय भएको छ ।

३) यी उल्लेखित सम्पूर्ण भाषा, साहित्य, कला, संस्कार, संस्कृति र परम्पराहरूलाई अवलम्बन गर्ने जगका रूपमा रहेको रञ्जना (भूजिमल) लिपि, श्रीजङ्गा लिपि र देवनागरी लिपिमध्ये रञ्जना (भूजिमूल) र श्रीजङ्गा लिपि लगभग विष्मृतको गर्तमा पुगिसकेको देखिन्छ । आज हाम्रो देशभित्र भएका सम्पूर्ण जातिहरूको अस्तित्व बोध गराउने भाषा, साहित्य, कला, संस्कार, संस्कृति, ऋतिरिवाज, प्रथा र परम्पराहरूलाई आलम्बन र अस्तित्व बोध गराउने एक मात्र देवनागरी लिपि रहेको दिनको घामझैँ छर्लङ्ग छ । देवनागरी लिपि र चौसट्ठीवर्णाक्षर अंकहरूको अभावमा- संस्कृत, नेपाली, हिन्दी, भोजपुरी, मैथिली, अवधि, पालि आदि अधिकांश भाषाहरूको अस्तित्व एकमुष्ट रूपमा समाप्त हुने निश्चित छ ।

४) लेख्य भाषा समाप्त हुनु भनेको कुनै पनि जातिको संस्कार, संस्कृति, ऋतिरिवाज, परम्परा, सभ्यता आदि सम्पूर्ण अस्तित्वशाली तत्वहरूबाट बञ्चित हुनु र बनाउनु हो । लेख्य-साक्ष्य प्रमाण समाप्त भएपछि मानव समाज ‘गोपीकृष्ण को’ अर्थात आफ्नो मौलिक अस्तित्व र महत्वविहीन बन्छ । लेख्य साक्ष्य प्रमाणबाट बञ्चित भएपछि मानव समाज पशुपन्छी र जन्तु जनावरमा परिणत हुने निश्चित छ ।

५) फ्रेन्च, रसियन, डच, चाइनिज, रोमन(अंग्रेजी), हेब्रु, अरबी, खान्जी, जोङ्खा, बाङगला, नेपाली, संस्कृत, हिन्दि, उर्दू, आदि भाषहरूबाट संसार चलायमान छ । यो संसारमा भएका सबै भाषाहरूको लिपि र वर्णाक्षरहरू मध्ये संस्कृत,नेपाली एवं हिन्दि भाषाको अवलम्बन गर्दैआएको देवनागरी लिपिलाई यो सृष्टिकै सर्वोकृष्ट लिपि र यस लिपिमा आधारित भएका ६४ (चौसट्ठीवर्णाक्षर अंकहरू) लाई सर्वगुण सम्पन्न वर्णाक्षरहरूको स्थानमा राखिएको पाइन्छ । यसो हुनुको मूल कारण यही देवनागरी लिपि र वर्णहरूले धरतीमा वेदलाई अवतरण गराएको पाइन्छ र यस लिपिमा आधारित ६४ वर्णहरू ध्वनि विज्ञानसँग अभिन्न र अन्योन्याश्रित भएको पाइनु नै सर्वप्रमाणिक रहेको देखिन्छ । जस्तो- हामी सम्पूर्ण मानवहरू प्राण, अपान, व्यान, उदान र समान पाँचवटा वायुबाट जीवित छौं । यसको मूल मरूदगणलाई मानिएको छ । यही वायुको ध्वनिसँग देवनागरी लिपिमा भएका- स्वरवर्णका स्रोह वटा वर्णहरू- अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋ, लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः, व्यञ्जन वर्णका छत्तीस वटा वर्णहरू- क, ख, ग, घ, ङ । च, छ, ज, झ, ञ । ट, ठ, ड, ढ, ण । त, थ, द, ध, न । प, फ, ब, भ, म । य, र, ल, व, श । ष, स, ह, क्ष, त्र, ज्ञ । र, बाह्रखरीका बाह्र वटा अक्षरहरू- क, का, कि, की, कु, कू, के, कै, को, कौ, कं, कः समेत ६४ वटा वर्णहरूलाई सर्वगुणसम्पन्न वर्णाक्षरहरू भएको भाषा मानिएको छ ।

६) ‘इम्बोष्ड’ को शाब्दिक अर्थ केही फुलाउनु, केही उक्साउनु र भएको आकारभन्दा केही माथि उठाउनु भन्ने हुन्छ । पुराना तस्बिरहरू लगायत यो संसारमा भएका सम्पूर्ण लिपिमा भएका वर्णहरूलाई ‘इम्बोस्ड’ अर्थात् फुलाउन, उक्साउन मिल्ने र सक्ने तथ्यगत वास्तविकतालाई पन्छाएर ‘इम्बोष्ड’ (Embossed)को आवरणमा हाम्रो भाषाका वर्णहरूलाई यसपछि लेख्न, देख्न र प्रयोग गर्न नपाउने गरी पासोमा पार्ने, जालमा हाल्ने अर्थात् (Ambushed)मा पार्ने प्रपञ्चनामा भुलाएर मौजुदा नेपालको संविधान २०७२ को धारा १(१), धारा ७(१), धारा २८, धारा ३२(२), धारा २७४(१) देखि (१०) सम्मको विपरति र बर्खिलाप भएको हुँदा यस्तो गैरकानुनी, असंवैधानिक, भाषाघाती कार्य हामी सार्वभौमसत्ता सम्पन्न नेपाल र नेपालीहरूका लागि मान्य र स्वीकार्य नभएको र नहुने निश्चित छ । यो कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको समेत विपरितको कार्य हुनेहुँदा हाम्रो देशका सम्पूर्ण सवारीका साधनहरूमा जोरजबर्जस्ती लादिएको असंवैधानिक ‘इम्बोस्ड नम्बर प्लेट’लाई यथाशीघ्र रद्द र बन्द गरेर मौजुदा संविधानअनुकूलको देवनागरी लिपि–वर्ण र अंकहरूलाई नै हाम्रा सवारीका साधनहरूमा यथावत कायम गरिनु अनिवार्य हुन्छ ।

असंवैधानिक ‘इम्बोस्ड’ले पारिराखेको र पार्ने दीर्घकालिन असर तथा क्षति

क) हाल हाम्रा सवारी साधनहरूमा प्रयोग भएको ‘इम्बोस्ड’ आवरणले सार्वभौम सत्ता सम्पन्न नेपाल र सम्पूर्ण नेपालीहरूको नैसर्गीक, भाषिक र गोपनियताको हकमाथि गम्भीर र दीर्घकालिन घात र क्षति पुगिराखेको छ ।

ख) सवारीका साधनहरूमा संख्यापाटी (नम्बर प्लेट) लेखेर आफ्नो पेशा-व्यवसाय चलाएर जीविकोपार्जन गरिराखेका देशभरिका कलाकारहरूको पेशा व्यवसायलाई पूर्णतः विस्थापित र बेरोजगार बनाएको छ ।

ग) नेपाली नागरिकहरूले सामान्य मूल्यमा बनाइराखेका सवारीका साधनमा प्रयोग हुने संख्यापाटी (नम्बर प्लेट) इम्बोस्ड नम्बर प्लेटको नाममा अत्यधिक मूल्य तिर्न बाध्य र विवश बनाइएको छ र भविष्यमा यो मूल्य अरू वृद्धि गर्ने निश्चित छ ।

घ) नागरिकहरूले तिरेको शुल्क आफ्नै देशको राज्य कोषमा भन्दा विदेशमा जाने र आर्थिक भार भने निरन्तर रूपमा नेपाल र नेपाली नागरिकहरूले गैरकानुनी एवं असंवैधानिक रूपमा तिरिरहनुपर्ने बाध्यात्मक विवशता उत्पन्न गराएको छ ।

ङ) आफ्नै भाषाको लिपि, वर्णहरू र अंकहरू हाम्रा सवारी साधनहरूबाट सधैका लागि हट्ने र हाम्रै देशका नागरिकहरूले यसपछि देवनागरी लिपिमा भएका अक्षर र अंकहरू लेख्न, देख्न र प्रयोग गर्नबाट सधैंका लागि बञ्चित बनाएको छ ।

च) ‘इम्बोष्ड’को शाब्दीक अर्थ केही फुलाउनु, उक्साउनु र प्रस्ट पार्नु मात्र भएको र संसारका सबै लिपिमा भएका भाषाको वर्ण र अंकहरू लाई ‘इम्बोष्ड’ गर्न सहजतापूर्वक सम्भब हुने यथार्थतालाई गुमराहमा राखेर आफ्नै देशका नागरिकहरूलाई आफ्नै देशको सरकारले मौजुदा ऐन, कानून र संविधान विपरितको कार्य गर्न गराउन बाध्य र विवश पार्न नमिल्ने र भाषाको लिपि, वर्णहरू नै गायव वा विस्थापित गर्ने कार्य संयुक्त राष्ट्रसंघको बडापत्रको समेत विपरित हुने हुँदा हाम्रा सवारीका साधनहरूमा हाम्रै भाषाको देवनागरी लिपिमा आधारित वर्णाक्षर र अंकहरू नै यथावत कायम हुन वाञ्छनीय र संविधानसम्मत देखिन्छ ।

छ) ‘इम्बोष्ड’ प्रविधि प्रयोगपश्चात हाम्रा सम्पूर्ण सवारीका साधनहरूलाई नियन्त्रण, नियमन र संयोजन गर्ने प्रविधि हामै्र दशका सुरक्षा निकायहरू- नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र गुप्तचर निकायहरूसँग अनिवार्य रूपमा हुनुपर्नेमा यी कुनै पनि आधारभूत संरचनाहरूको तयारी र पूर्वाधार समेतको व्यवस्था नै नगरीकन केबल हाम्रो नैसर्गीक, भाषिक र गोपनीयताको संवैधानिक हक माथि गम्भीर र दीर्घकालिन घात हुने र गर्ने प्रष्ट देखिएको हुँदा सार्वभौमसत्ता सम्पन्न नेपाल र नेपालीहरूको गोपनियताको हक रक्षा र भाषिक अधिकार कायम हुन अनिवार्य छ । अतः हाम्रा सम्पूर्ण सवारीका साधनहरूमा हाम्रै भाषाको वर्णहरू र अंकहरू यथावत कायम हुनु नै संविधानसम्मत हुन्छ ।