कोइराला पक्षलाई बीस प्रतिशतमा सीमित गरिने !

कोइराला पक्षलाई बीस प्रतिशतमा सीमित गरिने !


सके आफैं नसके पत्नीलाई प्रधानमन्त्री

आफ्नो प्रभावकारी विरोधीलाई डा. शेखरले जतिसुकै प्रयास गरे पनि टिकट नदिन देउवा दृढ रहेका छन् । मोरङमा डा. मीनेन्द्र रिजाललाई उम्मेदवार बन्न नदिन देउवाले सुजाता कोइरालालाई अघि सारिरहेका छन् ।


नेपाली काङ्ग्रेसको सभापति पदमा पराजित भएर पनि लोकप्रिय मानिएका नेता डा. शेखर कोइरालाको शक्ति क्षीण तुल्याउन संस्थापन पक्षले कोइराला पक्षलाई दुई दर्जनभन्दा कम निर्वाचन क्षेत्र मात्र ‘उपलब्ध’ गराउने भएको छ ।

प्रत्यक्षतर्फको कुल १६५ निर्वाचन क्षेत्रमध्ये ८० देखि ८५ क्षेत्र माओवादीलगायतका गठबन्धनमा आवद्ध समूहलाई सुम्पेर निर्वाचनमा जाने तयारी गरेको काङ्ग्रेस नेतृत्वले आगामी निर्वाचनमा ५५ देखि ६० (प्रत्यक्षतर्फ) स्थानमा विजयी बन्ने अपेक्षा राखेको छ । समानुपातिकतर्फ ३५ देखि ४० स्थान मिल्ने अनुमान गरेको काङ्ग्रेस नेतृत्वले ९० देखि १०० स्थान हाशील गरेर संसद्को सबैभन्दा ठूलो दल बन्ने विश्वास गरेको छ ।

निर्वाचनपछि माओवादी, माधव र मधेशी समूहलाई मिलाएर सरकार गठन गर्ने काङ्ग्रेस नेतृत्वको योजना हो । शेरबहादुर देउवा मङ्सिर ४ गतेको निर्वाचनपछि पनि आफ्नै नेतृत्वमा सरकार गठन हुने विश्वासमा छन् । कदाचित आफू प्रधानमन्त्री नबनेर राष्ट्रपति बन्नुपर्ने अवस्था आएमा प्रचण्ड र आरजुलाई आलोपालो प्रधानमन्त्री बनाउने योजनामा देउवा रहेका छन् । आफैंले प्रधानमन्त्रीको जिम्मेवारी लिनुपर्ने अवस्था आएमा प्रचण्डलाई अढाई वर्षपछि प्रधानमन्त्री बनाउने गरी पहिलो चरणमा देउवा आफैं प्रधानमन्त्री बन्नेछन् ।

प्रचण्डले पहिलो चरणमै प्रधानमन्त्री बन्न खोजेका भए पनि देउवा असहमत भएकोले प्रचण्ड दोस्रो चरणमा मात्र प्रधानमन्त्री बन्न पाउने मानसिकता बनाएर बसेका छन् । त्यसैले देउवालाई राष्ट्रपति बनाएर पहिलो चरणमै आफू प्रधानमन्त्री बन्ने खेलमा प्रचण्ड लागे भने कुनै आश्चर्य हुनेछैन ।

सत्ता–राजनीतिमा पोख्त मानिने शेरबहादुर देउवाले भविष्यको काङ्ग्रेस र संसदीय दलमा आफ्ना प्रतिकुल सांसदहरूको सङ्ख्या बीस प्रतिशतभन्दा न्यून रहनुपर्ने गरी शेखर कोइराला पक्षलाई टिकट दिन खोजेका छन् । देउवानिकटको सूत्रले जनाएअनुसार शेरबहादुर देउवाले डा. शेखर कोइराला पक्षधर भनेर चिनिएका दिलेन्द्र बडु (दार्चुला), हृदयराम थानी (सुर्खेत), देवप्रसाद तिमल्सिना (रौतहट), बलबहादुर केसी (सोलुखुम्बु), चन्द्र भण्डारी (गुल्मी), डा. अमरेशकुमार सिंह (सर्लाही), तेजुलाल चौधरी (सप्तरी), डीकबहादुर लिम्बु, सुनिल शर्मा, स्वयम् डा. शेखर कोइराला र सुजाता या डा. मीनेन्द्र रिजाललाई मोरङबाट, रामनाथ अधिकारी (धादिङ), सञ्जय गौतम (बर्दिया), गगन थापा (काठमाडौं), बद्री पाण्डे (बाजुरा) र धनराज गुरुङ (स्याङ्जा) लाई टिकट दिन आफू राजी भएको जानकारी डा. शेखर कोइरालालाई गराएको बताइन्छ ।

कोइराला पक्षका नरहरि आचार्यकी पत्नी शारदा शर्मा र मनमोहन भट्टराईकी पत्नीलाई देउवाले समानुपातिक उम्मेदवार बनाइदिएका छन् । कोइराला पक्षले शुरुमा चालिस प्रतिशत निर्वाचन क्षेत्र दाबी गरेको र पछिल्लो समयमा जम्मा ३० क्षेत्र मात्र मागेको भए पनि बढीमा २३ निर्वाचन क्षेत्र दिने सोच देउवाले बनाएका छन् ।

भविष्यको संसदीय दलमा ४० प्रतिशत सङ्ख्या पुग्न नदिन र, पत्नी आरजुको बाटो छेक्ने हैसियतमा कोइराला पक्षलाई पुग्न नदिन देउवा अहिले नै निकै सचेत देखिएका छन् । त्यसैले आफ्नो प्रभावकारी विरोधीलाई डा. शेखरले जतिसुकै प्रयास गरे पनि टिकट नदिन देउवा दृढ रहेका छन् । मोरङमा डा. मीनेन्द्र रिजाललाई उम्मेदवार बन्न नदिन देउवाले सुजाता कोइरालालाई अघि सारिरहेका छन् ।