बेल्जियममा अन्तरक्रियात्मक रुपमा संविधान दिवस मनाइयो

बेल्जियममा अन्तरक्रियात्मक रुपमा संविधान दिवस मनाइयो


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सात वर्ष पूरा हुँदै गर्दा जनसम्पर्क समिति बेल्जियमले बेल्जियमकै शैक्षिक शहर लुभेनमा अन्तरक्रिया कार्यक्रम गरि संविधान दिवश मनाउने औपचारिकता निर्वाह गरेको छ ।

जनसम्पर्क समिति बेल्जियमले संविधान जारी भएको सात वर्ष पुगेको अवसरमा १९ सेप्टेम्बरका दिन एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा बेनेलक्स तथा युरोपियन युनियनको लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको विशेष उपस्थिति थियो भने एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केसी लगायत आयोजक समितिका पूर्वअध्यक्षहरु, अन्य संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, उद्योगी, व्यवसायी, सामान्य समर्थक एवम् सञ्चारकर्मीहरुलाई समेत निम्त्याइएको थियो ।

जन सम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमल्सेनाको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई महामन्त्री प्रकाशराज गिरीले संचालन गरेका थिए।

विभिन्न वक्ताहरुपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूतले नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको तर्क गर्दै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्यायको दृष्टिले अहिलेको संविधान विश्वमै उत्कृष्ट संविधान भएको जिकिर गरे ।

त्यस्तै, एनआरएनएका अध्यक्ष खड्क केसीले संविधान जारी भएसँगै आदिवासी जनजाति र मधेसी समुदायबाट उठाइएका समानुपातिक र समावेशीका मुद्दालाई सम्बोधन गरको यो संविधानको प्रयोगको शिलशिलामा भएका अवरोधहरुलाई हटाएर लैजान सकिने भन्दै संविधानसभाबाट विश्वका अरु मुलुकमा जारी भएको संविधानको तुलनामा नेपालको संविधान धेरै विशेषताले भरिपूर्ण रहेको तर्क राखे ।

उक्त कार्यक्रममा जन सम्पर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष ध्रुवराज पौडेल, पूर्वअध्यक्षहरु गङ्गाधर गौतम, सुवास जोशी, सीता सापकोटा, इन्द्र पकवान लगायतले पनि आफ्ना तर्कहरु राखेर अन्तरक्रियामा सहभागिता जनाएका थिए ।