देवकोटाको साइकल मोह !

देवकोटाको साइकल मोह !


  • सुनिल उलक

साइकल चलाउने नेपालका विशिष्ट ब्यक्तित्वहरूको उल्लेख यहाँ गरिएको छ । राणा शासनको समय साइकल भित्रिए पनि राणा श्री ३ वा सो भन्दा तलका कमाण्डिङ जनरल, जर्नेल, कर्णेलहरूले साइकल चलाएर हिँडेको कुनै ऐतिहासिक जानकारी सो समयका कसैबाट पनि प्राप्त भएको छैन । तर देशमा प्रजातन्त्र आउनुअगाडि तथा प्रजातन्त्र आएपछि भने सर्वसाधारण तथा राणाविरोधी आन्दोलनमा लागेका केहीले साइकलमा विभिन्न स्थान पुग्ने गरेको जानकारी भने पाउन सकिन्छ ।

राणा शासनकालमा स्वतन्त्र रूपले दरबार बाहिर घुम्न नपाएका राजा त्रिभुवन भने देशमा प्रजातन्त्र आगमनपछि साइकलमा दरबारबाहिर निस्कने गरेको भनाइ विभिन्न ब्यक्तिले देखेको विवरणहरू वा लेखहरू भेटिन्छ । राजा स्वयम्ले साइकल चढेर घुम्न निस्कँदा राजाका अंगरक्षकहरूलाई निकै समस्या पर्दथ्यो । दुई अंगरक्षक पनि साधारण हतियारको साथ साइकलमा नै पछि–पछि लाग्दथे । साथमा राखिएको तस्बिर राजा त्रिभुवनले चलाएर हिँड्ने बेलायती रेलै साइकलको हो । यस साइकलको सिरियल नम्बरको आधारमा हेर्दा यो साइकल २००७ सालपछि बनेको हो ।

प्रजातन्त्र आएपछिका अर्का प्रमुख साइकलचालक थिए बीपी कोइराला । बीपी कोइराला पनि प्रायः साइकलमा नै कुँद्थे । साथमा नेतागणहरू गणेशमानसिंह, टंकप्रसाद आचार्य तथा कृष्णप्रसाद भट्टराई पनि साइकलमा नै भेटिन्थे । नेपालका निकै चर्चित कवि अर्थात् महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि साइकलमा नै हुन्थे । उनको साइकल चलाउने क्रम भने राजा महेन्द्रको समय केआइ सिंह मन्त्रिमण्डलमा शिक्षामन्त्री बनेको समयमा पनि रहेको चर्चा निकै सुनिन्छ । मन्त्री बने पनि डिल्लीबजारको उनको घरसम्म सरकारी गाडी पुग्न कठिन भएको हुँदा घरबाट गाडी पुग्ने ठाउँसम्म साइकलमा नै निस्कने गर्दथे । साथै मन्त्रालयबाट फर्कंदा पनि गाडीबाट झरेपछि साइकलमा नै घरसम्म खेतको आली-आली साइकल कुदाउँदथे ।

साथमा राखिएको तस्बिरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको साथमा नारायणप्रसाद बाँस्कोटा तथा हरिहरनाथ रेग्मीलाई देख्न सकिन्छ । शुरुमा पत्रपत्रिकाका सम्पादक रहेका नारायणप्रसाद बाँस्कोटा पछि प्रचार विभागका निर्देशक समेत बनेका थिए । हरिहरनाथ रेग्मी भने कुनै बेला जुद्धोदय स्कूलका अंग्रेजीका माडसाप थिए । यस तस्बिरमा नारायणप्रसाद बाँस्कोटा तथा देवकोटा दुवै साइकलमा हुनुहुन्छ ।

साइकलको कथामा महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि बेलायती साइकल ‘रेलै साइकल’ नै चढ्दथे । साधारण रूपमा कतै हिँडेर जानुपर्दा सुस्त र गम्भिर रूपमा हिँड्ने देवकोटा साइलकमा भने सधैं कुँदाउन मन पराउँथे । वि.सं. १९९१ मा आमाको देहान्त हुँदा भने एक महिना कडा आशौच बार्दै साइकल पनि चढेनन् । सधैं साइकलमा कुँद्नुपर्ने देवकोटाको साइकल हराएछ । चिन्तित देवकोटाको लागि साइकलमा महत्व अति नै थियो । तसर्थ चार दिन नहँुदै नयाँ साइकल किनेर फेरि कुँदाउन थालेछन् । यस्तो थियो देवकोटाको साइकल मोह ।

गणेशमान सिंह अर्थात् हीराकाजीको साइकलको पनि रमाइलो कथा छ । ९० सालको भूकम्पभन्दा अगाडि १७ वर्षे अल्लारे उमेरमा गणेशमान सिंह रुद्रशम्शेरको दरबारमा रहेको मुलुकी अड्डामा बहिदार थिए । त्यो बेला राणाशासनको समय साइकलमा बत्ती र घन्टी हुनैपर्दथ्यो । तर गणेशमान भने बत्ती र घन्टी नभएको साइकल हुइँकाउदै मुलुकी अड्डा पुगेछन् । ढोकाबाहिर उभिएका आठपहरिया (सैनिक)ले रोकेछन् र ‘सुकुलगुण्डा न्यार’ भनेछन् । गणेशमान पनि के कम ? आठपहरियालाई मुक्काइदिएछन् । आठपहरियाको गुनासो रुद्रशम्शेरसम्म पुगेछ । रुद्रशम्शेरले समातिएको साइकल त गणेशमानलाई फिर्ता गराइदिए तर सजायबापत आठपहरियाकै हातबाट चार पटक कान समाएर उठबस गर्ने सजाय दिएछन् । रिसाहा गणेशमानले तत्कालै जागीर छोडेर कलकत्ता लागे र राणाविरोधी आन्दोलनमा होमिएछन् ।

यसरी नै पङ्क्तिकारलाई आमाले सुनाउनुभएको मेरो बुबाको साइकलको कथा याद आउँछ । वि.सं. २००२ तिर बुबाले पनि साइकल किन्नुभएको रहेछ । त्यतिबेला साइकल कुदाउनेहरूको शान नै अलग्गै हुने गर्दथ्यो । बुबा पनि साइकल किनेपछि आफूलाई विशेष नै मान्न थाल्नुभएछ । त्यसपछि भक्तपुर मूलढोकामा रहेको घरबाट पाटन सुन्धारामा रहेको ससुराली झण्डै १० किमी टाढा साइकलमा जानुहुँदोरहेछ । ससुराली नजिक पुगेपछि साइकलमा करतवहरू देखाउन थाल्नुहुँदोरहेछ । कहिले बेस्सरी कँुदाउने कहिले दायाँबायाँ गर्दै दौडाउने ! यस्तैमा एकदिन नराम्रोसँग साइकलबाट लड्नुभएछ । साइकलबाट लड्नुको चोट भन्दा बढी लज्जाबोध भएछ बुबालाई । त्यसपछि भने ससुरालीमा साइकलमा जान नै छोड्नुभएछ ।

यसरी देशमा प्रजातन्त्र आगमनको केही समय अगाडिदेखि प्रजातन्त्र आएको केही समयसम्म साइकल निकै लोकप्रिय रहेको थियो । राजनेता वा साहित्यकार वा सर्वसाधारण सबैमा साइकलको महत्व धेरै नै हुने गर्दथ्यो ।

(राजा त्रिभुवनको साइकलको तस्बिर हनुमानढोका संग्रहालयका प्रमुख सन्दीप खनालबाट प्राप्त भएको हो भने लक्ष्मीप्रसाद देवकोटाको तस्बिर मदनपुरस्कार पुस्तकालयको सङ्ग्रहबाट लिइएको हो ।- ले.)