मन दुःखेपछि गणतन्त्रको पक्षमा !

मन दुःखेपछि गणतन्त्रको पक्षमा !


  • देवप्रकाश त्रिपाठी

सिद्धान्ततः कम्युनिस्टलाई गणतन्त्रवादीका रूपमा बुझिन्छ । विश्वराजनीतिमा कम्युनिस्टले राजतन्त्रको रक्षा गरिदिएको दृष्टान्त भए पनि वैचारिक रूपमा उनीहरूलाई राजतन्त्रसमर्थकका रूपमा लिइँदैन । तर, वि.सं. २०४६ देखि संसदीय प्रजातान्त्रिक राजनीतिक अभ्यास गर्दै आएको तत्कालीन नेकपा एमालेले छोटो समयमा नै आफूलाई संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रप्रति प्रतिबद्ध शक्तिका रूपमा विश्वास आर्जन गरेको थियो । संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्रका पक्षमा नेपाली काङ्ग्रेसभन्दा तत्कालीन एमाले कुनै पनि दृष्टिले कमजोर मानिदैनथ्यो । संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको पक्षपोषण गर्न एमालेका नेताहरू किञ्चित हिच्किचाउँदैनथे । नेकपा एमालेको महासचिवका रूपमा निरन्तर डेढ दशकसम्म जिम्मेवारी निर्वाह गरेका वरिष्ठ नेता माधवकुमार नेपालमाथि राजामा दाम राखेर दर्शन गरेकोदेखि प्रधानमन्त्री बन्न दरबारमा निवेदन (२०५९ वि.सं.) चढाएकोसम्मका विषयलाई लिएर अनेक टीका-टिप्पणी हुन्थे । यसप्रकारका टिप्पणीले एमाले र माधवकुमार नेपाललाई परिणामगत नकारात्मक असर पार्न सक्ने स्थिति पनि थिएन, किनभने नेकपा एमालेले संविधानोचित व्यवहार गर्नुलाई सामान्य र स्वाभाविक रूपमा लिन थालिएको थियो ।

करिब दुई दशक संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक पद्धतिमा रमाएको एमालेको प्रमुख नेता माधवकुमार नेपाल अचानक गणतन्त्रका पक्षमा दृढताका साथ प्रस्तुत हुन थाल्नुभयो । बीपी कोइरालाद्वारा स्थापित नेपाली काङ्ग्रेस पार्टीका मुख्य नेता गिरिजाप्रसाद कोइरालालाई माओवादी नेता प्रचण्डलगायतले ‘आजीवन राष्ट्रपति’ बनाइदिने विश्वास दिलाएका थिए र, प्रथम राष्ट्रपति बन्ने प्रलोभनमा परेर गिरिजाप्रसाद कोइरालाले गणतन्त्रमा जाने निर्णय लिनुभएको थियो । हुन त वि.सं. २०६२ मङ्सिरको पहिलो साता भारतको राजधानी नयाँदिल्लीमा माओवादी र संसद्वादी राजनीतिक दलहरूबीच बाहबुँदे सम्झौता हुँदैमा माओवादीले संसदीय प्रजातन्त्र र काङ्ग्रेसले गणतन्त्र स्वीकार गर्ने भन्ने समझदारी बनेको थियो । पार्टीगत तहमा काङ्ग्रेसभित्र छलफल नभए पनि गिरिजाको एकल निर्णयबाट काङ्ग्रेसलाई गणतन्त्रको पक्षमा उभ्याइएको थियो । वास्तवमा राजा–महाराजाबाट प्रजातन्त्र सुरक्षित तुल्याउन गिरिजाप्रसाद गणतन्त्रको पक्षमा उभिएका होइनन् । भविष्यमा माओवादीबाट धोखा हुन सक्छ भन्ने सानो मात्र आशङ्का भएको भए पनि गणतन्त्रको पक्षमा गिरिजाको साथ-समर्थन नहुन सक्थ्यो । गिरिजाप्रसाद चिरपरिचित आत्मकेन्द्रित नेता हुनुहुन्थ्यो र, पहिलो राष्ट्रपति बनेपछि आफू ‘बीपीभन्दा अग्लो’ बन्ने महत्वाकाङ्क्षा पनि उहाँमा थियो । तर, माधवकुमार नेपाललाई गणतन्त्र घोषणा गर्न सहमत भएबापत तत्काल कुनै प्रत्यक्ष लाभ हुने स्थिति थिएन । तथापि, उहाँ निकै उत्साहपूर्वक गणतन्त्रका पक्षमा क्रियाशील हुनुभएको थियो । कम्युनिस्टहरू सिद्धान्त र विचारले नै गणतन्त्रवादी हुन्छन् भनेर निष्कर्ष निकाल्न सकिने अवस्था माधव नेपालको सवालमा थिएन । त्यसैले यो पुस्तक तयार पार्ने क्रममा उहाँलाई सोधियो, ‘तपाईं किन गणतन्त्रको पक्षमा जानुभएको ?’

अधिवक्ता नवराज थपलिया (यो पुस्तक प्रकाशित भएको समयमा उच्च अदालतका न्यायाधीश)को उपस्थितिमा २०७२ साल पुस २ गते बिहीबार साँझ यो प्रश्न माधव नेपालसमक्ष राखिएको थियो । जवाफमा उहाँको भनाइ रह्यो- ‘नारायणहिटी दरबारमा विभिन्न राजनीतिक दलका नेताहरूलाई छलफलका लागि आमन्त्रण गर्ने क्रम चलिरहेको थियो र, यसक्रममा एकपटक मलाईसमेत आमन्त्रण गरिएकोले म त्यहाँ पुगेको थिएँ । दरबारको पश्चिम ढोकाबाट भित्र प्रवेश गर्नेवित्तिकै मेरो मोटर रोकियो र, मलाई गाडीबाट ओर्लिएर पैदलै भित्र जान भनियो । अरू नेताहरू भित्रसम्म गाडी लिएर गइरहेका थिए, मलाई मात्र गाडी छोडेर पैदल जान भन्नु उचित थिएन । त्यसैले मैले ड्राइभरलाई गाडी घुमाउन भनेँ, त्यहाँ सहभागी हुन चाहिनँ, फर्किएर घर आएँ । बाटोमा मैले सोचेँ– अब गणतन्त्र नै ल्याउनुपर्छ जस्तो छ ।’

‘हो, यसै दिन मभित्र पहिलोपटक गणतन्त्र नै ल्याउनुपर्ने हो कि भन्ने प्रश्न उठेको थियो । यस घटनाको केहीपछि मलाई निर्मलनिवासमा भेट्ने भन्ने खबर आयो र, निर्धारित समयमा त्यहाँ पुगेको थिएँ । बैठककक्षमा प्रवेश गर्दै गर्दा तत्कालीन राजा ज्ञानेन्द्र आफ्ना छोरा पारसलाई भन्दै थिए, ‘यु नो, अल दी पोलिटिकल लिडर्स आर अ ग्रुप अफ एनिमल ।’ भित्र पस्दापस्दै मैले त्यसो भनेको सुनेँ । मलाई बडो अनौठो लाग्यो र रिस पनि उठ्यो । मैले तत्काल प्रतिवाद गरेँ । यही विषयलाई लिएर बीस-पच्चीस मिनेटभन्दा बढी समयसम्म राजा ज्ञानेन्द्रसँग मेरो विवाद भयो । मलाई लामो कुरा गर्न मन पनि भएन । केहीबेरको वादविवादपछि म त्यहाँबाट बिदा भएँ । फर्कंदै गर्दा सोचेँ- अब गणतन्त्र ल्याउनैपर्छ ।’

‘त्यस दिन मलाई निकै अपमानित महसूस भएको थियो । यस घटनापछि म जसरी भए पनि गणतन्त्र ल्याउनैपर्छ भन्ने निष्कर्षमा पुगेको हुँ ।’

वरिष्ठ नेता माधव नेपालको कुरा सुनिसकेपछि मैले प्रश्न गरेँ, ‘के तपाईं राजाबाट प्रशंसित या सम्मानित हुनुभएको भए राजाका निर्णयहरूमा सहमति जनाउनुहुन्थ्यो ? एउटा नेताले आफ्नो खुसी या दुःखका आधारमा राज्यसँग सम्बन्धित निर्णय लिनु ठीक हो ?’

उहाँ मौन रहनुभयो । सायद, जवाफ दिन चाहनु भएन ।

संविधान (२०७२) जारी गर्नुअघि भारतका तत्कालिक विदेशसचिव एस. जयशङ्कर नेपाल आएर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डसँग पनि भेटेका थिए । उनले संवादका क्रममा प्रचण्डलाई ठेस लाग्ने कुरा गरेछन् । विदेशसचिवसँगको बैठकपश्चात् प्रचण्डले आफूलाई भारतीय विदेशसचिवले होच्याएको र अपमान गरेको बताउँदै ‘अब राष्ट्रियताको निम्ति सबै एकजुट हुनुपर्ने र गाडी छोडेर साइकल चढ्नुपर्ने बेला आएको’ धारणा सार्वजनिक गरेका थिए । के त्यस भेटवार्ताका क्रममा भारतीय विदेशसचिवले प्रचण्डलाई खुसी तुल्याएको भए वा ठूलो सम्मान दिएको भएचाहिँ उनले राष्ट्रियतामाथि सङ्कट आएको ठान्दैनथे, हो ? ।

नेता खुशी हुँदा राष्ट्र खुशी हुने या नेता सम्मानित हुँदा राष्ट्र सम्मानित भएको मान्नुपर्ने हो कि राष्ट्र खुशी र सम्मानित हुँदा नेता प्रसन्न हुनुपर्ने ?

मेरो विचारमा नेताले आफ्नो दुःख या खुशीका आधारमा राष्ट्रिय धारणा बनाउन मिल्दैन । तर, यही नमिल्ने काम नेताहरूबाट भइरहेको छ भन्दै मैले बीपी कोइरालाको सन्दर्भमा माधव नेपालजीको ध्यानाकर्षण गराएँ । २०१५ (वि.सं.) को निर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइ मत प्राप्त गर्नु र संसद्ले प्रधानमन्त्री चयन गर्नु बीपीको गल्ती थिएन । तत्कालीन राजाबाट संसदीय व्यवस्था विघटन गरी बीपीलाई बिना कुनै अभियोग आठ वर्षसम्म काराबासमा राखियो । कारबासमुक्त भइसकेपछि पनि बीपीले नेपालमा शान्तिपूर्ण आन्दोलन गर्न पाएनन् । अर्को आठ वर्ष प्रवासमा जानुप¥यो । आठ वर्षपछि स्वदेश फर्किएर शान्तिपूर्ण गतिविधिमा लाग्न खोज्दा अनेक मुद्दा लगाइयो, फाँसीको माग गर्दै पञ्चहरू सडकमा निस्किए । जनताबीच जाँदा बीपीलाई कालो झण्डा देखाउने र अनेकौँ बाधा–व्यवधान पैदा गर्ने काम भयो । एकपटक पूर्वप्रधानमन्त्रीका हैसियतमा नारायणहिटी राजदरबारमा आयोजित एक समारोहमा आमन्त्रण गरिएका बीपी कोइरालालाई दरबारको ढोकामा पुगेपछि कोटको रङ नमिलेको कारण देखाउँदै त्यहाँबाट फिर्ता पठाइयो । पटक-पटक राजाबाट बीपी अपमानित भए, उनलाई चरम ‘ह्युमिलिएट’ गरियो । यी सब अपमानपछि २०३७ सालमा सम्पन्न जनमत सङ्ग्र्रहको परिणाम (पञ्चायत विजयी भएको) स्वीकार गर्दै बीपीले राष्ट्रियताको सवालमा राजाको र आफ्नो घाँटी जोडिएको उद्घोष गरे । अपमान र तिरस्कारका आधारमा त बीपीले उहिल्यै गणतन्त्रको वकालत गर्नुपर्ने थिएन र ? के बीपीले गणतन्त्रबारे थाहै नपाएकोले संवैधानिक राजतन्त्रको वकालत गरेका हुन् ? के बीपी गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताबारे स्पष्ट ज्ञान र धारणा राख्दैनथे ?

यसरी केही प्रश्नहरू राख्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई मैले आफ्ना संवेदनाहरू उत्तेजित भएको (दुःख, खुशी, दिक्दारी, रिस आदि) अवस्थामा कुनै निर्णय लिनु उचित नहुने स्पष्ट गर्दै नेताले आफ्नो खुशी या दुःखका आधारमा देशसँग सम्बन्धित कुनै पनि विषयमा धारणा बनाउन नहुने बताउँदा उहाँले मेरा कुराहरू धैर्यपूर्वक सुन्नुभयो ।

सबैभन्दा अविश्वासी नेता

वि.सं. २०६५ साल माघ १० गते बहिर्गमित राजा ज्ञानेन्द्रसँग पुनः साक्षात्कार हुने अवसर प्राप्त भयो । निर्मल निवासको ‘लाइब्रेरी रुम’ भन्न मिल्ने सानो बैठककक्षमा बिहान ११ः३० बजेदेखि १२ः५५ सम्म राजासँग संवाद भएको थियो ।

संवादको थालनी गर्दै उहाँले भन्नुभयो- ‘माओवादीहरूको नीति र व्यवहारबारे मानिसले अहिले आएर बुझ्न थालेजस्तो मलाई लाग्छ । अन्तर्राष्ट्रिय समुदायले पनि उनीहरूलाई बुझेजस्तो छ । माआवादीविरुद्ध बिस्तारै गतिविधि हुन थालेको देख्दैछु म । प्रचण्डको क्रियाकलाप देश, जनता र प्रजातन्त्रअनुकूल नभएको महसूस धेरैले गरेका हुन सक्छन् । प्रचण्डले देशको प्रतिकूल धेरै सम्झौताहरू गरेका छन् । अमेरिकामा ओबामाको विजयपछि उनले कस्तो परराष्ट्रनीति लिने हुन् र दक्षिण एसियामा उनको नीति कुन रूपमा अघि बढ्ने हो त्यो हेर्न बाँकी छ । ओबामाले लिने नीतिको प्रभाव नेपालमा पनि पर्न सक्छ ।

प्रजातान्त्रिक शक्तिहरूबीच एकताको कुनै विकल्प म देख्दिनँ । चाहेर या नचाहेर पनि उही बुढा (गिरिजाप्रसाद)लाई नै बलियो बनाउनुपर्ने अवस्था छ । माओवादीहरूबाट देश र प्रजातन्त्र सुरक्षित होला जस्तो मलाई लाग्दैन । प्रजातान्त्रिक शक्तिहरू एमालेसमेत एक ठाउँमा आउनैपर्छ, माओवादीलाई एक्ल्याउन सक्नुपर्छ, त्यसपछि मात्र प्रजातन्त्रसहित देश जोगाउन सकिने देख्छु म ।

पशुपतिनाथमा माओवादीले अतिक्रमण गरेको हाम्रो धर्म र संस्कृतिमाथिकै अतिक्रमण हो जस्तो मलाई लाग्छ । तर, मलाई भेट्ने केही नेपालीले चाहिँ त्यहाँ भेटीको रूपमा प्राप्त हुने आम्दानीमाथि माओवादीले आँखा लगाएका हुन् भनेका छन् ।

मेरो हजुरबुबा (राजा त्रिभुवन)को पालादेखि मलाई थाहा छ, पशुपतिनाथको आम्दानीको एक रूपैयाँ पनि दरबारमा आएको छैन । बरु बेलाबखतमा दरबारबाट नै पशुपतिनाथमा जाने गर्दथ्यो ।

(स्मरणीय छ, त्यसबेला प्रधानमन्त्री प्रचण्डको इच्छाअनुरूप सरकारले पशुपतिनाथको परम्परागत पुजारीलाई बदलेर आफूअनुकूलका एक ‘वामपन्थी पण्डितलाई पुजारी नियुक्त गरेको थियो । सरकारको उक्त नियुक्तिविरुद्ध धार्मिक समुदाय र साधारण जनतासमेत थिए ।)

माओवादीले एके सतचालिस (AK 47) समेत प्रयोगमा ल्याएका थिए । नेपाली सेनाले ‘एके ४७’ चलाउँदैन, ती हतियार बाहिरबाटै आउने गर्दथ्यो । माओवादीबाट छुट्टिएर आएका युवाहरूले सेनापति रुकमाङ्गद कटवालसँग ‘एके ४७’ मागेका थिए भन्ने सुनेको थिएँ ।

यति भनिसकेपछि राजा समसामयिक राजनीतितिर फर्किनुभयो र । सोध्नुभयो- ‘देव, प्रचण्ड कहिलेसम्म प्रधानमन्त्री रहन सक्लान् ?’

बिनाविश्लेषण जवाफ दिँदै मैले भनेँ- ‘वैशाख (०६६) सम्म रहलान् जस्तो लाग्छ ।’

‘हु विल बि द नेक्स्ट् ?’- राजाले थप जिज्ञासा राख्नुभयो ।

यसको जवाफ पनि मैले सिधै दिएँ- ‘माधव नेपाल हुन सक्लान् ।’

‘माधव नेपालको पनि विश्वास गर्छन् र मानिसहरू ? मलाई त गर्छन् जस्तो लाग्दैन । त्यसैले उनको नेतृत्वमा सरकार गठन भयो भने त्यो पनि त्यति उपयुक्त हुँदैन । मुलुकका लागि झन् घातक हुन सक्छ । जसले उनलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न सक्छन्, तिनका निम्ति पनि यी उपयुक्त पात्र होइनन्’, राजाले भन्नुभयो ।

त्यसपछि मैले थपेँ- ‘सरकार, माधव नेपालको स्वभाव/चरित्र जे-जस्तो भए पनि प्रचण्ड हटिसकेपछि प्रधानमन्त्री बन्ने सम्भावनाचाहिँ उनकै देखिन्छ । त्यो किनभने एमाले सत्तामुखी पार्टी हो र सत्ताबिना रहने कल्पना पनि त्यस पार्टीका नेता-कार्यकर्ताहरूले गरेका छैनन् । प्रचण्ड हटिसकेपछि काङ्ग्रेसको नेतृत्वमा सरकार बन्न सक्छ र, त्यसमा एमाले पनि सहभागी हुन सक्ला । तर, केही समयपछि नै काङ्ग्रेसलाई छोडेर उनीहरू माओवादीसँग मिल्न जान सक्छन् । प्रचण्डमा एमालेका नेताहरूलाई खेलाउन सक्ने तागत छ । यदि एमालेकै नेतृत्वमा सरकार गठन भयो भने त्यसमा काङ्ग्रेस पनि सहभागी बन्छ र त्यस्तो सरकारले स्थायित्व प्राप्त गर्न सक्छ । काङ्ग्रेसका नेताहरूले पनि यो कुरा बुझेका होलान्, त्यसैले प्रचण्ड हटेपछि काङ्ग्रेसले एमालेलाई सरकारको नेतृत्व दिन सक्छ । त्यस्तो अवस्थामा ‘एमालेबाट को ?’ भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने हुन्छ । केपी शर्मा ओलीले चुनाव जितेनन्, उनी संविधानसभाभन्दा बाहिर छन् । झलनाथ खनालले चुनाव जितेका छन्, उनी संसदीय दलको नेता र एमालेका अध्यक्ष पनि हुन् । तर, झलनाथलाई प्रधानमन्त्री बनाउन भारत सकारात्मक होलाजस्तो मलाई लाग्दैन । भारतको सद्भावबिना नेपालमा कोही प्रधानमन्त्री बन्न सक्ने अवस्था तत्काललाई देखिँदैन । त्यसैले माधव नेपाल नै प्रचण्डपछिका प्रधानमन्त्री हुन् भन्ने मलाई लागेको छ ।’

मेरो विश्लेषणसँग सायद राजा सहमत हुनुभयो र भन्नुभयो- ‘मैले बुझेँ, केही समयका लागि माधव नेपाल भएर त्यसपछि प्रजातान्त्रिक शक्तिमा जाला ।’

देश दिन-प्रतिदिन सङ्कट र अन्योलको भूमरीमा फस्दै गएको विषयमा छलफल हुँदै थियो । त्यसक्रममा नेपाली राष्ट्रियता र राष्ट्रिय एकता एवम सामाजिक सद्भाव नराम्रोसँग खलबलिएको सन्दर्भ पनि उठ्यो । भ्रष्टाचारको विषय छलफलमा नआउने कुरै भएन । यस्तै विषयमा छलफल हुँदाहँदै राजाले भन्नुभयो- ‘अब त देशको अवस्था यति बिग्रिसकेको छ कि मै आए पनि काम सम्हाल्न नसकिएला जस्तो लाग्दैछ ।’

(असोज ७ गते सार्वजनिक हुँदै गरेको पुस्तक ‘तुषानल’को एक अङ्श)