शान्तिका निम्ति प्रचण्डको नयाँ सर्त

शान्तिका निम्ति प्रचण्डको नयाँ सर्त


नेपाली काङ्ग्रेस र नेकपा एमालेले शान्तिप्रक्रिया टुङ्ग्याउन सरकारलाई सात दिनको अल्टिमेटम दिए पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्तीमा फागुन मसान्तसम्मको समयसीमा पाउनुहुने भएको छ । फागुन मसान्तभित्र लडाकुलाई राष्ट्रिय सेनामा भर्ती-प्रक्रिया सुरु गराइएमा उहाँको कार्यकाल आगामी वैशाख मसान्तसम्म लम्बिनेछ । फागुन मसँन्तभित्रै सेना समायोजनका निम्ति भर्ती-प्रक्रिया सुरु नगरिएमा भने चैतको मध्यसम्ममा उहाँको सरकारको विधिवत् बिदाइ हुने बुझिएको छ । मधेसी मोर्चाको साथ रहिन्जेल भट्टराई सरकारको अस्तित्व कायम रहने निश्चित भए पनि यही स्थितिमा मोर्चाको समर्थन थप डेढ महिनाभन्दा उता जानसक्ने सम्भावना कम छ । विजयकुमार गच्छदार र जयप्रकाश गुप्ता वर्तमान गठबन्धन भङ्ग गरेर तत्काल नयाँ समीकरण बनाउन इच्छुक देखिनुभएको छैन । उहाँहरू काङ्ग्रेस र एमालेसँग निश्चित विषयहरूमा सहमति नबनाई वर्तमान सरकार भङ्ग गर्नु उचित नहुने धारणा राख्नुहुन्छ । तर, मोर्चाका केही नेताहरूले भने माओवादीलाई एक महिनाको अल्टिमेटम दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । शान्तिप्रक्रिया टुङ्गिएमा बाबुराम नेतृत्वको सरकार वैशाखसम्म कायम रहने मात्र होइन संविधान निर्माणले पनि गति प्राप्त गर्ने विश्वास गरिएको छ । उता माओवादीका शक्तिशाली नेता प्रचण्डले भने शान्तिप्रक्रिया टुङ्ग्याउन भावी चुनावपछि कम्तीमा पाँच वर्षसम्म सत्ता आफूलाई दिने ग्यारेन्टी हुनुपर्ने सर्त विभिन्न शक्तिकेन्द्रहरू समक्ष राख्नुभएको छ । अब हुने चुनावपछि राष्ट्रपति या प्रधानमन्त्री जे भए पनि कार्यकारी प्रमुखको रूपमा आफूले काम गर्न पाउनुपर्ने सर्त प्रचण्डको छ । उहाँले उक्त कुराको ग्यारेन्टी जहाँबाट खोज्नुभएको छ प्राप्त जानकारीअनुसार अहिलेसम्म प्रचण्डले त्यसको ग्यारेन्टी पाउनुभएको छैन । कसैले ग्यारेन्टी दिए पनि चुनावमा कस्तो परिणाम आउने हो भन्ने अनुमान नै गर्न नसकिने यस स्थितिमा प्रचण्डलाई दिइने ग्यारेन्टीको अर्थ के होला ? तथापि उहाँ ग्यारेन्टी नमिलेसम्म शान्तिप्रक्रिया टुङ्ग्याउने पक्षमा नरहनुभएको बताइन्छ । शान्तिप्रक्रिया टुङ्गिएमा आगामी जेठ १४ भित्रै नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले चुनावी सरकारको नेतृत्व गर्नुहुने बुझिएको छ । यदि शान्तिप्रक्रिया टुङ्गिएन भने संविधान बन्न असम्भव छ, तर संविधान नबने पनि संविधानसभाको कार्यकाल थपिने सम्भावना भने छैन । त्यस्तो अवस्थामा राष्ट्रपति डा. रामवरण यादवकै पहलमा दलहरू सम्मिलित सरकार बन्ने र प्रजातान्त्रिक गठबन्धनको त्यस्तो सरकारलाई सेना र अन्तर्राष्ट्रिय समुदायको बलियो समर्थन प्राप्त हुने बुझिएको छ ।

आफ्नै नेताको गाडी कब्जा
माओवादी स्थायी समिति सदस्य लीलामणि पोख्रेलले आफ्नै कार्यकर्ताले घर्ेलान् र चढेको सवारीसाधन जफत गर्लान् भनेर कहिल्यै सोचेका थिएनन् । ०६२/६३ को जनआन्दोलनमा जनमोर्चा नेपालबाट निकै उचाइ प्राप्त गरेका र चर्चित बनेका आन्दोलनकर्मी नेता पोख्रेल माओवादी बनेपछि थप उचाइ प्राप्त गर्ने आशामा थिए । तर, सोमबार उनका लागि कालो दिन बन्यो र परिस्थिति ठीक उल्टो भयो । कारण थियो उनी अर्थात् पोख्रेल चढेको गाडी आफ्नै कार्यकर्ताले जफत गर्नु । नेता पोख्रेल जिल्ला समिति बैठकमा सहभागी हुन बा.००१अ ३६ नम्बरको गाडी चढेर कञ्चनपुरको कृष्णपुर बलुवाफाँटामा के पुगेका थिए माओवादीका पूर्वलडाकु र वाईसीएलको संयुक्त टोलीले सवार गाडी नियन्त्रणमा लियो । गाडीमा पोख्रेलसँगै थारुवान राज्य समिति इन्चार्ज हरिभक्त कँडेल पनि थिए ।
लडाकुहरूले गाडी खोसेपछि कार्यकर्ताले दुवै नेतालाई स्थानीय कार्यकर्ताको मोटरसाइकलमा राखेर गेटा विमानस्थलमा पुर्‍याएका थिए । पूर्वलडाकु सङ्घर्ष समिति कञ्चनपुरका अध्यक्ष नरेन्द्रसिंह धामीका अनुसार नियन्त्रणमा लिएको गाडी धनगढी पुर्‍याइएको थियो । माओवादी नेता हरिभक्त कँडेलले पनि लडाकुहरूले आफूहरू चढेको गाडी नियन्त्रणमा लिएको बताउनुभयो । कँडेलले घटना र विचारसँग भन्नुभयो, ‘लीलामणि कमरेड र म सँगै थियौँ, वाईसीइएल भाइहरू आएर आफ्ना माग राख्दै गाडी नियन्त्रणमा लिए, हामीले उनीहरूलाई सम्झाएर फर्कायौँ ।’ त्यस्तै, वाईसीएल कार्यकर्ताले पोलिटब्युरो सदस्य तथा सेती-महाकाली राज्य समिति इन्चार्ज धर्मेन्द्र बास्तोला, नेता भीमबहादुर कठायतको गाडीसमेत नियन्त्रणमा लिएका छन् । दार्चुला यात्रामा रहेका नेताद्वयको गाडी दार्चुलाको गोकुलेश्वरमा नियन्त्रणमा लिएको वाईसीएल केन्द्रीय सदस्य ललित थापाले बताए । उनीहरूले वाईसीएलमा संलग्न रहेका लडाकुलाई पार्टीले अवमूल्यन गरेको आरोप लगाएका छन् ।

नयाँ निवासमा सत्तरी करोडको बैठक
र्सपको मुखमा पुग्दा पनि भ्यागुतोले भुसुनालाई आहारा बनाउन छोड्दैन भनेझैं भ्रष्टाचार र कमिशनमा लिप्त व्यक्तिहरू देश जतिसुकै जटिल र सङ्कटग्रस्त अवस्थामा भए पनि खान छोड्दैनन् भन्ने कुराको उदाहरण उपप्रधानमन्त्रीसहित रक्षा तथा गृहमन्त्री रहेका विजयकुमार गच्छदार र माओवादीका अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका छन् । प्राप्त जानकारीअनुसार नेपाली सेनाले अर्ठ्ठाईसवटा एपीसी र दुईवटा हेलिकोप्टर खरिद गर्न लागेको छ र यससम्बन्धी प्रक्रिया पनि अघि बढिसकेको छ । एपीसीभन्दा पहिले सैन्य प्रयोजनका लागि आवश्यक पर्ने हेलिकोप्टर खरिद गर्न अगाडि बढाइएको फाइल विगत केही महिनादेखि अर्थ मन्त्रालयमा नै रोकिएको छ । उक्त फाइलसहित एपीसी खरिद-प्रक्रिया अघि बढाउन रक्षामन्त्री विजयकुमार गच्छदारले माओवादी अध्यक्ष प्रचण्डसँग विशेष ‘साझेदारी’ गर्नुभएको छ । एक सूत्रले जनाएअनुसार हेलिकोप्टर र एपीसी खरिद गर्दा कम्तीमा सत्तरी करोड रुपैयाँ कमिशनबापत मात्र आउने छ । उक्त आम्दानी प्रचण्ड र गच्छदारले बाँडेर लिने योजना बनाएका छन् । गच्छदारको एक निकटवर्तीले जनाएअनुसार यो खरिदका निम्ति एजेन्ट चयन कार्य सम्पन्न भइसकेको छ । रकम बाँडफाँड कसरी गर्ने र खरिद प्रक्रियालाई चाँडोभन्दा चाँडो कसरी सम्पन्न गर्ने भन्नेबारेमा छलफल गर्न एजेन्टसहित विजय गच्छदार र प्रचण्डको गुप्त बैठक माघ २५ गते बुधबार बिहान प्रचण्डनिवासमै बस्ने कार्यक्रम रहेको गच्छदारको पारिवारिक सूत्रबाट थाहा भएको छ । बैठकपश्चात् एपीसी तथा हेलिकोप्टर कहिलेसम्ममा नेपालमा भित्रिने छ र त्यसबापत प्रचण्ड र गच्छदारले कति कमाइ गर्नेछन् भन्ने कुराको टुङ्गो लाग्ने बताइएको छ ।
सेनाले ठूलो परिमाणको खरिद गर्दै छ भन्ने जानकारी पाएपछि फोरमका अध्यक्षसमेत रहेका गच्छदारले रक्षा मन्त्रालयमा आफ्ना विश्वासप्राप्त मन्त्री राख्न चाहेका थिए । तर, अरूलाई अलमल्याए पनि चतुर शरतसिंह भण्डारीलाई छल्न सक्ने अवस्था थिएन । अनेक तिकडम गरेर भण्डारी रक्षामन्त्री बन्न सफल त भए तर टिक्न सकेनन् । ‘तराई टुक्य्राउने’ अभिव्यक्ति दिएको आरोपमा मन्त्रीबाट भण्डारीलाई पदमुक्त गरेपछि विजय गच्छदारले रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफैंले सम्हाल्दै आएका छन् । जिम्मेवारी सम्हालेयता गच्छदारले सेनालाई आवश्यक पर्ने एपीसी र हेलिकोप्टर खरिदमा मुख्य ध्यान केन्द्रित गर्दै आएका छन् । यसमा उनले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भने सामेल नगराएको बताइन्छ । तर, भट्टराई पनि यसबारेमा जानकारी लिएर बसिरहनुभएको छ । उहाँकै कारण खरिद प्रक्रियामा विलम्व भएको जानकारी गच्छदारले पाउन सकेका छैनन् । यदि बाबुराम भट्टराई रहँदासम्म उक्त खरिद प्रक्रियालाई सफल बनाउन सकिँदैन भन्ने निष्कर्षमा गच्छदार पुगे भने उनी तत्कालै सरकार बदल्ने खेलमा सरिक भइहाल्ने निश्चित छ । माघ २५ गते बुधबार बिहानको बैठकले लोकतन्त्र स्थापनायताकै सबैभन्दा ठूलो मानिने ‘कमिशन काण्ड’लाई सफल बनाउने योजना कसरी बनाउँछ- प्रतीक्षाको विषय बनेको छ ।

जनवाद नपाए पनि ज्याला पाए लडाकुले
माओवादी पार्टीका निम्ति ‘साम्यवाद’ स्थापनार्थ लडेबापत प्रतिदिन दुई सय रुपैयाँभन्दा बढीका दरले ज्याला लिएर ‘लडाकु’ घर र्फकन थालेका छन् । दश वर्षसम्म युद्व लडेका र अस्थायी शिविरमा बस्दा डिभिजन कमाण्डर र सहकमाण्डरको उपाधि पाएका लडाकुले स्वेच्छिक अवकाश लिँदा आठ लाख रुपैयाँसम्म लिएका छन् । सर्वसाधारण जनतालाई तर्र्साई उनीहरूकै गाँस खोसेर खाएका लडाकुले लिएको रकमलाई दश वर्षसम्म युद्व लडेको समयसँग जोडेर हिसाब गर्ने हो भने प्रतिदिन दुई सयभन्दा माथि अर्थात् प्रतिदिन दुई सय उन्नाइस रुपैयाँमा युद्व लडेको देखिन्छ । सरकारी रासनपानी र भत्तासमेत लिनेगरी अस्थायी शिविरमा बस्नका लागि लडाकुहरूलाई अनमिनले प्रमाणीकरण गरेको तहअनुसार ब्रिगेड कमाण्डर र सहकमाण्डरले प्रतिदिन एक सय एकानब्बे रुपैयाँ, बटालियन कमाण्डर र सहकमाण्डरले एक सय चौसठ्ठी रुपैयाँ र कम्पनी कमाण्डरमुनिका सबै लडाकुले एक सय सैंतीस रुपैयाँका दरले प्रतिदिन युद्ध लडेको देखिन्छ ।
दश वर्षसम्म युद्व लडेका ‘लडाकु’ले यो रकम पाउनु त स्वाभाविकै मानिए पनि युद्ध नै नलडेका, युद्ध भनेको के हो, बन्दुक वा राइफल कसरी समाउनुपर्छ भन्ने सामान्य जानकारी नै नभएका ७५ प्रतिशतभन्दा बढी लडाकुले उक्त रकम बुझेको लडाकुको दर्जामा नरहेका वाईसीएलका नेताहरूको भनाइ छ । वाईसीएलका एक केन्द्रीय सदस्यका अनुसार शिविरमा दश वर्षसम्म युद्ध लडेका कुनै पनि लडाकु छैनन् । र, पार्टी शान्तिप्रक्रियामा आएपछि भर्ना भएकाहरू मात्र छन् । तर, सहकमाण्डरभन्दा माथिका केहीबाहेक अधिकांशले कम्तीमा एक वर्ष मात्र भए पनि युद्धको अनुभव सङ्गालेका छन् । युद्ध नलडी माओवादीको नाममा क्यान्टोनमेन्टमा पाँच वर्ष बसिदिएबापत दैनिक तीन सय तिरासी रुपैयाँ बुझेको देखिन्छ ब्रिगेड सहकमाण्डर दर्जाका लडाकुले । त्यस्तै बटालियन र सहबटालियन कमाण्डरले तीन सय अठ्र्ठाईस, कम्पनी कमाण्डरमुनिका लडाकुले दुई सय त्रिहत्तर रुपैयाँ बुझेका छन् । शिविरमा रहँदा पनि लडाकुले दैनिक साठी रुपैयाँभन्दा बढी रासनभत्ता तथा मासिक पैंसठ्ठी सय रुपैयाँ तलब पनि बुझ्दै आएका थिए ।
दोलखा सानो भेडपुका कृष्ण कार्की माओवादीमा सामेल भई पाँच वर्ष युद्धमा मात्र बिताएको बताउँछन् । छैटौँ डिभिजनमा रहेका कार्कीले घटना र विचारसँग सोमबार टेलिफोनमा भने, ‘मैले पैसाका लागि नभई आमनेपालीको मुक्तिका लागि लडेको थिएँ तर, त्यो पूरा हुन सकेन, हाम्रो लडाइँ खेर गयो ।’ जनताका लागि गरिएको सङ्घर्ष पैसामा किन्ने काम भयो,’ उनले थपे, ‘यो पैसाले केही गर्न सकिँदैन र गर्न खोजे पनि यहाँ उपयुक्त अवस्था छैन ।’ काभ्रे तिमालका सुन्दर लामाको भनाइ पनि त्यस्तै छ । सातौँ डिभिजनमा आबद्ध भएर तीन वर्षसम्म भूमिगत भएर तत्कालीन शासकसँग युद्ध लडेको बताउने लामाले भने, ‘हामीलाई नेतृत्वले दिएको सपना पैसामा साट्ने काम भयो ।’ पैसाले तत्कालका लागि क्षणिक राहत मिले पनि माओवादीमा लागेर आफ्नो जीवन बर्बाद भएको वैद्यनिकट ती लडाकुको भनाइ थियो । काभ्रेकै चौंरीका सुन्दर खरेल भने ०६३ सालपछि मात्र माओवादी लडाकु बनेका हुन् । नेपाली सेनामा जागिर पाइने उद्देश्यले माओवादी लडाकुका रूपमा भर्ना भएको जानकारी गराउँदै उनले थपे, ‘परिस्थिति सोचेजस्तो नभएकाले स्वेच्छिक अवकाश लिने निर्णयमा पुगेको हुँ र व्यक्तिगत रूपमा मलाई फाइदा पनि भयो ।’ शिविरमा बस्दा तलब पाइयो, अहिले छाड्दा पाँच लाख पाइयो । उनले थपे, ‘म बाहिर काम गर्न गएको भए पनि मुस्किलले वर्षको एक लाख बचाउँथेँ होला तर माओवादी लडाकु बनेर मासिक तलब पनि पाइयो र पाँच वर्षमा पाँच लाख पनि पाइने भयो ।’
काभ्रेका खरेलले जस्तै धेरै लडाकुले शिविरमा रहेबापत कम्तीमा पनि पाँच लाख लिनेछन् । तर, उनीहरूको माग कम्तीमा पनि ६ लाख पाउनुपर्ने थियो । त्यसैले उनीहरूले राज्यबाट चेक बुझ्दा भर्नुपर्ने फाराममा अनमिनले उल्लेख गरेको तहलाई मान्ने वा लडाकुको आन्तरिक तहलाई भन्नेमा ठूलो विवाद देखिएको थियो । विवाद बढ्दै गएपछि सित्तैमा पाइने रुपैयाँसमेत लिन मानेका थिएनन् । सुरुमा अनमिनले प्रमाणीकरण गर्दा एउटा तह उल्लेख गरिए पनि माओवादीले आन्तरिक अभिलेखमा अर्कै तह उल्लेख गरेको थियो । आन्तरिक तहलाई मान्यता दिएको भए आठ, सात र ६ लाख रुपैयाँ पाउने हालको सङ्ख्याभन्दा दोब्बर हुन्थ्यो । तर, सेना समायोजन विशेष समिति सचिवालय संयोजक बालानन्द शर्मा, माओवादी शिविरका डिभिजन तथा सम्बन्धित पक्षबीचको सहमति पनि अनमिनकै प्रमाणीकरणका आधारमा रकम दिने सहमति बनेपछि स्थिति सामान्य भएको थियो । उक्त सहमतिअनुसार डिभिजन कमाण्डर र सहकमाण्डरले आठ लाख, ब्रिगेड कमाण्डर र सहकमाण्डरले सात लाख, बटालियन कमाण्डर र सहकमाण्डरले ६ लाख र कम्पनी कमाण्डरदेखि मुनिका सबैले पाँच लाख रुपैयाँ पाउँछन् । त्यति रकममध्ये अहिले पहिलो किस्ताको रकम र बाटोखर्च बुझिरहेका छन् ।

ब्लुमिङको वारि्षक कार्यक्रम सम्पन्न
नेपाल सरकारका पूर्वसचिव तथा अनामनगर विकास समाजका अध्यक्ष पदमराज सुवेदीले विद्यालयले घोकन्ते शिक्षाभन्दा वैज्ञानिक शिक्षालाई आदर्श मानेर विद्यार्थीलाई शिक्षा दिनुपर्ने कुरामा जोड दिनुभएको छ । समाजसेवी सुवेदीले ब्लुमिङ स्कलर्स एकेडेमीको सोह्रौँ अभिभावक दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा बताउनुभएको हो । प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले आजका विद्यार्थी भोलिका देश हाँक्ने ड्राइभर हुने भएकोले अहिल्यै हामीले व्यावहारिक र वैज्ञानिक शिक्षा दिनुपर्ने बताउनुभयो । विद्यालयका शिक्षक जन्मदिने बाबुआमाभन्दा पनि ठूलो हुने भएकोले यी कलिला नानीलाई हामीले गलत ढङ्गले शिक्षा प्रदान गर्‍यौँ भने भोलि यिनीहरूले देश पनि गलत ढङ्गले चलाउने हुँदा अहिल्यै सचेत रहन शिक्षकलाई विशेष आग्रह गर्नुभयो । राष्ट्रिय नाचघरमा सम्पन्न अभिभावक दिवसमा ०६६/०६७ को एलएलसी परीक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थी तथा विद्यालयमा रहेर उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षकलाई सम्मान गरिएको थियो । ०६७ सालको एसएलसी परीक्षामा नेपालकै चौथो स्थान ओगट्न सफल विनिला भट्टराईलाई प्रमुख अतिथि सुवेदीले सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो । भट्टराईले ९३.५ प्रतिशत अङ्क ल्याएकी थिइन् । समारोहमा विद्यालयका प्रधानाध्यापक जुद्धबहादुर पुनले विद्यालयको प्रगतिबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विज्ञान विषयका शिक्षक पोमलाल खरेल र सामाजिक विषयका शिक्षक राजेन्द्र गौतमलाई अभिनन्दन गरिएको थियो ।-हेमराज लम्साल

सद्भावनामा मनोनयन
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पार्टी केन्द्रीय समितिको रिक्त स्थानमा महोत्तरीकी राधा कायस्थ, धनुषाकी निभा साह, र्सलाहीका डा. अब्दुल रहिम मिकरानी, र्सलाहीकै अख्तर हुसैन, सप्तरीका दीपेन्द्रकुमार चौधरी, सुनसरीका सन्तोष मेहता र कञ्चनपुरका करणसिंह राना थारूलाई मनोनयन गरेका छन् । पार्टी विधानको धारा ९ (ख) अनुसार सदस्य मनोनयन गरिएको महासचिव मनीषकुमार सुमनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मिर्गौलापीडितद्वारा सहयोगको याचना
झापा जिल्ला महारानी झोडा-६ निवासी वर्ष ३७ कि शान्तिदेवी राई विगत लामो समयदेखि मिर्गौलापीडित छिन् । ३० वर्षको उमेरदेखि उच्च रक्तचापको समस्याबाट ग्रसित राईले धरान, विराटनगर र दमकमा लामो समयसम्म उपचार गराउँदा पनि ठीक भएन । त्यसपछि डाक्टरको सल्लाहबमोजिम उनले वर्षदिनदेखि मुटुको औषधि सेवन गर्दै आएकोमा गत मङ्सिरमा सिलिगुडी (भारत)को पारामाउन्ट हस्पिटलले किड्नी फेल भएको जानकारी दिएको थियो । त्यसपछि उनले काठमाडौंको वीर हस्पिटल र राष्ट्रिय मिर्गौला केन्द्रमा सम्पर्क गरिन् । दुवै ठाउँबाट किड्नी फेल भएको र समयमै मिर्गौला प्रत्यारोपण नगरे जीवन खतरामा पर्ने सल्लाह पाएपछि उनी चिन्तित बनेकी छिन् । ६ वर्षीया छोरीकी आमासमेत रहेकी राईको आर्थिक अवस्था पनि दयनीय छ भने छोरीकै लागि भए पनि उनी आफ्नो जीवन बचाउन चाहन्छिन् । उनले औषधोपचारका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेकी छिन् । आफ्नो अनुभवको आधारमा प्रशस्त मात्रामा शुद्ध पानी पिउन, राम्रो ठाउँमा देखाएर मात्र औषधि सेवन गर्न र पेनकिलर औषधि सकभर प्रयोग नगर्न सल्लाह दिने राईलाई आर्थिक सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९८४२७३२६७७ मा सम्पर्क गर्न वा सिटिजन्स बैंक इन्टरनेसनल लि.को कलंकीमा रहेको खाता नं. ०११००००१९६ ‘आरएस’मा सीधै सहयोग रकम जम्मा गर्न उनका आफन्तले अनुरोध गरेका छन् ।

रतन पाण्डे मावि र पोखरा विश्वविद्यालयलाई करोडौँ सहयोग
कास्कीमा राजदूतको भव्य स्वागत
कास्कीको अर्वा गाविसस्थित श्री रतन पाण्डे माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले उद्घाटन गर्नुभएको छ । नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत मित्रराष्ट्र भारतको दुई करोड ७५ लाख अनुदान सहयोगमा उक्त विद्यालय भवन निर्माण भएको हो । गत साता कास्की भ्रमणका क्रममा नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै राजदूत जयन्तले भारत-नेपाल सहयोग कार्यक्रम दुई देशबीचको समग्र सम्बन्धहरूमा कोसेढुङ्गाजस्तै महत्त्वपूर्ण रहने बताउनुभयो । सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित विभिन्न विकास परियोजनाहरूले नेपाली जनताको शान्ति र समृद्धिको पाइलामा सहयोग पुग्ने आशा उहाँले व्यक्त गर्नुभयो । भवन उद्घाटन समारोहमा हजारौँको सङ्ख्यामा उपस्थित स्थानीयवासीले मित्रराष्ट्र भारतको सहयोगका लागि आभार प्रकट गर्दै पुष्पमाला र अबिरले राजदूतको स्वागत गरेका थिए ।
पचपन्न वर्षअघि सन् १९५७ मा निम्नमाध्यमिक विद्यालयको रूपमा स्थापना भई सन् २००२ मा माध्यमिक विद्यायलमा स्तरोन्नति गरिएको सो विद्यालय कास्की जिल्लामा रहेका पुरानामध्येका एक सरकारी विद्यालय हो । नयाँ संरचनाले चार सयभन्दा बढी विद्यार्थीलाई राम्रो सुविधा उपलब्ध हुनुका साथै शैक्षिक वातावरण, विद्यालयको भर्ना तथा अध्ययन कार्यक्रमलाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।
विद्यालय उद्घाटन कार्यक्रमपश्चात् राजदूत जयन्त प्रसादले उक्त विद्यालयका साथै अन्य छिमेकी विद्यालयका विद्यार्थीको आँखा जाँच तथा परीक्षणका लागि नेपाल नेत्रज्योति सङ्घले विद्यालय परिसरमा सञ्चालन गर्न लागेको आँखा शिविरको उद्घाटन गर्नुभयो । सो शिविरमा परीक्षणपश्चात् विद्यार्थीलाई आवश्यकताअनुसार चस्मा तथा दृष्टि-उपकरणहरू वितरण गरिएको थियो । नेपालमा आँखा उपचारका लागि भारतले नेपाल नेत्रज्योति सङ्घमार्फत सहयोग प्रदान गर्दै आएको छ । सन् २००१ देखि भारत सरकारले भारत-नेपाल सहयोग कार्यक्रमअन्तर्गत नेपालमा ९० हजार जनताको मोतियाबिन्दु र ट्रकोमाको उपचारमा सहयोग पुर्‍याउनुका साथै नेपालभरका विद्यालय जाने उमेरका २७ हजारभन्दा बढी बालबालिकालाई दृष्टि उपकरण/चस्मा वितरण गरेको छ भने आँखा उपचार कार्यक्रम सञ्चालन गर्न यस वर्षका लागि भारतले नेपाल नेत्रज्योति सङ्घलाई चार करोड ६० लाख सहयोग उपलब्ध गराउने भएको छ ।
उक्त विद्यालयका अतिरिक्त कास्कीमा आठ करोड ८९ लाख भारतीय सहयोगमा दुईवटा परियोजना सम्पन्न भइसकेका छन् भने नौ करोड २४ लाख सहयोगमा तीनवटा परियोजनाको काम जारी छ । कास्की जिल्लामा प्रयोग गर्नेगरी सातवटा एम्बुलेन्स र दुईवटा स्कुलबस पनि भारतले उपहारस्वरूप प्रदान गरेको छ ।

पोखरा विश्वविद्यालयका लागि छात्रावास र भारतीय चेयरको स्थापना
यसैगरी पोखरा विश्वविद्यालयको भ्रमणका क्रममा राजदूत जयन्त प्रसादले विश्वविद्यालयमा भारत सरकारको करोड ५१ लाखको सहयोगमा निर्माणाधीन छात्रावास भवनको अनावरण गर्नुभयो । सोही अवसरमा पोखरा विश्वविद्यालयको व्यवस्थापन सङ्कायअन्तर्गत स्कुल अफ विजनेसमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को एक दीर्घकालीन चेयर स्थापनार्थ भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को तर्फबाट राजदूत र पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराईबीच एक सम्झौतापत्रमा हस्ताक्षर पनि भएको थियो ।
सम्झौताअनुसार परिषद्ले विश्वविद्यालयसँगको परामर्शमा दुईवर्षो कार्यकालका लागि भारतीय प्राज्ञहरूबाट एक उपयुक्त चेयरको नियुक्ति गर्नेछ । यस अवधिमा प्रशिक्षण, अनुसन्धान र निरीक्षण कार्यमा संलग्न रही अतिथि प्राध्यापकले विश्वविद्यालयको प्राज्ञिक जीवनमा योगदान पुर्‍याउनेछन् । चेयरले जुन २०१२ देखि कार्य आरम्भ गर्ने र उनको सेवावधि दुई वर्षको रहने पनि सम्झौतामा उल्लेख गरिएको छ । विश्वविद्यालयले चेयरका लागि उपयुक्त कार्यालय, सेक्रेटरियल सहयोग तथा कार्यालयका लागि आवश्यक सामान उपलब्ध गराउने छ । अतिथि चेयरको स्थापना भारत र नेपालबीच विद्वान्, बौद्धिक वर्ग तथा प्राज्ञहरूको आदन-प्रदानद्वारा दुई देशबीच शैक्षिक र सांस्कृतिक सम्बन्ध र पारस्परिक बुझाइलाई बढवा तथा मजबुत बनाउने परिषद्को बृहत् अभिमतलाई सहयोग पुर्‍याउन महत्त्वपूर्ण कदम हुने दाबी गरिएको छ । यस्तै प्रकारको परिषद् चेयर त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजनीतिशास्त्र विभागमा यसअघि नै स्थापना भइसकेको छ ।

भूमेस्थानलाई एम्बुलेन्स उपहार
धादिङको भूमेस्थानका लागि भारत सरकारद्वारा उपहारस्वरूप प्रदान गरिएको एम्बुलेन्स स्थानीयलाई हस्तान्तरण गर्ने कार्यक्रम गत २१ गते शनिबार सम्पन्न भयो । नेपाल-भारत मैत्री सहयोग एवम् सद्भाव सङ्गमका केन्द्रीय अध्यक्ष देवप्रकाश त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा उहाँले आफ्नो आग्रह स्वीकार गर्दै मित्रराष्ट्र भारतले एम्बुलेन्स प्रदान गरेकोमा भारत सरकार र नेपालस्थित भारतीय राजदूतावासलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । जिल्लाको विकासका लागि आगामी दिनमा पनि राजनीतिक स्वार्थभन्दा माथि उठ्दै अनावश्यक प्रतिस्पर्धामा खुट्टा तानातान नगरी सबै मिलेर काम गर्नुपर्ने धारणा उहाँले अघि सार्नुभयो ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस, एमाले, राप्रपा, माले आदि राजनीतिक दलका स्थानीय नेताहरू, स्थानीय विद्यालयका प्रधानाध्यापकलगायतले एम्बुलेन्स सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिँदै सो एम्बुलेन्स भूमेस्थानवासीका साथै वरपरका सबैको उपयोगमा आउने धारणा प्रस्तुत गरे । महाकाली युवा क्लबद्वारा आयोजित उक्त कार्यक्रम क्लबका अध्यक्ष श्यामसुन्दर थापाको सभापतित्वमा भएको थियो भने कार्यक्रम सञ्चालन शरद अधिकारीले गरेका थिए । सोही कार्यक्रमबाट स्थानीय युवा अमृत थापाको अध्यक्षतामा एम्बुलेन्स सञ्चालन समिति गठन गरिएको थियो ।

राजनीतिबाट वितृष्ण बन्दै छ नयाँ पुस्ता
प्लस टु तथा उच्चतहमा अध्ययन गर्ने आजको पुस्ताका लागि राजनीति खासै रुचिको विषय नरहेको पाइन्छ । तथापि जनआन्दोलन ०६२/६३ पछिका ऐतिहासिक राजनीतिक घटनाहरू लोकतन्त्रको स्थापना ? वैशाख ११, २०६३), शान्ति सम्झौतामा हस्ताक्षर (मङ्सिर ५), संविधानसभाको चुनाव आदि महत्त्वपूर्ण घटनाहरूको साक्षी भएका कारण यो पुस्ताले राजनीतिको महत्त्व भने बुझेको छ । विद्यार्थी मनोरञ्जन विधामा बढी आकरि्षत भए तापनि नेपाली मिडियाले संविधान निर्माण, शान्तिप्रक्रिया, सेना समायोजन र पुनर्स्थापन, सत्ता निर्माणलगायतका विभिन्न राजनीतिक विषयलाई बढी प्राथमिकता दिई समाचार प्रकाशन र प्रसारण गरेको हुँदा राजनीतिसम्बन्धी ज्ञान उनीहरूका लागि रुचिकर नभए तापनि अनिवार्य रूपमा घोक्नैपर्ने पाठसरह बन्न पुगेको छ ।
सकारात्मक होस् या नकारात्मक राजनीतिप्रतिको बुझाइ यो पुस्तामा फरक-फरक छ । बहुदलीय राज्यव्यवस्था भएकोले हालको राज्य संरचनाप्रति सकारात्मक सोच राखे तापनि राजनीतिक दलहरूले पार्टीगत स्वार्थ र विचार लाद्ने र आमजनताको मर्म बुझन नसकेकोमा बोडे उमाविमा कक्षा १२ मा अध्ययनरत छात्र प्रकाश कोइराला असन्तुष्टि व्यक्त गर्छन् । त्यस्तै, संविधान निर्माणको म्याद थप्ने विषयमा बरु अलि बढी गृहकार्य गरी सबै जाति, भाषा, वर्ग, संस्कृति, मूल्य-मान्यतालाई समेट्नु राम्रो तर संविधानसभा खारेज गर्नुको औचित्य नहुने उनको धारणा छ । हाल के एन्ड के कलेजमा बिकम तृतीय वर्षमा अध्ययनरत महेश राजवाहक भने राजनीतिबारे बोल्न खासै रुचाउँदैनन् । तथापि आफ्नो मत दिएर योग्य नेता चुन्ने काममा भने आफ पछिनपर्ने उनी बताउँछन् । देश हाँक्न राजनीति नै गर्नुपर्छ भन्ने छैन भन्ने उनको धारणा छ । भविष्यमा राम्रो व्यापार-व्यवसाय गरी देशको सेवा गर्ने उनले बताए ।
यस्तै, रोजबर्ड उमाविमा १२ मा अध्ययनरत अरुणा थापा भन्छिन्, ‘मैले बुझेको राजनीतिअनुसार त राम्रा या असल व्यक्ति पनि राजनीतिमा लागे भने नराम्रो बन्न पुग्छन् । धेरैजसो आपराधिक काम माथिल्लो तहबाटै हुन्छ, त्यसैले मलाई राजनीति भनेको फोहोर खेल हो जस्तै लाग्छ ।’ जनजागृत उमाविबाट प्लस टु पास गरेका सुमन पौडेलले पनि राजनीतिमा कुनै चासो नभएको बताए । ‘चासो भएको भए आफैं राजनीतिमा उत्रने थिएँ,’ उनी भन्छन् । आजको राजनीतिक परिस्थिति एकदमै असन्तुलित स्थितिबाट गुज्रिरहेको बुझाइ शर्मिला दुलालको छ । उनी मदन भण्डारी मेमोरियल कलेजमा बीए तृतीय वर्षमा अध्ययनरत छिन् । नेपालमा सरकार बनाउने र ढाल्ने प्रक्रिया बच्चाले भाँडाकुटी खेलेझैं भएकोले विश्वास र सुरक्षाको वातावरण नरहेको उनको कथन छ ।
नयाँ पुस्ताका यी प्रतिनिधिमूलक धारणाले यही दर्शाउँछ कि नेपालको राजनीतिक वातावरणले आजका युवालाई वितृष्ण र असन्तुष्ट नै तुल्याइरहेको छ । भविष्यका देशको कर्णधार भनी चिनिने पुस्तामा मौलाएको राजनीतिप्रतिको यस्तो वितृष्णभावले सकारात्मक सङ्केत पक्कै गर्दैन । तर, अग्रजहरूले गल्ती गरे भन्दैमा नयाँ पिँढीले आफूलाई यसरी राजनीतिबाट अलग राख्नुलाई बुद्धिमत्ता मान्न सकिन्न । गल्तीबाट सिक्दै आफूलाई सही दिशामा अग्रसर गराउन र देशको सेवा गरी मातृभूमिलाई समृद्धिको दिशामा लैजान नयाँ पुस्ताले आफूलाई अब्बल सावित गराउन सक्नुपर्छ ।-रोजिना केसी (प्रशिक्षार्थी)