चितवनमा डेङ्गुको सङ्क्रमण : ७६ जनामा सङ्क्रमण पुष्टि

चितवनमा डेङ्गुको सङ्क्रमण : ७६ जनामा सङ्क्रमण पुष्टि


चितवनमा चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा ६ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा सङ्क्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढी रहेको छ ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिवनगर, माडीलगायतका अस्पतालमा डेङ्गु रोगको परीक्षण गरिँदै आएको छ । यो वर्ष डेङ्गुको सङ्क्रमण फैलिने जोखिम उच्च रहेको उनको भनाइ छ । भदौ, असोज र कात्तिक डेङ्गुका लागि उच्च जोखिमका महिना रहेको विज्ञहरु बताउँछन् ।

डेङ्गु ज्वरो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो लामखुट्टेले प्राय: बिहान र साँझ टोक्ने गरेको पाइन्छ ।

डेङ्गुको सङ्क्रमण देखिए एक्कासि ज्वरो आउने, ज्वरो पाँच/सात दिनसम्म रहने, आँखाका गेडी तथा टाउको दुख्ने, शरीर कटकट दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखापर्ने गर्छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कालीदास अधिकारीले अहिले दिनहुँजसो डेङ्गुका बिरामी अस्पताल आउने गरेको जानकारी दिए । पहिलाको भन्दा अहिले डेङ्गुका बिरामीको सङ्ख्या बढ्दो रहेको बताइएको छ । डा. अधिकारीका अनुसार अहिले डेङ्गुका बिरामीको वृद्धिदर पाँचदेखि सात प्रतिशत रहेको छ ।

डेङ्गु रोगको सङ्क्रमणबाट बच्नका लागि पूरा बाहुला भएको कपडा लगाउने, झुलभित्र सुत्ने, घर वरिपरि सरसफाइ गर्नुपर्ने उनले जानकारी दिए । घर वरिपरि भएका खाल्डा पुर्ने र पानी जम्ने ठाउँ भए त्यहाँ हप्तामा एक पटक मट्टितेल छर्कने गर्नुपर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

गत आर्थिक वर्ष जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।