१२ आश्विन २०७९, बुधबार

जङ्गबहादुर र नेपालको श्रीपेच

  प्रकाशित मिति
१८ भाद्र २०७९, शनिबार ०३:३३


इतिहास
  • सुनिल उलक

नानासाहेवको जीवन अनौठो किसिमले सत्य र असत्यका बीच हराउन गए पनि नानासाहेवको नौलखा हारको कथा भने समाप्त भएन । नानासाहेवबाट प्राप्त जवाहरातहरूमध्ये केही दिल्लीबाट बोलाइएका जौहरीलाई बिक्री गरेका थिए । यो कुरा जङ्गले कतै जानकारी नगराए पनि नेपालका लागि बेलायती रेसिडेन्ट कर्णेल रामसेले कलकत्तामा रहेका भाइसरायको अफिसलाई जानकारी पठाएका थिए । यति मात्र होइन रामसेका अनुसार बुटवलनजिकैको एक गाउँ पनि जङ्गबहादुरले ३६ हजार रुपैयाँमा नानाको परिवारलाई बेचेका थिए । कर्णेल रामसेका अनुसार जङ्गले नानाबाट ६० हजारको जवाहरात ३६ हजारमा र बेगम हजरत महलबाट ४० हजारको जवाहरात केवल १५ हजारमा किनेका थिए । साथै जङ्गले कुनै पनि जवाहरातहरू आफूबाहेक कसैलाई पनि बिक्री गर्न नपाउने गरि प्रतिबन्धसमेत लगाएका थिए । जड्गले नानालाई सुरक्षित बस्नका लागि प्रबन्ध मिलाएपछि अङ्ग्रेजका जासुसहरू देशका विभिन्न क्षेत्र घुमेर थाहा पाउन सक्ने भन्दै अङ्ग्रेज तथा अन्य विदेशीलाई उपत्यकाबाहेक अन्यत्र जान समेत प्रतिबन्ध गरेका थिए । यसैबीच एउटा अर्को घटना पनि घटेको थियो । नानासाहेबको आफ्नो विश्वासपात्र बलवन्त रावले नानाले बेच्नका लागि राखेको जवाहरात चोरेर लगेका थिए । जुन उनले महँगोमा बिक्री गरेका थिए ।

मामा माथवरसिंह थापाको शासनकालतिर यूरोपियनहरू न्यूगिनीमा राज्य बिस्तारका क्रममा पुगेका थिए । त्यहाँ पाइने अनौठो हुमायु चरा (Bird of Paradise)को आकर्षक कल्की सजाउनका लागि ल्याउन थालेका थिए । यसरी ल्याइएका कल्कीहरू शिरको टोपीमा पनि सजाउन थालियो । यसरी यूरोपमा ताजका रूपमा सजिन थालेको कल्की माथवरसिंह थापाले पनि नेपाल भित्राए । पहिलो पटक उनैले हुमायु चराको कल्कीबाट श्रीपेच बनाउन लगाएका थिए । पछि मामालाई पन्छाएर प्रधानमन्त्री बनेका जङ्गबहादुरले पनि श्रीपेचलाई निरन्तरता दिए । उनले शुरुमा प्रधानमन्त्री बन्दा साधारण कल्की भएको टोपी लगाएका थिए । वि.सं. १९१२ को भोटयुद्ध समाप्त भएको केही समयपछि उनले प्रधानमन्त्री तथा प्रधानसेनापतिको पदबाट राजिनामा दिइ भाइ बमबहादुरलाई प्रधानमन्त्री बनाए । उनले भित्री सपनाहरू साँचेका थिए, त्यसैले तत्कालिन समयमा प्रधानमन्त्रीको पद नै त्यागे । तर बमबहादुरको अकस्मात निधन भएपछि भने उनले सपनाले केही अगाडिको कदम चाले । उनले कास्की र लमजुङको महाराजासहित श्री ३ को पदवी पाए । यसको साथै सन्तान दरसन्तान मुख्तियारी पाउने लालमोहर पनि राजा सुरेन्द्रबाट लिए । श्री ३ भएको केही समयपछि पुनः प्रधानमन्त्री तथा प्रधानसेनापतिको पद पनि फेरि लिए । यसरी श्री ३ बनेपछि विशेष किसिमको श्रीपेच बनाए । साथै राजा सुरेन्द्रका लागि पनि श्रीपेच तैयार भयो । राजा राजेन्द । जिवित रहँदै छोरा सुरेन्द्रलाई राजगद्दी सुम्पेका थिए । तर पनि जङ्गबहादुरले पूर्वराजा राजेन्द्रको शिरनजिकै अरुले हातले समाएर तस्बिर खिचाएका थिए । यहि तस्बिरका आधारले धेरैले राजा राजेन्द्रको कार्यकालमा नै श्रीपेचको शुरुवात भएको भन्ने गर्दछन् ।

जङ्गबहादुरले श्रीपेच बनाए पनि यसमा पर्याप्त जवाहरात राखिएको थिएन । पछि उनले नानासाहेवबाट पाएको जवाहरातहरू यस श्रीपेचमा जडान गर्न लगाए । अगाडि झुन्डिएको पन्नाहरू तथा बायाँतर्फ लट्किएको अंगुरको झुप्पा जस्तो पन्नाहरू पनि नानासाहेवबाट नै पाएका थिए । उनकै पालामा राजा सुरेन्द्रका लागि पनि श्रीपेच बनाइयो । हुमायू चराको कल्की राखेर बनाइएको यो श्रीपेचमा राजा र प्रधानमन्त्री अर्थात् श्री ५ र श्री ३ मा केही भिन्नता थियो । साथै जर्नेलहरूको श्रीपेचमा पनि भिन्नता थियो । राजाको श्रीपेचमा पाँचवटा चाँद राखिएको थियो भने प्रधानमन्त्रीको श्रीपेचमा तीनवटा चाँद राखिएको थियो । तथा अन्य सैनिक अफिसरका श्रीपेचमा भने एउटा मात्र चाँद राखिएको थियो । वि.सं. १९३३ मा जङ्गको मृत्यु पछि श्री ३ बनेका रणोद्वीपका हातमा श्री पेच र केही जवाहरात पऱ्यो । रणोद्वीपकै शासनकालमा युवराज त्रैलोक्यको वि.सं. १९३४ को चैतमा असामयिक देहावसान भएपछि नाति पृथ्वी वीरविक्रमलाई युवराज घोषणा गरिएको थियो । यस्तै रोलक्रम अनुसार श्री ३ का दोश्रा दावेदार रहेका जगतशम्शेरको वि.सं. १९३६ मा निधन भएपछि तेश्रा दावेदार रहेका धीरशम्शेर श्री ३ का दावेदार तथा प्रधानसेनापति बने । ४२ साल पर्वपछि लखेटिएर पोखरा आएपछि पोखरामा बडाहाकिम भएका भुपेन्द्रजङ्ग राणा यिनै जगतशम्शेरका माहिला छोरा हुन् । भुपेन्द्रजङ्गले पोखराको गैह्रापाटनमा ढोकादरबार बनाएर बसेका थिए । भने पोखराको नालामुखमा वि.सं. १९५५ तिर ढुङ्गेधाराको स्थापना गराएका थिए । चैतन्य महाप्रभुका नामले परिचित चैतन्य जङ्ग राणा भुपेन्द्रजङ्गका नाति हुन् ।

रणोद्वीपको श्री ३ रहेकै समयमा अर्को बज्रपात भयो । राजा सुरेन्द्रको वि.सं. १९३८ जेठमा निधन भयो । राजाको निधन हुने समयमा बुबा राजा राजेन्द्र जीवित नै थिए । तर उनले राजकाज त्याग गरिसकेको हुँदा नाति पृथ्वी वीर विक्रमलाई राजा घोषणा गरियो । राजा सुरेन्द्रको निधनको दुई महिना पछि भक्तपुरको दरवारमा रहेका बुढा राजा राजेन्द्रको पनि निधन भएको थियो । नि:सन्तान श्री ३ बनेका रणोद्वीपको शासनकाल त्यति फलदायी रहेन । वि.सं. १९४१ को भदौमा श्री ३ को क्रममा रहेका प्रधानसेनापति धीरशम्शेरको पनि निधन भयो । यसरी बाबुको निधनपछि धीरका सत्र भाइ छोराहरूमा छिट्टै श्री ३ बन्ने दुःस्वप्न जाग्यो । धेरै मृत्यु आफ्नो कार्यकालमा देखेका रणोद्वीपको मृत्यु भने आफ्नै भतिजाहरूबाट भयो । वि.सं. १९४२ को मंसिरमा धीरका छोराहरूले ठूलो बुबा श्री ३ रणोद्वीप तथा जङ्ग बहादुरका सन्तानको हत्या गरि श्री ३ को पदभार शम्शेर खलकले बोके । यसरी वीरशम्शेर श्री ३ तथा प्रधानमन्त्री बने । यस निन्दनिय घटनालाई ४२ साल पर्व भनेर इतिहासमा उल्लेख गरिएको छ ।

यसरी शम्शेरका खलकका वीरशम्शेर नेपालको प्रधानमन्त्री मात्र बनेनन्, जङ्ग तथा रणोद्वीपका जायजेथा तथा जवाहरातको मालिक पनि बने । यसपछि जङ्गले किनेको नौलखा हार तथा नानासाहेवले उपहार (घुस)मा दिएको थुप्रै जवाहरात तथा उनकै उपहारमा पाएको जवाहरात सजिएको श्रीपेच पनि श्री ३ वीरको हात लाग्यो । जीवन अमर हुँदैन कसैबाट खोसेर लिएको सत्ता पनि सदैव रहँदैन । ठूलो बाबु रणोद्वीपको हत्या गरेर सत्तामा पुगेका वीरको पनि निधन भयो ।

झण्डै १५ वर्ष श्री ३ बनेका वीरशम्शेरको वि.सं. १९५७ मा देहावसानपछि उनको सम्पति तथा जवाहरातको मालिक उनकी कान्छी महारानी टोपकुमारी देवीको हकमा रह्यो । टोपकुमारी देवी ठिमीकी नेवार्नी थिइन् । वीरले आफ्नी जेठी महारानीका सुसारेका रूपमा राखिएका खञ्जनलाई नै रानी बनाएका थिए । पछि वीरको अति प्रिय भएपछि कान्छा बडामहारानी पद नै दिए र नाम पनि टोपकुमारी देवी राखियो । निकै सोखमा जीवन बिताएकी कान्छी बडामहारानीले उनले पति श्री ३ को मृत्युपछि खर्चको अभावमा यो हार श्री ३ देवशमशेरलाई बेचेका थिए । देवशम्शेरले पनि यो हार ९ लाखमा नै किनेको भनिन्छ ।

छोटो समय श्री ३ रहेका देवशमशेरले निर्वासनमा भारत जाँदा आफूसँग रहेका सबै हिरामोती जवाहरातहरू बोकेर गएका थिए । खासै पैसा जम्मा गर्न नसकेका देवशमशेरले खर्च अभाव भएपछि आफूसँग भएको नौलखा हार बेच्ने तैयारी गरे । तत्कालिन समयमा भारतमा पनि अङ्ग्रेजको शासनका कारण राजा रजौटाहरूको कमाइ कम हुनु तर शानशौकतले गर्दा खर्च ठूलो हुने हुँदा संसारको सबैभन्दा महँगो नौलखा हार किन्न सक्ने खासै कोही थिएन । किन्न सक्ने र सौखिन भनेकै दरभंगाका महाराजा रामेश्वर सिंह मात्रै थिए । तसर्थ देवशम्शेरले महाराजा रामेश्वर सिंहलाई आफूसँग भएको नौलखा हार र अन्य जवाहरात किन्नका लागि अनुरोध गरे । देवशमशेरले ठूलै रकमको अपेक्षा गरेका थिए । कति रुपैयाँमा किनबेच भएको थियो भनेर न महाराजा रामेश्वर सिंहले कसैलाई भने न त देवशम्शेरले नै बताए । रामेश्वर सिंहले भनेका छन्, ‘नानासाहेव पेशवाको बहुमुल्य नौलखा हार नेपालमा छ भन्ने थाहा पाएपछि म किन्न आतुर थिएँ । एक रात श्री ३ महाराजा (देवशमशेर) ले हार बेच्ने चाहना राखे । निकै बेर मोलतोल भयो । अन्ततः महाराजाले स्विकार गरेपछि मैले सो नौलखा हार मेरो बनाउन सफल भएँ ।’

त्यसबेला देवशम्शेरलाई तत्कालै रकमको खाँचो हुँदा उक्त नौलखा हार निकै सस्तोमा बेचिएको अनुमान गर्न सकिन्छ । पछि छापिएका भारतीय समाचारहरूका अनुसार देवशम्शेरले ‘नौलखा हार’सहित अन्य जवाहरात बराबर नौ लाख रुपैयाँ पाएका थिए । त्यसमा महत्वपूर्ण ३ इन्च लामो नानासाहेवको लाहा छाप लगाउने पन्ना जसलाई ‘शिरोमणी हार’ भनिन्थ्यो तथा श्रीपेचमा रहेको अंगुर समानको पन्नाको झुप्पा पनि थियो ।

वि.सं. १९८६ असारमा रामेश्वर सिंहको मृत्यु भएपछि यो नौलखा हार, शिरोमणी हार तथा अन्य जवाहरातहरू उनका छोरा कामेश्वर सिंहको हात लाग्यो । निकै धनी तथा सौखिन कामेश्वर सिंह राजा त्रिभुवनको निकै नजिकका मित्र थिए । राजा त्रिभुवनले आफ्नो कान्छी छोरी भारती राज्य लक्ष्मीको विवाह कार्यक्रम कलकत्तामा रहेको महाराजा कामेश्वर सिंहको दरभंगा हाउसबाट नै गरेका थिए । साथै लमीको भूमिका पनि महाराजा कामेश्वर सिंहले नै गरेका थिए । राजा कामेश्वर सिंहसँग चार वटा डिसी-३ विमान थियो, जसमा एक विमान उनले निजी रूपमा पनि राखेका थिए । साथै उनले आफ्नो दरवारसम्म पुग्नका लागि निजी रेलवे समेत राखेका थिए । नेपालमा विमान सेवाको प्रवेशको समय उनको निजी विमान सेवा दरभंगा एभिएसनले पटना तथा कलकत्ताबाट काठमाडौंमा उडान गर्ने गर्दथ्यो । पोखरामा पनि धेरै पटक चार्टर्डका रूपमा दरभंगा एभिएशनको डिसी-३ जहाज आएको थियो ।

वि.सं. २०१९ असोजमा महाराजा कामेश्वर सिंहको निधनपछि महाराजाको सबैभन्दा ठूलो जवाहरातको संग्रह पारिवारिक किचलोमा पर्न गयो । उनका रानी तथा भतिजाहरूमा भएको कानुनी झगडाका कारण महँगा जवाहरातहरू जसले सके लुकाउने तथा बेच्ने काम भयो । कानुनी विवाद बीच राजा कामेश्वर सिंहले लेखेर छोडेको वसियतनामा खोलियो, जसका अनुसार उनको बहुमुल्य जवाहरातहरू जनताका नाममा राखिएको थियो । यी सम्पत्तिहरू परिवारको बाँडफाँडमा परेनन् ।

वसियतनामाका अनुसार पटना हाइकोर्टका मुख्य न्यायाधीश लक्ष्मीकान्त झालाई संरक्षकका रूपमा राखिएको थियो । तत्कालिन समयमा केन्द्रिय वित्तमन्त्री मोरारजी देसाइ थिए । मोरारजी देसाइले यी जवाहरातहरू बम्बइको नाना भाइ ज्वेलर्सलाई बिक्री गर्न दबाब दिन थाले । परिवार यी जवाहरातहरू बिक्री गर्न दिने पक्षमा थिएन ।

वसियतअनुसार ट्रष्टको नाममा पुगेका जवाहरातहरू मुख्य न्यायाधीश लक्ष्मीकान्त झाले बम्बइको नाना भाइ ज्वेलर्सलाई वि.सं. २०२३ को चैतमा केवल ९२ लाख भारुमा बिक्री गरे । त्यसबेला न्यायाधीश झाले बोलकवलमा सबैभन्दा बढी मुल्य दिएको हुँदा नाना भाइलाई बिक्री गरेको भनियो । तर पछि छानविनको क्रममा दुई वटा बोलकवल रकम नानाभाइको भन्दा बढी रहेको भेटियो । साथै बोलकवलमा भाग नलिएका न्यूयोर्कमा रहेको गहनाका ब्यापारी Van Cleef & Arpels ले आफू २ करोड भारुमा किन्न इच्छुक भएको पत्र पठाएको थियो । अर्पेल्स कम्पनीलाई सन् १९५४ मा नै महाराजा कामेश्वर सिंहले गहनाको सूची बनाउन अमेरिकादेखि दरभङ्गा बोलाएको थियो । यही कारणले गर्दा अर्पेल्सलाई महाराजाको गहनाहरूको बारेमा थाहा थियो । यस गहनाहरूको सूचीमा नौलखा हारको नाम नेपाल नेकलेसका रूपमा उल्लेख गरिएको थियो । तर दुर्भाग्य ! नानाभाइले यो नौलखा हार अर्थात् नेपाल नेकलेसलाई टुक्रा-टुक्रा बनाएर किनेका थिए । यसरी नानासाहेवको नौलखा हार वा भनौँ जङ्गबहादुरको नेपाल नेकलेसले सदैवको लागि स्वरुप गुमायो । नानाभाइले हिरा पन्नालगायत अन्य बहुमुल्य पत्थर तथा सुनहरूलाई अलग-अलग बनाएर खरिद गरेको थियो ।

नौलखा हारको अन्तको कथाबारे उल्लेख गरियो । यता जङ्गबहादुरले नानासाहेव पेशवाबाट पाएको जवाहरात सजिएको श्रीपेच कहाँ गयो वा के भयो भन्ने बारे पढौँ ।

नेपालमा bird of paradise नामक विशेष दुर्लभ प्रजातिको चराबाट श्रीपेच बनाउने शुरुवात मुख्तियार माथवरसिंह थापाको पालामा शुरुवात भएको थियो । त्यसभन्दा अगाडि राजाले पनि श्रीपेच लगाउने शुरुवात गरिसकेका थिएनन् । शिरपोश लगाउने चलन थियो । राजाका लागि विशेष किसिमका शिरपोश बनाइन्थ्यो । माथवरसिंह थापा केही समय पञ्जावकेशरी रञ्जित सिंहको दरबारमा रहेका थिए । तसर्थ, उनले नै विशेष श्रीपेच भित्र्याएको मानिन्छ ।

आखिर श्रीपेचको रहस्य के हो त भन्ने विषयमा जाउँ । श्रीपेच शब्द शिरपोसबाट नै आएको अनुमान गर्न सकिन्छ । श्रीपेचलाई शुरुवातमा शिरपेच भनिन्थ्यो, पछि श्रीपेच भन्न थालियो । विशेष चराको कल्कीयुक्त श्रीपेच राणाकालमा तीन किसिमको हुने गर्दथ्यो– राजाको, श्री ३ रहेका प्रधानमन्त्रीको र कमाण्डिङ जनरलको । राजाहरूलाई श्री ५ भनिने हुँदा श्रीपेचमा पाँचमा पात आकारको पन्नाको चन्द्रमा बनाइएको हुन्छ भने श्री ३ का श्रीपेचमा तीन वटा पात आकारका पन्नाको चन्द्रमा बनाइएको हुन्छ । जनरलहरूका श्रीपेचमा भने एउटा मात्र पात आकारको पन्नाको चन्द्रमा बनाइएको हुन्छ । यसका साथै यसमा जडिएको जवाहरातको सङ्ख्याले भिन्नता हुने गर्दथ्यो । नेपालमा विशेष किसिमको श्रीपेचको शुरुवात भने जङ्गबहादुरले नै गरेका थिए । राजा सुरेन्द्रले पछि श्रीपेच लगाउन थालेको थियो । राजा राजेन्द्रले राजकाज त्याग गरि युवराज सुरेन्द्रलाई राज्य सुम्पिइ काशी गइ बसे । तर पछि फर्केर आएपछि भक्तपुर दरबारमा लगि राखियो । काशीबाट फर्केका राजालाई पनि श्री ३ जङ्गले पछाडिबाट कसैले समाएर श्रीपेच लगाएझैँ गरेको तस्बिर पनि खिचिएको थियो । तर राजा राजेन्द्रले श्रीपेच नै भने लगाएका थिएनन् । हुन त चित्रकारले राजा पृथ्वीनारायण शाहलगायत सिंहप्रताप तथा रणबहादुर शाहको पनि श्रीपेच लगाएको तस्बिर बनाएको भेटिन्छ । तर वास्तविकतामा कल्कीसहितको श्रीपेच भने माथवरसिंह थापाले नै भित्र्याएका थिए । पपुआ न्यूगिनीमा मात्र पाइने दुर्लभ चरा बर्ड अफ प्याराडाइज अर्थात हुमायू चराको प्वाँखको कल्की बनाएर तास र मखमलको कपडामा हिरा मोती पन्ना जडेर बनाइएको श्रीपेच माथवरसिंह थापाले सबैभन्दा पहिले लगाएका थिए । पञ्जावकेशरीको जागीरबाट नेपाल फर्कंदा फ्रान्सेली ब्यापारीहरूसँगको संगतले उनले हुमायू चराको कल्की नेपाल भित्र्याएका थिए । पछि यिनका भाञ्जा जङ्गबहादुरले अझ परिष्कृत श्रीपेच बनाउन लगाएका थिए ।

राजा सुरेन्द्रको पालामा बनाइएको श्रीपेच भने राजा त्रिभुवनको पालामा लगाएनन् । उनले नयाँ श्रीपेच बनाउन लगाए । श्री ३ चन्द्रशम्शेरले राजा त्रिभुवनका लागि नयाँ श्रीपेच बनाउन लगाएका थिए, जुन श्रीपेच राजा ज्ञानेन्द्रसम्मले लगाए । साथै, सर्वसाधारणका लागि प्रदर्शनमा यही श्रीपेच राखिएको छ ।

श्री ३ जङ्गबहादुरको श्रीपेच भने श्री ३ को पदवीसहित क्रमशः नयाँ श्री ३ ले लगाउँदै आए । यसमा हिरा मोती तथा पन्ना थप्ने तथा झिक्ने काम भने श्री ३ मोहन शम्शेरका समयसम्म नै भयो । मोहनशम्शेर बैंगलोर जाँदा श्रीपेच पनि साथ लगिएको थियो । उनको देहान्त २०२३ साल पौषमा बैंगलोरमा नै भयो । उनको श्रीपेच बैंगलोरबाट नै साउदी अरबका कुनै राजपरिवारका सदस्यले किनेर लगेका थिए, जुन अहिले कतारको संग्रहालयमा राखिएको छ । जनरलका श्रीपेच भने प्रायः हिरा मोती निकालेर श्रीपेचको अस्तित्व मेटिए । केही श्रीपेच अचेल कुनै कुनै संग्रहकबाट लिलामीमा देखिने गर्दछ । यस्तै एउटा श्रीपेच अहिले जापानी संग्रहकसँग रहेको छ ।

राजा सुरेन्द्रका समयमा बनाइएको श्रीपेच भने राजा त्रिभुवनका समयदेखि परिवर्तन भएको थियो । राजा त्रिभुवनको समयमा बालक राजाका लागि नयाँ श्रीपेच बनाइएको थियो । राजाहरूलाई श्रीपेच सितिमिति लगाइराख्नु पर्दैन । राज्यारोहणमा श्रीपेच लगाउनै पर्दछ । तर अन्य समय खासै श्रीपेच लगाउने जरुरत पर्दैन ।

राजा ज्ञानेन्द्रले नेपाल सरकारलाई हस्तान्तरण गरेको श्रीपेचमा कुल ७३० वटा हिराका टुक्रा छन् । २३७२ वटा मोतिका टुक्रा छन् । यस्तै ४०० वटा अन्य साना-साना पत्थरहरू अगाडिको भागमा सजाइएको छ । श्रीपेचको चारैतिर गोलघेरामा पन्नाहरू लट्काइएको छ । दायाँ र बायाँ कानको भाग पर्नेमा पन्नाका झुप्पा राखिएको छ । यसका साथै रुबीका टुक्रा तथा नवरत्न र सुनको पनि पर्याप्त प्रयोग गरिएको छ । नेपालको श्रीपेच विश्वमा आकर्षक मात्र होइन बहुमुल्य रूपमा पनि लिने गरिन्छ ।

लिलामी गर्ने संस्था बोन्हामले केही वर्षअगाडि राजपरिवारबाट अस्विकृत श्रीपेचको नमुना नै ९० हजार पाउण्डमा बिक्री गरेको थियो । यो मुल्य तत्कालिन अवस्थामा करिव १ करोड १८ लाख परेको थियो । यसमा पर्याप्त हिरा तथा पन्नाहरू राखिएको थिएन । जसको मुल्य सर्वाधिक हुने गर्दछ ।

जङ्गबहादुरले नेपालमा बस्न दिएकाहरूको सूची । यसमध्ये केहीलाई जङ्गबहादुरले बीचमा नै अङ्ग्रेजलाई सुम्पिदिए ।

१. महारानी जिंद कौर (पञ्जावकी महारानी)
२. बेगम हजरत महल (अवधकी महारानी- नेपालमा मृत्यु)
३. नवाव बिरजिस कद्र रमजान अलि (अवधको राजकुमार)
४. राणा बेनीमाधो (शंकरपुरका तालुकदार- नेपालमा मृत्यु)
५. खान बहादुर खान (बरेलीका नवाव- भारतमा फाँसी)
६. नवाव मम्मु खान (अवध बेगमको दरोगा)
७. ब्रिगेडियर ज्वालाप्रसाद
८. नानासाहेव पेशवा (मराठा राज्यका प्रधानमन्त्री- नेपालमा मृत्यु)
९. सरस्वती बाई (बाजी रावका बिधवा- नेपालमा मृत्यु)
१०. कृष्णा बाई (नानासाहेवको रानी- नेपालमा मृत्यु)
११. काशी बाई (नानासाहेवको रानी- नेपालमा मृत्यु)
१२. बाला राव (नानाका भाइ- नेपालमा मृत्यु)
१३. हरदूत सिंह (तालुकदार)
१४. अजिमुल्ला खान (नानाका सेक्रेटरी)
१५. मुहम्मद अहमद उल्ला खान (नजिवावादको नवाव )
१६. राजा देवी बख्स (गोंडाका राजा)
१७. हरप्रसाद चकलधर (खैरावाद)
१८. नियाज मोहम्मद खान
१९. गुलाव सिंह (बिसवा)
२०. नवाव तफज्जुल हुसैन (फरुखावादका नवाव)
२१. हरदत्त सिंह (बुन्दी)
२२. मौलवी फजल अली (गोरखपुर)
२३. मौलवी सिरफिराज अलि खान
२४. बाल्लुर (नेपालमा मृत्यु)
२५. हैदर खान (जङ्ग बहादुरले पछि आफ्नै सुरक्षागार्ड बनाए- नेपालमा मृत्यु)
२६. इज्जूत अलि (जङ्ग बहादुरले पछि आफ्नै सुरक्षागार्ड बनाए- नेपालमा मृत्यु)
२७. सर सुवा (नानासाहेवका ज्वाइ)
२८. घुन्नी खान (अवधका शाहजादा फिरोज शाहका जासुस)
२९. तफ्फजुन हुसैन खान (फरुखाबादको नवाव)
३०. नवाव अलि बहादुर (बांदाका नवाव)

यस बाहेक चार सयभन्दा बढीलाई जङ्गबहादुरले लखनउ युद्धमा समाएर अङ्ग्रेजलाई सुम्पिदिएका थिए ।


468
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

माओवादीले चुनावी लहर आफ्नो पक्षमा बनाउन नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको लोकप्रियतालाई प्रयोग गर्ने भएको छ । माओवादीसम्वद्ध सूत्रका

विश्व व्यापार संगठन (डब्लुटीओ)ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको डब्लुटीओकी महानिर्देशक एनगोजी

केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औद्योगिक शहर सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन् । दुर्लभ

सही व्यक्तिले प्रतिनिधित्व गरे भने पिछडिएको समुदायको मात्र नभइ सिङ्गै मुलुकको उत्थान हुन सक्छ, विचारविहीन मांसपिण्ड जुनसुकै जातिका भए पनि