चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान आग्रह

चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान आग्रह


चिया व्यवसायीले चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरी इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकामा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीले नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष मागसमेत गरेका छन् । चिया भारत निर्यात नभएमा एकसय ५० भन्दाबढी उद्योग बन्द हुने व्यवसायीको चिन्ता छ । उनीहरुले राष्ट्रको ठूलो लगानी धरासयी हुने, चियाखेतीमा आश्रित २६ हजार कृषक आयविहीन हुने, ८० हजार चिया मजदुर बेरोजगार हुने स्थितिको सिर्जना हुने बताएका छन् ।

इलाम जिल्ला नेपालको अर्थोडक्स चियाको उत्पादन गर्ने मुख्य जिल्लाका रुपमा रहेको छ । कूल अर्थोडक्स चिया उत्पादनको ९० प्रतिशत उत्पादन हुने इलाममा १३ हजार हेक्टर चिया क्षेत्रको विकास भएको छ ।

चियाखेतीमा २६ हजार कृषकको संलग्नता रहेको र ८० हजारभन्दा बढीले ग्रामीण रोजगारी पाएको सूर्योदय टि प्रोडक्सन एसोसिएसनका अध्यक्ष उत्तमकुमार श्रेष्ठको भनाइ छ । उनका अनुसार नेपाल सरकारको उच्च राजनीतिक संवादमार्फत कूटनीतिक पहल गरी समस्याको समाधान गर्नका लागि नेपाल सरकारसमक्ष आग्रह गरिएको छ ।