बेल्जियममा पनि मनाइयो आदिवासी दिवस

बेल्जियममा पनि मनाइयो आदिवासी दिवस


  • सनत आचार्य, बेल्जियम

विश्व आदिवासी दिवसको उपलक्ष्यमा नेपाल आदिवासी जनजाति महासंघ बेल्जियम शाखाको ‘परम्परागत ज्ञानको संरक्षण र प्रवर्धनमा आदिवासी महिलाको भूमिका’ विषयक कार्यक्रम मंगलबार लुभेनमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बेनेलुक्सका लागि राजदुत गेहेन्द्र राजभण्डारीले नेपाल विभिन्न फुलहरूको बँगैचा भएको यो कार्यक्रमले प्रमाणित गरेको तर्क गर्दै यो विविधता नै नेपाल र नेपालीको शक्ति भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका राजदुत राजभण्डारीले आफूले कार्यक्रममा युवा वर्गको सहभागिता र सक्रियता देखेकोप्रति हर्ष व्यक्त गर्दै दोश्रो पिँढीलाई पनि क्रमश: कार्यक्रममा सहभागी गराउँदै लानुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रमका अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले नेपाल विभिन्न जातजातिको साझा फुलबारी भएको उल्लेख गर्दै यो फुलबारी नै देशको पहिचान भएको धारण्मम राख्नुभयो ।

अध्यक्ष केसीले प्रवासमा रहेका संघसंस्थाहरूले नेपाली-नेपालीबीचको एकतालाई कायम राख्दै सामाजिक सद्भाव र ऐक्यबद्धता कायम राख्न निरन्तता दिनुपर्ने बताउनु भयो ।

प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष चन्द्र कुमारी गुरुङले आफू नेपाली र जनजाति भएर जन्मिएकोमा गर्व रहेको खुलासा गर्दै महासंघको विगतको इतिहासमा आदिवासी जनजातिको हकहित संरक्षणका लागि ठूलो भूमिका खेलेको बताउनुभयो ।

अध्यक्ष गुरुङले जनजाति महासंघ सबै जनजातिहरूको घर भएकोले सबैलाई समेटेर जाँदा मात्र अधिकार प्राप्तिका लागि सहयोग पुग्ने धारणा राख्नुभयो ।

जनप्रगतिशील मोर्चाका अध्यक्ष मेघ गुरुङले आदिवासी महिलाहरुले आफूले प्राप्त गरेको ज्ञानलाई कसरी पुस्तान्तरण गर्ने भन्ने चुनौती भएको बताउँदै आदिवासी जनजातिहरू विदेशिँदा आदिवासी/जनजातिका मौलिक कामहरू हराउँदै गएको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

नेपाली संघीय समाजका अध्यक्ष नेत्र मगरले आजको दिन दिवस मात्र नभएर आन्दोलनको एउटा स्वरुप भएकोले अधिकार प्राप्तिका लागि यसलाई निरन्तरता दिनुपर्ने बताउँदै भाषा जनजातिहरूको पहिचान भएकोले यसलाई जीवित राख्नुपर्ने बताउनुभयो ।

जनप्रगतिशील मञ्चका उपाध्यक्ष मनिष गुरुङले संसारभर नै जनजातिहरू छरिएर रहेको जानकारी दिँदै जनजातिहरु जल, जंगल र सम्पदासँग सरोकार राख्ने भएकोले सबै देशमा यो समुदायको संरक्षण र प्रवर्धन गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियम शाखाका अध्यक्ष एवम् कार्यक्रमका सभापति वीरमान घर्तीले आजको दिन सम्पूर्ण जनजातिहरुले आफ्नो हक अधिकार प्राप्तिका लागि स्मरण गर्नुपर्ने दिन भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा सुचिकृत ६० जनजाति समुह रहेको जानकारी दिँदै, जल, जंगल र जमिन फाँडेर बसेका जनजातिहरुलाई विश्व परिवेशमा समेत विभेद र पछाडि पारिएको धारणा राख्नुभयो । घर्तीले यो अवस्थाबाट मुक्त हुन वकालत गर्न आवश्यक रहेको बताउँदै नाक र कान हेरेर समाजमा राजनीति गर्नु भन्दा सबै मिलेर अगाडी बढ्नु बेस भएको सुझाउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघमा रहेर समाजलाई निरन्तर योगदान पुर्याउनु हुने महासंघका बेल्जियम शाखाका संस्थापक अध्यक्ष पेम्वागेलु शेर्पा, संस्थापक महासचिव कुलबहादुर मगर, कार्यवाहक अध्यक्ष डिल्ली सुब्बा र पूर्वमहासचिव नन्दराज घलेलाई सम्मान गरिएको थियो ।

त्यस्तै, बेल्जियममा बसेर उच्च शिक्षा (स्नातकोत्तर) हासिल गर्ने जनजाति विद्यार्थीहरू याङ्जोङ शेर्पा, प्रियङ्का गुरुङ, आङपेमा लामा, अलास्का शेर्पा, सिर्जन श्रेष्ठ लगायतलाई सम्मान तथा प्रंसशापत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन महासंघका महासचिव पेम्बा शेर्पाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सूर्यनारायण श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा किराँत, नेवार, थकाली, मगर, शेर्पा समुदायको तर्फबाट झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।