एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने

एन्फा कार्यसमिति बैठक बिहीबार बस्ने


दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक भोलि बिहीबार हुँदैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुने बताइएको छ ।

यसअघि सबैठक दुई पटक बोलाएर बस्न सकेको छैन । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो । पछिल्लो समय पदाधिकारी भागबन्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ ।

६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका नेम्बाङ आफ्नो चुनावी अभियानमा सहयोग गरेका साथीहरूलाई खुसी राख्न असफल भएका छन् ।

चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाँडेबीच बढ्दै गएको असन्तुष्टिका कारण पंकज चेपुवामा परेका छन् । पाँडेबाट बढी दबाब खेप्दै आएपछि नेम्बाङले थापा समूहलाई बेवास्ता गर्दै आएका छन् । पाँडे एन्फा राजनीतिमा हाबी भएसँगै कार्यसमितिमा बहुमत भएको थापा पक्षले पाँडेको बर्खास्तगीको माग गरेको छ ।

जसका कारण १९ मध्ये १३ सदस्यले हस्ताक्षर गर्दै अन्तरराष्ट्रिय विभाग प्रमुख पाँडेको बर्खास्तगी माग गरेका छन् । भोलिको बैठकमा सबैको ध्यान यसैमा हुनेछ । यस्तै, प्रवक्तासहित तीन सहमहासचिव, मनार्थ अध्यक्षको नियुक्त हुनेछ । यस्तै, महिला साफ आयोजना समेत मुख्य विषय रहेको छ ।

भोलि हुने बैठकमा २२ एजेन्डा रहेका जानकारी दिइएको छ ।