चीनले फेरि सैन्य अभ्यास गरेपछि ताइवानको विरोध

चीनले फेरि सैन्य अभ्यास गरेपछि ताइवानको विरोध


चीनले सोमबार ताइवान टापुको वरिपरि समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै ताइवानले आलोचना गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ ।

‘ताइवानी परराष्ट्र मन्त्रालयले सैन्य अभ्यास लम्ब्याउने चीनको निर्णयको कडा निन्दा गर्ने जनाएको छ । ‘चीनको उत्तेजना र आक्रामकताले ताइवानको यथास्थितिलाई हानि पुऱ्याएको छ र यस क्षेत्रमा तनाव बढेको छ’, विज्ञप्तिमा भनिएको छ ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतबार समाप्त भएपछि ताइवानवरिपरि ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाइएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बीविरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।

चिनियाँ विमान र जहाजहरू आफ्नो क्षेत्रीय पानीमा प्रवेश गरिनसकेको ताइवानले जनाएको छ । सैन्य अभ्यासको अमेरिका, अस्ट्रेलिया, जापानले निन्दा गरेका छन् ।