चुनावको मिति तोक्ने विषयमा छलफल गर्न गठबन्धनको बैठक
प्रकाशित मिति
१८ श्रावण २०७९, बुधबार ११:२३
- file photo
बालुवाटारमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित छन् ।
बैठक बुधबार दिउँसो ३ बजेदेखि सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनावबारे छलफल गर्ने एजेन्डा छ ।
प्रधानमन्त्री देउवा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट आमनिर्वाचनको मिति घोषणा गर्ने मनस्थितिमा छन् ।
चुनावको मिति तोक्न सत्तारुढ गठबन्धनका दलसँग सहमति खोज्नकै लागि प्रधानमन्त्री देउवाले बुधबारका लागि बैठक बोलाएका हुन् ।
निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।
स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मंसिरमा नभइ फागुनमा चुनाव गराउन पक्षमा छन् । सोही कारण अहिले नै चुनावको मिति नतोक्न प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको बालुवाटार स्रोतको भनाइ छ ।
Shares