२७ श्रावण २०७९, शुक्रबार

आक्रोशित युवा र युगनायकको चाह

  प्रकाशित मिति
१९ श्रावण २०७९, बिहीबार ०२:०८


वर्तमान शासकहरूले दर्शाएको अनेक बहानाबाजीले जनतामा नैराश्यता थप्दैछ । सैनिक शासनको मागसमेत फाट्टफुट्ट सुनिन थालेको छ । कतै-कतै तानाशाह नै भए पनि हुन्छ भन्ने आवाज पनि आउँँदैछन् । पाखा लगाइएका राजातर्फ आशाले हेर्ने जमात बढ्दै पनि छन् ।
  • स्वयम्भूनाथ कार्की

अहिले सबैमा असन्तोष व्याप्त छ । असन्तोषका कारणचाहिँ सबैका अलग-अलग छन् । यो असन्तोषले बिस्तारै निराशा जन्माउँदैछ । यो निराशाको सम्बोधन गर्न नेतृत्व चुकेको त छैन तर सम्बोधनको तरिका वा विषयले निराशाको कारण पहिल्याएजस्तो भने छैन । बिस्तारै बिस्तारै यो निराशा कुन्ठामा परिणत हुँदैछ । कुन्ठापछिको अर्को तह आक्रोश हो । यदि आक्रोशमा पुग्न रोक्न सकिएन भने अवस्था कतिसम्म डरलाग्दो हुन्छ भन्ने कुरा समकालिन विश्वका अनेकौँ स्थानमा भएका विप्लव (विद्रोह) हरूले देखाएका छन् । नेतृत्वको खोलामा धेरै पानी बगेको छ, परिस्थिति फरक भएको छ भन्ने भाषणहरू सुन्दा समस्या अपरिचित छैन भन्ने लाग्छ, तर व्यवहार हेर्दा आक्रोशको कारण पहिल्याउन सकेको देखिँदैन ।

सूचना र सञ्चारको क्षेत्रको प्रगतिले कुनै सूचना गोप्य रहन असम्भवप्राय: छ । यस्तो अवस्थामा असन्तोषको सम्बोधन गर्ने आफू पनि अध्यावधिक हुन आवश्यक छ । जनमानसलाई गलत तथ्य, तथ्याङ्कको आधारमा चित्त बुझाउन सकिँदैन । आफूसामुन्ने पस्किएको कुरा कति ठिक कति बेठिक हो भन्ने कुरा जाँच्ने अनेकौँ तरिका सहज उपलब्ध छन् । अहिले प्रौढ हुँदै गरेको पिँढीले सूचना प्राप्त गर्न गर्नु परेको श्रम अहिले दन्त्यकथा जस्तो लाग्छ । ७० को दशकमा ‘सिबी रेडियो’ भनिने सीमित रेडियो सञ्चारको अनुमति प्रक्रिया सरल गरेर जनतामा ल्याउदा संयुक्त राज्य अमेरिकाले युगान्तकारी काम गरेको थियो । केही दशक पहिले सूचना र सञ्चारका साधनहरू राख्न अनुमतिपत्र लिनुपर्ने व्यवस्था विश्वका अधिकांश मुलुकहरूमा थियो । तर वर्तमानमा यी सर्वसुलभ छन् । नेतृत्व गरिरहेको वर्गले संचारको यो सर्वसुलभताको शक्ति र असरको अनुमान गर्न नसकेको देखिन्छ ।

अब सुचना र त्यसको प्रशोधन विद्वत वर्गको मात्र हातमा छैन । समाजका विभिन्न तहका समुहहरू आ-आफ्नो ज्ञान र विवेकको आधारमा आपैm अर्थ लगाउँछन् । यसको आधारमा व्यक्त गरेको प्रतिक्रिया निमेषभरमै विश्वभरी प्रसार हुन्छ । यस्ता प्रतिक्रियाहरूले सबैको चेतन वा अर्धचेतनले एक युगनायक खोजिरहेको छ । यसको प्रत्यक्ष लक्षण कसैले पनि अलिकति आशा जगाइदियो भने त्यसको प्रशंसामा सबै लाग्नु हो । यसरी आशा जगाउनेहरू अधिकांश मौका पाउँदा असफल हुने गरेका छन् । यो न उनीहरूको गल्ती हो न योग्यताको कमी नै । अब जनमानसले मेधावी खोज्दैछैन चमत्कारी माग्दैछ । त्यसैले एकएक गरेर नेतृत्व दुधको उमाल जस्तो ह्वात्तै शिखरमा पुग्दै त्यही गतिमा तल झर्दै छन् । लामो समय आस्थाको केन्द्र हुन सकेका छैनन् । जति जनताको आस्था कायम राख्न समर्थकहरू बोलीको, लेखाइको सहारा लिन्छन् त्यति नै आस्था कम हुन्छ । जनता कर्मले आफूमा विश्वास जागोस् भन्ने सोचमा छन् ।

यसरी एकएक पात्र असफल हुँदै जाने हो भने जनताको कुन्ठा आक्रोशमा परिणत हुन्छ । त्यो आक्रोसले विप्लव जन्माउन थाल्यो भने त्यसको कुनै अनुहार हुने छैन । नेपालमा एक अनुहारविहीन विद्रोहको पृष्ठभूमि तैयार हुँदैछ । यस्तो अनुहारविहीन विद्रोहको न कुनै नेतृत्व हुन्छ, न कुनै विशेष माग । दावानल जस्तो जता सल्किन सक्यो त्यतै सल्किने गर्दछ । यसले कसैको भलो गर्दैन, मुलुकको विनाश भने पक्कै गर्दछ । त्यसैले यो अवस्थातर्फ मुलुकलाई जान दिइनु हुँदैन ।

जे-जस्तो भए पनि नेपालका विगतका कुनै पनि परिवर्तनहरू अनुहारविहीन क्रान्तिका उपज थिएनन् । चाहे आदरले होस् वा डरले कुनै न कुनै अनुहार थियो । चाहे भीमसेन थापा हुन् वा जंगबहादुर एक सवल पात्रको रूपमा उदाएका थिए । ०७ सालमा बीपीप्रतिको विश्वासले काम गरेको थियो भने १७ सालमा राजा महेन्द्र सवाल थिए । चाहे समर्थक हुन् वा विरोधी सबै यी पात्रलाई सक्षम ठान्थे । उनीहरूले गरेका कामका समर्थक पनि थिए र विरोधि पनि । यस्ता कुराले केही फरक परेको थिएन किनभने, उनीहरू दृढ निश्चयी थिए र, विरोधिलाई दोषारोपण गर्नुभन्दा आफ्नो सोचलाई कार्यरूप दिन ध्यान दिन्थे । ०४६ सालमा अनुहार गणेशमान थिए । दुईविपरीत ध्रुवका राजनैतिक विचारधाराका दल जोड्न सफल भए । कृष्णप्रसाद भट्टराई, गिरिजा कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी जस्ता व्यक्तित्वहरूमा समन्वय भयो । अनुहारविहीन आन्दोलन भएन ।

यस्तै, ०६३ को परिवर्तनमा पनि प्रचण्डको भूमिगत नाम र गिरिजा कोइरालाको अन्तर्राष्ट्रिय साखले काम गर्‍यो । तर छिट्टै यी नामहरू स्खलित भए, उनीहरूको नामले जनतामा कमाएको डर वा आस्थाको पुँजी सकियो । निर्णय लिन नसक्ने र निर्णय लिए पनि त्यसमा अडिग रहन नसक्ने नेतृत्वमा परिणत हुनु दुर्भाग्यपूर्ण भयो । त्यसपछि त चिठ्ठा परेजस्तो जो कोही पनि नेता हुन थाल्यो । आज शिखरमा र भोलि जमिनमा हुनेहरूको बाहुल्यता बढ्यो । जनताले मान्न नसकेको व्यक्तिलाई एकाएक नेता बनाउँदा उच्च नेताहरूले आफ्नो साख गुमाएको पत्तै पाएनन् । ठूला-ठूला सपनाहरू देखाइए, जो पूरा हुन सम्भव भएन । यो सम्भव नभएको कुराका अनेकौँ बहाना बनाइए । हरेक बहानाले जनतामा नैराश्यता थप्दैछ । अब फाट्टफुट्ट सैनिक शासनको माग सुनिन थालेको छ । कतै-कतै तानाशाह नै भए पनि हुन्छ भन्ने आवाज आउँँदैछन् । पाखा लगाइएका राजातर्फ आशाले हेर्ने जमात बढ्दै पनि छन् ।

अनुहारविहीन विप्लवको सम्भावना रोक्न सक्ने पात्र भनेका दलहरूलगायत जनताले आशापूर्ण तरिकाले हेरेका शक्तिहरू हुन् । यदि यी विकल्पहरू पनि भएन भने मुलुकमा पक्कै अनुहारविहीन विप्लव हुन सक्छ । मुलुक विखण्डनतर्फ जान सक्छ । नेपालको करिव पौने तीन शताव्दिमा युगनायकको अत्यन्त आवश्यकता परेको कालखण्ड यही नै हो । यदि यो भएन र मुलुकमा अनुहारविहीन विप्लव भयो भने यी पात्रहरू त दोषी हुन्छन् नै तर समाजमा आशाको दियो बाल्न नसकेको अपराधबाट आफूलाई चेतनशील ठान्ने कुनै पनि नागरिक बच्न सक्दैन ।


162
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्सिनाटीस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई)को कार्यालयमा प्रवेश गर्न खोज्ने एकजना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०