२७ श्रावण २०७९, शुक्रबार

मिसइन्फरमेसन : राष्ट्रपतिदेखि ‘फस्ट लेडी’सम्म

  प्रकाशित मिति
१८ श्रावण २०७९, बुधबार ००:४२


बालेनको फोटोवाला कुरामा यदि सुरुमै राष्ट्रपति कार्यालयले मेयर भएपछि राष्ट्रपतिसँग भेटघाट नभएको जानकारी दिएको भए त्यति धेरै गालीको वर्षा हुने थिएन । यस्तै, आफ्नो करियरमा स्थापित हुँदै गरेको सन्तानको बारेमा नीतिगत रूपमै ट्याक्स छलीको गम्भीर आरोप लाग्दा खास कुरा के हो भनेर प्रधानमन्त्री कार्यालय बोल्नुपर्थ्यो ।
  • बबिता बस्नेत

२०७९ साल साउन १० गते मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले केही सम्पादक तथा पत्रकारहरूसँग राष्ट्रपति कार्यलयमा गर्नुभएको भेटघाटका क्रममा धेरै कुरा भए । सुरुमा उहाँले राख्नुभएका सवालमा देशको आर्थिक अवस्थादेखि शिक्षा, स्वास्थ्य हुँदै जलवायु परिवर्तनका असरहरूसम्म समेटिएका थिए । पत्रकारले आफ्ना जिज्ञासा, प्रश्न र सुझाव राख्ने क्रममा नागरिकता, राजनीति, सङ्क्रमणकालीन न्यायलगायत बेला-बेलामा राष्ट्रपतिका बारेमा आउने गरेका समाचारका कुराहरू राखे । काठमाडौंका मेयर बालेन शाहसँगको भेटमा धेरै दूरी राखेर गरिएको कुराकानीका बारेमा टिप्पणीहरू आएको भनी पत्रकार कृष्णमुरारी भण्डारीले प्रश्न गर्दैगर्दा बीचैमा रोकेर राष्ट्रपतिले ‘काठमाडौका मेयर भएपछि बालेनसँग मेरो भेट भएको छैन, दूरीको के कुरा आयो र ?’ भन्नुभयो । सामाजिक सञ्जालमा असारको दोश्रो साता भाइरल भएको बालेनले निकै पर उभिएर राष्ट्रपतिलाई केही भन्दै गरेको फोटोको बारेमा उहाँलाई थाहै रहेनछ । उक्त फोटो राखेर राष्ट्रपतिलाई राजा-महाराजाले पनि यस्तो गर्दैनथे…, राजा फालेर ल्याएको गणतन्त्रमा के हो यस्तो ?, यसरी नै दास र मालिकको दर्शनभेट हुन्छ…, महानगरका मेयर बालेन र राष्ट्रपतिको यस्तो भेटलाई तपाईं के भन्नुहुन्छ ?… जस्ता भनाइ राखेर ब्यापक सेयर गरिएको थियो ।

राष्ट्रपतिले भन्नुभयो– ‘बालेनसँग मेरो पछिल्लोपल्ट खानेपानीसम्बन्धी छलफलमा यहीँ भेट भएको थियो ।’ फोटो र फोटोका कारण आफूमाथि गरिएको आलोचनाका बारेमा राष्ट्रपतिलाई थाहा नभए पनि उहाँका सल्लाहकारहरूलाई जानकारी हुनुपर्ने हो तर कसैले सुनाएका रहेनछन् । यसप्रकारको गलत सूचना सार्वजनिक रूपमा ब्यापक भएपछि ‘मिसइन्फरमेसन’लाई ‘डिसइन्फरमेसन’ हुनबाट रोक्न सही कुरा के हो ? बाहिर आउनुपर्थ्यो । उक्त फोटो २०७८ साल चैत्र १० गते बालेन शाहले सामाजिक संजालमा हालेका रहेछन् । जहाँ उनले नेपालमा खानेपानीको समस्या विद्यमान रहेकाले राष्ट्रपतिले आह्वान गर्नुभएको विज्ञहरूसहितको छलफलमा साझा परामर्श दिएको स्पष्ट उल्लेख गरेका रहेछन् । यो विषयलाई लिएर साउथ एशिया चेकले सत्यतथ्य चेक गरेर फोटो र सामाजिक संजालमा आएका कुराबीच तालमेल नभएको र गलत जानकारी बाहिर आएको भनी समाचार पनि बाहिर ल्याएको थियो । त्यतिका कुरा हुँदा पनि राष्ट्रपतिलाई जानकारी नदिनु उहाँको सल्लाहकार टिमको कमजोरी हो । त्यतिबेला कमेन्ट गर्ने सर्वसाधारणलाई अहिले पनि आफूले गलत जानकारी पाएँ र त्यही गलतलाई सही ठानी टिप्पणी गरेँ भन्ने थाहा नहुन सक्छ । यो पछिल्लो उदाहरण मात्रै हो, राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिएर धेरै ‘मिसइन्फरमेसन’हरू ‘डिसइन्फरमेसन’ भएका छन् । कुनै सूचना गलत हुन्छ तर फैलाउनेले सही ठानेर फैलाइरहेको हुन्छ, त्यो ‘मिसइन्फमेसन’ अर्थात् गलत सूचना हो । कुनै सूचना गलत हो भन्ने थाहा पाउँदापाउँदै जानी-जानी फैलाउने काम मिथ्या सूचना अर्थात् डिसइन्फरमेसन हो । मिथ्या सूचनालाई मिडियाको भाषामा ‘फेक न्युज’ पनि भनिन्छ ।

कतिपय उच्चपदस्थका सल्लाहकारहरूकै उहाँहरूसम्म सहज पहुँच हुँदैन । बल्ल-बल्ल भएको भेटमा हजुरको बारेमा गलत कुरा बाहिर आइरहेको छ भन्ने हिम्मत उनीहरूले गर्दैनन् । जस्ताको तस्तै भन्यो भने आफूलाई गलत नजरले हेर्लान् कि, आफ्नो नियतप्रति नै शङ्का पो गर्ने हुन् कि ? भनेर सल्लाहकारहरू या त सबै ठिक छ हजुर, राम्रो भइरहेको छ भन्छन् या त मौन बस्ने गर्छन् ।

यही २०७९ साल श्रावणको पहिलो साता आफैले महसूस गरेको घटना सुनाउँछु । हेटौँडामा नेपाल प्रेस युनियनको अधिवेशन थियो । लामो समयपछि हुन लागेको निर्वाचनमा अध्यक्षका लागि पत्रकार अनिता बिन्दु र शिव लम्साल उम्मेद्वार हुनुहुन्थ्यो । प्रेस युनियनको ३१ वर्षको इतिहासमा महिला नेतृत्व आओस् भन्ने चाहना हुनु स्वभाविक थियो । अनिताको पक्षमा थिएँ । यद्यपि आन्तरिक निर्वाचन भएकाले शिव लम्साल आउँदा दु:खी हुनुपर्ने कारण थिएन । हेटौँडाको चर्को घाममा साथीहरूसँग कुरा गरिरहेका बेला एक पत्रकार भाइले- ‘दिदी, अनितादिदी त डा. आरजुले उठाएको मान्छे हुनुहुँदोरहेछ, आरजुको मान्छेलाई भोट नदिने भनेर समूहमै कुरा भइरहेको थियो’ भनेँ । मैले अलि हाँस्दै संस्थापन पक्षको उम्मेद्वार भएपछि सबैको मान्छे भन्नुपर्ला भनेँ । उनले ‘डा. आरजु, तपाईं र वन्दना राणा बसेर निर्णय गर्नुभएको भन्दै राणाजीका मान्छेलाई भोट दिने कि हाम्रो सर्वसाधारण मान्छेलाई दिने भनिरहेका थिए’ भनेँ । उनको कुरा सही वा गलत के हो पत्ता लगाउने कोसिश गरेँ, हल्ला गरिएको हो रहेछ ।

अचम्म लाग्यो, जतिबेला अनिताको उम्मेद्वारीको निर्णय भयो त्यतिबेला नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री पत्नी उपचारको सिलसिलामा भारतको नयाँ दिल्लीमा हुनुहुन्थ्यो । प्रेस युनियन अध्यक्षको उम्मेद्वारीमा उहाँको कुनै भूमिका थिएन । कस-कसको भूमिका थियो भन्ने बारेमा पूर्ण जानकार मेरैअगाडि यस्तो ‘मिसइन्फरमेसन’ एक कान दुई कान फैलिरहेको थियो । वन्दना राणालाई प्रेस युनियनका बारेमा कुनै रुचि भए जस्तो लाग्दैन । अध्यक्षको उम्मेद्वारी तय हुँदै गर्दा उनी फिजीमा थिइन् । अनिताले उम्मेद्वारी दिएपछि महिला नेतृत्वको सवालमा आवाज बुलन्द गर्दै आएकी उनले शुभकामना दिनु स्वभाविक थियो । वन्दनाले फोटो राखेर शुभकामना दिएकी थिइन् । आरजु र वन्दना साथी हुन् भन्ने बुझेका मानिस नै यस्तो गलत सूचनाको मुहान थिए भनेर बुझ्न गाह्रो पर्दैन । तीनतिर भएका तीन जनालाई उनीहरू बसेर तय गरेको भनिँदै थियो, जबकि उम्मेद्वार सिफारिश गर्न पहिल्यै अनुभवी पत्रकारहरूको समिति बनेको थियो ।

पछिल्लो पटक चलचित्र बोर्डको अध्यक्षमा भएको नियुक्तिलाई लिएर पनि मानिसहरूले डा. आरजु देउवाको नाम जोडे । उम्मेद्वारमध्येको एक जनालाई कसैले पठाएको सन्देशमा ‘माथि’ नै तोकिएको भन्ने पढ्दा सुरुमा अचम्म लागेपनि ‘माथि’को नाममा आफूआफै पैसा उठाउने समूह हो भन्ने अनुमान गर्न गाह्रो परेन । यी दुई घटनापछि फस्ट लेडी डा. आरजु राणा देउवाको बारेमा अहिले जति पनि कुराहरू आएका छन् के ती सही हुन् ? कतै उहाँको नाममा फाइदा लिनेहरूले ‘मिसइन्फरमेसन’ फैलाइरहेका त छैनन् ? भन्ने प्रश्नले मष्तिष्कमा ठाउँ लिएको छ । अहिले उहाँको बारेमा युटुबमा आएका श्रृङ्खलावद्ध जानकारीहरू यदि गलत हुन् भने डिसइन्फरमेसन हुन नदिन उहाँले आफ्ना कुरा राख्नुपर्छ । डा. आरजुको बारेमा मात्र नभइ छोरा जयवीरको बारेमा समेत सार्वजनिक रूपमा प्रश्न उठ्दा चुपचाप बस्नुलाई मानिसहरूले ‘नभएको भए खण्डन आइहाल्थ्यो नि’ भनी चर्चा गर्ने गरेका छन् । ‘मौनं स्वीकृति: लक्षणम्’ संस्कृतको यो भनाइलाई राजनीति गर्नेहरूले गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । ओशोका अनुसार, आफ्ना बारेमा कसले के भन्छ भन्ने बारेमा सन्यासीले भए वास्ता नगरे हुन्छ । किनभने सन्यासीको कुनै प्रतिस्पर्धा हुँदैन । तर प्रतिस्पर्धामा उत्रिनुपर्नेहरूले आफ्ना बारेमा यदि गलत सूचना र जानकारीहरू आएका छन् भने त्यसलाई चिर्नुपर्छ । सही के हो या के भएको थियो जानकारी दिनुपर्छ । बालेनको फोटोवाला कुरामा यदि सुरुमै राष्ट्रपति कार्यालयले मेयर भएपछि राष्ट्रपतिसँग भेटघाट नभएको जानकारी दिएको भए त्यति धेरै गालीको वर्षा हुने थिएन । यस्तै, आफ्नो करियरमा स्थापित हुँदै गरेको सन्तानको बारेमा नीतिगत रूपमै ट्याक्सछलीको गम्भीर आरोप लाग्दा खास कुरा के हो भनेर प्रधानमन्त्री कार्यालय बोल्नुपर्थ्यो ।

यी दुई घटनापछि फस्ट लेडी डा. आरजु राणा देउवाको बारेमा अहिले जति पनि कुराहरू आएका छन् के ती सही हुन् ? कतै उहाँको नाममा फाइदा लिनेहरूले ‘मिसइन्फरमेसन’ फैलाइरहेका त छैनन् ? यस्ता प्रश्नले मष्तिष्कमा ठाउँ लिएको छ । अहिले उहाँको बारेमा युटुबमा आएका श्रृङ्खलावद्ध जानकारीहरू यदि गलत हुन् भने डिसइन्फरमेसन हुन नदिन उहाँले आफ्ना कुरा राख्नुपर्छ ।

उच्च तहमा रहेका मानिसहरूको सार्वजनिक छवी कसरी बाहिर गइरहेको छ ? सर्वसाधारणमा कस्तो सन्देश पुगिरहेको छ भन्ने बारेमा सम्बन्धित ब्यक्तित्वहरू स्वयम् सचेत हुनुपर्छ । आफूले नगरेको कामको बारेमा गलत सूचना बाहिर गइरहेको छ भने नखाएको विष लाग्न किन दिने ? यस्ता विषयमा सल्लाहकारहरूको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रो समस्या के हो भने कतिपय उच्चपदस्थका सल्लाहकारहरूकै उहाँहरूसम्म सहज पहुँच हुँदैन । बल्ल बल्ल भएको भेटमा हजुरको बारेमा गलत कुरा बाहिर आईरहेको छ भन्ने हिम्मत उनीहरूले गर्दैनन् । जस्ताको तस्तै भन्यो भने आफूलाई गलत नजरले हेर्लान् कि ? आफ्नो नियतप्रति नै शङ्का पो गर्ने हुन् कि ? भनेर सल्लाहकारहरू या त सबै ठिक छ हजुर, राम्रो भइरहेको छ भन्छन् या त मौन बस्ने गर्छन् । आफूवरिपरिकै मानिसको जब पहुँच हुँदैन सर्वसाधारणले त झन् भाइरल भएको सूचना सही हो कि गलत कसरी पुष्टि गर्ने ? ‘भेरिफाइ’ गर्ने आधार नै हुँदैन ।

त्यसो त, उच्चपदस्थहरूले सबै कुरा सल्लाहकारमै भर पर्नुपर्ने राणाकालीन अवस्था पनि अहिले होइन । प्राय: सबैका आ–आफ्नै सामाजिक संजालहरू छन् । भारतमा नरेन्द्र मोदीको बारेमा अलिकति पनि गलत सूचना गयो भने खास कुरा के हो भनेर तत्काल सामाजिक संजालमा आउँछ । हामीकहाँ सूचनालाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो त्यति लिने गरिएको छैन । फलत: मिसइन्फरमेसनले ब्यापक रूपमा फैलिने मौका पाइरहेको छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री या फस्ट लेडीको मात्र कुरा होइन सार्वजनिक ओहदामा भएका जो-कोहीको बारेमा प्रश्न उठेपछि वास्तविकता के हो ? जनताले तत्काल जान्न पाउने अवस्थाको सिर्जना हुनुपर्छ ।


3.141k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्सिनाटीस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई)को कार्यालयमा प्रवेश गर्न खोज्ने एकजना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०