२७ श्रावण २०७९, शुक्रबार

मृत्यु प्रमाणपत्र

  प्रकाशित मिति
१६ श्रावण २०७९, सोमबार ०३:३४


(कथा)
  • यश घिमिरे

आँखा खुल्दा आफूलाई पुर्णत: नग्न उत्तानो अवस्थामा हावामा तैरिरहेको पाएँ । ओरिपरिबाट करिब नौ-दश फिट अग्ला, सुरिलो घाँटी, लामो हातखुट्टा, ठूलो टाउको र त्यो टाउकोमा आवश्यकता भन्दा ठूला आँखा भएका तीन जना एलियनहरूबाट घेरिएको थिएँ । डोम आकारको सुनौलो छत, विविध यन्त्रहरूको स्क्रिनमा किरिमिरी अक्षर, कोठामा हरियो-निलो प्रकाश र सर्पहरू एकापसमा बटारिएको जस्तो पाइपहरू देख्दै थिएँ । सायद म उनिहरूकै ‘स्पेसशीप’मा थिएँ र अनौठो-अनौठो औजारहरूले ममाथि विविध परीक्षण पनि गर्दै थिए । गर्धनमाथि पछाडिको टाउकोमा हल्का दुखेको र त्यहाँको छालाभित्र सानो ‘चिप्स’ जस्तो केही चिज टाँसिएको महसूस भयो । छाम्ने कोशिश गरेँ, हात कसैगर्दा नि चलाउन सकिनँ । हातखुट्टा लगायत सम्पुर्ण शरीर काठको मुढोजसरी जड भएर हावामा तैरिइरहेको थियो । मेरो असहजता बुझेर होला तीमध्ये एउटाले भन्यो-

‘मानव, हातखुट्टा चलाउने कोशिस नगर । हामी केहिबेरमा तिमीलाई तिम्रै कोठामा सामान्य अवस्थामा छोडीदिन्छौँ । ढुक्क हुनु ।’

बिनाआवाज नै उसले भनेको कुरा प्रष्ट सुन्दै थिएँ त्यो पनि शुद्ध नेपाली भाषामा। ओठ र जिब्रो नचलीकन पनि आवाज सुनेको र बुझेको देखेर अचम्म लाग्यो । सोधें-

‘तिमीहरू पक्का पनि यो धर्तीको प्राणी त होइनौ । कहाँबाट आ’का हौ ?! मलाई परीक्षण गर्नुको उद्देश्य के हो ? किन आएका हौ ?’

तीमध्ये एउटाले सानो हाते स्क्यानिङ जस्तो मेशिन खुट्टादेखि बारबार टाउकोसम्म घुमाउँदै थियो । उसले त्यो प्रक्रिया रोक्दै भन्यो-

‘हामी तिम्रो ग्रहबाट ४ हजार प्रकाश वर्ष टाढा अल्फा सेन्चुरी तारा मन्डलको ट्र्यापिस्ट बि-टू भन्ने ग्रहबाट आएका हौँ । हुन त यो ट्र्यापिस्ट बि-टू नाम तिमीहरूले दिएका हौ, हामी गणितीय नाम र नम्बर प्रयोग गर्छौं । मानवको क्रमिक विकाश गर्न आजभन्दा ३ लाख वर्ष पहिले हामीले नै बाँदरको जीनमा थोरै हेरफेर गरेर तिमीहरूलाई अरु जीवभन्दा बुद्धिमान ‘होमोसेपियन्स’ बनाएका हौँ । त्यै भएर तिमीहरू र बाँदरको बीचमा धेरै कुरामा समानता छ । ९८ प्रतिशत भन्दा बढीको ‘जीन म्याच’ छ । १४ हजार वर्षअघि ढुङ्गेयुगबाट फड्को मारेर धातुको औजार निर्माण, कृषि-पशुपालन र सभ्यताको क्रमिक विकाश हेर्न पनि आएका थियौँ । आज भने मानवजातिमा जैविक परिवर्तन कसरी हुँदैछ भनेर परीक्षण गर्न आएका हौँ । छोटकरीमा अहिलेलाई यत्ति बुझ, तिमीहरूले भन्ने गरेको ‘भगवान’ हामी नै हौँ ।’

मानव उत्पत्ति, विकासक्रम र भगवानको बारे धारणामा छ्याङ्ग घाम लाग्यो । साक्षात् भगवानहरू अगाडि उभिएको देख्दै थिएँ । हजारौं वर्ष पहिले पनि यिनीहरू आएका थिए भन्ने सुनेर अचानक मलाई पनि लामो आयु बाँच्न मन लागेर आयो ।

याचना गरेँ-

‘भगवान ! हजुरहरू त अमर हुनुहुन्छ । हजारौं लाखौं वर्षदेखि यो लोक-परलोकलाई नियाली रहनुभएको छ । मलाई पनि कमसेकम एक हजार वर्षको आयु त दिनुहोस् न बिन्ती ।’

‘हेर मानव ! तिम्रो जैविक बनावट नै सय वर्षको मात्र छ । हरेक जीवको निश्चित समयसीमा हुन्छ । चाहे त्यो केही घन्टा या दिन बाँच्ने ब्याक्टेरिया हुन या २ – ३ सय वर्ष बाँच्ने कछुवा, सबैको आ-आफ्नो शारीरिक या भौतिक ब्लुप्रिन्ट हुन्छ । त्यो ब्लुप्रिन्टलाई बाइपास गर्न सकिँदैन । हामीले गर्न सक्ने भनेको तिम्रो शरीरमा भत्किएको कोष र जीनहरूलाई मर्मतसंभार गरिदिएर सय वर्ष बाँच्न सक्ने बनाइदिने हो । त्यतिसम्म चाहिँ गर्न सक्छौँ ।’

मनमनै सोचेँ- पचास वर्षको भएँ । नेपालीहरूको औषत आयु नै सत्तरी वर्षको हो । तीस वर्ष बोनसको जीवन ज्यून पाउनु पनि त भाग्यकै कुरा हो ।’ मैले सहमति जनाएँ । उनिहरू केहीबेर आफ्नै भाषामा नबोलीकन क्यारक्यारकुरकुर गर्दै सल्लाह गरे । त्यो भाषाचाहिँ बुझिनँ । सुन्नचाहिँ शायद यही टाउकाको पछाडि गर्धनमा टाँसिएको चिप्सको माध्यमले मैले सुनेको हुनुपर्छ ।

अबको पालि आँखा खुल्दा भने आफ्नै बिस्तारामा खुल्यो । सपना हो कि विपना जस्तो दोधारमै थिएँ, गर्धनमाथि हल्का दुख्यो । हातले उक्त ठाउँ छामेँ- सानो अप्रेसन गरेर टाँका मारिएको रहेछ । कुनै प्रकारको ‘चिप्स’ या ‘डिभाइस’ भने थिएन, सायद झिकेर लगे । सुतेर सिरानीमाथिबाट हात माथितिर लगेर टाँचा छाम्दै गर्दा कुनै कागजाकार धातुमा हात पर्‍यो । अगाडि उज्यालोमा ल्याएर हेरेँ । अरु केही नभएर उहि सय वर्षको दिनसमेत तोकिएको मृत्युको प्रमाणपत्र रहेछ । औषत आयु भन्दा धेरै बाँच्न पाउने सुनौलो अक्षरमा कुँदिएको ग्यारेन्टीपत्रले मन खुशी भएर आयो । आफूसँग पर्याप्त समय र स्वस्थ हुने कुराले मन रोमान्चित हुन थाल्यो । सपना होइन रहेछ, जे-जे भयो विपनामै भएको रहेछ भन्ने कुरामा अब भने दोधार रहेन । मनमनै तिनै भगवानहरूलाई धन्यवाद भनेँ ।

दिनहरू बित्दै गए । मसँग मनग्गे समय थियो, शरीर पनि निरोगी थियो । ‘म त भगवान भेटेको मान्छे पो त’ भन्ने एकप्रकारको अहम् पनि थियो । अरुसबै रोगी र अनिश्चित भविष्यले चिन्ताग्रस्त भएको भान हुन थाल्यो । खुशी थिएँ उमङ्ग थियो । साहित्यतिर लागेँ । कथा साहित्यमा दाम नकमाए पनि धेरथोर नाम कमाएँ । मञ्च, खादा-माला, पुरस्कार वितरण समारोह, घुमघाम, साहित्यिक भेटघाट आदि इत्यादिमा दिनचर्या बित्न थाल्यो । दिन हफ्तामा, हफ्ता महिनामा र महिनाहरू वर्षमा रुपान्तरण हुँदै गए ।

कामधाम केही थिएन । आज के मन लागेर हो कुन्नी धन्सारमा थन्किएको पुरानो दराज खोलेर हेरेँ । खापामा किताबहरूको ठेलीका बीच उही एलियन भगवानले दिनुभएको मृत्युको प्रमाणपत्र धुलोले पुरिएर बसेको रहेछ । त्यो देख्नासाथ ‘म त सय वर्षको आयु लिएर पो हिँडिरहेको छु त साँच्चै’ भनेर झसङ्ग भएँ । हातमा लिएर त्यहाँ लेखिएको मिति नियालेँ, अब मसँग २८ दिन मात्र समय बाँकी रहेछ ।

पुराना दिनहरू सम्झेँ । यो उमेरसम्म सन्तानले गर्व गर्न लायक अथवा सम्झनायोग्य केही काम गर्न भ्याएको रहेनछु । समयले पखेटा फिँजाएको पत्तै भएन । पछुतो लाग्दैछ । लागेर के गर्नु ?।

  • चितवन


1.026k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका