क्यान्सर र आयु

क्यान्सर र आयु


क्यान्सरको उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै बिरामीमा आत्मविश्वास र आत्मबल जागृत गराउन सके चिकित्सकले मृत्युको मिति घोषणा गरिसकेको मानिसले पनि लामो समय बाँच्न सक्छ ।
  • प्रा.डा. मुरली रन्जित

मानिसलाई लाग्ने घातक रोगहरूमध्ये क्यान्सर पनि एक हो । यो रोग लागिसकेपछि लामो समयसम्म बाँच्न सकिँदैन भन्ने सोच्दछन् मानिसहरू । यसको मूल जड भनेको हाम्रो समाजमा क्यान्सरबारे भएको नकारात्मक सोच हो ।

विगतमा सही उपचार नपाएर क्यान्सर बिरामीहरूको मृत्यु प्रायः छिटो हुने गर्दथ्यो, तर आज चिकित्सा विज्ञानले धेरै फड्को मारिसकेको छ र, सबै प्रकारका क्यान्सरको औषधी पत्ता लागिसकेको छ । धेरै क्यान्सर अस्पतालहरू बनिसकेका छन् भने फरक-फरक प्रकारका क्यान्सरका लागि फरक-फरक विशेषज्ञहरूसँग परामर्श लिँदै उपचार गराउन सकिन्छ । हाल क्यान्सरलाई उपचार हुन सक्ने रोगका रूपमा लिन थालिएको छ । क्यान्सरको उपचारमा संलग्न चिकित्सकहरूले बिरामीलाई पहिलो भेटमै भन्ने गर्छन्, ‘तपाईं नआत्तिनुहोस्, यसको राम्रो उपचार हुन्छ ।’ यस प्रकारको भनाइले क्यान्सरबिरामीलाई लामो समयसम्म बाँच्ने आशा जगाइदिने गर्दछ ।

क्यान्सर बिरामीको दीर्घायुका लागि अति नै महत्वपूर्ण कुरा भनेको उसको आत्मबल हो । मानिस क्यान्सर लागेपछि प्रायः निरूत्साहित हुने गरेको पाइन्छ । यस अवस्थामा उसका नातेदार तथा पारिवारिक सदस्यहरूले सम्झाइबुझाइ गरी आत्मबल बढाउन प्रोत्साहन गर्नुपर्दछ । आत्मबल बढाउने कुरा सबै क्यान्सर बिरामीहरूका लागि त्यति सजिलो हुँदैन । उसको जस्तै क्यान्सर भइ निको भइसकेका बिरामीबाट परामर्श दिन सकेको खण्डमा क्यान्सर बिरामीको आत्मबल बढ्न सक्छ । परामर्श दिनेले आफ्नो सुरूदेखिको अनुभव तथा हालको उपचारका तौरतरिका बताउँदै उपचारलाई प्रभावकारी बनाउन आत्मबलको महत्वबारे प्रस्ट पारिदिएको खण्डमा क्यान्सर बिरामीहरूमा आत्मविश्वास बढ्न सक्छ ।

पङ्क्तिकार स्वयम् क्यान्सरको बिरामी भएको नाताले हाल क्यान्सर बिरामीहरूको घरमै गइ निःशुल्क परामर्श दिने गरेको छु । क्यान्सर बिरामीलाई राम्रोसँग उपचार गर्नका लागि बिरामीको आत्मबल नै प्रमुख कुरा हो भन्ने ज्ञान आफ्नो उपचारको क्रममा हासिल गरेँ । यही कुरा क्यान्सरबिरामी र तिनका परिवारलाई बुझाउनका लागि परामर्श दिन थालेको हुँ । क्यान्सर भएपछि नेपालका धेरै अस्पतालहरूमा उपचार गर्न जाँदा एउटा क्यान्सर अस्पतालका चिकित्सकले मलाई भन्नुभएको थियो, ‘तपाईं त आफैं बुझ्ने मानिस, हेर्नोस् यो प्रोस्टेट मेटास्टासिस भएको मानिसको आयु प्रायः ६ महिना हुन्छ ।’ त्यो दिन म धेरै निराश भएको थिएँ । तर उपचारका क्रममा मैले आत्मबल बलियो बनाएँ र लामो आयु बाँच्छु भन्ने प्रण गरेँ । नभन्दै आज क्यान्सर भएको यतिका वर्ष (सात वर्ष) भइसकेको छ । सम्भव भए मलाई ६ महिना बाँच्छ भन्ने चिकित्सककोमा एउटा राम्रो उपहार लिएर धन्यवाद दिन जाने विचार गरेको छु । किनभने उहाँको निराशाजनक कुरालाई मैले सकारात्मक रूपमा लिइ आफ्नो आत्मबललाई जहिले पनि बलियो बनाइराखेँ । मलाई विश्वास छ, मेरो आत्मबलले मलाई दीर्घायु प्रदान गर्ने छ ।

क्यान्सर बिरामीले लामो समय बाँच्नका लागि आफ्नो दैनिकीलाई व्यवस्थित गर्नुपर्दछ । बिहान सबेरै उठ्ने, सफासुग्घर भएर खाली पेटमा जिरा र बेसार पानी पिउने र, हल्का नास्ता गरिसकेपछि प्रातः भ्रमणमा निस्किनु राम्रो हुन्छ । बिहान दैनिक कमसेकम ३०–४५ मिनेटसम्म मात्र हिँडे पुग्छ । हल्का व्यायाम, योग र केही समय ध्यान गरी दैनिकी सुरू गर्नुपर्दछ । जहिले पनि बिहान, दिउँसो र बेलुका समयमा खाना खाने गर्नुपर्दछ । खानाको परिमाण कम भए पनि पोषणयुक्त हुनुपर्दछ । औषधीको सेवन पनि समयमा नै गर्नुपर्दछ । सकेसम्म दिनहुँ ३-४ लिटरसम्म मनतातो पानी पिउने गर्नुपर्दछ । अझ पानीमा कागती राखेर खाँदा राम्रो गर्छ ।

सकेसम्म दुध हालेको चिया-कफी सेवन नगर्ने र यसको सट्टामा ग्रिन-टि तथा जडीबुटी चिया पिउने गर्नुपर्दछ । गुलियो पदार्थले क्यान्सर बढाउने भएकाले चिनी जस्ता गुलिया पदार्थको सेवन गर्नु हुँदैन । साकाहारी हुन सकेको खण्डमा शरीर फुर्तिलो र तन्दुरूस्त भइरहन्छ । नियमित रूपमा ओखर जस्ता ड्राइ फ्रुटहरू खानु राम्रो हुन्छ । राति सुत्ने बेलामा नियमित रूपमा एक गिलास तातो दुध पिउनाले पेट सफा भइ शरीरमा स्फूर्ति पैदा गर्दछ । मैले प्रायः परामर्श दिने क्रममा औषधी उपचारबाहेक यस्तै व्यावहारिक कुरा बताउने गरेको छु । यो कुरा म आफैले पाँच–सात वर्षदेखि नियमित रूपमा गर्दै आएको छु र यसले मलाई फाइदा पनि गरेको छ । त्यसैले म त भन्छु मानिसको दीर्घायुका लागि उसले गर्ने दैनिक क्रियाकलाप पनि महत्वपूर्ण हुन्छन् ।

मैले आफ्नो उपचारका क्रममा र परामर्श दिने क्रममा थुप्रै क्यान्सर बिरामीहरूलाई भेटिसकेको छु । तीमध्ये २५ जनालाई उहाँहरूको घरमा नै परामर्श दिइसकेको छु । यस क्रममा मैले एउटै परिवारका पाँचजना दाजुभाइलाई नै प्रोस्टेट क्यान्सर भएको पनि पाएँ । उहाँहरू सबैलाई सँगै राखी परामर्श पनि दिएको छु । उहाँहरूले कहिलेकाहीँ फोन गरेर ‘तपाईंले त हाम्रो आत्मबल र आयु बढाइदिनुभयो’ भन्नुहुन्छ । आजसम्म उहाँहरू सबै आरामका साथ आफ्नो नियमित काम गरिरहनुभएको छ ।

एउटा नमिठो अनुभव पनि छ । मैले उपचारका क्रममा इन्जिनियर पेसाका एक क्यान्सरबिरामीलाई भेटेको थिएँ । भर्खर क्यान्सर भएकाले उहाँ धेरै आत्तिनुभएको थियो । उहाँको आत्मबल पनि निकै घटेको थियो । अस्पतालमा भेट्ने क्रममा मैले उहाँलाई धेरै सम्झाउने बुझाउने प्रयास गरेँ । पछि आत्तिएर वैद्यको उपचार गर्दै गर्दा क्यान्सर भएको नौ महिनापछि नै उहाँको निधन भयो । उहाँको आयु कम हुनुको कारण आत्मबलको कमी र सही समयमा सही उपचार नपाउनु नै हो जस्तो मलाई लागेको छ ।

क्यान्सर लागिसकेपछि रोगको स्थिति र शरीरको कुन भागमा क्यान्सर लागेको हो भन्ने कुराले पनि बिरामीको आयु निर्धारण गर्दछ । यदि कसैलाई सामान्य अवस्थाको क्यान्सर लागेको छ अथवा क्यान्सरको सुरूवाती मात्र भएको छ भने हताश नभइकन उपचार थाल्नुपर्दछ । समयमै सही अस्पताल, सही चिकित्सक र सही उपचार गर्न सकेको खण्डमा क्यान्सर पनि अरु रोगहरू जस्तै निको हुन्छ र उपचारपछि लामो समय बाँच्न सकिन्छ । यसको विपरीत हेलचक्र्याइँ गरी समयमा नै सही तरिकाले उपचार नगरेको खण्डमा लामो समय बाँच्न नसक्ने अवस्था हुन सक्छ । क्यान्सर बिरामीको आयु लम्ब्याउने मुख्य कुराहरू तन, मन, धन र व्यवस्थापन नै हुन् । बिरामीले आफ्नो शरीरलाई स्वस्थ राख्ने प्रयास गर्नुपर्दछ । आफ्नो मनलाई एकाग्र गरी सकारात्मक सोचको विकास गर्नुपर्दछ । उपचारका लागि आवश्यक धन समयमा नै व्यवस्था गर्नुपर्दछ भने बिरामी कुरूवा र पारिवारिक व्यवस्थापन मिलाउनुपर्दछ ।

उपचार व्यवस्थापनलाई यथासम्भव प्रभावकारी बनाउने हो भने बिरामी र तिनका परिवारमा तनाव हुन पाउँदैन । यसो गरेको खण्डमा चिकित्सकले मृत्युको मिति घोषणा गरिसकेको मानिसले पनि लामो समय बाँच्न सक्छ । यसका लागि बिरामीको आत्मबल र आत्मविश्वासले ठुलो काम गरेको हुन्छ ।

(क्यान्सरसँगको लडाइँ)