२७ श्रावण २०७९, शुक्रबार

नेपाल-भोट युद्ध र तक्माको रोचक कथा

  प्रकाशित मिति
७ श्रावण २०७९, शनिबार ०७:४८


इतिहास
  • सुनिल उलक

प्रस्तुत लेखमा समावेस गरिएको तक्माको तस्बिरमा झट्ट हेर्दा यी तक्मा कुनै मुस्लिम शासकका हुन् जस्तो लाग्दछ । यसमा उर्दु भाषा मात्र प्रयोग भएको छ, अन्य कुनै पनि भाषामा केही पनि लेखिएको छैन । तर, एकतर्फ भने राजा सुरेन्द्रको तस्बिर राखिएको छ, जसले गर्दा नेपालसँग यस तक्माको सम्बन्ध छ भन्ने सहजै अनुमान गर्न सक्छौँ । एक हिन्दुराष्ट्र (तत्कालिक) को हिन्दु राजाले केवल उर्दुमा लेखिएको तक्मा किन र कसलाई प्रदान ग¥यो होला भन्ने सन्दर्भमा रोचक कथा छ ।

यस तक्मामा उर्दु भाषामा के लेखिएको छ भन्नेमा जाउँ । यसमा लेखिएको उर्दुको नेपाली अनुवाद यस प्रकारको छ- ‘(समर्पित) श्री महाराजाधिराजा सुरेन्द्रविक्रम शाह बहादुर र श्री जंगबहादुर राणा महाराजाको आदेशमा १५ वर्षदेखि तिब्बती कैदमा रहेका जम्मुका खालसा सिपाहीहरूलाई संवत् १९१२ (सन् १८५५-५६) को भोटसँगको युद्धमा मुक्त गराए ।’

यसले के देखाउँछ भने आफ्नो शासनकालमा जंगबहादुरले केवल नेपाल र नेपालीहरूको लागि मात्र होइन कैदमा रहेका जम्मुका सेनाहरूको लागि पनि महत्वपूर्ण कार्य गरेका थिए । करिव १५ वर्षदेखि तिब्बती सेनाको अधीनमा कैदमा रहेका ५६ खालसा सैनिकहरूको रिहाइ गराएका थिए । ती ५६ सैनिकहरू प्रत्येकलाई आफ्नो पूनर्जीवनको याद दिलाउन यो तक्मा दिइएको थियो । ती ५६ सैनिक को थिए वा कहाँ छन् भन्ने खोजी गरिएको छैन, तर ती सैनिकहरूले प्राप्त गरेका केही तक्मा भने भेटिएका छन् ।

वर्तमान भारतको हिमाञ्चल प्रदेशमा कुनै बेला डोगरा राज्य थियो । विशाल जम्मु काश्मिर राज्यका राजा गुलावसिंह थिए । आफ्नो राज्यबिस्तारको सपनासँगै गुलावसिंहले लद्दाखमा गवर्नर रहेका सैनिक जनरल जोरावर सिंहको नेतृत्वमा सन् १८४१ मा भोटमाथि आक्रमणको लागि पठाएका थिए । तर भोटसँगको युद्ध सहज थिएन । जोरावर सिंह युद्धमा मारिए । युद्धमा पुगेका सैनिकहरू पनि कति मारिए कति युद्धबन्दीका रूपमा ल्हासा लगिए । यी युद्धबन्दीमध्ये ३४ जनाले दक्षिण तिब्बतमा नै बस्न चाहे भने १०६ युद्धबन्दीहरू भने जङ्गबहादुरको समयको नेपाल-भोट युद्ध समाप्तिपछि भोट सरकारले नेपाल सरकारलाई हस्तान्तर गरेको थियो । ती नेपाल पुगेका १०६ युद्धबन्दीमा केवल ५६ जनाले मात्र जम्मु फर्कने इच्छा ब्यक्त गरेपछि राजा सुरेन्द्र तथा श्री ३ जङ्गबहादुरले प्रस्तुत तक्मा पहिराएर बिदाइ गरेका थिए ।

नेपाल-भोट युद्ध

वि.सं. १९०९ साउनको अन्ततिर जङ्बहादुरले लेफ्टिनेन्ट भीमसेन कुँवरको नेतृत्वमा एक प्रतिनिधिमण्डल चीन पठाएका थिए । नयाँ सम्राट होङ झियाउक्विनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना तथा चीन नेपाल सम्बन्ध दरिलो बनाउने उद्देश्यसहित पेकिङ गएको सो टोलीको बारेमा कुनै पनि जानकारी जङ्गले करिव २ वर्षसम्म पाएनन् । सामान्य रूपले ८ महिनामा फर्कनुपर्ने टोली नफर्कंदा चिन्तित रहेकै समयमा अचानक टोलीका प्रमुख भीमसेन कुँवर मात्र फर्किए । बाटोमा तिब्बतीहरूले सामान लुट्नुको साथै अन्य सदस्यको हत्या गरिदिएको जानकारी पनि उनले दिए । उनको हातमा चीनका सम्राटको सन्देश भएको हुँदा उनलाई जीवित फर्कन दिइएको भन्ने जानकारीको साथ उनले भोटमा रहेका नेपालीलाई पनि यसरी नै लुटपाट तथा हत्या गर्ने गरेको जानकारी गराए ।

यसरी आफ्नो प्रतिनिधि मण्डलको हत्या र लुटपाटको साथै भोटमा रहेका नेपालीमाथि पनि अत्याचार भएको सुनेका जङ्गले तत्कालै भोटमाथि आक्रमण गर्ने तैयारी गरे । जङ्गले युद्धकै लागि भनेर १४ हजार पैदल सेना, १२ सय घोडचढी सेना नयाँ भर्ना गरेका थिए । साथै, ८० वटा बाह्र पाउण्डर तोप, २४ वटा ६ पाउण्डर तोप, साथै मोर्टार र हाउइट्जर गन पनि काठमाडौंमा नै ढाल्न (बनाउन) लगाएका थिए । गोला बारुदलगायत युद्धको लागि आवश्यक जंगी सामाग्रीहरू निर्माण गर्न कालीगढहरू तैयार बनाएर राखे । भोटमा अत्यधिक जाडो हुने हुँदा जाडोको लागि भनेर बक्खु, दोचा र भोटेटोपीहरू पनि हजारौँ बनाउन लगाए । यसको साथै सेना तथा अन्य सहयोगीहरूको लागि आवश्यक राशनपानीको ब्यवस्था तराइका जमिन्दारहरूलाई गर्न लगाए ।

वि.सं. १९११ फागुन १४ गते जङ्गबहादुरका छोरा जीतजङ्गको राजा सुरेन्द्रको छोरी नरेन्द्रलक्ष्मीसँग भएको विवाह समारोहमा भाग लिन भोटको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको थियो । यही अवसरमा भोटका प्रतिनिधिमण्डललाई देखाउने गरि जङ्गबहादुरले सैनिक परेड गराए । जसमा भोटेलुगा लगाएका २८ हजार पैदल सैनिक, १६०० घोडचढी सैनिक, ६० वटा १२ पाउण्डर तोप, ३५ वटा ६ पाउण्डर तोप, सयौँ मोर्टार गन तथा हाउइट्जर गनको प्रदर्शन गराएका थिए । भोटका प्रतिनिधिसामु जङ्गले युद्ध तैयारीमा लागेको खर्च तथा भोटमा भएको लुटपाटको समेत गरेर एक करोड नेपाली रूपैयाँ क्षतिपूर्ति दिएमा युद्ध रोकी सन्धि गर्न तैयार रहेको जानकारी गराए । अन्यथा युद्ध शुरु हुने र तैयारीमा रहन समेत सचेत गराए । तर ती प्रतिनिधिमण्डलले भोटमा लुटिएको मुल्याङ्कन बराबर केवल ५ लाख मात्र दिन सकिने जानकारी गराएपछि जङ्गले युद्धको घोषणा गरे ।

वि.सं. १९११ फागुन २४ गते थापाथलीमा सैनिक कमाण्डरहरूलाई भेला गरि जङ्गबहादुरले सम्बोधन गरे । उनले सैनिकहरू सामु जोशका साथ भने, ‘बहादुर सैनिक जवानहरू हो ! भोटेले हामीलाई हेला ग¥यो । हाम्रो तागतलाई कम ठह¥यायो । हाम्रो देशवासीहरूको धनसम्पति लुटेर केहीको हत्या समेत ग¥यो । हाम्रो यो बेइज्जती सही बसेमा तिनीहरूले अरु अत्याचार गर्ने साहस गर्नेछन् । तसर्थ हाम्रा देशवासीहरूमा पनि कति शक्ति छ भन्ने कुरा तिनले बुझून् भन्न खातिर र हाम्रो देशको इज्जत नगरी हेला गरेको हुँदा तिनलाई बदला लिनका खातिर म तिमीहरूलाई युद्धमा खटाउँदैछु ।’ यसो भन्दै बडो जोशका साथ युद्धका लागि बिदा गरे ।

झण्डै एक वर्ष लामो लडाइँमा भोटतर्फको ठूलो क्षतिको साथै हार भएपछि वि.सं. १९१२ को पुसमा सन्धिको प्रस्ताव लिएर भोटको प्रतिनिधिमण्डल काठमाडौं आइपुग्यो । एक वर्ष लामो नेपाल–भोट युद्धमा नेपाली सेनातर्फ अफिसर र जवान गरि करिव ३५०० को मृत्यु भयो । भोटतर्फ करिव ७ हजार सैनिकको मृत्यु भयो । भोटतर्फबाट सन्धिको प्रस्ताव आएको र नेपाल सरकारको ढुकुटी पनि युद्धका कारण रित्तिन थालेको हुँदा जङ्गबहादुर पनि उपयुक्त प्रस्तावमा सन्धि गर्न तैयार हुने मनसायमा बसेका थिए ।

अन्ततः लामो छलफल पछि वि.सं. १९१२ चैत्र १३ गतेका दिन दुई देशबीच सन्धि पछि अन्त्य भयो । सन्धिअनुसार भोटले सालाना दश हजार रूपैयाँ उपलब्ध गराउने, भोटमा ब्यापार गरि बसेका कुनै पनि नेपाली ब्यापारीसँग कुनै पनि कर नलिने, एकअर्को देशबीच युद्ध नगर्ने तथा कुनै तेश्रो देशले कसैलाई पनि आक्रमण गर्न आएमा एकअर्कोलाई सहयोग गर्ने, भोटमा कैद रहेका सिख सिपाही, तथा नेपाली सिपाहीका साथै तिनका परिवार र भोटको अधीनमा रहेको नेपाली तोप तथा अन्य गोलीगट्ठाहरू पनि फिर्ता गर्ने । साथै नेपाली सेनाले पक्रिराखेका भोटका सैनिकहरूलाई पनि फिर्ता पठाउने । ल्हासामा नेपाल सरकारका तर्फबाट प्रतिनिधिका रूपमा भारदार राख्ने । ल्हासामा नेपालीहरूले खुशीले चाहेको ब्यापार गर्न छुट दिने । भोटमा रहेका नेपालीहरूमा लुटपाट भएमा भोटकाहरूबाट रकम भराउने । भोटे ब्यापारीमाथि नेपालीले लुटपाट गरेमा नेपालीहरूबाट नै रकम भराइ लिने ।

यस सन्धिलाई थापाथली सन्धिका नामले चिनिन्छ । यस सन्धिपछि भोट सरकारले नेपाललाई क्षतिपूर्तिस्वरूप २ लाख ३३ हजार नेपाली रूपैयाँ उपलब्ध गराएको थियो । साथै यो सन्धिअनुरूपको सालाना १० हजार रूपैयाँ नेपाल सरकारले सय वर्ष (वि.सं. २०१२)सम्म पनि पाइरहेकै थियो ।

यस सन्धिमा नेपालका तर्फबाट श्री ३ जङ्गबहादुरले हस्ताक्षर गरेका थिए भने भोटका तर्फबाट तत्कालिन पोटाला दरबारका ११औँ दलाइ लामाको निधन भएको तर नयाँ दलाइ लामाको नियुक्ति नभइसकेको हुँदा पोटाला दरबारको लामाको प्रतिनिधिका रूपमा छेन मेर डा वाङले हस्ताक्षर गरेका थिए ।

यसरी जङ्गबहादुरले भोटमा नेपालीमाथि भएको अन्याय र अत्याचारको बदला लिएका थिए । पछि वि.सं. १९४० मा रणोद्वीपको समयमा पनि भोटको अन्यायविरुद्ध लडाइँको तैयारी भएको थियो ।

तस्बिरमा देखाइएको तक्मा भोटमा रहेका ५६ जना डोगरा युद्धबन्दीमा बाँडिएको भए तापनि त्यसमध्ये दुई वटा मात्र भेटिएको छ । चाँदीको यो तक्मा ४२ मिमी गोलाइको तथा झण्डै २५ ग्राम तौलको रहेको छ । केही वर्षअगाडि यो तक्मा ९००० पाउण्डमा बिक्रीमा राखिएको थियो ।


22.932k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका