२७ श्रावण २०७९, शुक्रबार

विधि-व्यवहार सुधारौँ, पर्यटक बोलाऔँ !

  प्रकाशित मिति
३२ असार २०७९, शनिबार ०२:२०


ऊ नेपालको ऐतिहासिक कला संस्कृतिको अवलोकन गरिरहेको हुन्छ तर हामी उसलाई भिखारीको नवसंस्कृति चिनाइदिन्छौँ । यस्तो समयमा उसले नेपाललाई कसरी चिन्छ र आफ्नो देशमा गएर नेपालको वर्णन कसरी गर्छ ? – सोझै अनुमान गर्न सक्छौँ ।

(२० वर्षअघिको घटना र विचार)

  • कृष्णप्रसाद न्यौपाने

भौतिक विज्ञानको विकासले सिर्जना गरेको सघन कृत्रिमताबाट मानसिक त्राण पाउने एक मात्र उपाय प्राकृतिक सौन्दर्यतामा रमाउनु हो । यो प्राकृतिक सौन्दर्यताको गन्तव्यमध्ये विश्वका लागि नेपाल पनि एक हो । सम्पूर्ण भू-क्षेत्रफलको ६८ प्रतिशत भूभाग हिमाली क्षेत्रमा पर्नु र त्यहाँ मानवबस्ती अत्यन्त न्यून हुनु, त्यस क्षेत्रमा प्राकृतिक जीवजन्तु तथा अनौठा वनस्पतिको प्रचुरताले त्यस क्षेत्रमा पर्यटकहरू आकर्षित हुनु स्वाभाविक हो । अकोतर्फ संसारका उच्च हिमटाकुरामध्ये आधाभन्दा बढी नेपालमा हुन् र त्यसमा पनि सबैभन्दा अग्लो टाकुरा नेपालमै रहनुले संसारका पर्यटकहरूले नेपाललाई पर्यटनको गन्तव्य स्थल बनाउनु कुनै आश्चर्यको कुरा होइन ।

प्राकृतिक सौन्दर्यता मात्र नभएर यहाँका ऐतिहासिक धरोहरहरू पनि पर्यटन आकर्षणको केन्द्रबिन्दु बनेका छन् । नेपालीहरूमा रहेको धार्मिक विश्वास र त्यो धार्मिक विश्वासलाई मूर्तरूप दिन बनाइएको अलौकिक कलाशिल्पजडित धार्मिक तथा ऐतिहासिक स्थलहरूले पर्यटकहरूको ध्यान एकीकृत गर्न सफल भएका छन् । ऐतिहासिक तथा धार्मिक मठ, मन्दिर, देवल, पाटी, पौवा, धारा, टुँडाल आदिमा कुँदिएका देवीदेवताका मूर्ति, बुट्टा र धार्मिक मान्यता झल्कने चित्रहरूले नेपाली कलाको अद्भुत नमुना पेश गरेका छन् । ऐतिहासिक शहरहरूमा अझै पनि पुराना परम्परा र मान्यताहरू जीवन्त रहनु, रहनसहन र संस्कृति झन् तिख्खर बन्दै जानु पर्यटकहरूको निमित्त चित्ताकर्षक विषयवस्तु हुन् ।

नेपालमा रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सौन्दर्यताका कारण नै यो देश पर्यटकहरूको गन्तव्यस्थल बन्न सक्छ भन्ने विश्वासमा हामीले पर्यटन उद्योगको विकासमा जोड दिएका छौँ । संसारमा नास हुँदै गइरहेका वनस्पति तथा जीवको संरक्षण गर्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, विभिन्न संरक्षण क्षेत्र, सिमसार क्षेत्र तथा वनस्पति संरक्षण क्षेत्रको विकास गरी त्यसतर्फ समेत पर्यटकहरूलाई आकर्षण गर्न थालेका छौँ । पर्यटकहरूको सुविधाको निमित्त नेपालमा रहेका विभिन्न सम्पदाहरूलाई खुला गर्न थालेका छौँ । त्यसै अनुपातमा यहाँ विभिन्न प्रकारका होटल, अतिथिगृह, रिसोर्ट, ऱ्याफ्टिङ आदि व्यवसायको समेत विकास गरेका छौँ । पर्यटकहरूको आगमन वृद्धिलाई ध्यानमा राखी सरकारी तथा निजी क्षेत्रबाट विभिन्न सुविधाका कार्यक्रम पनि अघिसार्न थालेका छौँ । यी सबै कुराले गर्दा नेपालमा पर्यटकहरूको आगमन वृद्धि हुने कुरामा कुनै शङ्का रहँदैन । त्यसैले नेपालले पर्यटन उद्योगलाई प्रमुख उद्योगको रूपमा विकास गरी राष्ट्रिय उत्पादनमा यसको महत्वलाई बढावा दिन गइरहेको छ ।

नेपालमा पर्यटकहरू आउन हिचकिचाउने कारणहरूमध्ये यहाँ दैनिक रूपमा बढ्दै गइरहेको प्रदूषण पनि एक हो । प्रदूषण हुने कुरा निरपेक्ष होइन, यो त जनसंख्या वृद्धिका साथै प्रदूषण रोक्नेतर्फको बेवास्ताको प्रतिफल हो । प्रदूषण शहरमा मात्रै हुने कुरा होइन, प्रदूषण मानवबस्तीमा मात्र हुन्छ भन्ने सम्झनु मुर्खता हो । पवित्र टाकुरा सगरमाथाको चुचुरामा पनि प्रदूषण भएको कुरा हामीले थाहा पाइसकेका छौँ । हामीले बागमती, विष्णुमती र टुकुचाको प्रदूषणका सम्बन्धमा कानका जाली फुट्ने गरी ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरेका छौँ । प्रदूषण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने पोलिथिन झोला र प्लाष्टिक प्याकिङ सामाग्रीलाई रोक्न सकेका छैनौँ । आजभन्दा १५ वर्षअघिको स्वच्छ गाउँबस्ती आज पोलिथिनका झोला र प्लाष्टिकको प्याकिङ सामग्रीले बागमती र विष्णुमतीजत्तिकै घीनलाग्दो भएको छ । त्यसैले हामीले हाम्रा पर्यटन गन्तव्यहरूलाई फोहरबाट बचाउन प्लाष्टिक उत्पादन र प्रयोगमा समयमै रोक लगाउन सक्नुपर्छ ।

पर्यटन उद्योगमा नकारात्मक असर पु¥याउने अर्को महत्वपूर्ण र उल्लेख्य विषय पर्यटकहरूबाट जबर्जस्ती रूपमा झार्ने नगद तरिका हो । पर्यटकहरूलाई कसरी हाम्रा बिक्रीका वस्तुमा आकर्षित गर्न सकिन्छ भन्ने मनोवैज्ञानिक व्यापारिक पद्धतिलाई हामीले अवलम्बन गर्न सकेका छैनौँ । हामी उनीहरूलाई हाम्रा वस्तु जबर्जस्ती बिक्री गर्न खोज्छौँ । वसन्तपुर क्षेत्रको कला अवलोकनको तीव्र इच्छामा त्यस क्षेत्रमा प्रवेश गरेको पर्यटकलाई हामी प्रवेशस्थलदेखि नै झोलामा सामान बोकेर जबर्जस्ती किनाउन खोज्छौँ । ऊ जहाँ-जहाँ जान्छ हामी त्यतै-त्यतै पछ्याउँछौँ । ऊ कुनै वस्तु अवलोकन गर्न बस्छ त्यतिबेलै उसको बसाइको हामी फाइदा उठाउन खोज्छौँ । उसको ध्यान अन्तै छ, ऊ नेपालको ऐतिहासिक कला संस्कृतिको अवलोकन गरिरहेको हुन्छ तर हामी उसलाई भिखारीको नवसंस्कृति चिनाइदिन्छौँ । यस्तो समयमा उसले नेपाललाई कसरी चिन्छ र आफ्नो देशमा गएर नेपालको वर्णन कसरी गर्छ ? – सोझै अनुमान गर्न सक्छौँ ।

हामीले साँच्चै नै नेपाललाई पर्यटकहरूको गन्तव्यस्थल बनाउने हो भने हाम्रो व्यवहारलाई सुधार्नुपर्छ । पहिला आफ्नो माल राम्रो बनाऔँ अनि रामै दामको आशा गरौँ । हाम्रा प्रत्येक गल्ली, चोक, बाटो, ऐतिहासिक सम्पदास्थल, खोला, झरना, पहाड, हिमाललाई प्रदूषण हुनबाट जोगाऔँ । फोहर गर्नेलाई दण्ड गर्ने र फोहर नगर्ने भन्ने भावनाका व्यक्तिलाई फोहर फाल्ने सुविधा उपलब्ध गराऔँ । पर्यटन क्षेत्रमा १०-१५ वर्षमा ठूलो उन्नति गरिसकेको सिंगापुरबाट हामी पाठ सिक्न सक्छौँ ।

अतः यो सुन्दर हिमाली देशलाई, गौतम बुद्धको यो शान्तिभूमिलाई पर्यटकहरूको आकर्षण स्थल बनाउने हो भने हामीले हाम्रा सम्पदाहरूलाई स्वच्छ सफा राख्न नौलो अभियान सञ्चालन गर्नैपर्छ । फोहर गर्नेलाई दण्ड र फोहर नगरौँ भन्नेलाई प्रोत्साहन दिनुपर्छ । साथै हाम्रो व्यवहारलाई सुधार्नुपर्छ । पर्यटकहरूबाट जबर्जस्ती भिक्षा मागेर होइन उनीहरूको मन जितेर उचित शुल्क लिनुपर्छ । हाम्रा कलाशिल्पका वस्तुहरूमा गुणस्तर कायम गर्न सक्नुपर्छ । त्यसपछि उनीहरूको आत्माले सबै चीज माग्छ । त्यस्तो व्यापार नै दिगो र टिकाउ हन्छ । हाम्रो आर्थिक उन्नति हुने कुरामा शङ्का रहँदैन ।

(घटना र विचार साप्ताहिक, २०५८ साल माघ २४ गते बुधबार)


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ

खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको

प्रधनमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा