२७ श्रावण २०७९, शुक्रबार

‘खुल्लापत्र लेखेँ, रिसानी माफ होस् देउवादाइ !’

  प्रकाशित मिति
२९ असार २०७९, बुधबार ११:१२


प्रिय शेरबहादुर दाइ,

तपाईंलाई अप्रिय लाग्ने भाषा शैलीमा फड्कार्नुपर्ने बाध्यता आइपर्दा अलिक नमज्जा त लागेकै छ । जे होस्, कुनैबेला स्व. सुशील कोइरालाले बन्द काठामा केही कार्यकर्ताबीच ‘देउवाको हातमा काङ्ग्रेस गयो भने काङ्ग्रेस त रहँदैन नै, देशै पनि नरहन सक्छ’ भन्ने अभिव्यक्ति दिँदा पङ्क्तिकारलाई अन्तरआत्मादेखि कड्किएर बोल्न मन लाग्यो र भनि पनि हालेँ- ‘कतै कोइरालाको हातबाट पार्टी-सत्ता गुम्ला भन्ने भयका कारण यसो भनिएको त होइन ?’ जवाफमा सुशीलदाले भन्नुभएको थियो- ‘हेर्दै जानुहोला के-के हुनेछ !’ उनको उक्त आशङ्का आज बिल्कुल सत्य सावित हुँदैछ भनियो भने अत्युक्ति नहोला !

हुन त तपाईं पनि विनासंघर्ष यो स्थानमा आउनुभएको होइन भन्ने कुरा पङ्क्तिकारका दाजु तपाईंका सहयात्रीले पारिवारिक रूपमा पहिल्यै बताइसक्नुभएकै थियो । म त्यो कुरा अहिलेसम्म झल्झल्ती सम्झन्छु । तपाईं पञ्चायतकालमा दलमा रहने कि नरहने भनेर अस्थिर भइरहँदा तात्कालिन पार्टी अध्यक्ष स्व. किसुनजीको सिफारिसमा बेलायत पढ्न गएको पनि सबैले सुनेकै होलान् । पञ्चायतमा अञ्चलाधीश माग्दा राजाले नदिएर अफिसर जागिरसम्म लगाइदिने भनेपछि भड्किनुभएको कथन पनि सबैले सुनेकै होलान् । ठिटौली उमेरमा आन्दोलनदेखि दिग्दार भएर बरु एउटा घरानियाँ राणाकी छोरीसँग विवाह गरेर आलिसान जिन्दगी जिउन पाएको भए पनि हुन्थ्यो नि यार ! भनेर आफ्नो मनभरिको तितो र थकान फाल्ने तपाईंका कुनबेलाका जिग्री दोस्तहरू पनि हाम्रै पारिवारिक सदस्यहरू नै थिए भने भने तपाईंले सानो मान्छे ठुलोमुख भनेर भन्नुहोला । हुन त एउटा सुदुरको भू-खण्डबाट भारत हुँदै नेपाल खाल्डो आइ झोलामा कालो बर्काे हालेर बस्ने र खाने ठाउँको समेत टुङ्गो नहुँदा काठमाडौं खाल्डोमा तात्कालिक अवस्थामा भात खुवाउने चार वटा मात्र होटल थिए रे ! ती होटलमा विद्यार्थीहरूलाई उधारोमा भात खुवाउने चलन त थियो रे, तर समयमा रकम तिर्न नसक्दा होटेलले उधारो खानेको तीनपुस्ते नाम ढोकामै टाँसेर राख्यो र कोलकाताबाट सुवर्णबाबू (सुवर्ण सम्शेर राणा) काठमाडौं आउँदा उनैकहाँ गएर बिन्ती बिसाएपछि रकम तिरिदिने गरेको कहानी पनि हामीले सुनेकै हो । शनिबारको दिन विष्णुमती किनारमा गएर नुहाइधुवाइ गरि लगाएको लुगा धोएर त्यहीँ बगरमा सुकाएर फेरि सोही कपडा लगाएर फर्कने गरेको सङ्घर्षको इतिहासले पनि आज तपाईंलाई पछ्याइरहेको थियो भने हामीले यो दुर्दशा देख्नुपर्ने थिएन होला ।

सभापति देउवाज्यू, तपाईंको घरानियाँ विवाह गर्ने र आलिशान जिन्दगी जिउने सौख त पूरा भयो तर कस्तो अवस्थामा भने तपाईंलाई त्यो आवश्यकै नपर्ने तर ती घरानियाँलाई भने अझै उच्च घरानियाँसम्म पुग्ने खुड्किलो तपाईं हुन सक्ने स्थानमा तपाईंलाई जनताले, दलले र तात्कालिन ब्यावस्थाले पुर्‍याइसकेको थियो । अब त तपाईंले देश र जनताको सेवा गरेर राजनेताको उपाधि हासिल गर्ने अवस्थामा सुनको पिँजडाभित्र पालिएको तोता बन्न राजी हुँदा आज देश, जनता र दलले समेत यो दुर्दशा भोग्दैछ । के तपाईं श्री ५ बनेर खोपीमा बस्ने र शासनसत्ता चलाउन श्री ३ लाई पञ्जापत्र गरेर देश जिम्मा दिने सर्तमा त्यस्तो सम्झौता गर्न बाध्य हुनुभएकै हो र ? यदि त्यस्तो होइन भने एऊटा संघर्षबाट उत्पन्न भएको नेताले त्यस्तो दुर्भाग्य किन स्विकार्दै हुनुहुन्छ ? एउटी प्रधानमन्त्री–पत्नीलाई देशको प्रथम महिला भएरै बसेको बढी सुहाउँथ्यो होला नि ? बेफ्वाँकको बक्तव्यबाजी गरेर आफ्नै ढुकुटीको धनबाट बजेट बनाएर देश चलाउँदैछु जस्तो गरि भाषणबाजी गर्दै हिँड्न कसले छुट दिएको थियो होला प्रधानमन्त्रीज्यु ?

आज मुलुकका जनताले सिटामोल खानसम्म नपाउने श्री ३ महाराज वीर शम्सेरले बनाइदिएको जनताको वीर अस्पताल मृतअवस्थामा पसारिरहेको छ । चन्द्र शम्सेर महाराजले बनाइदिएको त्रिचन्द्र कलेज खण्डहर भएको छ जहाँ जनताका सन्तानहरूले सस्तो सर्वसुलभ शिक्षा र स्वास्थ सुविधा पाउँथे । पञ्चायतले बनाएको छब्बीस वटा संस्थान समृद्ध भनिएको लोकतान्त्रिक ब्यावस्थामा शासकहरूले नै खाइसक्नुभयो । हिजो राजा-महाराजाको खाता खजाञ्ची स्वीसबैंकले चलाएको छ भनेर तपाईंहरूको भाषणले जनता आशावान थिए आज सोही बैंकमा नेतालगायत कैयन ब्यापारीहरूको समेत नाम किटान गरेर मिडियामा सबैले पढिरहेका छन् । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगारी जनताका जन्मसिद्ध अधिकार हुन् । यस्ता नैसर्गिक अधिकारहरू संविधानमा त लेखाउनुभयो तर जनतामा लागू गरेर कहाँ-कहाँ देखाउनुभयो ? पदमा बसेर पदको दुरुपयोग गरी कमाउने, जीवनस्तर उकास्ने पनि तपाईं नेताहरू अनि आजीवन राज्यको सुविधा लिने पनि तपाईंहरू, देशको धन विदेशमा लगेर थुपार्ने पनि तपाईंहरू, निरंकुश भनिने राजा-महाराजाले जनतालाई बनाइ दिएको शिक्षणसंस्था, स्वास्थसंस्था र उद्योगधन्दा समेत बेचेर देशलाई बर्बाद पार्ने पनि तपाईंहरू, अनि जनताचाहिँ करदाता र मतदाता मात्रै भइरहनुपर्ने ?

सभापतिज्यू, आज तपाईंहरूको त्यो आलिशान महल र सम्पति कुन-कुन श्रोतबाट आयो देखाउनुपर्दैन ? देशको संवैधानिक अंगदेखि पियनसम्म भर्ती गर्न र सरुवा–बढुवा गर्नेसम्मको ठेकेदारी चलाउने तपाईंको पञ्जापत्रधारी ‘महारानी’कै आदेशमा जनताले चल्नुपर्ने अवस्थालाई जनताले लोकतन्त्र भनेर स्विकार गर्नुपर्ने हो ? तपाईं र तपाईंका परिवारको सदस्यको व्यापार व्यावसायलाई वृद्धि तथा विकास गर्न यो देशको ढुकुटी रित्याउनुपर्ने नीतिगत भ्रष्टाचार गर्ने छुट तपाईंलाई छ ? के त्यस्ता गम्भीर प्रकृतिको अपराधको लाञ्छना लागिसकेपछि तपाईंले चाहिँ पदबाट राजीनामा दिनु पर्दैन ? के अनुशासन र नैतिकता अरुका लागि मात्रै हो ?

देउवाज्यू, केपी ओलीको शासनकालमा नैतिकताको कोकोहोलो गर्ने तपाईंहरू चाहिँ अनैतिक र अनुशासनहीन नै हो त ? देशको सार्वभौमिकता र अस्मिता नै संकटमा पर्दासमेत तपाईंको चेत खुल्दैन भने अब कहिले खुल्ला ? तपाईं र तपाईंका पारिवारिक सदस्यहरूको नाम देशका विभिन्न व्यापारी उद्योगपतिसँग साझेदारी रहेको खबरले देश समृद्ध भएको रहेछ भनेर ठानिदिनुपर्ने हो ? देशको लब्धप्रतिष्ठित पद र प्रतिष्ठाको भागबण्डा गर्दै कोही आफन्तलाई वितरण गर्ने र बाँकी भएको बिक्रीवितरण गर्ने गरेको समाचार हरेक दिन जस्तो पत्रपत्रिका र तपाईं नेताहरूकै मुखारविन्दबाट जनताले सुनिरहेका छन् ।

त्यति मात्र होइन विभिन्न एजेन्टहरूले समय-समयमा यो पदको मूल्य यति त्यो पदको मूल्य त्यति भनेर बजारमा बढाबढको सौदाबाजी गर्दै हिँडेको हेर्ने र सुन्ने मन भए छद्मभेषमा कहिँ-कतै डुल्नुभयो भने आफैं चाल पाउनुहुनेछ । के तपाईंलाई यस्तै कुशासनका लागि त्यो पदमा पठाएका हुन् ? तपाईंलाई काँधमा चढाएर त्यो ठाउँसम्म पुर्‍याउने कार्यकर्तालाई नृशंस हत्या गर्दै हिँड्ने र काङ्ग्रेसलाई वर्गशत्रु मान्नेलाई नै हिन्दुहरूले शालिग्राम पुजेजस्तो पुज्दै हुनुहुन्छ, किन हो ? कि तपाईंको पद सुरक्षित हुनुमै कार्यकर्ताहरूले गर्व गर्नुपर्ने हो !? स्वदेशी लगानीकर्तालाई निरास बनाएर विदेशबाट सामान झिकाउने तपाईंको पुत्रको कम्पनी मुनाफामा पुर्‍याउनुपर्ने जिम्मा अर्थमन्त्रालयको हो ? संसारकै सबैभन्दा महँगो स्कुल चलाउने र स्वास्थ्य संस्था चलाउने तपाईंले भाषणमा समाजवाद भन्दैमा सबैले पत्याइदिनुपर्ने ? अनि कतिपल्ट प्रधानमन्त्री हुन्छु भन्दै ज्योतिष हेराउँदै हिँड्ने हो ? तपाईं पहिलोपल्ट प्रधानमन्त्री भएर देश र जनताका लागि के-के गर्नुभयो र पाँचौँ पटकसम्म प्रधानमन्त्री हुँदा के गर्नुभयो र, सातौं पटकसम्म हुनुपर्ने ? अनि त्यसपछि तपाईंकी श्रीमती या छोरो प्रधानमन्त्री बन्नुपर्ने होला होइन ? यस्तो आजीवन पदमा रहने र मृत्युुपर्यन्त परिवारलाई विरासत जिम्मा दिने व्यवस्थाका लागि जनताले आहुति दिएका थिएनन् महाशय ! हज्जारौँ सशही र लाखौँ घाइते र अपाङ्ग यस्तै अवस्थाका लागि भएका होइनन् । संसारमा ‘मै हुँ’ भन्ने शासकलाई जनताले लखटेको देख्नुभएकै होला ? जनताको बोलीलाई न कुनै शासकको गोलीले बन्द गर्न सक्छ न त कुनै दरबारको दैलोले छेक्न सक्छ महाराज !

हुँदा–हुँदा मलेसिया र अरब पठाउने जिम्मासमेत प्रधानमन्त्रीपत्नी आफै लिँदै हुनुहुन्छ होइन ? उता देशमा स्वरोजगारी सिर्जना गरेर होस् या सरकारले रोजगारी दिएर होस्… युवालाई देश बनाउन प्रेरित गर्नुको साटो उल्टै भाषणमा नै मलेसिया पठाउने प्रलोभन देखाएर दललाई भोट माग्नेलाई दलको घोषणापत्र विपरीतको आश्वासन दिएकोमा कार्वाही गर्नु पर्दैन ? कि तपाईंको दलको घोषणापत्रमा नै सोही कुरा छ ? उच्चतम पदमा बसेर यति धेरै व्यापारी बन्नुभन्दा सामाजिक बनिदिनुभएको भए सुनमा सुगन्ध हुने थियो । तर दुर्भाग्य ! जनताले विश्वास गरेको केही काम लागेन बरु समयमै व्यापार गर्नुभएको भए धन त अवश्य कमाउनु नै हुने थियो होला ।

देउवा दाइ ! अब तपाईंबाट देश र जनताले त केही पनि नपाउने पक्का नै भैसकेको छ तर दलले भने अवशानको अवस्था भोग्नु नपरोस् । देशकै सबैभन्दा पुरानो दलको दुर्दशाले धेरैको मन कुँडिने छ । हुन त गोर्खा परिषदको पनि यस्तै हाल भएको थियो । तपाईंका गुरुहरू लगायत निष्ठावान कार्यकर्ताहरूले जन्माए–हुर्काएको पार्टी जसमा पङ्क्तिकारको पनि तीन तीन पुस्ता होमिएको छ । म जस्तै हज्जारौँ-लाखौँको सोही खालको लगानी त होला । तर तपाईं जस्तो अगुवा पाउनु र चयन हुनु हामी सबैको दुर्भाग्य नै रहेछ । जे होस्, लाखौँको लगानीले तपाईं र तपाईंको परिवारको मात्रै भए पनि भविष्य सुनिश्चित भएको छ । छातीमाथि विशाल ढुङ्गाले चेपेको अनुभव लाखौँ कार्यकर्ताले गरिरहेकै होलान् । मसमेत तिनीहरूकै मुख हेरेर चित्त बुझाउँला दाजु ! एउटा दलको कुलमा कलंक जन्मिएछ भन्ने नै लोकको निश्कर्ष हुनेछ, त्यत्ति त हो !

प्रधानमन्त्री देउवाज्यू, तपाईंले एकबारको चोलामा जति नै कमाए पनि त्यो धन मृत्युुपर्यन्त काममा आउने छैन । मृत्युपछि त उही चार हात बित्ताको चितामा खरानी हुने या त त्यत्तिकै जमिनमा दफन हुने मात्रै हो । विश्वविजेता सिकन्दर महाराजले आफ्नो चिहानमा हात बाहिर गरिदिनु भनेको सुन्नुभएकै होला ? पुर्वजन्ममा तपाईं कहाँ हुनुहुन्थ्यो र मृत्युपश्चात् कहाँ पुग्नुहुन्छ त्यो तपाईंलाई पनि थाहा छैन न त तपाईंको ज्योतिषीलाई नै थाहा छ ? बरु यो जन्ममा भएको नामलाई दुर्नाम नगराउनुमा नै बुद्धिमानी ठहरिएला ! करोडौँ जनताको आशा र विश्वासमाथि घात-प्रतिघात गर्ने तपाईंहरू जस्ता नेताहरूलाई धिक्कार छ ! सच्चिन सक्नुभयो भने केही हदसम्म सफल नै हुनुहोला नत्र तपाईंले पाउनुभएको मनुष्य चोला र त्यो जंगली सुँगुरको चोलामा कुनै अन्तर्य हुने छैन । यो पत्र पढेर दु:खी हनुहुनेछैन, रिसानी माफ !

उही तपाईंको पूर्वकार्यकर्ता
अधिवक्ता राजेन्द्र पाठक


4.554k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका