२६ जेष्ठ २०८०, शुक्रबार

टुँडिखेलको कथा !

  प्रकाशित मिति
२५ असार २०७९, शनिबार ०६:१८


  • सुनिल उलक

इतिहास

कुनै बेला काठमाडौंको त्रिपुरेश्वरस्थित कमलपोखरीदेखि लिएर रानीपोखरीसम्म रहेको एशियाकै ठूलो खुला मैदान आज संकुचन भएर विस्तारै हराउने अवस्थामा पुगेको छ ।

कमलपोखरी रहेको ठाउँ पुरेर रङ्गशाला बनाइयो । वि.सं. २०१३ मा राजा महेन्द्रको राज्यभिषेकको अवसरमा खेलकुदको पनि आयोजना गरिने निर्णय भएपछि हतार-हतार कमलपोखरी पुरेर फुटबल मैदान बनाइएको थियो । साथै त्यसवरपरको भाग पनि सम्याइयो । प्रतियोगितात्मक रूपमा पहिलो पटक कुस्ती, दौड, फुटबल, ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता यही रङ्गशालामा भएको थियो । यसको सँगैको मैदान बिस्तारै सेनाले ओगट्यो । बीचमा भद्रकाली हुँदै सिंहदरबार जाने सडक पहिले नै थियो । जहाँ पछि २०१९ सालमा शहीद गेट बनाइयो । त्यसपछि खाली रहेको जमिनलाई भने हालसम्म टुँडिखेलकै नामले चिनिन्छ । यसपछि सेनाले २०१८ सालमा महाँकालको पछाडि सैनिक मञ्च तैयार बनायो । भने त्यसको सँगै उत्तरतर्फ फर्काइएर खुला मञ्च बनाइयो । यसरी टुँडिखेल कुँजिदै गयो ।

२०२० सालमा रानीपोखरीको दक्षिणमा रानी रत्नलाई खुशी बनाउँदै राजा महेन्द्रले रत्नपार्क बनाइदिए । तीन सय वर्ष अगाडि सानेपादेखि रानीपोखरीसम्म तीन माइलको रहेको टुँडिखेल संकुचन भयो । भविष्यमा टुँडिखेल नै हराउने हो कि भन्ने लागिसक्यो ।

मल्लकालमा नर्कट अर्थात् नेवारीमा ‘तिं’को झाडी थियो । त्यसैले यसको नाम तिंख्यो भनिन्थ्यो । भनिन्छ- टुण्डी भैरवले आफ्नी छोरी अजिमाको बिहेमा दाइजो दिइएको यो ठाउँ भएको हुँदा टुण्डीख्योबाट नै टुँडिखेल नाम रहेको भनिन्छ । छोरीलाई दिइएको दाइजो भएको हुँदा केही गर्नु हुँदैन भन्दै मल्लकालमा यसलाई खाली नै राखिएको थियो ।

तस्बिरमा देखिएको दृश्य यहि टुँडिखेलको हो । तस्बिरमा दाँयातर्फ ठिङ्ग उभिएको धरहरा तथा सो सँगैको वागदरबार स्पष्ट देख्न सकिन्छ । करिव बीचमा रहेको ऐतिहासिक खरीको बोट र त्यसको सँगै जगन्नाथ मन्दिर देख्न सकिन्छ । बीचमा असङ्ख्य सैनिकहरू परेड खेल्दै गरेको यो दृश्यको पछाडि पनि एउटा अर्को इतिहास लुकेको छ ।

जङ्गबहादुरको मृत्युपछि प्रधानमन्त्री बनेका रणोद्वीप सिंह कुँवरको समयमा वि.सं. १९४० मा एउटा घटना घट्यो । प्रत्येक वर्षझैँ त्यो वर्ष पनि ल्हासाको झोखाङ मन्दिरमा ठूलो उत्सव शुरु भयो । नेपालका नेवार ब्यापारीहरू पनि सो मेलामा ब्यापार गर्न पुगेका थिए । त्यहाँ दुई तिब्बती महिलासँग एक ब्यापारीको साधारण झगडा भयो । तर त्यो झगडाले केही बेरमै विकराल रूप लियो । सयौँ तिब्बती मिलेर नेवार ब्यापारीहरूको ८४ पसलका मालसामान लुट्ने तथा जलाउने गर्न थाले । हुन त त्यो घटनामा कसैको पनि हताहत भएन, तर सोको जानकारी नेपाल सरकारसम्म पुग्यो । नेपाल सरकारले तुरुन्तै तिब्बत सरकारलाई धम्कीपूर्ण भाषामा ती ब्यापारीलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग राख्यो । यसको लगत्तै प्रधानमन्त्री रणोद्वीप सिंहले भारदारी सभा बोलाएर तिब्बतसँग युद्ध गरेमा देशले के-कति नाफा वा घाटा हुने विषयमा छलफल थाले ।

उता तिब्बत सरकारले नेवार ब्यापारीलाई क्षतिपूर्ति दिन नसकिने जानकारी पठायो । यता राज्यकोषबाट ४० लाख निकालेर युद्धको तैयारी थाल्यो । ४५ हजार सैनिक ७०० घोडा तथा २००० खच्चरसहितको युद्धटोली तैयार भयो । तिब्बत र नेपाललाई नजिकबाट नियालिरहेको चीनले १९४० को पौषमा दुइबीच मध्यस्तता गर्न थाल्यो । अन्ततः तिब्बत सरकारले तत्कालै ६ लाख आफ्नै राज्यकोषबाट र ४ लाख चीन सरकारसँगको ऋणबाट नेपाल सरकारलाई १० लाख बुझायो । यसरी अचानक भएको युद्धको सम्भावना ट¥यो ।

प्रस्तुत तस्बिरमा सोही युद्धको तैयारी समय टुँडिखेलको खुला मैदानमा २२ बटालियन सैनिक युद्धको तैयारीको लागि जम्मा भएको दृश्य देख्न सकिन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको