सात दिनमै फर्कने विश्वासमा प्रचण्डको राजीनामा !

सात दिनमै फर्कने विश्वासमा प्रचण्डको राजीनामा !


(तेह्र वर्षअघि नेपाली सेनालाई जिस्काएपछि तत्कालिन प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पदत्याग गर्न बाध्य भएका थिए । वास्तवमा उनी पदत्याग गर्न इच्छुक थिएनन्, बाध्य गराइएका थिए । सात दिनपछि पुनः प्रधानमन्त्री बनाइने विश्वास दिलाइएपछि मात्र प्रचण्ड बालुवाटारबाट बाहिरिन राजी भएका थिए । प्रचण्डलाई कसरी राजीनामा दिन बाध्य तुल्याइएको थियो ? प्रकाशोन्मुख पुस्तक ‘तुषानल’को एउटा रोचक अङ्श प्रस्तुत गरिएको छ ।)
  • देवप्रकाश त्रिपाठी

वि.सं. २०६६ वैशाखको तेस्रो साता (सन् २००९ मे ३) तत्कालिन प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति रुकमाङ्गद कटवाललाई पदमूक्त गरिएको पत्र थमाउँदै जनरल कुलबहादुर खड्कालाई सेनापतिको जिम्मेवारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा कटवाल र खड्कालाई बेग्लाबेग्लै बोलाइएको र, छुट्टाछुट्टै कोठामा राखिएको थियो । कुलबहादुरलाई रुकमाङ्गद भन्दा केही अगाडि नै बोलाएर उनलाई नियुक्ति पत्र हातमा थमाइएको र, कटवाललाई कुरैकुरामा अल्झाएर खड्कालाई नियुक्ति पत्रसहित सैन्य मूख्यालयमा पुऱ्याउने र, पदबहाली गराउने योजना माओवादीले बनाएका थिए । यद्यपि, प्रचण्डले यस प्रकारको गुप्त योजना बनाएको जानकारी सेनापति रुकमाङ्गद कटवालले दुई दिनअघि नै पाइसकेका थिए ।

त्यसदिन बिहान प्रधानमन्त्रीको निवासस्थान बालुवाटारबाट बोलावट भएपछि कटवालले सम्भावित घटनाप्रति पूर्ण सचेत रहँदै आवश्यक तयारी गरे । प्रधानमन्त्री निवासलाई चारैतिरबाट सूरक्षा घेरा दिन कटवालले निर्देशन दिएको र उनी बालुवाटार पुग्नुअगावै सेनाले घेराबन्दी गरिसकेको थियो, कटवालको आदेश हुनेबित्तिकै कुनै पनि एक्सनमा जाने तयारीमा सेना बसेको थियो । सैनिक मुख्यालयस्थित आफ्नो कार्यकक्षको सूरक्षामा तैनाथ सूरक्षाकर्मीलाई ‘जोसुकै व्यक्ति (कदाचित मेरै दोस्रो र तेस्रो तहका जनरल भए पनि) आए पनि भित्र प्रवेश गर्न नदिन’ कडा निर्देशन दिएर कटवाल बालुवाटारतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री निवासमा कटवालको प्रवेश हुनेबित्तिकै पूर्वयोजनाअनुसार उनलाई एउटा बैठक कक्षमा पुऱ्याइयो । प्रचण्ड त्यहाँ कटवालको प्रतीक्षामा थिए । उनले सेनापति कटवाललाई ‘दाइ’ भनेर सम्बोधन गर्दै निकै आत्मियतापूर्ण व्यवहार देखाए । ‘दाइ, तपाईंले मलाई एउटा सहयोग गर्नुपऱ्यो, म तपाईंलाई अमेरिका, बेलायत या कुनै पनि देशको राजदूत बनाइदिन्छु, सांसद र मन्त्री बन्न चाहनुहुन्छ भने त्यो पनि मलाई स्वीकार्य छ’ भन्दै प्रचण्डले सेनापति पद छोडिदिन आग्रह गरे । त्यसरी आग्रह गरिरहँदा प्रचण्डले ‘आफूलाई पार्टीका साथीहरूबाट ज्यादै ठूलो दबाब परेकोले यस्तो निर्णय लिन बाध्य भएको’ जानकारी पनि गराएका थिए । त्यतिबेला प्रचण्ड यसरी प्रस्तुत भएका थिए कि उनले कटवालको खुट्टा समाउन मात्र बाँकी राखेका थिए । तर कटवाल कुनै पनि अवस्थामा पद त्याग गर्न राजी भएनन् । माओवादीले आफूलाई हटाएर सेनालाई आफ्नो नियन्त्रणमा लिने र, त्यसपछि सैन्यबलका आधारमा एकदलीय अधिनायकवादी शासन व्यवस्था लाद्ने योजना बनाएको सूचना प्रधानसेनापतिलाई थियो । त्यसैले प्रचण्डको हज्जार अनुनय-विनयले पनि उनलाई असर गरेन ।

‘यति नै हो कि अरु केही कुरा पनि छन्’ भन्ने प्रश्न कटवालले प्रचण्डलाई गरे, उनले ‘यही एउटा सहयोगको आग्रह गर्न दुःख दिएको हुँ’ भन्ने जवाफ प्रचण्डले फर्काएपछि कटवाल ‘त्यसो भए म हिँडेँ, मबाट कुनै पनि अवस्थामा राजीनामामा हुँदैन’ भन्दै बाहिर निस्किए । प्रचण्डका तर्फबाट चिया पिएर मात्र जान गरिएको आग्रहलाई पनि कटवालले स्वीकार गरेनन् ।

त्यसताक प्रचण्ड (काङ्ग्रेस आई नेतृत्वको) भारत आफ्नो मुठ्ठीमा रहेको ठान्थे । आफूले लिने हरेक निर्णयमा भारतीय संस्थापनको साथ रहने विश्वासमा प्रचण्ड थिए । त्यसमाथि कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउन रक्षामन्त्री रामबहादुर थापाले भन्दा बढी दबाब बाबुराम भट्टराईले दिएको हुनाले पनि प्रचण्ड आफ्नो निर्णयमा भारतको साथ रहनेमा विश्वस्त थिए । तर काङ्ग्रेस आई नेतृत्वकै भारत पनि नेपालका माओवादीप्रति विश्वस्त हुन सकेको थिएन । राजतन्त्रको अन्त्य र धर्मनिरपेक्षतासहितको संविधान निर्माण गर्न माओवादी उपयोगी हुने ठहर सोनिया गान्धीले गरेको भए पनि माओवादीमाथि भरोसा गर्न नसकिने निश्कर्ष भारतीय संस्थापनको थियो ।

बाबुराम भट्टराईले आफ्नो निकटतम मित्र भएकोले मात्र कुलबहादुर खड्कालाई सेनापति बनाउन चाहेका थिए, या प्रचण्डलाई अप्ठ्यारो पार्ने नियतले रचिएको कपट थियो भन्ने रहश्य खुलिसकेको छैन । तर बाबुरामको भनाइ र त्यसप्रतिको लगावलाई प्रचण्डले भारतीय चाहनाकै रूपमा बुझेका थिए । प्रचण्डले धोखा पाउनुको मुख्य कारण पनि यही थियो ।

प्रधानमन्त्री बनेपछि प्रचण्डले पहिलो भ्रमण बेइजिङ्गको गरेका थिए र, त्यस घटनाले भारतीय संस्थापनलाई नराम्रोसँग झस्काएको थियो । त्यसरी पहिलो भ्रमण चीनको गरेका प्रचण्डले सफाइ दिने अनेक प्रयास नगरेका होइनन्, तर भारतको असन्तुष्टि कायम रह्यो । नेपाली सेनालाई आफ्नो काबुमा लिन प्रचण्डबाट भइरहेको प्रयासप्रति पनि भारत सकारात्मक नरहेको बुझिन्थ्यो । बाबुराम भट्टराईले आफ्नो निकटतम मित्र भएकोले मात्र कुलबहादुर खड्कालाई सेनापति बनाउन चाहेका थिए, या प्रचण्डलाई अप्ठ्यारो पार्ने नियतले रचिएको कपट थियो भन्ने रहश्य खुलिसकेको छैन । तर बाबुरामको भनाइ र त्यसप्रतिको लगावलाई प्रचण्डले भारतीय चाहनाकै रूपमा बुझेका थिए । प्रचण्डले धोखा पाउनुको मुख्य कारण पनि यही थियो ।

बिहान प्रचण्डले रुकमाङ्गद कटवाललाई प्रधानसेनापतिबाट मूक्त गरेको पत्र दिएका थिए, सोही रात साढे दश बजे परमसेनाधिपतिको हैसियतमा राष्ट्रपतिबाट कटवाल यथावत रहेको (थमौति गरिएको) पत्र सैनिक मूख्यालयमा पुग्यो । यसरी राष्ट्रपतिको पत्रले कटवालको पद थमौति गरेसँगै मुलुकमा ठूलो तरङ्ग पैदा भयो । संवैधानिक, कानूनी र राजनीतिक दृष्टिले पनि राष्ट्रपतिको कदम गलत रहेको भन्ने माओवादीको भनाइप्रति अन्य कसैको पनि समर्थन हुन सकेन । जसले गर्दा प्रचण्ड तनावमा परे र, प्रधानमन्त्री निवासभित्रै पनि उनले असूरक्षित महसूस गर्न थालेका थिए । तथापि, कुनै पनि हातलमा सत्ता नछोड्ने अठोट प्रचण्डको थियो । प्रधानमन्त्री र प्रधानसेनापतिबीच चरम तनावको स्थिति पैदा भएको त्यस स्थितिमा प्रचण्ड पद त्याग गर्न तयार नभएपछि कुनै ठूलो दुर्घटनाको सम्भावना देखापर्दै थियो ।

त्यस स्थितिमा प्रचण्डलाई राजीनामा गराउनुपर्ने निश्कर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले निकालेका थिए । प्रचण्डलाई सत्तामा राखिरहनु अनेकौँ कारणले जोखिमपूर्ण हुन सक्ने ठहर उनीहरूको थियो । तर सरकारबाट कसरी प्रचण्डलाई हटाउने भन्ने विषय शक्तिकेन्द्रहरूका निम्ति एउटा गम्भीर चुनौतीको विषय बनिरहेको थियो । त्यस क्रममा एक साँझ तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराईको आवास (मन्त्री निवास, हरिहर भवन) मा जयप्रकाश गुप्ता आनन्द, डा. अमरेशकुमार सिंह, डा. बाबुराम भट्टराई र बाह्यशक्ति केन्द्रका एक प्रतिनिधिबीच बैठक भयो । बैठकको मूल विषय नै प्रचण्डलाई कसरी राजीनामा गराउने भन्नेमा केन्द्रीत थियो ।

उक्त बैठकमा माओवादीले सेना र अदालतलाई बर्बाद गर्ने चिन्ता नयाँ दिल्लीको रहेको विषयमा पनि छलफल भयो । प्रचण्डलाई सिधा राजीनामा गराउन नसकिने निश्कर्षसहित बैठकले रणनीतिक एवम् कुटनीतिक तरिका अवलम्बन गरेर मात्र पदमुक्त गराउन सकिने ठहर गऱ्यो । त्यसपछि बाबुराम, जयप्रकाश र अमरेश कुमारले अलग-अलग प्रचण्डलाई भेट्ने र, ‘तपाईंलाई बाहिर राखेर अब यो मुलुकमा कसैले पनि सरकार चलाउन सक्ने छैन, अहिले तत्कालका लागिचाहिँ स्थिति असहज भएकोले राजीनामा दिनु नै उचित होला, सात दिनपछि फेरि तपाईं नै प्रधानमन्त्री बनेर आइहाल्नुहुन्छ, त्यसरी पुनः प्रधानमन्त्री बनेपछि तपाईं पहिलेको भन्दा झनै शक्तिशाली हुनुहुनेछ’ भनी राजीनामा दिन मानसिक रूपले तयार हुने स्थितिमा पुऱ्याउने भन्ने निधो भयो र, उनीहरूले सोहीअनुरुप प्रचण्डलाई ‘सुझाव’ गरे । प्रचण्डलाई आफ्ना निकटका सबैको एउटै ‘सुझाव’ भएको भान पऱ्यो, वास्तवमा त्यस्तो आभास दिलाउनकै निम्ति ब्युहरचना गरिएको थियो । सात दिनपछि पुनः प्रधानमन्त्री बनेर फर्कने विश्वासका साथ प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए । यस प्रकरणमा बाबुराम भट्टराईले दोहोरो भूमिका निर्वाह गरेको जानकारी प्रचण्डलाई हुन सकेन ।

प्रचण्डले राजीनामा दिएपछि संसद्ले माधवकुमार नेपाललाई प्रधानमन्त्री चयन गऱ्यो । सात दिनमै पुनः प्रधानमन्त्री बन्ने सपना देखेका प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बन्न साढे सात वर्ष लामो प्रतीक्षा गर्नुपऱ्यो ।