अष्ट्रेलियामा विजडम नाइट हुने

अष्ट्रेलियामा विजडम नाइट हुने


  • राजन घिमिरे

नेपाली सुगम गीत-संगीतकी चर्चित गायिका अन्जु पन्त अष्ट्रेलियाका विभिन्न शहरहरूमा गुन्जने भएकी छन् । विजडम नाइट नामक यो सांगीतिक यात्रामा सिड्नीमा नै रहेगा गायक संजिव पराजुलीले पनि बेजोड सांगीतिक प्रस्तुति पस्कने छन् ।

नेपालीहरूको महान् चाड दशैँको अवसर पारेर विजडम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको विजडम नाइट सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३० सम्म आयोजना हुने जानकारी विजडम ऐजुकेशन कन्सल्टेन्सीका सीईओ सफल कार्कीले गराएका छन् । ‘अष्ट्रेलियाको विभिन्न शहरहरूमा रहनुहुने गीत-संगीत अनुरागीहरूको चाह र मागअनुरूप नै हामीले अन्जु पन्तको साथमा संजिव पराजुलीले गीतसंगीत प्रस्तुत गर्नुहुने सांगितिक कार्यक्रमको आयोजना गर्न लागेका हौँ’- कार्कीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रम पहिले १७ सेप्टेम्बरका दिन सिड्नीमा हुनेछ त्यसपछि भने अन्य शहरहरूमा क्रमशः यो सांगितिक कार्यक्रमको यात्रा अघि बढ्ने छ ।

अष्ट्रेलियामा रहनुहुने नेपालीहरू माझ प्रस्तुत हुने अवसर मिलेकोमा गायिका पन्तले पनि खुशी ब्यक्त गरेकी छन् । ‘दशैँको अवसरमा अष्ट्रेलियामा रहनुहुने नेपालीहरू माझ गीत संगीतमार्फत मनोरन्जन प्रदान गर्न म आउँदै छु । हजूरहरू पनि आउनु होला । सँगै नाचौँला, गाउँला र रमाइलो गरौँला’, पन्तले आग्रह गरेकी छन् ।