काङ्ग्रेसको टिकट पाउन आरजुको सिफारिश अनिवार्य

काङ्ग्रेसको टिकट पाउन आरजुको सिफारिश अनिवार्य


चुनावपछि आरजु प्रधानमन्त्री !

शेरबहादुर देउवा आफ्नो उत्तराधिकारी बन्न सक्ने क्षमता र योग्यताका अर्का कुनै नेता काङ्ग्रेसमा रहेको ठान्दैनन् । देउवाले वर्षौंदेखि आफ्ना निकटस्थहरूसँग काङ्ग्रेसमा आरजुबराबर योग्य र क्षमतावान अर्को कोही नभएको बताउँदै आएका छन् ।

नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा उम्मेदवार बन्नका निम्ति शेरबहादुर देउवापत्नी आरजु राणाको मन जित्नुपर्ने भएको छ । केही नेताबाहेक राणाको विश्वास प्राप्त गर्न नसक्ने कसैले पनि काङ्ग्रेसबाट उम्मेदवार बन्न मौका नपाउने निश्चित हुँदै गएको छ । शेरबहादुर देउवा पार्टीको सभापति या प्रधानमन्त्री जस्तो शक्तिशाली पदमा रहेको र देउवामाथि आरजु हाबी भएकोले मात्र यस किसिमको स्थिति सिर्जना भएको होइन । देउवा आफैंले आगामी संसदीय निर्वाचनपश्चात पत्नी आरजुलाई प्रधानमन्त्री बनाउने योजना बनाएपछि यस प्रकारको स्थिति उत्पन्न भएको हो ।

प्राप्त जानकारीअनुसार गिरिजाप्रसाद कोइरालाले आफ्नो उत्तराधिकारी पुत्री सुजातालाई बनाउन चाहेर पनि समयले साथ नदिएको स्मरण गराउँदै शेरबहादुर देउवालाई ‘समय रहँदै आफ्नो उत्तराधिकारी अघि बढाउन’ शुभचिन्तकहरूले सुझाव दिएपछि देउवा आगामी संसदीय निर्वाचनपश्चात आरजुलाई प्रधानमन्त्री बनाउने निष्कर्शमा पुगेका हुन् ।

एक विश्वस्त सूत्रले जनाएअनुसार केही महिनाअघि भारतको भ्रमणमा जाँदा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच एकल (One to one) वार्तालाप भएको थियो । त्यस क्रममा देउवाले आगामी संसदीय निर्वाचनपश्चात आफूले पत्नीलाई प्रधानमन्त्री बनाउन चाहेको जानकारी गराउँदै त्यसनिम्ति सहयोग गरिदिन मोदीसँग आग्रह गरेका थिए । एकल वार्तालापको क्रममा भएका कुराकानीसमेत संस्थागत जानकारी (Institunational memory)मा राख्ने परम्परा भारतमा रहेको र भारतको विदेश मन्न्त्रालयमा देउवाको योजना/चाहना ‘रेकर्डेड’ भएको बताइन्छ ।

त्यसरी शेरबहादुर देउवाले आरजुलाई प्रधानमन्त्री बनाउने इच्छा जाहेर गरेको केही दिनपछि नै आरजु एक्लै भारतको नियोजित भ्रमणमा गएकी थिइन् । दश दिनसम्म भारतमा रहँदा आरजुले सत्तारुढ दलका विभिन्न नेता र उच्च प्रशासनिक अधिकारीहरूसँग भेटवार्ता गरेकी थिइन् । नयाँ दिल्लीमा रहँदा आरजुलाई समर्थन मिल्ने सन्देश प्राप्त भएको र, त्यससँगै जनताबीच गएर आफ्नो परीक्षा लिने सुझावसमेत मिलेकोले आरजु नेपाल फर्किएलगत्तै कास्की, गुल्मी, पर्वत र म्याग्दीलगायतका जिल्लाहरूको भ्रमणमा निस्किएकी थिइन् । जिल्ला भ्रमणका क्रममा काङ्ग्रेस कार्यकर्ताहरूको आफूप्रतिको आकर्षण देखेर आरजु निकै उत्साहित बनेकी छन् ।

जिल्ला भ्रमणमा धेरै राम्रो रेस्पोन्स पाएको ‘रिपोर्टिङ’ गर्दै भावी कार्ययोजना बनाउन आरजु केही दिनभित्रै पुनः दिल्ली जाने योजनामा रहेको बुझिएको छ ।

स्मरणीय छ, गत वर्ष शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा पदस्थापना गरेपछिका कैयन सातासम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकेको थिएन । त्यस क्रममा डेढ दर्जन मन्त्रालय मन्त्रीविहीन थिए, ती सबै मन्त्रालयको काम बालुवाटारमा बसेर आरजुले नै हेर्ने गर्दथिन् । प्रधानमन्त्रीले गर्नुपर्ने सबैजसो काम अहिले पनि आरजुले नै गर्दै आएकी छन् ।

शेरबहादुर देउवा आफ्नो उत्तराधिकारी बन्न सक्ने क्षमता र योग्यताका अर्का कुनै नेता काङ्ग्रेसमा रहेको ठान्दैनन् । देउवाले वर्षौंदेखि आफ्ना निकटस्थहरूसँग काङ्ग्रेसमा आरजुबराबर योग्य र क्षमतावान अर्को कोही नभएको बताउँदै आएका छन् । तर देउवाको चाहनाले मात्र आरजुको अग्रता र सक्रियता बढेको मानिँदैन । पश्चिमा शक्ति काङ्ग्रेसलाई र, काङ्ग्रेसमा पनि ठ्याक्कै आफ्ना मानिसलाई सत्तामा स्थायित्व दिन चाहन्छ । तर भारतको सद्भावविना पश्चिमाको त्यस्तो योजना सफल नहुने देखिएकोले आगामी संसदीय निर्वाचनसम्म देउवा दम्पत्तिलाई भारतसँग निकट भएको अभिनय गर्न सुझाव प्राप्त भएको र सोही मार्गदर्शन अनुरुप देउवाले ‘काम’ गरिरहेको बुझिएको छ ।