प्रधानमन्त्री पदका दुई दर्जन बढी दावेदार !

प्रधानमन्त्री पदका दुई दर्जन बढी दावेदार !


नेपालमा यतिबेला कम्तिमा २४ जना प्रधानमन्त्रीका आकाङ्क्षीहरू देखिएका छन् । प्रधानमन्त्री बनेका व्यक्तिहरूको योग्यता, क्षमता, इमानदारी र कार्यशैलीको स्तर देखेपछि जस्तासुकै व्यक्तिमा पनि प्रधानमन्त्री बन्ने रहर जागेको देखिएको छ ।

आर्जनलगायतका अन्य अवसर पाउन राजनीति सर्वाधिक ‘उन्नत पेसा’ बन्दै गएपछि नेपालका युवा पुस्तामा राजनीतिप्रतिको आकर्षण निकै बढेको पाइएको छ । राजनीतिमा अवसर नपाउने युवाशक्ति वैदेशिक रोजगारीमा जान विवश छन् भने वडा सदस्यदेखि प्रधानमन्त्रीसम्म बनेर सान, मान, दाम र नाम राख्न लालायित व्यक्तिहरू आफूलाई राजनीतिमा स्थापित गर्न अनेक प्रयास गर्दैछन् ।

पाँच वर्षअघिभन्दा अहिले युवा पुस्ता राजनीतितर्फ ज्यादा आकर्षित भएका छन् । पार्टीले टिकट नदिए बागी या स्वतन्त्र उम्मेदवार बन्ने क्रम यसअघि पनि नदेखिएको होइन, तर अहिलेचाहिँ पार्टीको टिकट लिएर भन्दा पनि स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या अधिकतम् देखिएको छ ।

स्थानीय निर्वाचनमा केही नगरहरूमा स्वतन्त्र उम्मेदवार विजयी बन्न सफल भएपछि संसदीय निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरूको बाढी आउने सङ्केतहरू देखिएका छन् । स्थानीय सरकार विकासकेन्द्रीत हुने गर्छ र विकासका काममा निष्पक्ष व्यवहारको अपेक्षा राखिने हुनाले स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढ्नु अस्वभाविक होइन । तर संसद्को मूल कार्य कानून बनाउनु हो र, कानूनको निर्माण विचारले गर्छ । विचार मिल्नेहरू एउटा समूहमा हुन्छन् र, समूह नै राजनीतिक दल हो । अर्कोतिर नेपालको विद्यमान संविधान भाग ७, धारा ७६ मा दलहरूले मात्र सरकार गठन गर्न सक्ने प्रावधान राखिएको छ । स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्ने व्यवस्था संविधानले गरेको छैन । तथापि युवा पुस्ताका धेरै मानिस स्वतन्त्र उम्मेदवार बन्न कस्सिएका छन् र, केही युवाले चाहिँ स्वतन्त्र समूह खडा गरेर निर्वाचनमा सहभागी बन्ने योजना बनाइरहेका छन् । यसैबीच स्वतन्त्र नाम राखेर निर्वाचन आयोगमा एउटा दल दर्ता गर्ने कार्यसमेत भएको छ । ‘निःशुल्क भोजनालय’ नाम राखेर महँगो दरमा भोजनको व्यापार गर्नेहरूकै शैली राजनीतिमा पनि देखापरेको छ ।

विगतका निर्वाचनहरूमा भन्दा यसपटक प्रधानमन्त्री पदका आकाङ्क्षीहरू पनि अत्याधिक देखिएका छन् । प्रधानमन्त्री बन्ने आकाङ्क्षा पालेर बाँचिरहेका नेपाली त प्रति एक घर बिराएर जहाँ पनि भेटिन सक्छन्, प्रधानमन्त्री बन्ने घोषणा गर्नेहरूकै सङ्ख्या दर्जन बढी नाघिसकेको छ । शेरबहादुर देउवाले पाँचौँ पटक प्रधानमन्त्री बन्ने मौका पाएका छन्, तर ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेकाले उनी थप दुई पटक प्रधानमन्त्री बन्ने जिजिविषा पालेर बसिरहेका छन् । रामचन्द्र पौडेल प्रधानमन्त्रीका स्थायी आकाङ्क्षी हुन् । कुलबहादुर गुरुङदेखि सुजाता कोइरालासम्म र विमलेन्द्र निधिदेखि शेखर कोइरालासम्मले काङ्ग्रेसमा ढुकिरहेको पनि प्रधानमन्त्री पदकै निम्ति भएको बुझिन्छ । विश्वप्रकाश शर्मा र धनराज गुरुङ आफूलाई भावी प्रधानमन्त्री ठान्छन् । मन्त्री नबन्ने सार्वजनिक घोषणा गरेका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री बन्ने अपेक्षा राख्नु अस्वाभाविक होइन ।

उता आरजु राणाले भने भित्रभित्रै प्रधानमन्त्री बन्ने तयारी गरिरहेकी छन् । गगनकुमार थापाले आगामी निर्वाचनपश्चात प्रधानमन्त्री बन्ने घोषणा गरिसकेका छन् भने स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेका मुकुन्द घिमिरे उर्फ मुकुन्देले पनि प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् । स्टण्ट मिडियाबाजी गरेर चर्चामा आएका रवी लामिछानेले आफ्ना निकटस्थहरूसँग चुनावपछि प्रधानमन्त्री बन्ने बताउँदै आएका छन् । पार्टीको आन्तरिक निर्वाचनमा कमल थापालाई परास्त गरेर अधिक चर्चामा आएका राजेन्द्र लिङ्देन आफैंले घोषणा नगरेको भए पनि उनलाई समेत चुनावपछिको प्रधानमन्त्रीका रूपमा प्रचार गर्न थालिएको छ । पुण्य गौतम, ऋषि धमला, डा. सुरेन्द्र केसीहरूले अहिलेसम्म आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छैनन्, तर निर्वाचन नजिकिँदै जाँदा उनीहरूबाट पनि प्रधानमन्त्री दाबी हुनसक्ने बताउन थालिएको छ ।

नेकपा एमालेमा केपी शर्मा ओलीले पुनः प्रधानमन्त्री बन्ने घोषणा गरेका छैनन्, तर एमाले विजयी बनेमा केपी नै प्रधानमन्त्री बन्ने निश्चित छ । उक्त पार्टीमा केपीलाई उछिनेर प्रधानमन्त्री बन्ने घोषणा गर्न सक्ने कुनै बहादुर देखिएका छैनन् । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्ने सार्वजनिक घोषणा गरेका भए पनि उक्त पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई समेत सम्भावित प्रधानमन्त्रीका रूपमा लिइन्छ । त्यसो त मौन रहे पनि जनार्दन शर्मा र वर्षमान पुनले पनि प्रधानमन्त्री बन्ने सपना देख्न थालेको बताइन्छ । यसरी प्रधानमन्त्रीको सपना देख्नेहरूमा उपेन्द्र यादव, बाबुराम भट्टराई र माधवकुमार नेपालको नाम पनि लिने गरिन्छ । तर उल्लिखित स्वप्नदर्शीहरूले प्रधानमन्त्री बन्ने ठान्नुलाई ‘मुकुन्दे सपना’का रूपमा लिइएको छ ।

यसरी नेपालमा यतिबेला कम्तिमा २४ जना प्रधानमन्त्रीका आकाङ्क्षीहरू देखिएका छन् । प्रधानमन्त्री बनेका व्यक्तिहरूको योग्यता, क्षमता, इमानदारी र कार्यशैलीको स्तर देखेपछि जस्तासुकै व्यक्तिमा पनि प्रधानमन्त्री बन्ने रहर जागेको देखिएको छ ।