महिला डीआइजीमा ‘फस्ट लेडी’को हात

महिला डीआइजीमा ‘फस्ट लेडी’को हात


नेपाल प्रहरीको इतिहासमा एकै पटक चार जना महिला डीआइजी हुनुमा उहाँहरू स्वयम्को लगनशीलता र मेहेनतका अलावा प्रधानमन्त्रीपत्नी तथा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको महत्वपूर्ण भूमिका भएको बुझिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिश समितिले एसएसपीबाट डीआईजीमा सिफारिश गरेका १७ जनामा चार जना महिला परेका छन् ।

नेपाल प्रहरीको इतिहासमा यति धेरै सङ्ख्यामा डीआइजी महिला यसअघि थिएनन् । डीआइजीका लागि सिफारिश भएका महिला सूरक्षा अधिकारीहरूमा किरण बज्राचार्य, दुर्गा सिंह, मीरा चौधरी र किरण राणा छन् ।

प्राप्त जानकारीअनुसार सिफारिश समितिले दुई महिला एसएसपीमा सुरुमा किरण बज्राचार्य र मीरा चौधरीको मात्रै नाम सिफारिश गरेको थियो । चार जना महिला एसएसपी बढुवाका लागि योग्य भए पनि दुई जनाको मात्रै नाम सिफारिश भएको जानकारी पाएपछि डा. आरजु राणा देउवाले चासो राख्नुभएको थियो । डा. देउवाले बढुवाको लाइनमा भएका महिलालाई प्राथमिकता दिनु भनेपछि दुर्गा सिंह र किरण राणाको नाम थपिएको थियो ।

किरण, मीरा, दुर्गा, किरण चारै जना एसएसपीहरुले विभिन्न स्थानमा बसेर नेपाल प्रहरीमा आफ्नो नेतृत्व क्षमता प्रस्तुत गरिसकेका छन् । मुलुकका विभिन्न क्षेत्रमा प्रधानमन्त्री पत्नीको अनावश्यक हस्तक्षेप भनी आलोचना हुने गरे पनि महिला डीआईजीको सवालमा आरजुको हस्तक्षेपलाई भने सकारात्मक रूपमा लिइएको छ ।