पदको भारी बोक्नेले कर्तव्य बिर्सने देशमा…

पदको भारी बोक्नेले कर्तव्य बिर्सने देशमा…


पिर्केसलामी ग्रहणदेखि विवादास्पद विभिन्न सन्दर्भले उनको गरिमा लगातार गिर्दो अवस्थामै थियो । त्यसमाथि मन्त्री पद टिकाउन गरेका अशोभनीय क्रियाकलाप तथा मन्त्रीबाट राजीनामा दिँदै गर्दा पदाशक्तिमा डुबेर गरेको बिलौनाले त उनको बचेखुचेको छवि समष्टिमै सखाप पारिदियो ।

करिव नौ महिनाअघि ‘सात नम्बर गियर लगाएर दौडने’ उदेकपूर्ण उद्घोष गर्दै मन्त्री पद ग्रहण गरेका प्रेमबहादुर आले मगरको मन्त्रीपदीय यात्रामा यतिबेला विराम लागेको छ । ‘टाइगर अभी जिन्दा है’ भन्ने दम्भपूर्ण उद्घोष गर्दै उनी मन्त्रीको रवाफयुक्त स्थानबाट ओझेलिएका छन् । यसलगत्तै सात नम्बर गियर भन्ने आलेको अभिव्यक्तिलाई समेत बिर्साउने गरी उनैले प्रतिनिधित्व गर्ने दलका अर्का पात्रको मन्त्री-ओहदामा उदय भएको छ, मेटमणि चौधरी नामक ती पात्रले चाहिँ मन्त्रीको कुर्सीमा बसेपछि ‘चार सय स्पीडको स्पोर्टस् बाइक’को गतिमा आफूलाई दौडाउने उद्घोष गरेका छन् । ‘सात नम्बर गियर’ र ‘चार सय स्पीडको बाइक’ जस्ता शब्दावली उल्लिखित पात्रहरूले आफ्नो ‘उत्साह’ दर्शाउन प्रयोग गरेका विशेषणहरू हुन् । यस्तो उदेकपूर्ण शब्दको प्रयोगले के दर्शाइरहेको छ भने नेपालमा के-कस्ता पात्रहरू देश सञ्चालन गर्ने स्थानमा पुग्छन् र, यहाँका ‘राजनीतिजीवी’हरूले मन्त्री पदलाई कुन कोणबाट महत्व दिने गर्छन् !? पदीय जिम्मेवारीप्रतिको संवेदनशीलताभन्दा पदप्राप्तिको उल्लासमा ती कति प्रफुल्ल हुन्छन् र, अन्ततः कुन हदमा कर्तव्यच्युत हुन पुग्छन् भनी जनाउने यस्ता उदाहरण एक-दुई होइन सयौँ भेटिन्छन् ।

मन्त्री पद पाउँदाको उमङ्ग र पद गुमाउँदाको विष्मात्बारे एक ज्वलन्त उपमा बन्न पुगेकी छन् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय सचिव एवम् निवर्तमान मन्त्री रामकुमारी झाँक्री । मन्त्री पद छोड्नुपर्दा अस्वाभाविक ढङ्गले आँशुका ढिक्का खसाएर सिङ्गो देशलाई लज्जित तुल्याउँदै आफूसमेत हाँसोको पात्र बन्न पुगिन् उनी । मन्त्रीको ओहदा गुम्दा विगतमा अरु को-कति कोक्किए, रोए, मुर्मरिए या मुर्च्छित भए भन्ने कुराको आधिकारिक विवरण छैन; सोधखोज गर्दा फेला पर्ला ! तर, झाँक्रीको रोदनले भने एक ऐतिहासिक मानक नै कायम गरेको छ भन्दा अत्युक्ति नहोला । गत आइतबारयता सामाजिक सञ्जालमा सर्वाधिक चासोका साथ अधिकाधिक पोष्ट गरिएको सन्दर्भ-सामग्री हो पदवियोगमा कोक्किन पुगेकी नेतृ झाँक्रीको अश्रुपूर्ण अनुहार !

रामकुमारीको रोदनलाई किन यति महत्व दिइयो त ? यो अहम् विषय हो । एक क्रान्तिकारी युवा नेतृको रूपमा रामकुमारी झाँक्रीको परिचय बनेको थियो । एमालेमा रहँदा बनेको उनको त्यो परिचयको ओज एमाले परित्याग गर्दा पनि धुमिल भएको थिएन । प्रतिष्पर्धी पार्टीका नेता-कार्यकर्तादेखि सचेत तहका तमाम नेपाली जनताले झाँक्रीलाई सम्भावना बोकेकी जुझारु नेतृकै रूपमा चित्रित गर्दथे । मौका पाए मुलुक र मुलुकवासीको हितमा यिनले केही गर्छिन् भन्नेहरूको कमी थिएन । एउटा बेग्लै विश्वास पैदा गरेकी थिइन्, युवा नेताहरूको भीडमा अलग्गै छवि बनाएकी थिइन् । भलै उनको यो छवि मन्त्रीको जिम्मेवारी पाएको करिव नौ महिना अवधिमा धमिलिँदै गएको थियो । पिर्केसलामी ग्रहणदेखि विवादास्पद विभिन्न सन्दर्भले उनको गरिमा लगातार गिर्दो अवस्थामै थियो । त्यसमाथि मन्त्री पद टिकाउन गरेका अशोभनीय क्रियाकलाप तथा मन्त्रीबाट राजीनामा दिँदै गर्दा पदाशक्तिमा डुबेर गरेको बिलौनाले त उनको बचेखुचेको छवि समष्टिमै सखाप पारिदियो । महँगी, अभाव र पीडामा पिल्सिएका नेपालीजनको दुःखमा व्यथित बन्नुपर्ने रामकुमारी फगत् ‘मन्त्री’ पद गुमेको घडीमा बिरही बनिदिँदा उनप्रति आस्था र विश्वास राख्ने तमाम नेपालीले शीर झुकाउनुपऱ्यो ! पद रामकुमारी झाँक्रीको गयो, लज्जानुभूति भने तथाकथित ‘लोकतन्त्र’प्रति आस्था राख्ने तमाम गणतन्त्रप्रेमीले गरिदिनुपऱ्यो !

वास्तवमै, पद पाउँदा अस्वाभाविक तवरले हर्षित हुने र पद गुमाउँदा त्यत्तिकै कोकोहोलो मच्चाउने प्रवृत्तिले गाँजेको छ आजका अधिकांश राजनीतिकर्मीलाई । इमान र निष्ठाका साथ देश र जनताको सेवा गर्न राजनीतिमा संलग्न हुनेहरूको गणना त औंलामै सम्भव छ भनियो भने अतिरञ्जना ठहरिन्न । गणतन्त्र स्थापनाको यतिका वर्ष बितिसक्दा पनि देशले निकास पाउनुको साटो ओह्रालो, अन्योलपूर्ण एवम् अन्धकार यात्रातर्फ उन्मुख हुनुको कारण स्वार्थप्रेरित नेता र नीतिको जगजगी हुनु नै हो । नेता ठिक नभएपछि नीति राम्रो नहुने र गलत नीतिले दुःखद् नियति निम्त्याउने तथ्य सम्झाइरहनुपर्ने विषय होइन । ताजा घटनाविशेषका आधारमा उदाहरणस्वरुप आले र झाँक्री जस्ता निवर्तमान मन्त्रीहरूको नाम उद्धृत गरिए पनि पदलाई नै सम्पूर्ण ठान्ने अनि कर्तव्य वा दायित्वलाई गौण मान्नेहरूको जगजगी छ आजको नेपालमा ।

अहिलेको राजनीतिले व्यक्तिलाई पदमुखी हुन नै सिकाइरहेको छ न कि कर्तव्यमुखी । देशप्रतिको दायित्व बोध गर्ने, जनताप्रति उत्तरदायी रहने, मुलुकको प्रतिष्ठा र अस्तित्वको लागि मर्न-मेटिन तत्पर हुने राजनीतिक नेतृत्वको खडेरी जो परेको छ- पदीय लालसामा रामकुमारीहरूले झारेको आँशुको ढिक्काले नयाँ पुस्तालाई सतर्क तुल्याओस् ताकि नेपालको राजनीतिक मैदानमा पदलाई कर्तव्य ठानेर देश र जनताको सेवा गर्न तत्पर सच्चा सेवकहरूको प्रचुर मात्रामा उदय हुन सकोस् !