वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन द्वन्द्वको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोज्नुपर्नेमा जोड दिएका छन् । आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन)को बैठकमा प्रधानमन्त्री मोदीले यस्तो सुझाव पेस गरेका हुन् ।

‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै शत्रुताको तत्काल अन्त्य हुनुपर्ने र वार्ता र कूटनीतिको बाटो रोजेर समाधानमा पुग्नुपर्नेमा जोड दिएका’ भारतका विदेशसचिव विनयमोहन क्वात्राले जनाएका छन् ।

युद्धले पूर्वी युरोपमाका साथै अन्य स्थानमा खाद्य सुरक्षामा परेको प्रभावको चर्चा गर्दै शान्ति प्रवर्द्धन एवम् द्वन्द्वको अन्त्य हुनुपर्ने प्रधानमन्त्री मोदीले जी सेभेन नेताहरूलाई बताएका विदेशसचिव क्वात्राले संवाददाताहरूलाई जानकारी दिएका एएनआईले जनाएको छ ।

त्यसअघि प्रधानमन्त्री मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै युक्रेन र रूसका राष्ट्रपतिबीचको प्रत्यक्ष वार्ताले जारी द्वन्द्व समाधान तथा शान्ति प्रयासमा ठूलो सहयोग पुग्ने सुझाव दिएका थिए । उनले युक्रेका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि वार्ता गर्दै द्वन्द्वबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका थिए ।

युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य सङ्कटको चुनौती थपिएको छ । सोमबार किएभस्थित किनमेल घरमा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रूसमाथि युद्ध अपराधको आरोप लगाएको छ ।

एकहजारभन्दा बढी सर्वसाधारण किनमेलमा व्यस्त भएका बेला गैरसैनिक क्षेत्रमा रूसी फौजले गरेको आक्रमणको युक्रेनी राष्ट्रपतिले निन्दा गरेका छन् ।