एक करोड ५३ लाख अनियमितताको आरोपमा फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक करोड ५३ लाख अनियमितताको आरोपमा फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा फतुवा विजयपुर नगरपालिकाका तत्कालीन नगर उपप्रमुख कान्ती देवी, वडा नं. १ का तत्कालीन वडाध्यक्ष संजय प्रसाद, वडा नं. २ का तत्कालीन वडाध्यक्ष भविछन राय यादव, वडा नं. ३ का तत्कालीन वडाध्यक्ष दिपनारायण साह, वडा नं. ५ का तत्कालीन र हालका वडाध्यक्ष शेख एजाज अहमद रहेका छन् ।

यस्तै, सोही नगरपालिकाको वडा नं.६ का तत्कालिन वडाध्यक्ष हिरा राय यादव, वडा नं.८ का तत्कालीन वडाध्यक्ष र हालका नगर कार्यपालिकाका सदस्य उमाशंकर साह कलवार, वडा नं. का तत्काली नडाध्यक्ष दिपनारायण चौधरी, वडा नं. १० का तत्कालीन वडा अध्यक्ष योगेन्द्र प्रसाद चौधरी, वडा नं.११ का तत्कालीन र हालका वडाध्यक्ष ज्ञानेन्द्र चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारले नगर कार्यपालिकाका तत्कालीन नगर कार्यपालिका सदस्य लक्ष्मण साह कानु, तत्कालीन नगर कार्यपालिका सदस्य सुन्दरी माझी, तत्कालीन गर कार्यपालिका सदस्य र हाल वडा नं. ७ को वडा सदस्य जिरनी देवी, तत्कालीन गर कार्यपालिका सदस्य फुल कुमारी देवी, संजु देवी जयसवाल, शशी कुमार साह र रबिन्द्र कुमार निधिविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले मुद्दा दायर गरेको अन्यमा फतुवा विजयपुर नगरपालिका, नगरकार्यपालिका रौतहटका तत्कालीन समयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रन्जना साह रहेका छन् ।

दायर गरिएको मुद्दामा अख्तियारले सबैसँग एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो दाबी गरेको छ ।

अख्तियारका अनुसार रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का लगाउने सम्झौता गरेका थिए ।

सम्झौताअनुसार प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम वाडँफाँड गर्ने निर्णय भएको थियो ।

फतुवा विजयपुर नगरपालिकाले आर्थिाक वर्ष २०७५/७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियमविपरीत रद्ध गरी नगरपालिकालाई नोक्सानी पुऱ्याएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न व्यक्तिहरुले भ्रष्टाचार गरेको पाइएपछि अख्तियारले आइतबार उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।