जिसस सप्तरीको निर्वाचनमा ५० हजारमा मत किनेको दाबी, विश्वास दिलाउन मन्दिरमा कसम

जिसस सप्तरीको निर्वाचनमा ५० हजारमा मत किनेको दाबी, विश्वास दिलाउन मन्दिरमा कसम


  • सुधा देव, सप्तरी

जिल्ला समन्वय समिति सप्तरीको निर्वाचनमा मत किनबेच भएको खुलेको छ । आज (आइतवार) भइरहेको निर्वाचनमा एक मतबराबर ५० हजार रुपैयाँमा किनबेच भएको प्रत्यक्षदर्शीहरूको दाबी छ ।

मतदातामाथि अविश्वास लागेर उम्मेदवारले सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा लगेर सपथ समेत खुवाएको श्रोतको दाबी छ । आज बिहानै मतदाताहरू एकसाथ लाम्बद्ध भएर मन्दिरमा सपथ खाएको प्रत्यक्षदर्शीहरूले बताए ।

जिल्ला समवन्य समिति सप्तरीको प्रमुखका तीन जना र उपप्रमुखमा दुई जनाले मनोनयन दर्ता गराएका थिए । जनता समाजवादी पार्टीबाट छेदी अरगरिया यादव, नेपाली कांग्रेससबाट शिवनारायण साह र गुञ्जेश्वरप्रसाद सन्तले प्रमुख पदमा मनोनयन दर्ता गराएका थिए ।

नेपाली कांग्रेसले शिवनारायणलाई आधिकारिक उम्मेदवार मानेपछि गुञ्जेश्वरप्रसाद सन्तले उम्मेदवारी फिर्ता लिएका थिए । अहिले प्रमुख पदका लागि दुई जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

उपप्रमुखमा नेकपा एमालेबाट देवकान्त चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट शम्भुकुमार यादवले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनकारी दिएको छ ।

यसैगरी, खुला सदस्य तीन पदका लागि सात जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये जनता समाजवादी पार्टीबाट अवधेश मुखिया, माओवादी केन्द्रबाट गुल्टेन यादव, नेपाली कांग्रेसबाट जागेश्वर यादव, एमालेबाट जानुद्दिनमियाँ चुरौटे, रवीन्द्रनाथ चौधरी, जनमतबाट बुद्धिलाल चौधरी र लोकतान्त्रिक समाजवादीबाट सत्यनारायण मण्डलले उम्मेदवारी दर्ता गराएका थिए ।

महिलातर्फ तीन पदको लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट आशाकुमारी तामाङ, आशादेवी झा, जनमतबाट धनवतिदेवी सरदार, कांग्रेसबाट रन्जिताकुमारी चौधरी, नेकपा एमालेबाट बैजानाथ देवी थरुनी र एकीकृत समाजवादीबाट सविताकुमारी साहले उम्मेदवारी दर्ता गराएका छन् ।

दलित अल्पसंख्यकतर्फ एक पदका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । जसपाबाट वलदेव सरदार र एकीकृत समाजवादीबाट बौरही भगतले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए ।

नौ पदका लागि १९ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला समवन्य समिति सप्तरीको निर्वाचनमा ३६ जना मतादाता रहेका छन् । जसमा कांग्रेस १२, जसपा आठ, लोसपा पाँच, एमाले चार, जनमत दुई, माओवादी दुई र नेकपा एस दुई जना छन् ।