सी जिन्पिङ विचारधारामा चीनियाँ कम्युनिस्ट पार्टीबाट प्रशिक्षण पाएकाहरूले धान्ने नेपालको असंलग्नता !

सी जिन्पिङ विचारधारामा चीनियाँ कम्युनिस्ट पार्टीबाट प्रशिक्षण पाएकाहरूले धान्ने नेपालको असंलग्नता !


एउटा सिङ्गै महादेश जत्रो चीनलाई १२-१४ सय किलोमिटरको सीमानाबाट कति खतरा उत्पन्न हुने ? सत्तरी वर्षमा सात वटा संविधान बनाउने र सत्तरी वर्षमा मुलुकको एउटा सरकारलाई पाँच वर्षको समय दिन नसक्ने, आन्तरिक र बाह्य दबाबमा जे पनि गर्न कुनै परहेज नराख्ने मुलुकले चीनको सुरक्षाको चासो र ठेक्का लिने !?
  • केशवप्रसाद भट्टराई

१. असंलग्न आन्दोलनलाई सोभियत संघको आशीर्वाद थियो ।
आफ्नो मुलुकमा सोभियत मिसाइल तैनाथ गराउन अनुरोध गर्ने क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रो यसका एक सँस्थापक !
सोभियत प्रभावमा रहेका र अमेरिकाविरोधी इजिप्टका राष्ट्रपति गमाल अब्देल नासिर अर्का संस्थापक !
सोभियत दबाब र. प्रभावमा कम्युनिस्ट राष्ट्र बनेको युगोस्लाभिकायाका राष्ट्रपति मार्शल जोसेफ ब्रज टिटो अर्का संस्थापक !
कम्युनिस्ट प्रभावकै इन्डोनेसियाका सुकार्नो र घानाका क्वामे एङ्कोमो अन्य दुई संस्थापक !
अर्का संस्थापक भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू !

२. १९६२ मा चीनले भारतमाथि आक्रमण नगरुञ्जेल नेहरू सोभियत संघ र चीनका समर्थक र प्रशंसक थिए ।
चीनले आक्रमण गरेपछि र समस्त उत्तर पूर्वी भारत चीनको नियन्त्रणमा गएर पश्चिम बंगल र कलकता समेत असुरक्षित रहेको सोभियत संघले चीनको पक्ष लिएपछि नेहरूले अमेरिकासँग अमेरिकी सेनासहितको सैन्य सामग्री र लडाकु विमान सहयोगमा मागे ।
भारतको असंलग्नता त्यहीँ मऱ्यो !
१९७१ मा इन्दिरा गान्धीले सोभियत संघसँग २०वर्षे सुरक्षा सन्धि गरेपछि फेरि मऱ्यो !
अब त कुरै भएन !

३. असंलग्नता कुनै नीति होइन, आदर्श होइन, बढीमा रणनीति मात्रै हो ।
एसिया र अफ्रिकाका उपनिवेशवादी आधिपत्यबाट मुक्त नव स्वाधीन मुलुकहरूलाई अमेरिका निकट जान नदिने सोभियत रणनीतिअन्तर्गत अभियान थियो त्यो !
उपनिवेशवादविरुद्धको राजनीतिक चेतनाले पनि त्यसमा काम गरेको थियो ।

४. भारत र सोभियत संघको प्रभावमा नेपाल पनि असंलग्न अभियानसँग जोडियो ।
अहिले चिनिया कम्युनिस्ट कम्युनिस्ट पार्टीबाट सी जिन्पिङ विचारधाराको प्रशिक्षण लिनेहरू असंलग्नताको कट्टर समर्थक !
त्यो असंलग्नता भनेको चीनभन्दा पनि चीनका राष्ट्रिय हितहरूका महान् प्रवक्ता !
चीनले पनि नबुझेको चीनको राष्ट्रिय हित बुझेका छन् उनीहरूले !
आफैँ अमेरिकी सहयोगको लागि निवेदन हाल्छन्,
अनि अमेरिकाले सहयोग दियो भने त्यसैका विरूद्ध अनौठो अमेरिकाविरोधी भाष्य तयार पार्दछन् !
नेपालको असंलग्नता भनेको चीनको समर्थन, अमेरिकाको विरोध !
चीनको लागि अमेरिकाको विरोध !
नेपालको हित हेरेर होइन, बातै पिच्छे चीनलाई यो मनपर्छ र मन पर्दैन भनेर एकोहोरो अमेरिका विरोध ।
देशको राष्ट्रियताको चरित्र नै भारत वा अमेरिकाविरोधी र चीन समर्थक !
अनि राष्ट्र बलियो हुन्छ ?

५. चीन आफैं महाशक्ति हो !
एसियाका १४ वटा मुलुकसँग उसको सीमा जोरिएको छ ।
उसको सीमा जोरिएको (तिब्बत भन्दा पनि सम्वेदनशील सिञ्जियाङसँग सीमा जोरिएको) अफगानिस्तानमा दुई दशक हजारौँ अमेरिकी सेना बस्यो ।
चीनको विरोध थिएन अझ चाँडै किन हट्यो भनेर अमेरिकी सेना फिर्ता हुँदा असन्तोष जनायो चीनले !

६. नेपाली सेनालाई अमेरिकाले तालिम दिँदा र संयुक्त सैन्य अभ्यास गर्दा चीन रिसाउँछ नेपालसँग ?
चीन सक्छ आफ्नो हितको रक्षा गर्न !
आफ्नो मुलुकको हित हेर्न नसक्ने, तीन दशक भन्दा लामो समय हुँदा पनि संक्रमणको जप गरेर बस्ने,
अब मुलुक राजनीतिक स्थिरतातर्फ लाग्यो,
अब आर्थिक विकासको गति लिन्छ भनेर नेपाली जनता र नेपालका मित्रहरूलाई आश्वस्त पर्न नसक्ने नालायकहरूले कतै सदनमा र कतै मिडिया र सडकमा उफ्रिएको कुरा बुझ्दैन चीनले ?
यिनको भर गरेर बसेको होला चीन !
एउटा सिङ्गै महादेश जत्रो चीनलाई १२-१४ सय किलोमिटरको सीमानाबाट कति खतरा उत्पन्न हुने ?
सत्तरी वर्षमा सात वटा संविधान बनाउने र सत्तरी वर्षमा मुलुकको एउटा सरकारलाई पाँच वर्षको समय दिन नसक्ने, आन्तरिक र बाह्य दबाबमा जे पनि गर्न कुनै परहेज नराख्ने मुलुकले चीनको सुरक्षाको चासो र ठेक्का लिने ???