बेल्जियममा अल्पसंख्यक आप्रवासी पहिचानको अभ्यासमा विरोधाभाष

बेल्जियममा अल्पसंख्यक आप्रवासी पहिचानको अभ्यासमा विरोधाभाष


(सांस्कृतिक नीतिहरूसँग अभ्यासगत जटिलताहरू)

  • डिल्ली अम्माई / बेल्जियम
घोर साम्प्रदायिक तथा जातिवादीहरूले बेल्जियममा आफ्नो बर्चस्व बढाउँदै लग्नु अन्य आप्रवासीको साथै नेपाली मुलका आप्रवासीको लागि पनि गम्भीर चिन्ताको विषय हो ।
संस्कृतिबारे (About culture) :

परापूर्वकालमा बेल्जियम एक धर्म र क्रिश्चियन संस्कृति भएको मुलुक भए पनि आधुनिक बेल्जियम क्रमशः बहुसाँस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक हुँदै गएको छ । यो देशलाई बहुसाँस्कृतिक मुलुकमा बदल्ने श्रेय विशेष गरेर आप्रवासीहरूमा जान्छ । बेल्जियमको कुल जनसंख्या ११,७७८, ८४२ मध्ये झण्डै २४ प्रतिशत जनसंख्या आप्रवासी छन् । संसारमा भएका हरेक समुदायले आफ्ना आफ्ना सभ्यताका विरासतहरू लिएर बेल्जियममा आपवासी जीवन बिताइरहेका छन् ।

संस्कृति छोटो समयमा निर्माण हुने विषय हैन । कुनै पनि समुदायका सभ्यताको एक लामो शृङ्खलाले मूल्य, मान्यता र संस्कृतिको निर्माण गरेको हुन्छ । त्यसैले समुदायका मानिसहरूको जीवनपद्धतिबाट सृजित मूल्य, मान्यता र पद्धति नै वास्तवमा संस्कृति हो । यसर्थ, समाजमा विकसित भएका सामाजिक मूल्य-मान्यता, परम्परा, धर्म, शैली, उत्पादनको तरिका, प्रविधिलगायतको सम्पूर्ण भौतिक तथा अभौतिक स्वरूपलाई संस्कृति भन्न सकिन्छ । बसाइँसराइ गरेर बेल्जियम आएका आप्रवासीहरूले आफ्नो देश त्यागे, घर त्यागे र नाता सम्बन्धको लगावलाई आंशिक रूपमा त्यागे पनि सांस्कृतिक मुल्यलाई बेल्जियममा समेत बचाएर राखेका छन् ।

संस्कृति भनेकै मानवले आफ्नो दैनिक जीवन प्रक्रिया र त्यो प्रक्रिया पूर्ति गर्नका लागि विकास गरेको मूल्य-मान्यता, प्रथा, भाषा, रीतिरिवाज, मानवीय व्यवहारको कला, सामाजिक विचार, धार्मिक ढाँचा आदिको समग्रता हो जुन अजैविक हुन्छ र ती मुल्यामान्यताहरू निरन्तर अर्को पुस्तामा हस्तान्तरित हुँदै जान्छन् । बसाइँसराइले सांस्कृतिक लगाव र प्रभावलाई खासै असर गर्दैन ।

साँस्कृतिक विविधताबारे (About cultural diversity) :

साँस्कृतिकरूपले बेल्जियमको समाज संसारभरिका सभ्यताहरूको एक जीवित सङ्ग्रहालय हो । सांस्कृतिक विविधता राज्य र राष्ट्र निर्माणका लागि एक महत्त्वपूर्ण पक्षको रूपमा भएकोले राज्यले यो क्षेत्रमा लगानी गर्दछ । सामाजिक सांस्कृतिक विविधताको सन्तुलित व्यवस्थापन राष्ट्रिय एकता र विकासको लागि समेत अनिवार्य मानिन्छ । समुदायको सबैभन्दा संवेदनशील मुद्धा सांस्कृतिक पहिचान (भाषासहित) भएकोले संसारका प्रगतिशील देशहरूले अरुका सामुदायिक मुल्य-मान्यतालाई सम्मान गर्ने नीति लिएका हुन्छन् । बेल्जियममा पनि यहाँको सरकारले विश्वका सांस्कृतिक विशेषतालाई सम्मानूुर्वक पग्लिने भाँडोमा राखेर सामुहिक मूल्यसहितको संस्कृति निर्माणको दिशा लिएको छ । पग्लिने भाँडो भन्नाले विश्वका सबै सांस्कृतिक विशेषतासहितको नयाँ संस्कृति निर्माण भनेर बुझ्नु पर्दछ ।

हामी नेपाली डायस्पोराको रूपमा पूर्वीय सांस्कृतिक पहिचानसहित बेल्जियममा बसिरहेका छौँ । यहाँ बसेको नेपाली समाजबीच पहिचान रक्षासम्बन्धी आफ्नै जटिलता र बाध्यताहरू छन् । भोलिको हाम्रो संस्कृति पहिचान बेल्जियमको पग्लिने भाँडोमा मिसिएपछि कुन रूपमा आफ्ना विशेषताहरू बचाउन सक्ला, त्यसको पूर्व अनुमान गर्न सकिँदैन । तर हामीले आफ्नो पहिचानको रक्षाका सन्दर्भमा बेल्जियमको साँस्कृतिक संरचनाको साथै सांस्कृतिक नीति तथा सांस्कृतिक विविधताका मुलभूत पक्षहरूलाई तुलानात्मक रूपले बुझ्नु आवश्यक हुन्छ । विषेशतः तिनै सांस्कृतिक मुद्धा र चासोबारे छलफल गर्ने मनसायले यो आलेख तयार पारिएको हो ।

बेल्जियमको आन्तरिक सांस्कृतिक परिवेशबारे (About the internal cultural environment of Belgium) :

बेल्जियममा आदिम कालदेखि बसोबास गर्दै आएका मूल आदिवासीलाई बेल्जियन पृष्ठभूमि भएका बेल्जिक भनिन्छ । बेल्जियममा अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा ७७,५३,००० (सतहत्तर लाख त्रिपन्न हजार) जना अर्थात् कुल जनसंख्याको ६७.३ प्रतिशत बेल्जिक आदिवासी रहेका छन् भने विदेशी पृष्ठभूमि भएका बेल्जियनहरू २३,२०,३८५ जना अर्थात् कुल जनसंख्याको २०.१ प्रतिशत बसोबास गर्दछन् । त्यस्तै, यहाँको बसाइको अनुमति प्राप्त गैरबेल्जियनहरू १४,४७,८५३ जना अर्थात् कुल जनसंख्याको १२.६ प्रतिशत रहेको आँकडा देखिन्छ ।

धर्मलाई आधार मानेर हेर्दा बेल्जियमका ५८ प्रतिशत, मानिसले रोमन क्याथोलिक धर्म मान्दछन् । जम्माजम्मी १४ प्रतिशत बेल्जिक जनताले विविध प्रकारका क्रिस्चियन, मुस्लिम, हिन्दु, बुद्धिष्ट र अन्य अल्पसंख्यक धर्म मान्दछन् । बेल्जियममा बसोबास गर्ने सम्पूर्ण जनसंख्याको २७ प्रतिशत नास्तिक वा गैरविश्वासीहरू रहेको पछिल्लो जनगणनाले पुष्टि गरेको देखिन्छ ।

बेल्जियममा बसोबास गर्ने आप्रवासीहरूमध्ये सबैभन्दा ठूलो समूह इटालियनहरूको हो । यहाँ जम्माजम्मी ४,५०,००० भन्दा बढी उनीहरूको संख्या रहेको छ, जुन बेल्जियमको कुल जनसंख्याको ४ प्रतिशत भन्दा बढी हो । मोरक्कन दोश्रो ठूलो मुस्लिम धार्मिक समूह मानिन्छ । स्मरण रहोस्, सन् १९३० सम्म बेल्जियमको वालोनिया औद्योगिक शहरमा जम्माजम्मी ६,००० मोरक्कनहरू कामको लागि आएका थिए । अहिले झन्डै ६ लाख भन्दा बढी मोरक्कन बेल्जियममा बसेको देखिन्छ ।

बाँकी अल्पसांख्यिक आप्रवासी समूहहरूमा टर्किस, कुर्द, डच, फ्रेन्च, पोर्चुगिज, स्पेनिश, ग्रीक, बोस्नियाक, अल्जेरियन, कङ्गोली, भियतनामी, पोल, भारतीय र गिनीहरू रहेका छन् । अन्य अल्पसांख्यिकहरूमा नेपाली, पाकिस्तानी, बंगाली, चाइनिज, मंगोलियन, थाई, दक्षिणअमेरिकाली लगायत झन्डै विश्वका अधिकांश देशहरूका नागरिक बेल्जियममा बसोबास गर्दछन्, तीमध्ये कतिपयलाई सरकारद्वारा गरिने जनगणनामा अल्पसंख्यक साँस्कृतिक समुहको रूपमा मान्यता दिइएको छैन ।

यहाँका प्रत्येक सङ्घीय राज्यभित्र भाषिक तथा सांस्कृतिक भिन्नताले आप्रवासीहरूलाई असर नगर्ने कुरै भएन । बेल्जियमको राजधानी शहरमा त्यहाँको स्थानीय सरकारले अरु राज्यको तुलनामा भिन्न भाषिक नीति अँगालेको देखिन्छ । त्यहाँ फ्लामिस र फ्रेन्च दुवै भाषालाई अफिसियल भाषाको मान्यता दिइएको छ भने युरोपियन संसद्मा अंग्रेजी भाषा प्रथम भाषाको रूपमा बोलिन्छ र त्यसपछि फ्रेन्च र इटालियन र स्पेनिस आउँछ । त्यहाँ बस्ने आप्रवासीले डच र फ्रेन्च दुवै भाषा सिक्नुपर्ने बाध्यता छ ।

ब्रसेल्समा कति मान्छेले फ्रान्सेली भाषा बोल्दछन्, यकिन गरेर भन्न गाह्रो छ, तर एक अनुमानअनुसार ब्रसेल्समा बस्ने ८५ प्रतिशत मानिसहरूले फ्रान्सेली र १०प्रतिशत मानिसहरूले डच मातृभाषा वा सम्पर्क भाषाको रूपमा प्रयोग गर्छन्, जबकि त्यहाँ आफ्नो समुदायबीच अरबी भाषा पनि ठूलो मात्रामा बोलिन्छ ।

विवेचना :

इतिहासका पुराना दिनहरूमा बेल्जियम भाषिक रूपमा भिन्न भए पनि धार्मिक आस्था र सामाजिक मूल्य मान्यतामा ठुलो भिन्नता थिएन । प्रायः सबैले रोमन क्याथोलिक धर्म मान्दथे । सन् १९३० को दशकपछि बेल्जियममा आप्रवासीहरूको जनसंख्या बढेसँगै यहाँको सांस्कृतिक विविधताको नीतिहरूमा सुधार हुँदै आएको देखिन्छ । अन्तर्राष्ट्रिय आप्रवासी सन्धिले तोकेको आप्रवासी अधिकारका मापदण्डहरूलाई समेट्नुपर्ने निर्देशनसहित सन् १९७० देखि बेल्जियमको केन्द्रीय सरकारले स्थानीय सरकारलाई सांकृतिक अधिकार प्रत्यायोजन गऱ्यो । फलस्वरूप, फ्लान्दर्स र फ्रान्कोफोन क्षेत्रले क्रमिक रूपमा भिन्न आप्रवासी नीति-नियमहरू विकास गर्दै गएका हुन् । केन्द्रिय सरकारद्वारा संविधानमा संशोधन गर्दै जाँदा सबैलाई समानरूपले सम्बोधन गरिए पनि पहिचानरक्षाको नियमन नीति स्थानीय सरकारलाई हस्तान्तरण गरेपछि ब्यवहारमा विविधता देखपऱ्यो । यसर्थ सांस्कृतिक विविधतासम्बन्धी नीतिहरूको अलग-अलग प्रकारले वर्णन गरेर यहाँका स्थानीय सरकारहरूले ‘बेल्जियन सांस्कृतिक विविधताको विरोधाभास’लाई बढाइरहेको अवस्था प्रष्ट देखिँदै आएको छ ।

उता वालोनितिर पनि नास्तिकहरूको बहुमत भएकोले धर्म र संस्कृतिलाई खासै चासो दिएको देखिन्न । त्यस्तै फ्लांदरमा अन्धराष्ट्रवादीहरूको रेसिजमका कारण आप्रवासी अधिकारलाई मिच्ने काम पहिलेको तुलनामा बढेर गएको छ । दुवै भाषिक क्षेत्रको यस्तो अवस्थालाई अल्पसंख्यकको अधिकार र अधिकारलाई नरुचाउने राजनैतिक ब्यवहारबीचको विरोधाभाष भनिएको हो ।

हामीले बेल्जियमको सङ्घीयता, आप्रवासन समस्या, सांस्कृतिक विविधता सम्बन्धित नीतिहरू, ब्यवहारिक प्रयोग र त्यसभित्रको अन्तरविरोधलाई नबुझिकन यहाँको सामाजिक तथा सांस्कृतिक अवस्थाको आगामी परिणाम निहार्न सक्दैनौँ । बेल्जियममा स्थाइरूपले बसोबास गरेको नेपाली डायस्पोरा अहिले पनि राज्यलाई आफ्नो पहिचानरक्षाबारे हस्तक्षेप गर्ने हैसियतमा छैन । हाम्रो अवस्था नेपाली समुदायकै आन्तरिक पहलमा आफ्नो पहिचानबारे बढी संवेदनशील हुनुको अर्को विकल्प देखिन्न । अहिलेदेखि नै हामी सचेत नहुने हो भने सांस्कृतिक अन्तरघुलनको समस्या तथा जटिलताले नेपाली मुलका साँस्कृतिक अल्पसंख्यकहरूलाई भोलि पहिचानविहीन बनाएर फिजीका नेपालीको हालतमा पुऱ्याउन सक्छ । यो सवाल नेपाली पहिचानरक्षाको सवालमा गम्भीर रूपमा हाम्रासामु खडा भएको छ ।

बेल्जियमको मुलभूत सांस्कृतिक चरित्र र नीतिगत ब्यवस्था (The basic cultural character and policy of Belgium) :

सन् १९७० पछि बेल्जियम केन्द्रिकृत एकात्मक राज्य प्रणालीबाट जटिल, सङ्घीय राज्यको रूपमा विकसित भएको देश हो । बेल्जियमभित्र रहेका मुख्यतया दुई भिन्न भाषिक सांस्कृतिक समुदायहरूबिचको चरम अन्तरविरोधको कारण यो देश एकात्मकबाट संघात्मक भएको हो । अहिले यहाँभित्र रहेका प्रत्येक संघले आफूलाई अधिकतम रूपले अधिकारसम्पन्न बनाएका छन् । अन्य क्षेत्रमा जस्तै साँस्कृतिक क्षेत्रमा पनि सङ्घीय र स्थानीय तहमा आफ्ना आफ्नै संविधानप्रदत्त कानुनी र कार्यकारी अधिकारहरू छन् । भन्नाले बेल्जियमका सबै सङ्घीय राज्यहरूले आफ्ना क्षेत्रमा बोलिने गरिने भाषाको प्रयोग सम्बन्धमा, अपनाइने धर्म र सांस्कृतिक (कलात्मक) नीति निर्माण गर्नेदेखि लागु गर्ने सम्बन्धमा संवैधानिक रूपमा स्वायत्त अधिकार प्राप्त गरेका छन् । उनीहरूका आप्रवासी एकीकरण नीतिहरू, जसले क्षेत्रिय प्रशासनमार्फत भाषिक, धार्मिक र साँस्कृतिक विविधतालाई व्यवस्थापन गर्ने तरिकाहरूलाई समेत स्वायत्तता प्रदान गरिएको छ ।

विभिन्न अवरोध र अन्तरसंघर्षको शृंखला पार गर्दै बेल्जियमका सङ्घीय सरकारहरूले सन् १९८० देखि, देशको फ्रान्सेली र फ्लेमिसभाषी भागहरूमा विभिन्न स्वायत्त नीति तथा दृष्टिकोणहरू विकसित गरेका हुन् । सङ्घीय अभ्यासको यही शृंखलाले बेल्जियमभित्रको फरक सांस्कृतिक अभ्यासलाई अझ परिस्कृत गर्ने मार्गप्रशस्त गरेको हो । अहिलेसम्म विश्वका अन्य देशबाट आएका समुदायको साँस्कृतिक पहिचानलाई बेल्जियमले के-कस्तो नीतिअनुसार ब्यवहार गर्ने गरेको छ ? त्यसलाई नबुझी हामीले नेपाली पहिचानको लागि मार्ग बनाउन सक्दैनौँ ।

अध्यागमन र सांस्कृतिक विविधतासम्बन्धी नीतिहरू फ्ल्यान्डर्स र फ्रान्कोफोन बेल्जियममा धेरै फरक राजनीतिक वातावरणमा विकसित भएका हुन् । सन् १९७० को अन्त्यदेखि, सबै परम्परागत राजनीतिक दलहरू (जस्तै, क्रिश्चियन डेमोक्रेट, लिबरल र समाजवादीहरू) मुख्य गरेर भाषिक रूपले विभाजित भएका थिए ।

पछिल्ला दशकहरूमा बेल्जियमका दुई सङ्घीय राज्यले राजनीतिक परिदृश्यहरू फरक-फरक रूपमा विकसित भएका छन् । त्यो कसरी भने यहाँको सङ्घीयताले पार्टीका मुद्धा मिले पनि मुलभुत रूपमा विकेन्द्रित पार्टी प्रणाली अपनाएको छ । आफ्नो सङ्घीय क्षेत्रभित्र पार्टी संरचना अलग्गै रूपमा पूर्ण स्वायत्त छन् र नेतृत्व पनि पूर्णतया अलग्गै छ । नेपाल र बेल्जियम मात्र हैन सङ्घीयता भएका अन्य देशको पार्टी प्रणाली र बेल्जियमको पार्टी प्रणालीको भिन्न मोडेल संसारकै दुर्लभ सङ्घीय मोडेलमध्ये एक हो ।

बेल्जियमको फ्लांदरभित्र आप्रवासीहरूको साझा सत्रु भनेको रेसिजम हो । आप्रवासीप्रति घृणाको मनोविज्ञानलाई बढावा दिने यहाँ केही अन्धराष्ट्रवादी पार्टीहरू रहेका छन् । यिनै घोर साम्प्रदायिक तथा जातिवादीहरूले बेल्जियममा आफ्नो बर्चस्व बढाउँदै लग्नु अन्य आप्रवासीको साथै नेपाली मुलका आप्रवासीको लागि पनि गम्भीर चिन्ताको विषय हो ।

सबैलाई जानकारी भएकै कुरा हो कि फ्लेमिश राजनीतिमा सन् १९९० को दशकमा भ्लाम्स ब्लक नामक घोर दक्षिणपन्थीहरूको उपद्रोहको सामना गर्नुपऱ्यो । तर त्यो पार्टीलाई आप्रवासीहरूप्रति मात्र नभएर वालोनि क्षेत्रप्रति समेत घृणा फैलाउने नीतिकै कारण बेल्जियमको अदालतले अवैधानिक घोषणा गऱ्यो । तर अहिले ती भिन्न-भिन्न आकार प्रकारमा रहेका दक्षिणपन्थीहरूले बेल्जियमको आप्रवासी नीतिमा हस्तक्षेप बढाइरहेका छन् । दक्षिणपन्थीहरूको आप्रवासीप्रतिको संकीर्ण नीतिका कारण बेल्जियमको केन्द्रिय सरकारमा समेत बेलाबेलामा अन्तरविरोध देखा परिरहन्छ र सरकार भत्किने बन्ने अवस्थाको सृजना हुन्छ । जुन कुरालाई हामीले विगतमा देखिसकेका छौँ । फ्लामिस क्षेत्रको तुलनामा वालोनिमा दक्षिणपन्थी क्षेत्रियतावादीहरूको राजनैतिक प्रभाव त्यति देखिँदैन । बालानीहरूको समस्या भनेको कुनै पनि संस्कृतिहरू प्रति अरुचि हो । उनीहरू धर्म र संस्कृतिलाई ब्याक्तिगत विषय मात्र मान्दछन् र पहिचानको संरक्षणमा राज्यको दायित्व हुनुपर्ने कुरामा रुचि राख्दैनन् ।

विविध आन्तरिक खिचातानी र भिन्न-भिन्न परिवेशको कारणका साथै बेल्जियमको राजनैतिक खिचातानीले आप्रवासनका सांस्कृतिक विविधतासँग व्यवहार गर्ने तरिकाहरूलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ ।

बेल्जियममा खासगरी वालोनि र भ्लांदरबीच विभाजनको मुख्य कारकहरूमद्धे फरक भाषिक सम्प्रदाय, धर्मनिरपेक्षवादलाई बुझ्ने र लागु गर्ने फरक मनोविज्ञानका साथसाथै क्षेत्रगत सामाजिक-आर्थिक असमानता नै हो । अर्को शब्दमा भन्दा, त्यसको सामाजिक कारण दुवै सङ्घीय क्षेत्रमा विगतदेखिकै उत्पादन प्रणालीबीचको फरक र त्यसले चेतनामा पार्ने अन्तरलाई मान्न सकिन्छ । त्यसको निर्धारक विकासको फरक सामाजिक रुझानको मनोविज्ञान हो । प्रष्ट रूपमा देखिने अर्को फरक, फ्लेमिशहरू ऐतिहासिक रूपमा क्याथोलिक धर्म मान्दछन् र वालुनियाहरू धर्मनिरपेक्षतावादी छन् । वालोनियामा १९औँ शताब्दीको सुरुमा नै औद्योगिकीकरण भैसकेको थियो, जबकि फ्ल्यान्डर्स केही दशक अघिसम्म पनि गरीब र कृषिप्रधान रहेको थियो । यसले वालोनियासँग मजदुर आन्दोलन धेरै र बलियो अवस्थामा रहेको तथ्यलाई देखाउँछ ।

यी दुई क्षेत्रहरूबीच रोमन कालदेखि नै धेरै सामाजिक अन्तरविरोधहरू रहेका छन् । सतही रूपले हेर्दा माथि बताइएका प्रधान अन्तरविरोधहरू समाधान हुन नसकेर नै देश भाषिक सङ्घीयतामा गएको हो । यदि यो तरिकाले अन्तरविरोध बेलैमा समाधान नगरिएको भए देश विभाजनमा जाने खतरा थियो ।

यहाँ प्रत्येक सङ्घीय क्षेत्रभित्र आफ्नै विशेषतासहितको भिन्नता छ र समयसँगै आन्तरिक अवस्थामा केहि परिवर्तनहरू पनि भएका छन् ।

फ्लांदरभित्र क्रिस्चियन-डेमोक्रेट पार्टी र दक्षिण पन्थीहरू सधैं प्रमुख राजनीतिक शक्तिहरू रहेको देखियो भने, वालोनि समाजवादी पार्टी र मजदुर आन्दोलनको गढ भकोले समाजवादीहरूको ब्यापक प्रभाव छ । त्यसैले वैचारिक हिसाबमा इतिहासदेखि अहिलेसम्म फ्लेमिसहरूभन्दा फ्राङ्कोफोन बढी प्रगतिशील, धर्मनिरपेक्षवादी र आप्रवासीको हकमा उदारवादी रहेका छन् ।

भाषिक द्वन्द्व र विच्छेद (Linguistic Conflict and Separation) :

बेल्जियमका दुई भाषिक समुदायबीचको भिन्नताको जड ‘अर्थ र पहिचान’ हो । वालोनीमा बस्नेहरूहरूले आफूलाई आर्थिक रूपमा शोषण गरेको बुझाइ फ्लांदरवासीको छ । विचार र अर्थको क्षेत्रमा वालोनियाहरूले फ्लांदरवासी भन्दा सबल देख्नु विभाजनको अर्को कारण हो । दक्षिणमा (मुख्यतया) फ्रान्कोफोनहरू र उत्तरमा फ्लामिस डचभाषीहरू बीचको वैचारिक तथा भाषिक भिन्नताबिना बेल्जियम खास गरेर अहिलेको स्वरूपमा हुने थिएन ।

पछिल्लो चरणमा, बहुसंख्यक डचभाषी जनसंख्या भएको बेल्जियममा आधिकारिक भाषाको रूपमा फ्रान्सेली भाषाको विशेष प्रयोगले धेरै छिटो ‘फ्लेमिश आन्दोलन’लाई हुर्कायो । बेल्जियम सरकारको तात्कालिक भाषाको विभेदकारी नीतिले वर्गीय आन्दोलनलाई पनि सामाजिक मुद्धाको रूपमा उठाउने काम गऱ्यो । जस्तो कि, त्यो बेला बेल्जियमका उच्च खानदानको भाषा भनेर फ्रेन्चलाई मानिन्थ्यो । फ्लामिस त खालि फ्ल्यान्डरका गरिव किसानले बोल्ने भाषाको रूपमा बुझिन्थ्यो । बेल्जियम इतिहासका ति दिनहरूमा सार्वजनिक भाषाको रूपमा फ्रेन्चको छनौट गरिएको थियो र निदरल्याण्ड भाषा बोल्ने फ्लेमिश जनतालाई सामाजिक, आर्थिक र राजनीतिक अवसरहरूबाट वञ्चित गरिन्थ्यो ।

फ्लेमिश आन्दोलनका ऐतिहासिक अन्तरविरोधहरू मुख्यतया भाषिक र सांस्कृतिक पहिचानसम्बद्ध नै थिए । यो भाषिक विभेदीकरणले फ्लामिसहरूमा विद्रोहको आगो बाल्ने काम गऱ्यो । अदालत, विद्यालय र सेनासहित सार्वजनिक सेवामा निदरल्याण्ड भाषाको प्रयोगको मागहरू हुन थाल्यो । आफ्नो सांस्कृतिक पहिचानको प्रतीक निदरल्याण्ड भाषालाई मुख्य कामकाजी भाषाको रूपमा कानुनी मान्यता दिलाउनुलाई सामाजिक र आर्थिक मुक्तिको रूपमा बुझ्न थालियो । पहिलो विश्वयुद्धपछि मात्रै सांस्कृतिक र भाषिक समानताको माग गर्दै आएको फ्लेमिश आन्दोलनले राजनीतिक स्वायत्तताको मागसहित राष्ट्रवादी आन्दोलनको रूप लियो । सन् १८९८मा ‘फ्लेमिश आन्दोलन’ सफल भयो र बेल्जियममा पिछडा फ्लामिस डचभाषीहरूको भाषा संस्कृतिले कानुनी मान्यता प्राप्त गऱ्यो । यही मूल कुराले बेल्जियम एकात्मक राज्यबाट सङ्घीयतामा लागेको हो ।

त्यही आन्दोलनको फलस्वरूप, फ्लांदरमा सबै सार्वजनिक सेवाहरू र आधिकारिक संचार (शिक्षा र मिडियासहित) क्षेत्रमा डचको प्रयोगले कानुनी मान्यता पायो भने वालोनियामा फ्रान्सेली भाषाको प्रयोगले । त्यस्तै, राजधानी ब्रसेल्सका नागरिकहरूलाई डच वा फ्रान्सेली दुवै भाषामा सेवाहरू प्रदान गर्ने नीति रहेको छ । ब्रसेल्सका व्यक्तिहरूले दुवै भाषामा सेवाहरू पाउने यो अधिकार ब्रसेलको समानान्तर भाषिक संयन्त्रहरूमार्फत सुनिश्चित गरिएको छ ।

ब्रसेल्स र यसको वरपर निदरल्याण्ड भाषा बोल्ने अल्पसंख्यक फ्लामिस बस्छन् । उनीहरूको संख्या दिन-प्रतिदिन घट्दो छ । बेल्जियमको राजधानीबाट निदरल्याण्डभाषी हराउने खतराको कारणले गर्दा, फ्रान्सेली-भाषा समुदाय र आप्रवासीहरूको लागि समेत निदरल्याण्ड भाषा शिक्षण शुरु गरिएको छ । ब्रसेल्समा फ्लेमिश आप्रवासी एकीकरण नीतिहरूले डच भाषा आत्मसातलाई महत्व दिने गरेका छन् । यद्यपि, बेल्जियममा फ्लेमिसहरूलाई फ्रान्कोफोनहरूद्वारा ‘जबरजस्ती सांस्कृतिक दमन’ गरिएको मानेर त्यो नीति लागु गरिएको हो । उनीहरू अल्पमतमा भएको ठाउँमा आप्रवासीलाई साथी बनाउने र डच अनिवार्य सिक्नुपर्ने नीति छ । राज्यको यस्तो पोलिसिले बेल्जियमको संविधानले ब्यवस्था गरेको भाषिक र कलात्मक विविधतासहितको बहुसांस्कृतिक नीतिमाथि सकारात्मक हस्तक्षेप गरिरहेको देखिन्छ ।

धार्मिक विच्छेद अर्थात् राज्यसँग चर्चको सम्बन्धबिच्छेद (Religious separation is the separation of the church from the state) :

बेल्जियममा रहेका चर्च र राज्य प्रणाली एक ऐतिहासिक सम्झौताको परिणाम स्वरूप अलग भए । क्याथोलिक चर्चले प्रत्यक्ष राजनीतिक भूमिका खेल्नको लागि आफ्नो जिद्दी छाडेपछि राज्यले सामाजिक महत्वलाई मान्यता दियो ।

यद्यपि, बेल्जियमको धार्मिक दरारलाई सन् १८३० को राज्य निर्माणपछि उदारवादी क्याथोलिक पार्टीहरूको निर्माण गरि संस्थागत गरिएको थियो । क्याथोलिक चर्चहरूले स्कुलहरूमा सन् १९५० को दशकमा ‘विद्यालय युद्ध’ चलाए । स्कुलहरूलाई क्याथोलिक चर्चबाट अलग्याउन थालियो । शिक्षा प्रदान गर्नमा चर्चको भूमिका वालोनिको तुलनामा फ्लान्दरमा अधिक थियो । तर पछि चर्चको नियन्त्रणमा रहेका धेरै विद्यालयहरू राज्यले आफ्नो माताहतमा लियो र क्रमशः नगरपालिकामार्फत समुदायलाई हस्तान्तरण गर्ने नीति लियो ।

बेल्जियममा धर्मनिरपेक्ष आन्दोलन वा ‘धार्मिक स्वतन्त्रताका पक्षधरहरू’ र क्याथोलिक धर्मका अनुयाईहरूबीच धेरै अगाडिदेखि अहिलेसम्म मनोवैज्ञानिक दरार छ । बेल्जियममा परम्परागत राजनैतिक पार्टी र प्रगतिशील राजनैतिक धारहरूबीच राज्य-चर्च सम्बन्धलाई गरिने व्याख्यामा सदैव मतविभाजित हुँदै आएको देखिन्छ । त्यो मतभिन्नता बेल्जियमका स्कुल तथा कलेजहरूमा राखिने गरेका नाम र चिन्हहरूको सन्दर्भमा प्रकट भयो । बेल्जियमका विद्यालयदेखि विश्वविद्यालयमा राखिएका क्याथोलिक धर्मका चिन्हहरू हटाइनुपर्ने र सार्वजनिक सेवाका क्षेत्र धार्मिक प्रभावबाट अलग रहनुपर्ने माग निरन्तर उठिरहेको छ । यसकारण बेल्जियमको आन्तरिक समाज धार्मिक कारणले पनि विभाजित देखिन्छ । भन्नाले फ्ल्यान्डर्समा धर्मनिरपेक्षतावादी समावेशी तटस्थताको पक्षमा बढी देखिन्छन् । तर फ्लांदरवासीहरू पहिचान बचाउनुपर्ने मत राख्दछन् । उनीहरूमा विगतमा फ्रेन्चभाषीबाट भएको आफ्नो पहिचानमाथिको दमनको पीडा अझै देखिन्छ ।

आप्रवासनमार्फत आएको अल्पसंख्यक धर्म तथा संस्कृतिहरूमा बेल्जियमको सबैतिर एकनासको समानता देखिन्न । फ्ल्यान्डर्समा अध्यागमनको धेरै कसिलो राजनीतिकरण, चरम दक्षिणपन्थी आप्रवासी विरोधी पार्टीको अवरोध तथा वालोनियामा निरपेक्षतावादीहरूको उपस्थितिको कारण अल्पसंख्यक आप्रवासीहरूको पहिचान बढाउने चुनौती छ ।

अहिलेदेखि नै सचेत नहुने हो भने सांस्कृतिक अन्तरघुलनको समस्या तथा जटिलताले नेपाली मुलका साँस्कृतिक अल्पसंख्यकहरूलाई भोलि पहिचानविहीन बनाएर फिजीका नेपालीको हालतमा पुऱ्याउन सक्छ । यो सवाल नेपाली पहिचानरक्षाको सवालमा गम्भीर रूपमा हाम्रासामु खडा भएको छ ।

वालोनि राज्यमा अल्पसंख्यकका भाषाहरू (Minority languages in the state of Wallonia) :

फ्रान्कोफोन बेल्जियम वा वालोनिमा, वयस्कहरूका लागि अल्पसंख्यक भाषा पाठ्यक्रमहरू (साथै अल्पसंख्यक सांस्कृतिक अभिव्यक्ति)लाई वालोनिको प्रशासनले सन् १९८० को अन्त्यसम्म सामान्यरूपले लागु गरेको थियो । यद्यपि, सन् १९८८ को चुनावपछि, जब आप्रवासी एकीकरण नीतिहरूले राजनीतिज्ञहरूको ध्यान आकर्षित गऱ्यो, तत्पश्चात बेल्जियममा बहुसांस्कृतिक नीतिहरूलाई लागु गरियो । पछिल्लो चरणमा सांस्कृतिक तथा सामाजिक एकीकरणको नीति लागु गरेपछि फ्लांदरमा प्रौढ स्कुल संचालनमा धेरै बजेट विनियोजित गरिएको देखिन्छ । त्यसको तुलनामा वालोनिया क्षेत्रमा साँस्कृतिक तथा सामाजिक एकीकरण र भाषा स्कुलमा राज्यको लगानी अत्यन्त कम देखिन्छ । धर्म तथा संस्कृतमा निरपेक्षतावादीहरूले लगानी गर्न नचाहनुको कारणमा सांस्कृतिक विभाजनको खतरालाई मान्दछन् । सोसलिष्टहरूको अर्को एक विश्लेषण अनुशार परम्परागत रुडिवादलाई परास्त गर्न साँस्कृतिक रूपान्तरण र आधुनिकीकरण आवश्यक छ । त्यसको लागि पुराना सामाजिक मूल्यहरूको अन्त्य हुनु जरुरी छ ।

फ्लांदर राज्यमा अल्पसंख्यक भाषाहरू (Minority languages in Flanders State) :

फ्लान्दर्सले सन् १९८० को अन्त्यदेखि, फ्राङ्कोफोन प्रशासनको तुलनामा आप्रवासीहरूको लागि डच भाषा पाठ्यक्रमहरूमा धेरै लगानी गरेको छ र भाषा तथा सामाजिक एकीकरण (inburgering) नीतिलाई कडा पार्दै लगिएको छ । नयाँ आप्रवासी र पुराना बेरोजगार आप्रवासीहरूलाई डच भाषा र सामाजिक एकीकरण (inburgering)को पाठ्यक्रम अनुशरण गर्न अनिवार्य गर्ने नीति कार्यान्वयन भएमा फ्लान्दर्समा रैथाने र आप्रवासीबीच विभेदको अन्त्य हुने सोचिएको छ । आप्रवासी एकीकरण र भाषा आत्मसातको यो नीतिलाई यहाँका फ्लेमिश राष्ट्रवादीहरूले अत्यान्त कडाइपूर्वक लागु गर्न जोड दिएका छन् भने अन्य धर्म तथा सांस्कृतिक पहिचानको सवालमा वर्तमान राजनैतिक नेतृत्ववर्ग कडा रूपमा प्रस्तुत हुने गरेको छ ।

अल्पसंख्यक धर्महरूको लागि नीतिहरू (Policies for Minority Religions):

बेल्जियमको सन्दर्भमा अल्पसंख्यक धर्मलाई सम्बोधन गर्ने नीतिगत अधिकार राज्य र क्षेत्रीय तहमा विभाजन गरिएको छ । सङ्घीय राज्यले सार्वजनिक रूपमा अल्पसंख्यकहरूका धर्महरूलाई मान्यता दिन्छ, तिनीहरूलाई अनुदान दिन्छ र पुजारी वा पादरीहरूको तलब तिर्छ । बेल्जियमको केन्द्रिय सरकारद्वारा सन् २००२ देखि, स्थानीय पूजा स्थल (स्थानीय चर्च, मन्दिर, मस्जिद, आदि) को मान्यतालाई क्षेत्रियकरण गरिएको छ ।

क्याथोलिक चर्चबाहेक, बेल्जियमको निर्माण भएको पहिलो दशकहरूमा अन्य धर्महरूलाई मान्यता दिँदै संस्थागत गरिएको थियो । उदाहरणको लागि सन् १८३२ मा यहूदी धर्म, १८७० मा प्रोटेस्टेन्टवाद र एङ्ग्लिकनवादले बेल्जियममा कानुनी मान्यता पाए । यसबाहेक, सन् १९७४ मा इस्लाम (मोरक्कन र टर्की अध्यागमन) र सन् १९८५ मा अर्थोडक्स ईसाइ धर्म (रूसी र ग्रीक आप्रवासन) थपिए । अन्ततः सन् १९९३ मा जनसंख्या गणना गर्दा धार्मिक अलगाववादीहरूको समेत पहिचान गर्ने नीति बन्यो । पछिल्लो पटक अर्थात सन् २००८ मा बेल्जियमको सरकारले हिन्दु, जैन र बुद्ध धर्मलाई समेत कानुनी मान्यता दिइसकेको छ ।

स्थानीय पूजा स्थलहरूको क्षेत्रीय मान्यता (Regional recognition of local places of worship) :

बेल्जियमको केन्द्रिय सरकारद्वारा सन् २००२ मा स्थानीय पूजास्थलहरूको मान्यतासम्बन्धी नीति-निर्माण गर्ने अधिकारलाई क्षेत्रीयकरण गरिएको थियो । फ्लामिस क्षेत्र पुजास्थलहरूको नीतिनियम अनुमोदन गराउने पहिलो सङ्घीय सरकार मानिन्छ । फ्लांदरको सामाजिक एकीकरण नीतिलाई साँस्कृतिक अन्तरघुलनको एक कारण मानिए पनि धार्मिक पूजा प्रक्रियाबारे नीति निर्माणमा समेत यस नीतिले प्रेरित गरेको देखिन्छ ।

मुस्लिम धर्म बढी कट्टरपन्थीहरूको प्रयोग स्थल नबनोस् भनेर बेल्जियमको सरकारले पूजास्थलको मान्यता प्राप्त गर्नको लागि मस्जिदहरूले धेरै लिखित कागजातहरू पेश गर्नुपर्दछ । मुस्लिम धर्मावलम्बीहरूले उनीहरूको सबै सम्पर्कहरूमा डच भाषाको प्रयोगलाई सम्मान गर्ने आफ्नो प्रतिबद्धता व्यक्त नगरेसम्म पूजास्थलको स्वीकृति मिल्दैन । मुस्लिमहरूले संविधान, मौलिक अधिकारहरू (तिनीहरू बीच व्यक्तिगत स्वतन्त्रता) को सम्मान गर्ने र अन्तमा, सम्भावित आतङ्कवादी गतिविधिहरूमा संलग्न नहुने आफ्नो मनसाय पनि लिखित संकल्पसहित सम्बन्धित निकायलाई बुझाउनुपर्छ । यो नीति प्रस्ताव र अनुमोदन गर्ने तात्कालिक आन्तरिक मामिला हेर्ने क्षेत्रियमन्त्री मारिनो केउलेनको उद्देश्य स्पष्ट रूपमा मस्जिदहरूलाई कुनै पनि चरमपन्थी गतिविधि नहोस् भन्ने नै थियो ।

फ्लांदरमा पूजास्थलको कानुनी मान्यता प्राप्त गर्न र त्यसपछि आर्थिक सहयोग गर्न चाहने प्रत्येक प्रस्तावित मस्जिदले माथिका सिद्धान्तहरू र स्थानीय सार्वजनिक अधिकारीहरूसँगको आफ्नो सम्बन्धलाई व्यवस्थित गर्ने तरिकामा समेत आफ्नो प्रतिबद्धता प्रमाणित गर्न आवश्यक छ । यस्तो कडा कानुनी ब्यवस्था बेल्जियमको फ्रान्सेलीभाषी क्षेत्रमा छैन ।

अल्पसंख्यक धार्मिक बिदाबारे (About minority religious holidays) :

अल्पसंख्यक धर्महरूप्रति फ्लेमिश नीतिले यो क्षेत्रमा विकसित हुँदै गरेको बहुसांस्कृतिक परिदृश्यलाई देखाउँछ । धार्मिक शिक्षा पछ्याउने फ्लेमिस पब्लिक स्कूलहरूमा विद्यार्थीहरूलाई उनीहरूको मुख्य धार्मिक चाडको सम्मान गर्दै पर्वको दिन विशेष बिदा दिइन्छ । यो अवसर बेल्जियमको फ्रान्सेलीभाषी क्षेत्रमा छैन । फ्रान्कोफोन सार्वजनिक शिक्षा प्रणालीले सैद्धान्तिक रूपमा, अल्पसंख्यक धर्मका विद्यार्थी वा शिक्षकहरूलाई छुट्टी दिन अस्वीकार गर्दछ । जसको कारण हो, विद्यालयमा ‘धार्मिक तटस्थतासम्बन्धी नीति तथा निरपेक्षतावादी मनोविज्ञान । प्राय: फ्रान्सभाषीहरू धर्मलाई राज्य र शिक्षा प्रणालीबाट अलग राख्नुपर्ने मत राख्छन् ।

सार्वजनिक क्षेत्रहरूमा हेडकार्फ (बुर्का)सम्बन्धी विवादबारे (Controversy over headcarf (burqa) in public areas) :

बेल्जियमको सार्वजनिक क्षेत्रमा इस्लामको प्रतिक चिन्ह बुर्का एक राजनीतिक र अत्यधिक विवादास्पद मुद्दा हो । धार्मिक चिह्नहरूको बारेमा हालैका विवादहरू विशेष रूपमा मुस्लिम महिलाहरूले सार्वजनिक क्षेत्रमा बाँध्ने हेडकार्फसँग सम्बन्धित छन् । हेडकार्फको विषयमा फ्ल्यान्डर्स र फ्रान्कोफोन बेल्जियममा क्षेत्रीय प्रतिक्रियाहरू अपेक्षाकृत समान रहेको देखिन्छ ।

पहिला-पहिला हेडकार्फ वा बुर्काको विषयलाई धार्मिक स्वतन्त्रताको विषय मानिए पनि सन् २००८ पछि सार्वजनिक क्षेत्रमा बुर्का लगाउन नपाइने भनि सामान्य क्षेत्रिय प्रतिबन्धको बहस उठ्यो । अहिले फ्ल्यान्डर्समा, फ्लेमिस समुदायद्वारा सञ्चालित सार्वजनिक विद्यालयहरूमा धार्मिक चिह्नहरू प्रतिबन्धित गरिएको छ । फ्रान्कोफोन बेल्जियममा, सेप्टेम्बर २००९ देखि सार्वजनिक विद्यालयहरूमा मुस्लिम महिलाले बाँध्ने टाउकोको स्कार्फबारेमा बहस चर्कियो र मुभमेन्ट रिफर्मेचर (एमआर)का अध्यक्ष डिडियर रेन्डर्सले स्कुलमा विद्यार्थीहरूलाई बुर्का वा हेडकार्फ लगाउन प्रतिबन्धको घोषणा गरे पनि त्यसले कानुनी मान्यता प्राप्त गर्न सकेन । अन्ततः मार्च २०१४ मा, फ्रान्सभाषी क्षेत्रको संसद्ले जनतासँग सम्पर्कमा हुँदा सरकारी कार्यालय र प्रशासनमा काम गर्ने मानिसहरूलाई धार्मिक चिह्नहरू (मुख्य रूपमा हेडकार्फ र बुर्का) माथि प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान गऱ्यो ।

सन् २००७ देखि ब्रसेल्स क्षेत्रीय प्रशासनमा पनि त्यहि प्रकारको सामान्य प्रतिबन्ध लागू भएको छ । फ्लेमिश प्रशासनमा, यस्तो कुनै नियम (अहिलेसम्म) जारी गरिएको छैन । निर्णय गर्ने कार्य विभिन्न फ्लेमिश मन्त्रालयहरू अन्तरगतका प्रसासनिक एकाइलाई छोडिएको छ । यही मुद्धालाई अहिले बेल्जियमका कट्टरपन्थी भ्लाम्स बेलांग, एनभिआलगायतले उचालिरहेका छन् । एउटा महत्त्वपूर्ण कुरा, फ्लेमिश रोजगार एजेन्सी VDAB (Vlaamse Dienst voor Arbeidsbemiddeling) ले आफ्नो श्रम मापदण्डमा ‘समावेशी तटस्थता’को सिद्धान्त अभ्यास गरेको छ ।

रोजगार एजेन्सी(VDAB)ले व्यावसायिक प्रशिक्षणमा सहभागीहरूका लागि विशेष हेडकार्फ पनि विकास गरेको छ । उक्त एजेन्सीले घरबाट ल्याइएको हेडस्कार्फ लगाएर काम तथा तालिम को लागि प्रायोग गर्ने अनुमति दिँदैन । तर ब्रसेल्स क्षेत्रीय रोजगार एजेन्सी तथा ब्रसेल्स क्षेत्रीय सरकारले सम्पूर्ण क्षेत्रिय प्रशासनको लागि नियम जारी गर्दै आफ्ना कर्मचारीहरूको लागि धार्मिक सङ्केतहरूमा प्रतिबन्ध लगाएको छ ।

अगाडि नै भनिसकियो कि बेल्जियममा सन् १९७० देखि नै सांस्कृतिक नीतिहरू सङ्घीय क्षेत्रहरू (जस्तै, फ्लेमिश, फ्रेन्च र जर्मनभाषी समुदायहरू) लाई हस्तान्तरण गरिएको हो । तर यी नीतिहरू लागु गर्ने शिलशिलामा क्रमशः फरक परिणाम आउन थाल्यो । अध्यागमनको परिणामस्वरूप सांस्कृतिक विविधताका नीतिहरूमा फ्ल्यान्डर्सको अध्यागमनले विशेष दृष्टि दियो । तर सांस्कृतिक विविधताप्रति समान दृष्टिकोण नअपनाएको कारण फ्रान्कोफोन बेल्जियम सांस्कृतिक पहिचानको संरक्षणमा पछि परेको देखिन्छ ।

फ्लान्दर्समा, सांस्कृतिक पहिचानको संरक्षणसम्बन्धी नीतिले सांस्कृतिक विविधताको संरक्षणका लागि उल्यख्य भूमिका खेलेको छ । यस प्रक्रियालाई फ्ल्यान्डर्समा अन्तरसांस्कृतिकीकरण भनिन्छ र यसलाई सांस्कृतिक मूल प्रवाहको नीतिसँग जोड्ने लक्ष्य निर्धारण गरिएको छ । यस अन्तरसांस्कृतिकीकरण प्रक्रियाको लक्ष्य भनेको मूलधारका संस्था र सेवाहरूमा आप्रवासी मूल समूहहरूको समान पहुँच सुनिश्चित गर्नु हो । यस पहुँचको ग्यारेन्टी गर्नको लागि, आप्रवासीहरूले प्रस्ताव गर्ने र अभ्यास गर्ने कुराहरू अनुकूलन गर्न र उत्प्रेरित गर्नको लागि सन् २००६ मा कार्ययोजना अन्तर-सांस्कृतिककरण (Actieplan Interculturaliseren) अध्यादेश पेश भयो । यस अध्यादेशमा, फ्लामिस सांस्कृतिक संस्थाहरूले समुदायका संस्कृतिहरू संरक्षणको लागि आर्थिक सहयोगको माग गर्ने, सार्वजनिक र सांस्कृतिक विविधता प्रवर्द्धन गर्नको लागि रणनीति तय गर्ने लगायत समावेश गरिएको छ ।

बेल्जियमको संविधानले के लक्ष्य राखेको देखिन्छ भने बेल्जियममा भएका सबै सम्प्रदाय र संस्कृतिहरू लगातार एकआपसमा अन्तरघुलन हुँदै जान्छन् । अर्थात् प्रत्येक समूह एकअर्कामा पग्लन्छ, त्यसले क्रमशः नयाँ सार्वजनिक संस्कृति सिर्जना गर्दछ । यो ‘सामाजिक एकीकरण उद्देश्य’को लागि, पिछडिएको वर्गका लागि, सबैको समान सांस्कृतिक पहुँचको लागि ‘संस्कृति’ शीर्षकमा छुट्ट्याइएको बजेटको ३५ प्रतिशत लगानी गरिन्छ ।

निष्कर्षमा भन्नुपर्दा (In conclusion)

अल्पसंख्यक भाषा, धर्म र संस्कृति तथा कलासम्बन्धी नीतिहरूबीचको भिन्नतालाई वर्गीकरण गरेर हेर्दा, बेल्जियमको साँस्कृतिक मञ्च अनेकौँ असजिला घुम्तीहरू पार गर्दै विश्वभरिको सांस्कृतिक सभ्यताको रङ्गीन पोखरी बन्ने क्रममा रहेको छ । तर पनि यहाँ जुन ‘सांस्कृतिक अन्तरघुलनको पग्लिने भाँडो’सम्बन्धी अवधारणा छ, त्यसमा अल्पसंख्यकका सांस्कृतिक पहिचानका विशिष्ट अवशेष बचाउन सम्बन्धित निकायहरूसँग समन्वय गरेर अघि बढ्नुको विकल्प हामीसँग छैन । अल्पसंख्यक संस्कृतिहरूप्रति फ्रान्कोफोन (वालोनिया) नीतिहरू मुख्य रूपमा अमुर्त छन् । उनीहरूको सोच नयाँ संस्कृति निर्माणमा हैन सांस्कृतिक पहिचानको पूर्ण विलोपिकरणतर्फ उन्मुख छ । तर नयाँ संस्कृति निर्माणको लक्ष्य हुँदाहुँदै पनि फ्लांदरतर्फ भेदकारी सङ्कीर्ण सोचको मारमा परेर हाम्रा सांस्कृतिक मुद्दाहरू मिचिने, नासिने र मेटिने खतराहरू बढ्दै गएको देखिन्छ । त्यति हुँदाहुँदै पनि यहाँको समुदायबीच अल्पसंख्यक संस्कृतिहरूको कानुनी मान्यताले पहिचान संरक्षणवादीहरूलाई निराश नै बनाउने अवस्था छैन ।

आजसम्म, आप्रवासी नीति अनुसन्धानको एक महत्वपूर्ण अध्ययनले अध्यागमनको राजनीतिकरण र प्रतिबन्धित आप्रवासी नागरिक अधिकारहरूबीचको अन्तरसम्बन्धलाई जोड दिएको छ ।

अर्कोतर्फ, अध्यागमनको राजनीतिकरणले बेल्जियमको सांस्कृतिक विविधतामा नीति र ब्यवहारबीचको विरोधाभास देखिन्छ, अर्थात् यस क्षेत्रमा अल्पसंख्यक अधिकारहरूको अस्तित्वमाथि चरम दक्षिणपन्थी आप्रवासीविरोधी पार्टीहरूद्वारा आक्रमण हुने खतरा बढेर गएको छ । त्यस्तै वालोनियातर्फ धेरै धर्मनिरपेक्षवादी दृष्टिकोणको कारण संसारभरिका सांस्कृतिक सभ्यताको यो बगैंचा उपेक्षामा पर्ने खतरा पनि छ । वैज्ञानिक सांस्कृतिक मार्ग निर्माणतर्फ जोड दिएर यो लेखले नेपाली आप्रवासीको छुट्टै दर्शन र सभ्यताको आगमनप्रति सबै आप्रवासीलाई आशावादी बनाउने छ । त्यसको लागि आप्रवासीको आफ्नै पहल निर्णायक हुनु जरुरी छ । अल्पसंख्यकहरूको आन्तरिक पहलमा मातृभाषाको सिकाई, सांस्कृतिक गतिविधिहरूको निरन्तरता र आस्थाहरूको पुस्ता हस्तान्तरणको चासो आदि पर्दछन् । आखिर अहिलेको आधुनिक सभ्यता र सांस्कृतिक उन्नयन सबै सभ्यता र संस्कृतिक अनुभवको लामो शृंखलाबाट मात्र सम्भव भएको हो ।