टिकट वितरणमा जातीय मोह दर्शाएको आरोप

टिकट वितरणमा जातीय मोह दर्शाएको आरोप


पार्टीभित्र उत्पन्न विवादका कारण नेपाली कांग्रेसको आफ्नै मत विभाजित हुँदै

  • हेमशंकर सिंह, राजविराज

जिल्ला समन्यव समिति सप्तरीको प्रमुख पदका लागि नेपाली कांग्रेसबाट दुई जनाले उम्मेदवारी दर्ता गराए पनि आधिकारिक उम्मेदवारको रुपमा शिवनाराण साह कायम भएका छन् ।

कांग्रेसबाट शिवनारायण साह र गु्नेश्वर प्रसाद सन्तको उम्मेदवारी दर्ता भए पनि पार्टीको आधिकारिक उम्मेदवार शिवनाराण साहलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले मान्यता दिएपछि गुनेश्वर प्रसाद संतको उम्मेदवारी खारिज भएको छ ।

जनता समाजवादी पार्टीका उम्मेदवार छेदी अरगरिया यादव र नेपाली कांग्रेसका शिवनारायण साह चुनावी मैदानमा उत्रिएका छन् । यी दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । जसपालाई भने नेकपा एमालेको सर्मथन रहेको छ ।

जसपासँग दुइ मेयर एक गापा अध्यक्ष र तीन उपमेयर र दुइ गापा अध्यक्षसहित आठ मत र सहयोगी नेकपा एमालेसंग एक मेयर, दुइ गापा अध्यक्ष र एक उपमेयरसहित चार मत रहेको छ ।

यता नेपाली काग्रेससंग तीन मेयर, दुई गापा अध्यक्ष, तीन उपमेयर र चार उपाध्यक्षसहित १२ मत रहेको छ । यसैगरी नेपाली काग्रेसको सहयोगी लोसपासंग तिन गापा अध्यक्ष र दुई उपाध्यक्षसहित पाँच मत रहेको छ भने जनमत पार्टीसँग एक मेयर एक गापा अध्यक्ष र एक उपाध्यक्षसहित तीन मत र नेकपा एससँग एक मेयर र एक उपमेयरसहित दुइ मत र नेकपा माओवादीसँग एक मेयर र एक उपाध्यक्षसहित दुइ मत रहेको छ ।

गठबन्धनको आधारमा नेपाली काग्रेस बलियो अवस्थामा रहे पनि जिसस प्रमुखको टिकट वितरणको विषयलाई लिएर पार्टीभित्र उतपन्न विवादका कारण नेपाली काग्रेसको आफ्नै मत बिभाजित हुने संकेतहरु देखापरेको छ ।

बिगतमा दिनेश यादवले नेपाली कांग्रेस सप्तरीको नेतृत्व गरिरहेका बेला यादवमुखी भइ पार्टी संगठनलाई हाक्ने गरेको आरोप इतर पक्षबाट लाग्ने गर्द थियो । इतर पक्षबाट जिल्ला सभापतिमा निर्वाचित रामदेव साहले जातीय मोहमा परेर स्थानीय तहको निर्वाचनको मनोनयन दाखिलाको दिन कांग्रेस प्रवेश गरी राजविराज नगरपालिकाको ७ बाट वडा सदस्यमा निर्वाचित भएका साहलाई उम्मेदबार बनाएको आरोप कांग्रेसकै नेता कार्यकर्ताहरुले लगाएका छन् । किराना ब्यबसायी साह राजनीतिक ब्यक्ति नरहेको आरोप कांग्रेसजनको छ ।