१५ असार २०७९, बुधबार

मन्त्री झाँक्री झर्किंदा माधव नेपालको निवासमा स्थिति असामान्य !

  प्रकाशित मिति
९ असार २०७९, बिहीबार ०६:१९


अध्यक्षले सहयोग माग्दा मन्त्रीहरुको असहमति

मन्त्रिमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई उनको पार्टीका दुई मन्त्रीले असहमति जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल हेरफेर गर्न दबाब दिएर साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति प्रकट गरेका हुन् ।

कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिइसकेको छ, तपाईंहरुले सहयोग गर्नुहोस्’ भन्ने प्रस्ताव गरेलगत्तै शहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाएकी थिइन् ।

‘हामीलाई किन हटाउनु पऱ्यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भइरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भइरहेका छन,’ नेपालसमक्ष मन्त्री झाँक्रीले आक्रोशपूर्ण ढंगमा झर्किँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनुहुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य हुनुभयो ।’

झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो ।

कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपाल र मन्त्री झाक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएका एक प्रत्यक्षदर्शीले बताए ।

उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनुपर्ने शर्त राखेका थिए । ‘एकजना महिला पनि सिफारिस भएका छैनन्, भुगोलअनुसार मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रिमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?’ आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेका थिए ।

स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनुपर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्विकार गरेका थिए ।

प्राप्त जानकारीअनुसार स्वास्थ्यमन्त्री खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए । ‘मन्त्रिमण्डल हेरफेर गर्ने निष्कर्षमा पुग्नु नै भएको हो भने दुईवटा विषय लागू गरिदिनुहोस्, पहिलो– राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म कुर्नुहोस्, दोस्रो– स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रिमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुहोस्’, मन्त्रीद्वयले प्रस्ताव गरेका थिए ।

कोटेश्वरमा उपस्थित मन्त्रीहरुले मुख्यतः दुई वटा शर्त राखेपछि अध्यक्ष नेपालले सो विषयमा बैठकमा छलफल गर्ने जनाए । ‘तपाईंहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यहीअनुसार जाउँला । तर, तपाईंहरू सहज तरिकाले ढोका खोलिदिनुहोस्’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार दुई वटा शर्तमा अध्यक्ष नेपालले पुनर्विचार गर्ने जनाएपछि कोटेश्वरको माहौल नरम हुन पुगेको थियो ।


1.323k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पिर्केसलामी ग्रहणदेखि विवादास्पद विभिन्न सन्दर्भले उनको गरिमा लगातार गिर्दो अवस्थामै थियो । त्यसमाथि मन्त्री पद टिकाउन गरेका अशोभनीय क्रियाकलाप तथा

डाँडाकाँडाको जमिन र कुनाकाप्चाको २-४ आना जग्गा-घर देखाओटी रूपमा दान दिइएको होला तर ठूलाठूला भ्रष्टाचारबाट प्राप्त नगदी गोप्य रूपमा राखिएको

तीन न्यायाधीश र दुई न्यायाधीशको फरक राय रासस सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विवादमा बुधबार राय बाझिएको पूर्णपाठ सार्वजनिक

सांसदद्वय विमला बिक र विमला विश्वकर्माले श्रीमान् १० वर्षसम्म निरन्तर सम्पर्कविहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका