यौन उत्पीडनका आरोपी हाकिम फरार !

यौन उत्पीडनका आरोपी हाकिम फरार !


देखिए अमेरिकामा जन्मदिन मनाउँदै

काठमाडौंकी रश्मी क्षेत्री (नाम परिवर्तन)ले न्यायका निम्ति कानूनी उपचारमा जाने तयारी गरेको सुइँको पाएपछि विकल पौडेल नेपालबाट भागेर अमेरिका पुगेका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी प्रमुखमा दोस्रो कार्यकालका लागि नियुक्त विकल पौडेलबाट यौन उत्पीडन, जालसाजी, ठगी र भ्रुणहत्या गराउने जस्तो जघन्य अपराध भएको भन्दै रश्मीले विकल पौडेलविरुद्ध न्यायालयको शरणमा जाने अन्तिम तयारी गरेको जानकारी पाएपछि पौडेल अमेरिकातर्फ लागेको बुझिएको छ ।

अमेरिकाको समेत नागरिक रहेका विकलको घर र परिवार अमेरिकामै रहेको छ । नेपालमा पनि मण्डिखाटारमा घर भएका पौडेलको बाबु-आमा भने नेपालमै रहँदै आएका छन् ।

अमेरिकाको न्यूयोर्कमा एक अपार्टमेण्ट र एउटा घर पत्नी (डा. लीना बस्नेत) को नाममा राखिएको र, विकलले सोही घरमा पुगेर आफ्नो जन्मदिवस मनाएका छन् । ओम्नी काण्ड, इम्बोस्ड नम्बर प्रकरण, पासपोर्ट छपाइ र सिक्योरिटी प्रेस खरिदलगायत ठूलो कमिसनसँग जोडिएका हरेक परियोजनामा विकलको नाम अग्रपङ्क्तिमा आउने गरेको छ । सूचना प्रविधि केन्द्रमा यसअघि प्रमुख रहँदा ब्यापक भ्रष्टाचार गरेको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोमा तत्कालिक अख्तियारप्रमुख दीप बस्नेतलाई दीपक नामक एक व्यक्तिमार्फत ‘दुई करोड रुपैयाँ बुझाएर’ विकलले उन्मूक्ति पाएको तथ्य घटना र विचारले यसअघि नै खुलासा गरिसकेको छ ।

इम्बोस्ड नम्बर र सिक्योरिटी प्रेस खरिद ‘प्रोजेक्ट’मा कमिसनबापत निकै ठूलो रकम प्राप्त हुने हुनाले विकल पौडेललाई सूचना तथा प्रविधि केन्द्रमा पुनः कार्यकारी प्रमुख बनाएको बताइन्छ । यतिबेला विकलको सर्वाधिक निकटका व्यक्तिहरूमा प्रधानमन्त्रीपुत्र जयवीर सिंह देउवा, सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललगायत रहेको र, यो टोलीलाई संरक्षण दिने काम आरजु राणाले गरिरहेको बुझिन्छ । ज्ञातव्य छ, रश्मी क्षेत्रीमा रहेको सात महिनाको भ्रुण हत्या गराउन बालाजुस्थित विनायक अस्पतालमा पुऱ्याउने कार्यको व्यवस्थापन सुनिलले गरेका थिए । भ्रुण हत्यामा सहयोग गरिदिन विकलले पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेकसँग आग्रह गरेका थिए । कल्याणपुत्रले असमर्थता जनाएपछि उक्त कार्यको व्यवस्थापन सुनिलबाट भएको सूत्रहरूले जनाएका छन् ।

अमेरिकाको समेत नागरिक भएकोले विकल नेपाल आउनेवित्तिकै उनका विरुद्ध अदालतमा जाहेरी दिने तयारी भइरहेको रश्मीले बताएकी छन् । विकल र आरजु राणाबीचको घनिष्टता बुझ्नेहरूले रश्मी-प्रकरणबाट विकललाई बचाउन आरजुले सबै प्रयास गर्न सक्ने ठानेका छन् । त्यसैले कतिपयले रश्मीलाई अदालतबाट न्याय मिल्न मुस्किल हुने आशङ्का गरेका छन् ।

यसैबीच प्राप्त एक जानकारीअनुसार विकलले रश्मीसँग कुरा गर्न एक खास व्यक्तिलाई प्रयोग गरेका छन् । क्षतिपूर्तिवापत केही रकम उपलब्ध गराएर यस प्रकरणबाट उन्मूक्ति खोज्ने प्रयत्न विकलले गरिरहेका छन् । तर रश्मी आफ्नो बर्बादीको क्षतिपूर्ति नगदबाट हुन नसक्ने बताउँछिन् । घटना र विचारसँग कुरा गर्दै रश्मीले भनिन्- ‘मैले ब्यहोरेकी पीडाको क्षतिपूर्ति नगदबाट हुन सक्दैन । त्यसैले उसले कानूनी दण्ड पाएपछि मात्र समस्याको निरुपण हुने म ठान्दछु । विकल जस्ता आपराधिक प्रवृत्तिलाई निरुत्साहित गराउन र अन्य महिलालाई बचाउन पनि उसले कडाभन्दा कडा सजाय पाउनुपर्छ भन्ने मेरो धारणा छ ।’

‘विकल पौडेल अब नेपाल फर्किएनन् भने के गर्नुहुन्छ’ भन्ने जिज्ञाशाको जवाफ दिँदै रश्मीले भनिन्- ‘कदाचित उ फर्किएन भने के गर्नुपर्छ भन्ने मैले सोचिसकेकी छु, अहिले सार्वजनिक गर्न चाहन्नँ । मैले मेरा निम्ति मात्र लडेकी होइन, मजस्तै पीडित सबै नारीहरूको न्यायका निम्ति लड्ने अठोट गरेकी हुँ । विकल जस्ता हरियो सर्पहरूलाई पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउनु हामी सबैको कर्तव्य हो । न्यायको निम्ति शुरु भएको यो लडाइँमा म विजयी बन्ने र अपराधीले दण्ड सजाय भोग्ने पूरै विश्वास मैले लिएकी छु ।’