सम्पादक बस्नेत पुरस्कृत

सम्पादक बस्नेत पुरस्कृत


नेपाल पत्रकार महासंघ कास्कीद्वारा प्रदान गरिने प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता पुरस्कारबाट घटना र विचारकी सम्पादक बबिता बस्नेत पुरस्कृत हुनुभएको छ ।

पुरस्कार स्व. पालिखेकी श्रीमती उत्तरकुमारी पालिखे र छोराहरू विनोदशंकर, विश्वशंकर र विकासशंकर पालिखेले स्थापना गर्नुभएको उक्त पुरस्कार पोखरामा आयोजित एक समारोहका बीच संचार प्रविधि तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले प्रेस स्वतन्त्रताको पक्षमा आफू र सरकार अडिग रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रेस स्वतन्त्रतालाई संकुचनमा पार्ने कुनै पनि कानून सरकारले ल्याउँदैन ।’

पुरस्कृत ब्यक्तित्व बबिता बस्नेतले प्रजातन्त्र र मिडियाको अन्योन्याश्रित सम्बन्ध हुने बताउँदै प्रजातन्त्र सेनानीको नाममा स्थापना भएको पुरस्कार र सम्मानले आफूलाई थप सशक्त भएर अघि बढ्न हौसला प्रदान गरेको धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्व. दयाशंकर पालिखेका छोरा उद्योग बाणिज्य महासंघ कास्कीका पूर्वअध्यक्ष विश्वशंकर पालिखे, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोला लगायतले मन्तब्य दिनुभएको थियो ।

पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ ।