नेपाली राजनीतिका केही अदृष्य पक्ष

नेपाली राजनीतिका केही अदृष्य पक्ष


आफू मारिनुभन्दा तीन महिनाअगाडि नै मध्यरातमा अर्का एक जनालाई साक्षी राखेर कृष्णमोहन श्रेष्ठले खुमबहादुरसँग भनेका थिए- ‘हजूर र मेरो हत्या हुँदैछ, माओवादीकै नाममा हाम्रो हत्या हुन सक्छ, तर मार्ने योजनाचाहिँ राज्यसंयन्त्रकै उच्च तहमा बनेको सूचना मलाई प्राप्त भएको छ । यस्तो सूचना आएपछि म धेरै सचेत भएको छु र पन्ध्र हजार फौजभित्रको सबैभन्दा ‘सार्प सुटर’लाई मैले आफ्नो अङ्गरक्षक बनाएको छु र, म आफैं पनि ‘सार्प सुटर’ हुँ ।
  • देवप्रकाश त्रिपाठी

राजा महेन्द्र कमजोरीविहीन व्यक्तित्व होइनन् र, संसारमा कमजोरीबिनाका मानिस खोजेर भेटिन मुस्किल पर्छ । व्यक्तिका शारीरिक र मानसिक सीमा हुन्छन्, सोही सीमालाई कमजोरी ठानेर कसैका बारेमा निष्कर्श निकाल्नु उपयुक्त होइन । व्यक्तिगत जीवन बाँच्ने मानिसलाई उसले आफ्नो पारिवारिक तथा सामाजिक दायित्व पूरा गरेको छ या छैन भन्ने आधारमा उ सफल या असल भएको या नभएको ठहर गर्न सकिन्छ । तर राष्ट्रिय जिम्मेवारी प्राप्त व्यक्तिको मूल्याङ्कन उसले राष्ट्रको जीवनमा पुऱ्याएको योगदानका आधारमा हुन्छ, गरिनुपर्छ ।

राजा महेन्द्रलाई प्रजातान्त्रिक भाव-भूमिमा उभिएर हेर्दा उनको जस्तो तस्बिर देखापर्छ राष्ट्रियतालाई प्रधान मानेर महेन्द्रको मूल्याङ्कन गर्दा उनको बेग्लै छवि देखिन्छ । महेन्द्र आफ्नो राजनीतिक अभीष्ट र राष्ट्रिय हितका विषयमा सुस्पष्ट थिए । राजतन्त्र स्वीकार गर्ने त्यसबेलाको काङ्ग्रेसभन्दा गणतन्त्रको वकालत गर्ने कम्युनिष्टहरूसँग उनले मित्रवत सम्बन्ध बनाउनुको अर्थ खोजियो भने राजा महेन्द्रको राजनीति, रणनीति र कार्यनीतिबारे स्पष्ट हुन सकिन्छ । उनले २०१७ सालमा विधिवत निर्वाचित सरकारलाई विस्थापित गरिदिँदा कम्युनिष्टहरूले दीपावलीसहित स्वागत गरे र, त्यसपछिका दिनमा पनि कम्युनिष्टप्रति राजा महेन्द्रको ‘उदारता’ कायम रह्यो ।

त्यसबेला मूल राजनीतिक शक्तिको रूपमा रहेको काङ्ग्रेसलाई विस्थापित नगरेसम्म राजाको अभीष्ट पूरा हुन सम्भव थिएन र, कम्युनिष्टको मार्गमा पनि मुख्य अवरोध काङ्ग्रेस नै बनेको थियो । त्यसैले मूल प्रतिद्वन्द्वीका विरुद्ध सहायक प्रतिद्वन्द्वीहरूबीच एकता र सहकार्यको स्थिति पैदा हुनु अस्वभाविक होइन, थिएन । तर राजा र कम्युनिष्टबीचको विशेष निकटताको अर्थ त्यति मात्र थिएन, एउटा क्रान्तिकारी शक्तिलाई कमजोर तुल्याउन अझै क्रान्तिकारिताको प्रयोग-उपयोग गर्नु उपयुक्त हुन्छ भन्ने बुझाइका आधारमा राजा महेन्द्रले कम्युनिष्टहरूसँगको निकटतालाई जानाजान महत्व दिएका थिए ।

वि.सं. २००६ देखि ०१७ सम्म सुषुप्त अवस्थामा रहेका कम्युनिष्टहरूको विस्तार पञ्चायतकालमै भएको हो । ०१७ सालमा केवल चार सदस्यीय संसदीय हैसियतमा रहेका कम्युनिष्टहरू पञ्चायती व्यवस्थाको विस्थापनलगत्तै भएको संसदीय निर्वाचन (वि.सं. २०४८) मा कुल २०५ मध्ये असी स्थानमा विजयी बन्न सफल भए । राजतन्त्रात्मक प्रणालीका अभेद्य नायक राजा र, राजतन्त्रको समूलनष्टिलाई आफ्नो मूल लक्ष्य बनाएका कम्युनिष्टबीच कुनै न कुनै स्तरको सहकार्य थियो भन्ने विश्वास आम चेतनास्तरका मानिसमा हुन सक्दैन, थिएन । वास्तवमा राजा महेन्द्रबाट काङ्ग्रेसको प्रभाव र पकड न्यून गराउन कम्युनिष्टलाई जानाजान उपयोग भएको थियो ।

राजा वीरेन्द्रले पनि धेरै हदसम्म राजा महेन्द्रको कार्यनीतिलाई पछ्याएका थिए । काङ्ग्रेसभन्दा कम्युनिष्ट नेताहरूसँग राजा वीरेन्द्रको निकटता थियो । २०४७ सालमा स्थापित बहुदलीय संसदीय प्रजातन्त्रप्रति राजा वीरेन्द्र सन्तुष्ट थिएनन् र, २०४७ कात्तिक २३ गते नयाँ संविधान जारी गर्ने क्रममा उनले कोटको कुनै खल्तीबाट एउटा कागजको टुक्रा निकालेर जसरी पढेका थिए, त्यसले प्रजातन्त्रप्रतिको उनको असन्तुष्टि झल्काएको थियो । निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरेर बहुदलीय संसदीय प्रजातन्त्र कार्यान्वयनमा ल्याउन पर्नुको पीडा राजा वीरेन्द्रमा उनको जीवनको अन्त्यसम्म नै झल्किइरह्यो । २०४८ मा सम्पन्न संसदीय निर्वाचनले माओवादी उर्फ जनमोर्चालाई नौ स्थानमा सीमित गरिदिएपछि प्रचण्ड-बाबुराम जस्ता अति महत्वाकाङ्क्षी व्यक्तिहरूमा निर्वाचनमार्फत सत्ता प्राप्त गर्न सकिने विश्वासको मृत्यु भयो । विचार-दर्शन र सिद्धान्तले उनीहरू प्रजातन्त्रविरोधी भए पनि संसद्मा सम्मानजनक उपस्थिति जनाउने मौका पाएको भए या निर्वाचनबाटै सरकारको नेतृत्व लिने अवसर प्राप्त हुने विश्वास उनीहरूमा कायम रहेको भए २०५२ सालमा प्रजातन्त्रविरुद्ध हिंसात्मक सङ्घर्ष शुरु हुन सम्भव थिएन । त्यसबेला संसदीय प्रजातन्त्रविरुद्ध शुरु भएको हिंसात्मक सङ्घर्षले राजा वीरेन्द्रलाई प्रशन्न तुल्याएको छँदै थिएन भनेर बुझियो भने त्यो गलत हुनेछ । प्रजातन्त्रविरुद्धको सङ्घर्षले राजा वीरेन्द्रलाई खुशी तुल्याएको थियो, माओवादीका नाममा भएको सङ्घर्षका कारण बहुदलीय व्यवस्था धराशायी भइ आफूमा शक्ति पुनर्बहाली हुने विश्वासमा राजा थिए । त्यसैले माओवादीविरुद्ध सेना परिचालन गर्न राजा वीरेन्द्र कहिल्यै तयार भएनन् ।

संसदीय प्रजातन्त्रविरुद्ध शुरु भएको हिंसात्मक सङ्घर्षले राजा वीरेन्द्रलाई प्रशन्न तुल्याएको छँदै थिएन भनेर बुझियो भने त्यो गलत हुनेछ । प्रजातन्त्रविरुद्धको सङ्घर्षले राजा वीरेन्द्रलाई खुशी तुल्याएको थियो, माओवादीका नाममा भएको सङ्घर्षका कारण बहुदलीय व्यवस्था धराशायी भइ आफूमा शक्ति पुनर्बहाली हुने विश्वासमा राजा थिए । त्यसैले माओवादीविरुद्ध सेना परिचालन गर्न राजा वीरेन्द्र कहिल्यै तयार भएनन् ।

सेना परिचालनमा राजा बाधक बनेको निष्कर्शसहित तत्कालिक सरकारले सशस्त्र प्रहरी बल स्थापना ग¥यो र, माओवादी हिंसाका विरुद्ध खटायो । तर सशस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठ राजधानीमै मारिए र, सशस्त्र बल गठनमा मूख्य भूमिका निर्वाह गर्ने तत्कालिक गृहमन्त्री खुमबहादुर खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा लगाएर उनलाई खोटो सिक्का बनाइयो । आफू मारिनुभन्दा तीन महिनाअगाडि नै मध्यरातमा अर्का एक जनालाई साक्षी राखेर कृष्णमोहन श्रेष्ठले खुमबहादुरसँग भनेका थिए- ‘हजूर र मेरो हत्या हुँदैछ, माओवादीकै नाममा हाम्रो हत्या हुन सक्छ, तर मार्ने योजनाचाहिँ राज्यसंयन्त्रकै उच्च तहमा बनेको सूचना मलाई प्राप्त भएको छ । यस्तो सूचना आएपछि म धेरै सचेत भएको छु र पन्ध्र हजार फौज (त्यसबेला सशस्त्र प्रहरीको सङ्ख्या करिब १५ हजार थियो) भित्रको सबैभन्दा ‘सार्प सुटर’लाई मैले आफ्नो अङ्गरक्षक बनाएको छु र, म आफैं पनि ‘सार्प सुटर’ हुँ । म त सूरक्षित रहन सकौँला, तर मन्त्रीजी (खुमबहादुर) को सूरक्षालाई लिएर मलाई चिन्ता भइरहेको छ, हजूर अलिक होशियार हुनुपऱ्यो ।’ यसरी खुमबहादुर खड्कालाई सम्वेदनशील सूचना दिँदै सचेत गराउने कृष्णमोहन श्रेष्ठ २०५९ माघ १२ गते ललितपुरस्थित चक्रपथमा मारिए । हत्याराहरू पक्राउ परेर पनि छुटे, यो समयमा उनीहरू सामान्य जीवन बिताउँदै छन् । कृष्णमोहनबाट आफ्नो हत्याको सूचना पाएको पर्सिपल्ट नै खुमबहादुर खड्का अनिश्चितकालिन बसाइका निम्ति नयाँदिल्ली प्रस्थान गरेका र, पछि उतैबाट कृष्णमोहनको आत्माको चीर शान्ति कामना गर्दै एक विज्ञप्ति जारी गरेका थिए ।

खुमबहादुर खड्का जीवित रहँदा उनी कृष्णमोहनको हत्या माओवादीका नाममा राज्यसंयन्त्रभित्रकै महत्वपूर्ण अङ्गको षड्यन्त्रमूलक आयोजनामा भएको कुरा आफ्नो विश्वासप्राप्त व्यक्तिहरूलाई बारम्बार बताउने गर्थे । बाह्रबूँदे सम्झौता हुनुअघिसम्म राजा ज्ञानेन्द्र पनि माओवादीलाई नागरिक तहको एक सशक्त राष्ट्रवादी शक्ति ठान्नुहुन्थ्यो । कुनै समय महेन्द्र र वीरेन्द्रबाट प्रयोग/उपयोग भइआएका कम्युनिष्टलाई राजा ज्ञानेन्द्रले आफ्नो हितैषी ठान्नु अस्वाभाविक थिएन । काङ्ग्रेस र एमालेविरुद्ध प्रयोग हुँदै आएका एकथरि ‘अति क्रान्तिकारी’हरू बाह्य शक्तिकेन्द्रबाट सञ्चालित र परिचालित भएको सुइँकोसम्म पनि राजा ज्ञानेन्द्रले पाउनुभएन । २०५८ को भाद्रमा मौसुफको दर्शनभेट पाउँदा उहाँले भन्नुभएको थियो- ‘देशमा काङ्ग्रेस-एमालेको भूमिका देखिएकै छ, नागरिक तहमा रहेको राष्ट्रवादी शक्ति भनेकै एउटा माओवादी हो, त्यो पनि नास भयो भने नेपाली राष्ट्रवाद कुन स्थितिमा पुग्ला !’

यस्तो चिन्ता थियो राजा ज्ञानेन्द्रको ! क्रान्तिकारिताको प्रयोग बाह्यशक्तिबाट भइरहेको थियो र अन्ततः आफैंले मित्र ठानेका क्रान्तिकारीहरू राजतन्त्र अन्त्यको ‘निमित्त’ कारण बने । राजनीतिको सतहमा जे देखिन्छ, त्यो सत्य नहुन सक्छ । हाम्रो जस्तो विपन्न मुलुकको राजनीति झन् यति विकारयुक्त देखिन्छ कि त्यहाँ कुनै पनि मूल्य र मान्यताले काम दिँदैन ।

राजतन्त्र कायम रहँदासम्म राज्य कमजोर नहुने र, राज्य कमजोर नभएसम्म आफूहरूको भूमिका विस्तार हुन नसक्ने निष्कर्शमा बाह्यशक्ति थिए । त्यसैले नेपालको अति क्रान्तिकारी आवरणको शक्तिलाई उपयोग-प्रयोग गर्दै राजतन्त्र विस्थापित गरियो, राजतन्त्र पुनर्बहाली हुन नसकोस् भनेर राजतन्त्रका आधार स्तम्भ भत्काइयो र, संविधान जारी गरेर ‘उपलब्धि’ संस्थागत तुल्याइयो । धर्मसापेक्षताको खारेजी, जातिवादी अवधारणाको कार्यान्वयन र सार्वभौमिकताको विभाजन राजसंस्था पुनर्वहालीको सम्भावनालाई स्थायी रूपले समाप्त गर्ने मूल उद्देश्यका साथ भएको हो ।

जुन अदृष्य शक्तिबाट नेपालमा शिखण्डीहरूमार्फत काम भइरहेको थियो, संविधान जारी भइ शेरबहादुर देउवाहरूको नेतृत्वमा अनुकुल सरकारहरूको गठन हुन थालेपछि उनीहरू साक्षात भूमिकामा प्रकट भएका छन् । पाँच सय मिलियन डलरको एमसीसी परियोजना विधिवत कार्यान्वयनमा ल्याउन कम्युनिष्टहरूको सहयोग प्राप्त गरेसँगै तिनका दृष्टिमा नेपालमा कम्युनिष्ट आन्दोलनको औचित्य समाप्त भएको छ । पूर्वप्रजातन्त्रवादी पार्टी नेपाली काङ्ग्रेस सम्पूर्ण रूपले आफ्नो काबुमा आइसकेको ठान्ने उक्त अदृष्य शक्तिको योजना नेपाललाई आफ्नो सैन्य साझेदारीभित्र राख्नु हो ।

धर्मसापेक्षता, गैह्रजातिवाद र एकीकृत सार्वभौमिकतासहितको राष्ट्रवादी एजेण्डा ग्रहण गर्ने शक्ति विकल्पको रूपमा प्रकट हुन नसकोस् भनेर नै अदृष्य शक्तिले बेलाबखत बिना राजनीतिक एजेण्डाका झिल्केहरू सतहमा ल्याइदिने गरेको छ । समस्या जरामा छ, तर उनीहरू पात फेरेर समाधान खोज्नुपर्छ भन्छन्, समस्या नीतिमै छ, तर उनीहरू नेता मात्र बदलेर समाधान हुने प्रचारमा जुटेका छन् ।

इण्डो प्यासिफिक रणनीतिको स्थायी साझेदार नेपाललाई बनाउने कानूनी र वैधानिक प्रक्रिया यतिबेला शुरु भइसकेका छन् । कम्युनिष्टको प्रभावबाट नेपाललाई मूक्त नगर्दासम्म आफूहरूको भूमिका निर्वाध हुन नसक्ने ठानेर हुन सक्छ अब उनीहरू कम्युनिष्ट उन्मूलनको रणनीतितर्फ उन्मूख भएको सङ्केतहरू देखिएका छन् । यद्यपि ‘त्यो’ अदृष्य शक्ति कम्युनिष्टलाई भन्दा राष्ट्रवादी तागतलाई आफ्नो बैरी ठान्छ । काङ्ग्रेस आफ्नै पपेट (खेलौना) बनिसकेको यस स्थितिमा वैकल्पिक शक्तिका रूपमा राष्ट्रवादी शक्तिको उदय त हुँदै नहोस्, कम्युनिष्टको पनि क्षयीकरण होस् भन्ने चाहनाका साथ योजनावद्ध गन्तव्यभेदनमा उनीहरू लागिपरेका छन् ।

धर्मसापेक्षता, गैह्रजातिवाद र एकीकृत सार्वभौमिकतासहितको राष्ट्रवादी एजेण्डा ग्रहण गर्ने शक्ति विकल्पको रूपमा प्रकट हुन नसकोस् भनेर नै अदृष्य शक्तिले बेलाबखत बिना राजनीतिक एजेण्डाका झिल्केहरू सतहमा ल्याइदिने गरेको छ । समस्या जरामा छ, तर उनीहरू पात फेरेर समाधान खोज्नुपर्छ भन्छन्, समस्या नीतिमै छ, तर उनीहरू नेता मात्र बदलेर समाधान हुने प्रचारमा जुटेका छन् । २०७४ को संसदीय निर्वाचनभन्दा केही अगाडि अदृष्य शक्तिले ‘नन पोलिटिकल’ केही सेलिब्रेटीहरूलाई एकत्रित गराएर त्यो नै वैकल्पिक शक्ति भएको झ्याली पिटायो । २०७२ मा जारी गराइएको संविधानलाई यथावत राखेर समृद्धिको ढोका खोल्ने भन्दै झ्याली पिटेर अगाडि सारिएको उक्त समूह टुटफुटबाट गुज्रँदै अन्ततः विसर्जनको अवस्थामा पुग्नुअगावै अदृष्य शक्ति ‘स्वतन्त्र’का नाममा बेग्लै सङ्गठित शक्तिको निर्माण गर्ने कसरतमा रहेको छ ।

सम्पन्न स्थानीय निर्वाचनमा विजयी सबै स्वतन्त्र उम्मेदवारहरूको पृष्ठभूमि एकै प्रकारको छैन, उनीहरूमध्ये सबै अदृष्य शक्तिबाट सञ्चालित र परिचालित छन् भन्ने पनि होइन । तर राष्ट्रवादी तथा देशभक्त शक्तिलाई काङ्ग्रेस-कम्युनिष्टको विकल्प बन्न नदिने, ‘स्वतन्त्र’ हरूलाई एउटै सूत्रमा बाँधेर सङ्गठित शक्ति निर्माण गर्ने र विद्यमान संविधानको हुबहु रक्षा गराउने प्रयास अब निर्णायक चरणमा पुगेको छ । संविधानका राष्ट्रविरोधी अन्तर्वस्तु यथावत राख्ने, तर पुरानाले सक्दैनन् हामी सक्छौँ मात्र भन्दै हिँड्नेहरू देखापर्न थालेपछि बुझ्नुपर्छ- यिनै रहेछन् अदृष्य शक्तिका खेताला भनेर ।

‘उनीहरूद्वारा’ सिर्जित र निर्मित वर्तमान संविधानलाई कतैबाट चुनौती छ भने त्यो राष्ट्रवादी र उदार कम्युनिष्ट कित्ताबाट छ । त्यसैले काङ्ग्रेस जो वर्तमान संविधानको सबैभन्दा पक्का हिमायती हो, यसको विकल्पमा पनि संविधानको हिमायतीहरू नै स्थापित हुन् भन्ने चाहना र योजना अदृष्य शक्तिको हो । समयमै सचेतनताको पर्दा खुलोस्, जय मातृभूमि !