सशस्त्र नेतृत्वमाथि उठ्यो औंला

सशस्त्र नेतृत्वमाथि उठ्यो औंला


सम्पादकज्यू,
देशमा लोकतन्त्र पुनर्बहाली भए पनि देश र जनताको सुरक्षाको जिम्मा पाएका उच्चपदस्थ व्यक्तिहरूबाटै आदिमकालमा समेत विरलै हुने बर्बरतापूर्ण घटना हुनु वास्तवमा सभ्य समाजका लागि लाजमर्दो कुरा हो । यो परिप्रेक्षमा यो घटनाबाट सशस्त्र प्रहरीको नेतृत्वमाथि नै प्रश्न उत्पन्न भएको छ । केही महिनायता सङ्गठनको साख गिराउने कार्यले यस सङ्गठनमा काम गर्ने हामी इमानदार कर्मचारी तपाईंको लोकप्रिय साप्ताहिकमार्फत केही गुनासा पोख्न चाहन्छौँ । डीआईजी रञ्जन कोइराला एउटा प्रतिनिधि पात्र मात्र हो । ओहोदामा बसेर पद र प्रतिष्ठाको दुरुपयोग गर्ने केही यस्ता प्रवृत्ति अद्यावधि सङ्गठनमा हावी छन् । यदाकदा त्यस्ता प्रवृत्ति ओहोदामा बसेर पद र प्रतिष्ठाको दुरुपयोग गर्दै देशका गन्यमान्य नेतालाई समेत छक्याउन सफल भएका घटना पनि सार्वजनिक नभएका होइनन्, हदैसम्मको कारबाही हुनुपर्ने व्यक्ति सामान्य नसियतमा छुटेका घटनाले त्यस्ता प्रवृत्ति सङ्गठनमा मौलाउँदै गएका हुन् । हालको सङ्गठनको नेतृत्वका कारण समग्र सशस्त्र प्रहरी बलको साख गिराउने र जनतामा सङ्गठनको छवि ध्वस्त पार्ने केही प्रतिनिधि घटना निम्न छन् :
१. वर्तमान आईजीको निर्देशनमा नेपालगञ्जमा आफ्नो निजी घर बनाउन सशस्त्र प्रहरीका बर्दिधारी जवानलाई काममा लगाई मानव श्रम शोषण गरेको ।
२. हालसालै नीलबाराही गणका गणपति वंशिधर दाहालद्वारा आफ्नै गणकी महिला प्रहरीमाथि बलात्कारको प्रयास गरी यौनशोषण गरेको उजुरी पर्दासमेत नेतृत्व मौन रहेको ।
३. तातोपानि भन्सार राजस्व गस्तीमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक धर्मदत्त पन्तद्वारा खुलेआम बर्दीमै तस्करी गर्दागर्दै पक्राउ परे पनि निजलाई आईजीपी शैलेन्द्र श्रेष्ठ र एआईजी ठाकुरमोहन श्रेष्ठको निगाहा प्राप्त भएको कारण कुनै कारबाही नभएको ।
४. वर्तमान आईजीपी शैलेन्द्र श्रेष्ठ आफू एआईजी हुँदा पद तथा प्रतिष्ठाको दुरुपयोग गर्दै हिँडेका एआईजी ठाकुरमोहन श्रेष्ठको कारबाही गराउन आफैंले सिफारिस गरेको कुरा फिर्ता गराउन हिँडेका छन् ।
५. हालैको सशस्त्र प्रहरी जवान भर्ना छनोटमा आर्थिक लेनदेनको खुलेआम चलखेल भएको जसमा बर्तमान आईजीपी शैलेन्द्र श्रेष्ठको प्रत्यक्ष संलग्नता भएको ।
संम्पादकज्यू, आफ्नो नेतृत्वमा रहेको सङ्गठनको डीआईजीले पत्नीहत्या गर्दासम्म पनि सङ्गठन प्रमुख बेखबर हुनुले वर्तमान नेतृत्ब कतिसम्म लाचार र निकम्मा छ भन्ने कुराको पुष्टि गरेको छ । सशस्त्र प्रहरी सङ्गठनका विगतका नेतृत्वले बनाएको गौरवमय साख, उच्च मनोबल र आमजनसमुदायमा रहेको सङ्गठनको मर्यादालाई कायम राख्ने हो भने वर्तमान नेतृत्वले राजीनामा गर्नु नै उत्तम विकल्प हुन्छ भन्ने हाम्रो माग तपाईंको पत्रिकामार्फत सार्वजनिक गर्न चाहन्छौँ ।
-सशस्त्र प्रहरी बलका जवान तथा अधिकृतहरू, हल्चोक, काठमाडौं
नक्कलीलाई कारबाही गरे बेरोजगारले मौका पाउँथे
निजामती सेवामा नक्कली प्रमाणपत्रधारी कर्मचारी निकै छन्, तर तिनीहरूको खोजी गरी कारबाही गर्न नेपाल सरकारले तदारुकता देखाएको छैन । त्यस्तो सङ्ख्या अन्दाजी तीन-चार हजार भएको अनुमान छ । नेपाल सरकारले भ्रष्टाचारीलाई मात्र कारबाही गर्ने तर त्यस्ता दुष्ट प्रवृत्तिका कर्मचारीलाई कारबाही नगर्ने मनस्थिति किन बनाएको होला ? निजामती सेवामा प्रवेश गर्न र बढुवा प्रयोजनका लागि त्यस्ता दुष्ट राष्ट्रसेवकहरूले नक्कली प्रमाणपत्रको प्रयोग गरेका छन् । सेवा प्रवेशभन्दा पनि बढुवाका लागि त्यस्ता कर्मचारीले नक्कली प्रमाणपत्र प्रयोग बढ्ता गरेको अनुमान गरिन्छ । त्यसमा पनि ०६४ सालयतादेखि बढुवा हुने ?२४ घ १ र स्वत: बढुवा हुने) कर्मचारीहरूले व्यापक रूपमा नक्कली प्रमाणपत्र पेस गरेको सम्बद्ध क्षेत्रका जानिफकारहरूको दाबी रहेको पाइन्छ । त्यसरी नक्कली प्रमाणपत्रका आधारमा जागिर खाई देश र जनतामाथि कुठाराघात गर्नेहरूलाई कारबाही गरेको खण्डमा निजामती सेवामा अन्दाजी ३-४ हजार दरबन्दी खाली भई बेरोजगार नेपाली युवाले राष्ट्रसेवा गर्ने अवसर पाउँथे । यस सम्बन्धमा सम्बन्धित निकायले आवश्यक पहल गरी ती दुष्टहरूलाई कारबाही गर्न ढिलो नगरोस् ।
-शिरोमणि नेपाल, हाल : अनामनगर, काठमाडौं