‘जब एउटा मान्छे हराउँछ’ लिएर देखा परे कवि चन्द्र

‘जब एउटा मान्छे हराउँछ’ लिएर देखा परे कवि चन्द्र


कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले कविता संग्रह सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै समिक्षक बिन्दु शर्माले चन्द्र गुरुङका कविता सरल भइकन पनि गहिरो भाव व्यक्त गर्न सफल रहेको बताइन् । ‘गुरुङका कविता सरल शब्दशैलीको भए पनि त्यसले दिने भाव गहिरो छ । उनका कविताले आफैंसँग संलाप गरिरहेजस्तो लाग्छ’, शर्माको धारणा छ ।

सो अवसरमा कवि गुरुङले कविता सृजनामा देखाएको निष्ठाको समीक्षक राजकुमार बानियाँले प्रशंसा गरे । ‘चन्द्र गुरुङ होहल्ला नगरिकन शालीन भाषामा विद्रोही कविता लेख्न सक्ने कवि हुन् । उनले कविताबाटै आफूलाई सम्पूर्ण रूपले पुष्टि गरेका छन्’, बानियाँले भने ।

अर्का वक्ता कवि श्रवण मुकारुङले दशकौँपछि पढ्दासमेत पुराना नलाग्ने कविता सृजना गर्न सक्नु नै चन्द्र गुरुङको विशेषता रहेको बताए । ‘सर्जकले आज सृजना गरेको रचना उसैले पछि पश्चाताप गर्नुपर्ने बन्नु हुँदैन । भोलिको समयलाई समेत सान्दर्भिक हुने रचना गर्न सक्नु नै लेखकीय सामथ्र्य हो’, मुकारुङको तर्क थियो ।

‘जब एउटा मान्छे हराउँछ’मा ५० थान कविता समेटिएका छन् । २ सय ४९ रुपैयाँ मूल्य रहेको संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो । यसअघि गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ नामक कवितासंग्रह प्रकाशित भएको थियो ।