‘फर्क फर्क नेपाली’

‘फर्क फर्क नेपाली’


बलराम सिलवाल

फर्क फर्क नेपाली, डाक्छ तिम्लाई नेपाल ।
सगरमाथा मुन्तिर, आहा क्या राम्रो हिमाल । ।
छोराछोरी छरिंदा, विरही दुःखी आमा नेपाल ।
मासिए संसारबाट सदा, कर्तव्यच्युत भुपाल । ।
फर्क फर्क…

तीज दशैं तिहार भुलेर, कृसमसमै रम्यौ कि ?
सेल दन्यौरा बिर्सेर, पिज्जा बर्गरमै भुल्यौ कि !!
छोडी महाभारत त्रिपिटक, बाइबल पढ्यौ कि !
स्वधर्म त्यागी पर्धर्म लिई, यवनम्लेच्छ भयौ कि । ।
फर्क फर्क…

झ्याउरे मालसिरी रोइला, क्या मीठा प्रिय गीत ।
परदेशीले बिर्सियो कि स्वदेशी चोखो मायाप्रीत । ।
डाँफे मुनाल गैंडा हात्ती, डीलडावर मलिलो पाटो ।
श्वेत साङ्ग्रिला सुरम्य प्रकृति, कुर्छन् तिम्रो बाटो । ।
फर्क फर्क…

गलत शासकले गल्ती गर्छ, रोषले परदेशिनु हुन्न ।
आफू जन्मेखेलेको देशको माटो, कवै बिर्सनु हुन्न । ।
सम्पत्ति कमाऊ सिप बढाऊ, स्वदेश राख वक्षमा ।
हो आखिरी गन्तव्य मातृभूमि, फर्क नेपाल बेलैमा । ।
फर्क फर्क…

हो भौतिक सयल पासो, नभुल आफ्नो भूमिलाई ।
छान्नुपर्छ नेता गतिलो, बनाउनु छ स्वर्ग नेपाललाई । ।
छ मूलमन्त्र जननी जन्मभूमिश्च, स्वर्गादपि गरियसि ।
पुनर्जन्ममा हुन्छौ नेपाली, यही जन्ममुलुकमा मरेसि । ।
फर्क फर्क…