दुई दिन सरकारी छुट्टी : किन आयो, किन गयो ?

दुई दिन सरकारी छुट्टी : किन आयो, किन गयो ?


दुई दिन छुट्टी हुने गरेका विश्वका १ सय १५ मुलुकमा दुई दिन बिदाका कारण सेवा प्रवाहमा अवरोध आएको देखिँदैन । किनभने उनीहरूले प्रणालीको विकास गरेका छन् । कुनै पनि क्षेत्रमा सिस्टम नबसेका कारण हामीकहाँ ब्यक्ति र ब्यक्तित्व हाबी हुने गरेको छ ।
  • बबिता बस्नेत

‘छुट्टी’को अर्थ हुन्छ, आफ्नो दैनिक काममा हाजिर हुनु नपर्ने दिन, छुटकारा या मुक्ति । छुट्टी या बिदा हुँदा खुशी नहुने मानिस कमै होलान् । हरेक मानिसलाई समयको बन्धनमा बाँधिएर एउटा ‘फ्रेम वर्क’मा बाँच्नुभन्दा आफूले चाहेको काम गरेर जीवन बाँच्न मन लाग्छ । कामकाजी मानिसलाई छुट्टीको दिन आउँदा खुशी लाग्नुको मुख्य कारण समयको बिनापावन्दी स्वतन्त्रतापूर्वक आफूले चाहेजसरी समय बिताउन पाउनु नै हो । यो संसारमा जब समय हेरेर यति बजेदेखि यति बजेसम्म यो काम गर्ने भन्ने परिकल्पना गरियो त्यतिबेलादेखि नै छुट्टीको पनि कल्पना गरिएको देखिन्छ ।

समय ब्यवस्थापनका लागि घडीको परिकल्पना १४औँ शताब्दीबाट भएको हो । १५औँ शताब्दीमा हातमा बाँध्ने स्वरुपमा आइपुग्नुअघि अनेकौँ रूपमा घडीको परिकल्पना र प्रयोग गरिएको पाइन्छ । विभिन्न मुलुकमा सरकारी छुट्टी कामकाजी र ब्यक्तिगत जीवनको सन्तुलन कायम राख्नका लागि घडीको प्रयोग अर्थात् समय ब्यवस्थापनसँग सम्बन्धित छ । सार्वजनिक बिदासँग सम्बन्धित विभिन्न दस्ताबेजमा उल्लेख भएअनुसार अमेरिकामा सन् १८७० मा पहिलो पटक नयाँ वर्ष, राष्ट्रिय दिवस, धन्यवाद दिवस (थ्यांक्सगिभिङ डे) र क्रिष्मसका दिन सरकारी छुट्टी दिने घोषणा गरिएको थियो । आइतबार छुट्टीको इतिहास चर्चमा गरिने प्रार्थनासँग जोडिए पनि कालान्तरमा यो विश्वब्यापी बनेको छ ।

अहिले विश्वका १ सय १५ देशमा हप्ताको २ दिन छुट्टी दिने गरिएको छ । नेपालमा हप्ताको एक दिन शनिबार बिदाको सुरुवात श्री ३ भीम शम्सेरको पालामा भएको हो । यही २०७९ साल जेठ १ गतेबाट लागु भइ २४ दिनपछि फिर्ता गरिएको हप्ताको दुई दिन छुट्टी बिनाअध्ययन नै ल्याइएको भन्ने गरिए पनि यसका लागि निकै लामो होमवर्क गरिएको तर त्यो खासै काम नलागेको देखिन्छ । वि.सं. २०४८ सालमा प्रशासन सुधार आयोगले सातामा दुई दिन सरकारी बिदाका लागि सिफारिश गरेको थियो । सिफारिश भएको ८ वर्षपछि वि.सं. २०५६ सालमा सरकारले शनिबार र आइतबार दुई दिन छुट्टी दिने निर्णय गरेको थियो । तर त्यो निर्णय लामो समयसम्म कायम रहन सकेन । बीचमा खासै यसको चर्चा नभए पनि वि.सं. २०७७ मा सरकारी बिदालाई पुनरावलोकन गर्न बनेको समितिले सिफारिश गरेपछि यही २०७९ साल जेठ १ गतेबाट शनिबार र आइतबार हप्ताको २ दिन बिदा दिने निर्णय गरिएको थियो ।

हप्ताको २ दिन बिदाले कामकाजी महिलाहरूलाई काम र घरपरिवारबीच सन्तुलन कायम गर्न सहज भएको थियो, ब्यक्तिगत जिन्दगीलाई फर्किएर हेर्न सक्ने बनाइदिएको थियो । नत्र कामकाजी महिलाले हतार नगरी अब यति गाँस बाँकी छ भनेर गाँस नगनी बिहानको खाना खान पाउने भनेको छुट्टीको दिन मात्रै हो ।

सरकारी बिदाको कारणमा समितिले काम र पारिवारिक जीवनबीच तालमेल मिलाउन, आन्तरिक पर्यटनको प्रवद्र्धन, सार्वजनिक खर्च कटौती, इन्धन कटौती, उत्पादकत्व वृद्धिलगायतलाई महत्व दिएको थियो । आफैले गरेको निर्णय सरकारले २४ दिनमा फिर्ता लिँदा यो किन लागु गरिएको थियो र किन फिर्ता लिइयो भन्ने बारेमा सर्वसाधारणलाई मात्र नभइ लागु गर्नेलाई पनि जानकारी भए जस्तो देखिँदैन । दक्षिण एशियामा नेपाल मात्रै हप्तामा एक दिन छुट्टी हुने देश हो । विभिन्न पेशा, ब्यवसायमा रहेका मानिसहरूलाई हप्तामा दुई दिन छुट्टी हुँदा आफू, आफ्नो परिवार र सामाजिक जीवनका लागि समय मिल्ने हुन्छ । हप्ताभरी कामकै बारेमा सोच्यो, काम गऱ्यो, कामकै बारेमा चर्चा गऱ्यो, आफ्नो बारेमा सोच्ने फुर्सदै हुँदैन । बिदाको अभावमा आफ्नो पनि जीवन छ, दुःख-सुखमा साथ दिने परिवारका सदस्यहरू छन्, उनीहरूसँग समय बिताउनुपर्छ भन्ने अनुभूति नै गर्न नपाउने गरी कति मानिसहरू काममा केन्द्रित भइरहेका हुन्छन् ।

दुईदिने सरकारी बिदा सरकारी कर्मचारीसँग मात्र सम्बन्धित कुरा होइन । सरकारी कार्यालयहरू खुलेपछि मुलुकका संरचनाहरू चलायमान हुन्छन् । निजी, गैरसरकारी कुनै पनि क्षेत्रमा काम गर्नेहरूको सम्बन्ध कुनै न कुनै रूपमा सरकारी कामकाजसँग जोडिएको हुन्छ । सरकारी छुट्टीको दिन सबै क्षेत्रको माहौल नै निष्क्रृय हुन्छ । त्यसैले हप्ताको एक दिन या दुई दिन जति दिन दिए पनि सरकारी बिदाले सबै क्षेत्रमा असर र प्रभाव पारिरहेको हुन्छ । खानलाउनको समस्याबाट गुज्रिएर या सामाजिक सुरक्षा नभएका कारण भविष्यको चिन्ताले हाम्रो जस्तो देशमा अन्य विकसित मुलुकमा झैँ निर्धक्क छुट्टी मनाउने चलन छैन । युरोप-अमेरिकातिर हप्ताभरि मानिसहरू काम गर्छन्, शुक्रबार बेलुकादेखि रमाइलो गर्छन् । हप्ताभर कमाएको दुई दिन छुट्टीमा सक्छन्, रमाइलो गरेर उर्जा हासिल गर्छन्, सोमबार काममा फर्कन्छन् । हामीकहाँ छुट्टी मनाउने तरिका उनीहरूको जस्तो छैन, उनीहरूको जस्तो गरेर हामीलाई टार्न पुऱ्याउन पुग्दैन पनि ।

सरकारी छुट्टी पुनरावलोकन गर्ने समितिले दुई दिन बिदा दिनुपर्ने एउटा कारणमा लैंगिक समानता कायम गर्न भन्ने पनि उल्लेख गरेको रहेछ । हामीकहाँ बिदा या कामको दिन सबै समयमा लैंगिक भूमिकामा खासै फरक देखिँदैन । कामकाजी महिलालाई घरको कामको बोझ उस्तै छ जुन गृहणीहरूलाई छ । घरको काममा सधैं ब्यस्त गृहणीहरूको कहिल्यै छुट्टी हुँदैन । हाम्रो देशमा गृहणी र कृषकका लागि छुट्टी या आरामको परिकल्पना गरिएको छैन । सधैं कामको हतारो, उस्तै दिनचर्या । कर्मचारी हुन् या वकील, पत्रकार या डाक्टर ब्यवसायिक महिलाहरूले बिहान आफैले खाना बनाएर पति, सन्तान र परिवारका अन्य सदस्यलाई खुवाएर या खाने ब्यवस्था गरेर आफूले कार्यालय या पेशा, ब्यवसायको काम सकी घर फर्किएर पुनः घरको काम सम्हाल्नुपर्ने अवस्था छ । सबै त होइन तर धेरै पुरुषहरूको सवालमा भान्सा या घरको कामबाट मुक्त भएर आफ्नो करियरमा मात्रै केन्द्रित हुन पाउने सुबिधा छ । बर्षौंदेखिको यो यथास्थितिमा सुधार ल्याउनखोज्नु भनेको महिलाका लागि समान्य जीवन बाँच्न गाह्रो हुने परिस्थितिको सिर्जना गर्नु हो । हप्ताको २ दिन बिदाले कामकाजी महिलाहरूलाई काम र घरपरिवारबीच सन्तुलन कायम गर्न सहज भएको थियो, ब्यक्तिगत जिन्दगीलाई फर्किएर हेर्न सक्ने बनाइदिएको थियो । नत्र कामकाजी महिलाले हतार नगरी अब यति गाँस बाँकी छ भनेर गाँस नगनी बिहानको खाना खान पाउने भनेको छुट्टीको दिन मात्रै हो ।

कामकाजी महिलालाई घरको कामको बोझ उस्तै छ जुन गृहणीहरूलाई छ । घरको काममा सधैं ब्यस्त गृहणीहरूको कहिल्यै छुट्टी हुँदैन । हाम्रो देशमा गृहणी र कृषकका लागि छुट्टी या आरामको परिकल्पना गरिएको छैन ।

सरकारी कामकाज र सेवाप्रवाहका कुरा बिस्तारै ब्यवस्थापन हुँदै जाने परिस्थिति बन्दै नबनी बिदा खारेजीको निर्णयले सर्र्वसाधारणमा राम्रो सन्देश गएको छैन । यस्ता कुराले बिदासँग सम्बन्धित भन्दा पनि सरकारले गरेका निर्णयमाथि प्रश्नचिह्न खडा गर्छ, गरेको छ । दुई दिन छुट्टी हुने गरेका विश्वका १ सय १५ मुलुकमा दुई दिन बिदाका कारण सेवा प्रवाहमा अवरोध आएको देखिँदैन । किनभने उनीहरूले प्रणालीको विकास गरेका छन् । कुनै पनि क्षेत्रमा सिस्टम नबसेका कारण हामीकहाँ ब्यक्ति र ब्यक्तित्व हाबी हुने गरेको छ । हामी ब्यक्तिमै सीमित भइरहने कि सिस्टम बसाउने ? हप्तामा २ दिन बिदा सिस्टमसँग सम्बन्धित छ । समयको ब्यवस्थापन, मुलुक चलाउने र जीवन धान्ने यी तीन कुराबीच गहिरो सम्बन्ध छ ।

घण्टा, दिन, हप्ता, महिना, वर्ष सबै समय ब्यवस्थापनको सहजताका लागि हुन् । मानिस र देश दुवैको जीवनमा समय महत्वपूर्ण कुरा हो । पूर्वीय दर्शनले समयलाई चार युगमा विभाजित गरेको छ, सत्य युग, त्रेता युग, द्वापर युग र कली युग । सत्य युग १७ लाख २८ हजार वर्षको थियो भन्ने छ । त्रेता युग १२ लाख ९६ हजार, द्वापर युग ८ लाख ६४ हजार र कली युग ४ लाख ३२ हजार वर्षको । श्रीमद्भागवत गीता समयको कुरा उल्लेख भएको अहिलेसम्मकै उत्कृष्ट दस्ताबेज मानिन्छ । जसमा समयलाई विभिन्न पक्षबाट बिश्लेषण गरिएको छ । हामीकहाँ हप्तामा दुई दिन छुट्टी किन आयो र किन गयो भन्ने कुरा थाहा नभएपनि घडी नहेरी आफ्नै प्रकारले जीवन बिताउने समय मानिसको जीवनमा महत्वपूर्ण समय हो । कम्प्युटर, मोबाइल, भित्ता जताततै रहेको समय देखाउने घडीबाट मुक्त भइ एक दिनकै सही साप्ताहिक छुट्टीलाई आनन्दसँग बिताऔँ ।