पत्थरीको समस्याबारे जानौँ यत्ति कुरा

पत्थरीको समस्याबारे जानौँ यत्ति कुरा


स्वास्थ्य सरोकार

हिजोआज मानिसमा किड्नी सुनिनु, दुख्नु, किड्नीमा पीप हुनु, मूत्राशयमा पत्थरी हुनु साधारण समस्या जस्तो भइसकेको छ । ब्यस्त जिन्दगीका कारण पत्थरीको समस्या बोकेरै मानिसहरू दैनिक कर्ममा लागिरहेका हुन्छन् । यसरी रोग उब्जाएर, त्यसलाई पालेर या उपेक्षा गरेर बस्नुलाई कुनै कोणबाट पनि उचित मान्न सकिन्न । सकभर समस्या उत्पन्न हुन नदिने र उत्पन्न भइहालेमा त्यसको निराकरणका लागि पहलकदमी बढाइहाल्नु पर्छ । यस सन्दर्भमा पत्थरीबारे सामान्य भएपनि जानकारी राख्नु उपयुक्त हुन्छ ।

पत्थरी हुने कारण :

पत्थरी उत्पन्न हुने प्रमुख कारणमा पिसाबमा युरिक एसिड, फस्फोरस, क्याल्सियम र अक्जिकल एसिडको मात्रा धेरै हुनु हो । यी तत्व आफैंमा मिलेर गोलो, चेप्टो, लाम्चो, चिल्लो केराउको दाना जस्तो रूप लिन्छ । यसको अलावा शरीरमा गर्मी या धेरै गर्मी बढेमा उष्ण जलवायुको कारणले, पानी कम खानु, परिश्रम गरेभन्दा बढी पसिना निक्लनु, फल, तरकारी, सलाद, मासु, धेरै खानु, धेरै श्रम पर्ने खालको व्यायाम गर्नु । भिटामिन डीको विषाक्तता, थाइराइड ग्रन्थी धेरै सक्रिय हुनु आदि कारणबाट शरीरका अङ्गमा पत्थरी हुन पुग्छ ।

पत्थरीको लक्षण :

किड्नीमा पत्थरी भयो भने अनुहार वा खुट्टा सुनिन्छ । पिसाब फेर्दा दुख्ने वा पोल्ने, पिसाब रोकिँदै–रोकिँदै आउने, लिङ्गअगाडिको भागमा असह्य पीडा हुन्छ, मूत्राशयमा पत्थरीको कारणले पीडा हुन्छ । उल्टी आउनु, बारम्बार पिसाब फेर्ने इच्छा हुनु, कम्मरमा हल्का या बढी नै दुखाइ हुनु पत्थरीका लक्षण हुन् ।

पत्थरी भएको अवस्थामा के खाने :

– गहुँको पीठोको चोकर निकालेर बनाएको रोटी खाने ।
– जौबाट बनेको खानेकुरा बढी खाने ।
– हरियो तरकारीमा सजिउन, करेला, मटरकोसा, शलगम, पाकेको फर्सी, अदुवा आदि खाने ।
– फलमा आँप, खरबूजा, अङ्गुर, मेवा, काँक्रो, नरिवल. नास्पाती, स्याउ, गाजर आदि आफ्नो इच्छाअनुसार खाने ।
– तातो पानी थोरै–थोरै गरेर पिउने ।

के नखाने :

– ढिलो पच्ने खालको खाना नखाने ।
– आवश्यकताभन्दा बढी खाएर शरीरको बोझ नबढाउने ।
– नुनिलो खानेकुरा, अचार, पापड, चिया कफी, रक्सी, बियर, सोडा, कोल्ड ड्रिंक्स, मासु, माछा नखाने ।
– हरियो तरकारीमा पालुङ्गो, टमाटर, भन्टा, मूला, प्याज, भिंडी, चम्सुर आदि नखाने या कम मात्र खाने ।
– फलमा स्ट्रवेरी, आरु, आल्चा, किसमिस, काजु जस्ता फलफूल नखाने ।
– दूध र दूधबाट बनेको खानेकुरा दही, पनिर, मक्खन, चकलेट, टफी, नखाने ।

रोग निवारणमा सहायक उपाय के गर्ने :

– ओछयानमा सम्पूर्ण रूपले आराम गर्ने ।
– दुःखेको ठाउँमा तातोले सेक्ने ।
– शरीरलाई आराम दिने, जसले गर्दा दुःखाइबाट आराम मिलोस् ।
– योगासनमा हलासन, भुजंगासन, धनुरासन, पवनमुक्तासन गर्ने ।

के नगर्ने :

– पिसाब र शुक्रकीटको वेगलाई नरोक्ने ।
– आफूखुसी दुखाइ कम गर्ने एलोपेथिक दबाइ नखाने ।
– जतिबेला पनि व्यायम गरी नराख्ने ।