जम्मू-कश्मीरस्थित निर्माणाधीन सुरुङ दुर्घटनामा दुई नेपालीसहित दश जनाको मृत्यू

जम्मू-कश्मीरस्थित निर्माणाधीन सुरुङ दुर्घटनामा दुई नेपालीसहित दश जनाको मृत्यू


भारत जम्मू कश्मीरको रामवन जिल्लामा जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग-४४ मा निर्माणाधीन सुरुङमा भएको दुर्घटनामा दुई नेपालीसहित दश जनाको मृत्यु भएको छ ।

गत बिहीबार उक्त सुरुङको एक भाग भत्किएको थियो भने एक जनाको मृत्यु भएको तथा अन्य केही कामदार बेपत्ता भएको प्रारम्भिक जानकारी दिइएको थियो । यसको दुई दिनपछि शनिबार थप नौ शवहरू निकालिएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको भारतीय सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् ।

बेपत्ता सबै कामदारको शव भेटिएपछि शनिबार साँझ दुई दिन लामो उद्धार कार्य सकिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । उक्त दुर्घटनामा मृत्यु हुनेमा पश्चिम बंगालका पाँच, जम्मु-कश्मीर र नेपालका दुई-दुई र असमका एक मजदुर रहेका छन् । दुर्घटनामा मारिएका दुई जना नेपाली नवराज चौधरी (वर्ष २६) र कुशीराम (वर्ष २५) भएको बताइएको छ, उनीहरुको ठेगाना भने खुलाइएको छैन ।

दुर्घटनामा ज्यान गुमाएका १० मजदुरका परिवारलाई १६–१६ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिइने जनाइएको छ ।