बेल्जियममा विश्व-मेला सम्पन्न

बेल्जियममा विश्व-मेला सम्पन्न


मेलामा राजेश पायल राईको धमाकेदार प्रस्तुति

  • सनत आचार्य, बेल्जियम

बेल्जियमको लुभेनमा मुण्डो भुम्सद्वारा आयोजना गरिएको एकमहिने विश्वमेला सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भेलामा एसिया, अफ्रिका र युरोप देशका विभिन्न हस्तकला र खानाका परिकारहरू राखिएको थियो । मेलामा गैरआवासीय नेपाली संघ बेल्जियम, साङ्ग्रिला समाज बेल्जियम र लुम्बिनी कपिलबस्तु ग्लोबल क्याम्पनले विभिन्न नेपाली परिकार तथा प्रचार सामग्रीहरूको राखेका थिए ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले मेलामा आफूहरू शुरुका दिनदेखि सरिक भएको र नेपाल र नेपालीहरूको पहिचान दिन सेल, आलुको अचार, ममलगायतका परिकारहरू राखेको बताए ।

त्यस्तै, संघका उपाध्यक्ष तीर्थ धमलाले नेपाल र नेपालीको पहिचान दिन खोजिएकोमा आफूहरू सफल भएको उल्लेख गर्दै बेल्जियममा आयोजित यो मेलाले सामाजिक सद्भावलाईं समेत प्रवर्धन गरेको जिकिर गरे ।

संघका कोषाध्यक्ष पुष्प नेपालले बेल्जियम भाषिक र साँस्कृतिक रुपले विविधिता भएको शहर भएकोले यस मेलाले सामाजिक सद्भाव र विविधतामा एकता दर्शाउन सफल भएको बताए ।

कोषाध्यक्ष नेपालले संघको कोष बढाउन आफूहरूले स्टल राखेको र यसबाट हुने सानोतिनो आम्दानीले सामाजिक कार्य गर्न सकिने बताए भने साङ्ग्रिला समाजका अध्यक्ष नारायण अधिकारीले समाजले नेपाल र नेपालीको पहिचान दिन मेलामा नेपाली परिकारहरू राखिएको र यसबाट भएको आम्दानीले नेपाली भाषा कक्षा संचालन गर्ने धारणा राखे ।

समाजका कोषाध्यक्ष विनेश थापाले बेल्जियममा दोश्रो पुस्ताका लागि नेपाली भाषा अनिवार्य भएको र थोरै भए पनि सोको जोहो गर्न आफूहरू यो मेलामा सहभागी भएको जानकारी दिए ।

लुम्बिनी कपिलबस्तु ग्लोबल क्याम्पेनका अध्यक्ष डा. राजेन्द्र बारिले मेलाले साँस्कृतिक विविधतालाई एकताबद्ध गर्न आफूहरू मेलामा सहभागी भएको बताए । उनले आफूहरूले बुद्ध र लुम्बिनीका बारेमा मेलामा प्रचारप्रसार गरेर विश्वशान्ति र सद्भावका लागि कायम राख्न कोशिस गरेको बताए ।

विश्व-मेलामा नेपालका चर्चित कलाकार राजेश पायल राईको गीतले नेपाली र विदेशी दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थियो ।

कार्यक्रममा गायक राईले दर्शन नमस्ते गीतबाट आफ्नो प्रस्तुति शुरु गर्दा आफ्नो स्थानबाट उठेर कार्यक्रममा उपस्थित अधिकांश नेपालीहरू नाच्दै झुमेका थिए ।

मेलामा राईले पाँचवटा गीत प्रस्तुत गरेका थिए भने आयोजकहरूले २० मिनेटको समयमा उपलब्ध गराएता पनि नेपाली दर्शकहरूको विशेष अनुरोधलाई स्विकार गरेर पुनः १० मिनेटको समय प्रदान गरिएको थियो ।

कार्यक्रममा राईले गीत मात्र गाएनन् उनले बुद्ध नेपालमा जन्मेको र विश्वको सर्वोच्च शिखर सगरमाथा पनि नेपालमै रहेका जानकारी गराउँदै नेपाल र हिमालको देश नेपालबाट सबैलाई सद्भाव र आभार प्रकट गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमको तर्फबाट गायक राईलाई सम्मान पत्रसमेत प्रदान गरिएको थियो । कार्यक्रममा ठुलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो ।

विभिन्न वक्ताहरूले विश्व वातावरणको संरक्षण, सामाजिक सद्भाव र एकताका लागि प्रकाश पारेका थिए भने कोरोना महामारीपश्चात आयोजना गरिएको यो मेलामा करिब ३० हजारले अवलोकन गरेको आयोजकहरूले बताएका छन् ।